सवारी साधन पैठारी सहज गर्न आपूर्ति मन्त्रालयलाई अनुराेध
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधन पैठारी सहज गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुराेध गरेका छन् । अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आईपरेको भन्दै मन्त्रालयलाई उक्त अनुराेध गरेका हुन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदसीय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग सोमबार भेटवार्ता भएकाे छ । उक्त भेटमा सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले सवारी साधन पैठारीबारे थप स्पष्ट पारेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ड अर्यालले यसबारे केही दिन भित्रै नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताए ।
महासंघ निर्वाचनः गुणनीधि तिवारीलाई दिनेश श्रेष्ठले टक्कर दिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा गुणनीधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आधिकारिक रुपमा दुबैले उम्मेदवारी घोषणा गरेका छैनन् तर भोट माग्दै दुबै जना चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् । प्रदेश ५ का अध्यक्ष तिवारी झण्डै एक महिनाअघि चुनावी अभियानमा सक्रिय थिए भने उनका प्रतिस्पर्धी स्पष्ट भएको थिएन । काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष तथा वाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले पनि आफू जिल्ला नगर समूहको उपाध्यक्षको दावेदारी सहित चुनावी अभियान शुरु गरेका छन् । वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालको समूहबाट तिवारीले उम्मेदवारी दिदै छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानको समूहबाट श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् । महासंघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष पछि जिल्ला नगर समूहकाे उपाध्यक्ष बलियाे र तेस्राे बरियताकाे पद हाे । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो बढेको छ । अहिले महासंघको चुनावका लागि उद्योगी व्यवसायीहरु आफ्नो टिम तयार पार्न आन्तरिक कसरतमा छन् ।
जबरजस्ती करणी गरी फरार हेमन सिंह बस्नेत पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरी फरार रहेका आरोपी हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबार पक्राउ गरेको छ । धादिङ्ग घर भएका हाल सोही स्थानमा बस्ने बस्नेतले गजुरीस्थित हलेदेखाेला बस्ने स्थानीय १६ वर्षे युवतीलाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी निजले बोल्न कराउन नसक्ने गरी मुख थुनी जबरजस्ती करणी गरी फरार भएका थिए । भारतमा लुकिछिपी बसी पछिल्लो समयमा नेपाल आएका बस्नेत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई आवश्यक कानुनी कारबाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाईएको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको माघ २७ गते बुक क्लोज, यस्तो छ कारण
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो । बुक क्लोजको मिति घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ९ रुपैयाँले बढिसकेको छ । बजार खुल्दा प्रतिकित्ता ६७६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य करिब दुई बज्दा १.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।
बागलुङका पाँच होटल तथा रेष्टुराँ स्तरीकरण
