सिद्धार्थ इन्स्योरेन्सको आय १९ करोडले बढ्यो
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीकाे आय १९ करोड २ लाख रुपैयाँले बढेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो आर्थिक वर्ष(आव)काे तुलनामा चालु आवको दोस्रो त्रैमासमा कम्पनीकाे आय उक्त रूपैयाँले बढेकाे हाे । अघिल्लो आवको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड ५५ लाख रुपैयाँ आय कमाएकाे कम्पनीले चालु आवकाे साेही अवधिमा १ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ आर्जन गरेकाे छ । खुद बीमा शुल्क: सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षकोे दोस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ४४ करोड २७ लख ३१ रुपैयाँ रहेको थियो । पुनर्बीमा कमिशको आयमा इन्स्योरेन्स कम्पनीको चालु आवको दोस्रो त्रैमासमा १७ करोड ६७ लाख ३९ हजाररुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १३ करोड २८ लाख ७० हजाररुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आय: कम्पनीले चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा ४ करोड २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, गत आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा कम्पनीको ४ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।
घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायाे आकर्षक योजना
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो । ग्राहकका लागि सुविधायुक्त विशेषताहरु रहेको यस नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मुल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । कर्जाको भुक्तानी अवधि ३५ बर्षसम्म रहने यस कर्जा योजनामा ३ वर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामाग्री, हार्डवेयर सामाग्री, फर्निचर लगायतका सामाग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ । आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने मेगा बैंकले जनाएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० वर्षसम्म हुने यस योजनामा उल्लेख छ । अन्य आकर्षक सुविधाहरु समेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटर भत्काइयो
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ । यसअघि प्रदेश सरकारको गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर महिनाभरिमा व्यवसायीलाई सटर खाली गर्न सूचना गरेको थियो । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीनमहिने सार्वजनिक सूचना जारी गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध केही व्यवसायीले रुपन्देही जिल्ला अदालतमा दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४८ घण्टाको म्याद दिएर सटर खाली गर्न सूचना जारी गरेको थियो । उक्त म्याद सकिएपछि आज बिहान अस्पताल प्रशासनले सुरक्षाकर्मी परिचानल गरेर डोजर लगाई सटर भत्काएको छ । अस्पताल प्रशासनले आज बिहान ६ बजेबाट भत्काउन शुरु गरेको हो । सटर व्यवसायीले अटेर गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यावसायिक सटर डोजर लगाएर भत्काइएको हो । अस्पतालको पूर्व र उत्तरतर्फ ७३ वटा सटरमा व्यावसायिक मेडिकल तथा अन्य व्यवसाय सञ्चालनमा रहेका थिए । अस्पताललाई स्तरोन्नति गर्न गुरुयोजना निर्माण गरेर काम अघि बढाउने प्रक्रिया शुरु भइसकेकाले छिट्टै नै अस्पतालको बाहिरी पर्खाललगायत अन्य पूर्वाधार निर्माणको कामसम्पन्न गरिने अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजनालाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा (क्याथल्याब, न्युरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेशनलगायत) विस्तार गर्ने प्रदेश अस्पताललाई रिफरल अस्पतालका रूपमा सञ्चालन गर्ने सरकारको योजना रहेको छ । रासस
महासंघका अध्यक्ष र उपाध्यक्षसहित २५ उद्योगीले पाउने भए सिआईपी सम्मान
काठमाडौं । सरकारले अर्थतन्त्रमा योगदान पुर्याउने २५ जना उद्योगी, व्यवसायी तथा संघ संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) उपाधीबाट सम्मान गर्ने भएको छ । सरकारले मुलुकको वाणिज्य क्षेत्रमा योगदान पुर्याउने उक्त उद्योगी तथा व्यवसायिक व्यक्तिहरुलाई विभिन्न १३ विधामा सम्मान गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार अन्तिम नामावली सार्वजनिक गर्दै विशिष्ट व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघकाे उपाध्यक्ष तथा आईएमईका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर लगायतका विशिष्ट व्यवसायीहरु छनोट भएका छन् । उक्त व्यक्तिहरुलाई आगामी माघ २८ गते मंगलबार राष्ट्रिय सभामा एक कार्यक्रम मार्फत सम्मान गर्ने व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले जनाएको छ । सिआइपी सम्मान पाउने उद्योगी र व्यवसायीले विमानस्थलमा छुट्टै सिआइपी लाउन्ज, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको भेटघाटमा अग्रता, सिंहदरबार प्रवेश, व्यापार र निकासीमा राय सुझाव दिने र सार्क स्टिकर लोगोको व्यवस्था गरेर सार्क मुलुकमा भिसा आवश्यक नपर्ने लगायतको सुविधा पाउने छन् ।
अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई काठमाडौँ महानगरपालिकाले दियाे तीन करोड
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २ सय अनुदान रकम उपलब्ध गराएका हुन् । प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवद्र्धनमा काम गरिरहेको बताए । महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरेका छन् । ‘हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवद्र्धनका लागि काम गरिरहेका छौँ, यसैको बिस्तारका लागि महानगरले आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुने थियो,’ अध्यक्षको आग्रह थियो । केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । विसं २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।रासस
साढे २ लाख कम्पनीलाई नियमन गर्ने निकायमा न प्रमुख छन्, न दरबन्दी अनुसार कर्मचारी नै
काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा तानिए। कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले नै कम्पनी रजिष्ट्रारको काम गरिरहेका छन् । नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए । कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् । ‘५ जना सहायक रजिष्ट्रारको सुरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन्’, दाहालले भने । किन आउन मान्दैनन् कर्मचारी ? ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक पटक आउने गरेको छ । भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्न थालेका छन् । कार्तिक महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालयलाई पठाएको छ । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई कार्यालयमा बोलाएको थियो । सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो । पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । ‘मैले उद्योग मन्त्रालयमा काम गर्छु भन्ने गरेको छु,’ उनले भने । तर, दाहालले भने कामको चाप धेरै भएकोले कर्मचारी आउन नमानेको बताए । यस्तो छ घुस काण्डको श्रृंखला गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् । यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।
भ्यालेन्टाइन डेलाई विशेष बनाउन शाओमीले ल्यायो आकर्षक योजना, यस्ता छन् अफर
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रोमा ३ हजार रुपैयाँसम्मको भारी छुट दिने घाेषणा गरेकाे थियाे । जसको मूल्य छुटपछि ४६ हजार ९ सय ९९ रहेको छ । शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९ हजार ९ सय ९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६ हजार ९ सय ९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ । यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।
एशियन लाइफको खुद बीमा शुल्क ५५ करोडले बढ्याे
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ५५ करोड १२ लाख रुपैयाँले बढेकाे छ । गत आर्थिक वर्ष(आव)को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकाे कम्पनीले चालु आवको साेही अवधिमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्स कम्पनीको चालु आवमा लगानी, कर्जा तथा अन्य आयमा चालु आवको दोस्रो त्रैमासमा ७१ करोड २४ लाख ६८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा भने ६५ करोड १५ लाख ९२ हजार रुपैयाँ छ । बीमा लेखको धितोमा कर्जाबाट आय शीर्षकका एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गत आवमा ४ करोड ८४ लाख ६५ हजार रुपैयाँ देखिन्छ । यस्तै, गत आवको दोस्रो त्रैमासमा बीमा लेख धितोमा कर्जाबाट आयमा कम्पनीको २ करोड, १३ लाख ६२ हजार रुपैयाँ देखिन्छ । आयको अवस्थाः चालु आ।वको दोस्रो त्रैमासको अन्त्यसम्म लाइफ इन्स्योरेन्स कम्पनीको आय ३ अर्ब ८ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको आय २ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ रहेको पाइन्छ ।