गलकाेट । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल तथा रेष्टुराँ स्तरीकरण गरी स्टिकर टाँसेको छ । खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा विभाजन गरिने बताइएको छ । आइतबार पाँच होटल तथा रेष्टुराँको स्तरीकरण गरी स्टिकर प्रदान गरिएको वर्गीकरण छुट्याएर स्टिकर प्रदान गरिएको गुण नियन्त्रण कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले बताए । सदरमुकाम गलकोटको तन्दुरी रेष्टुराँ, पुन रेष्टुराँ र पर्वत रेष्टुराँले ‘ग’ वर्ग अर्थात् सन्तोषजनक एवं उत्सव होटल, मुखै रसायो खाजा घरलाई ‘घ’ वर्गको अर्थात् सामान्य स्तरको स्टिकर प्रदान गरिएको छ । नब्बे अङ्कभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अङ्क ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुराँ ‘घ’ वर्गमा पर्नेछ । होटल तथा रेष्टुराँको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराको व्यवस्थापन, लेबल लगाई राखिएको छ वा छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित गरिएको छ वा छैनलगायत ५० वटा मापदण्डमा होटलको मूल्याङ्कन गरिएको छ । यसले होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयं होटल व्यवसायी बताउँछन् । बागलुङमा कार्यालय स्थापना भएको एक वर्षमै खाद्य सुरक्षाका विभिन्न कार्य प्रभावकारी रुपमा गर्दै आएको छ । हालसम्म बागलुङका २० भन्दा बढी होटल तथा रेष्टुराँ स्तरीकरण भइसकेका छन् । स्तरीकरणका लागि होटल तथा रेष्टुराँ सञ्चालकले कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । होटल तथा रेष्टुराँ स्तरीकरण हुँदा व्यवसायीलाई नै फाइदा पुग्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । स्तरीकरणमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सहयोग गरेका छन् । उपभोक्ताले स्तरीकरणको आधारमा होटल तथा रेष्टुराँको पहिचान गर्न सक्ने र होटल व्यवसायीले शुद्धतामा ध्यान दिने भएकाले मापदण्डका आधारमा स्टिकर प्रदान गर्नु राम्रो काम भएको नगरपालिकाका बजार अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताए । रासस
कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा
काठमाडौं। चीन लगायत अन्य एशियाली देशहरुमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा कोरोनाको संक्रमण फैलनु समग्र विश्व बजारका लागि सुखद नभएको विश्लेषकहरु बताउँछन् । विश्व अर्थव्यवस्थाका लागि यो भाइरस ठूलो जोखिम भएको उनीहरुकाे भनाइ छ । अर्थविद् डा. डिल्लीराज खनाल काराेना भाइरसले विश्व बजारमा धेरै असर पार्ने बताउँछन् । ‘नेपाल चीनको नजिकको राष्ट्र हो, चीनले नेपालमा धेरै लगानी गरेको छ, यसले गर्दा नेपालको अर्थतन्त्रमा यसले प्रत्यक्ष असर पार्छ,’ उनले भने । आगामी वर्षहरुका लागि पनि चीनले नेपालको विभिन्न क्षेत्रमा लगानी प्रतिवद्धता गरेको छ, यसमा पनि असर पर्ने देखिन्छ । नेपालमा विदेशी पर्यटक सबैभन्दा बढी चीनबाट आउँछन् । कोरोनाको कारणले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्ष २०२० मा पनि धेरै असर पार्ने देखिन्छ । कारोना भाइरसका कारण नेपालको पर्यटन, यातायात लगायत आन्तरिक उत्पादनमा असर पार्ने अर्थविद् खनाल बताउँछन् । नेपालमा पर्ने असर चीन नेपालको छिमेकी राष्ट्र भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपालमा अवश्य नै पर्छ । नेपालको अर्थतन्त्र मात्र होइन भौतिक पक्षमा यसले असर पार्ने अर्थविद् बताउँछन् । नेपालमा बढी सामानहरु अायात गर्ने देशमा चीन दाेस्राे स्थानमा पर्छ । गत बुधबार नेपाल सरकारले चीनसँगको मूख्य व्यापार नाका १५ दिनका लागि बन्द गरेको छ । यसले पनि नेपालको अर्थतन्त्र र व्यापारमा घाटा हुने देखिन्छ । चीनमा कोरोना भाइरसले उग्र रुप लिएपछि नेपाल सरकारले रसुवा नाका बन्द गर्ने निर्णय गरेको हो । पर्यटनमा प्रभाव चीनबाट सुरु भएको कोरोना भाइरसले चीनमा मात्र होइन छिमेकी राष्ट्र नेपालमा पनि ठूलो असर पर्ने जानकारहरु बताउँछन् । भाइरसको प्रकोपले नेपालको पर्यटन, यातायात, दैनिक उपभोग्य सामानलगायमा नराम्ररी प्रभाव पार्ने देखिएको हो । नेपालमा आउने पर्यटक मध्येको एक ठूलो देश चीन पनि हो । हाल नेपालका धेरै एयरलाइन्स कम्पनीहरुले चीनको उडान रोकेका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा धेरै घाटा हुने पर्यटनविद्हरु बताउँछन् । नेपाल सरकारले हालै नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । भ्रमण वर्ष सुरु भएकै समयमा चीन लगायत एशियाली, युरोपलगायतका देशहरुमा कोरोना फैलनु नेपालको पर्यटन क्षेत्रका लागि राम्रो होइन । अर्थविद् खनालले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षकै सुरुमा कारोनाको प्रकोप फैलनु सुखद नभएको बताए । संस्कृति पर्यटन तथा उडड्यन नागरिक मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले यसले नेपालको पर्यटन मात्र नभएर समग्र अर्थतन्त्रमा असर पर्ने बताए । ‘कति असर पार्न सक्छ अहिले अनुमान लगाउन सकिन्न, तर कोराना भाइरसको प्रकोपले नेपालको पर्यटनमा प्रत्यक्ष रुपमा असर पर्छ,’ उनले भने । अहिले चीनलाई धेरै आर्थिक नोक्सनी भएको छ । देशका प्रभावित क्षेत्रमा यात्रा गर्न प्रतिबन्ध पनि लगाइएको छ । यो चीनियाँको भ्रमण गर्ने समय हो । भ्रमण गर्ने समयमा कोरोना भाइरसको प्रकोप हुनु नेपालका लागि सुखद होइन । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का पुर्याउन सक्छ । विश्व स्वास्थ्य संगठनद्धारा आपतकालको घोषणा कोरोना भाइरस एउटा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि आपतकालको घोषणा गरिसकेको छ । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले बताएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । यसैगरी मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । चीनमा १७ वर्ष पहिले २००३ मा फैलिएको सार्स भाइसबाट चीनसहित अन्य देशमा ८ हजारभन्दा बढी मानिसहरु प्रभावित भएका थिए । तीमध्ये १० प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । २००३ मा फैलिएको उक्त भाइरसका कारण चीनमा ५० अर्ब डलर नोक्सान भएको थियो । सार्स भाइरसको संक्रमणका कारण हङकङको सूचक त्यो समयमा २० प्रतिशतले घटेको थियो । चीनमा मात्रै अहिलेसम्म काेराेना भाइरसकाे कारण ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी संक्रमित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यूराेपमा पनि असर चीन र अन्य एशियाली देशहरुले कोरोना भाइरसको कारण पर्यटन, उडड्यन, खुद्रा र मनोरोञ्जन क्षेत्रमा घाटा व्यहोरी सकेका छन् । उक्त भाइरसको संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ,मकाउ र थाइल्याण्डमा छोइसकेको र युरोपमा पनि फैलिन थालेको जनाइएको छ । कोरोना भाइरसको असर चीनको समग्र अर्थव्यवस्थामा देखिइरहेको छ । चीनले भाइरसको फैलावटलाई कम गर्न समूह बाहिरको भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यसले पनि टुर अपरेटरको सेयरमा गिरावट आउने निश्चित छ । यो भाइरस फैलिएको खबर आएसँगै चीनियाँ शेयर बजारमा ५ प्रतिशतको गिरावट आइसकेको छ । चीनको अर्थव्यवस्थामा घाटा हुनु भनेको समम्र विश्वलाई घाटा हुनु हो । विश्वको सबैभन्दा धेरै तेल खपत हुने स्थानमा मान्छेको आवतजावत र यातायातका साधन ठप्प पारेकाे छ। हाल कच्चा तेलको मूल्य घट्नुका साथै चीनको विकासदर पनि कमजोर हुने बताइएको छ । चीनमा पर्यटकहरुको पनि आर्थिक विकासमा ठूलो हिस्सा रहेको छ । यसबाट चीनमा आउने जाने विमानमा पनि असर पर्न सुरु भइसकेको छ । यससँगै हवाई इन्धनको माग पनि अधिक घटेको छ।
बारका पूर्वाध्यक्ष पाण्डेको निधन
दमाैली । नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो । पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पुर्याएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताएका छन् ।रासस
प्रभु बैंकको नयाँ शाखा काठमाडौंको धर्मस्थलीमा
काठमाडौं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाण्डौंको धर्मस्थलीमा २०७औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेका हुन् । धर्मस्थली शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी वोहोेराले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । बैंकको धर्मस्थली शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।