एनएमबिले किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । एनएमबि बैंकले प्राप्ति गर्न अथवा किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएसँगै राष्ट्रिय स्तरको ‘ख’ वर्गको कञ्चन डेभलपमेन्ट बैंकको माघ २७ गते(साेमबार)देखि सेयर कारोबार बन्द भएको छ । उक्त सम्झौता माघ २६ गते(आइतबार) एक कार्यक्रमकाबीच भएको थियो । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।
ग्राण्डीसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न
काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी (८ महिना), दोस्रो स्पन्दन शर्मा (१९ महिना) र तेस्रो युभान राज जोशी(५ महिना) भएका छन् । यस्तै २ वर्ष देखि ३ वर्षसम्म तर्फ रिदान नेपाल (२५ महिना), दोस्रो सुदिश्याम बस्नेत (३१ महिना) र तेस्रो सुबल मालाकार तेस्रो भएका छन् । भाग लिनको लागि अस्पतालले जन्मदर्ता कार्ड, खोपको कार्ड अनिवार्य गरेको उक्त प्रतियोगितामा ६२ जना बालबालिकाको सहभागिता रहेको थियो । अस्पतालको प्रांगणमा भएको यस प्रतियोगिता सन् २०१५ देखि लायन्स क्लबले आयोजना गर्दै आएको छ । उपचार भन्दा रोकथाम नै ठुलो भएको र कुनै पनि बालबालिका पछि गएर रोगले नसताओस् भन्ने उदेश्यको साथ स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरेको लायन्स क्लबका पुर्व जिल्ला गर्भनर मधुकर कुमार उपाध्याय बताउँछन् । बालबालिका बाल्यअवस्था देखि नै स्वस्थ हुनुपर्छ भन्ने सन्देश सबै अभिभावकमा प्रवाह गर्नु आफुहरुको मुख्य उदेश्य रहेको उपाध्यायले बताए । आजको बच्चाहरु नै भोलिको देशको सबल सक्षम नागरिक हुन् । यदि कोही बच्चा बिरामी हुन्छ भने त्यसको असर परिवारलाई मात्र नपरेर पुरा समाजलाई पनि पर्ने उपाध्याय बताउँछन् । बच्चाहरु हेर्दा स्वस्थ देखिए पनि कतिपय अवस्थामा उनीहरुको भित्रि अवस्था राम्रो नभएको हुन सक्ने ग्राण्डी अस्पतालका बाल रोग शाखाका प्रमुख डा. सन्जय राज थापा बताउँछन् । यो विषयलाई हरेक अभिभावकले ध्यान दिन जरुरी रहेको उनले बताए ।
इन्फोमेटिक्स कलेजमा नेतृत्व विकास तालिम सञ्चालन
काठमाडौं । पोखराको माटेपानीस्थित इन्फोमेटिक्स कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबारबाट विद्यार्थीहरूका लागि बोल्नेकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । तालिमको उद्घाटन सो कलेजका प्राध्यापक आनन्द भट्टराईले गरेका हुन् । भट्टराईले बोल्नेकला जीवनको जुनसुकै पेशा–व्यवसाय र क्षेत्रमा पनि आवश्यक रहेको हुँदा उत्कृष्ट सफलताका लागि गम्भिरतापूर्वक तालिममा सहभागी हुन सहभागी विद्यार्थीहरूलाई आग्रह गरे । कलेजका प्राध्यापक बद्रिप्रसाद लामिछानेले नेतृत्वविकासको चरणमा बोल्नेकला लगायतका विभिन्न शिपहरूको आवश्यकता पर्ने हुँदा सोको विकासका लागि कलेजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको भन्दै आगामी दिनहरूमा उत्कृष्ट रचनात्मक कार्यहरू सञ्चालन हुनेमा विश्वस्त रहन विद्यार्थीहरूलाई आग्रह गरे । कलेजका प्राध्यापक अर्जुन सापकोटाले शैक्षिक गुणस्तर विकासका लागि अतिरिक्त क्रियाकलापहरूको महत्वपूर्ण भूमिका रहने हुँदा विश्वविद्यालय स्तरमा विद्यार्थीहरूको क्षमता विकासलाई आफुहरूले उच्च प्राथमिकतामा राखेर अध्यापन कार्य सञ्चालन गर्दै आएको बताएका छन् । स्नातकतहको तृतीय वर्षमा अध्ययनरत २५ विद्यार्थी सहभागी रहेको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने छ । बोल्ने कला अन्तर्गत उद्घोषण, भाषण, नेतृत्वविकास लगायतका विषयमा सञ्चारकर्मी रामजीप्रसाद लम्सालले सहजीकरण गरेको उक्त कलेजका विद्यार्थी व्यवस्थापन विभाग प्रमुख आरजु बरालले जानकारी दिए । अर्जुन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एवम् कार्यक्रमबारे जानकारी बद्रीप्रसाद लामिछानेले गरेका थिए ।
वेस्टर्न युनियनको अफर अन्तर्गत महेन्द्र कुमार लामाले पाए १० लाख
काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच महेन्द्र कुमार लामालाई माघ ५ गते विजेता घोषणा गरि रु १० लाख प्रदान गरिएको छ । यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो जहाँ ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर बढीमा ५० हजार सम्म जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको थियो । यस प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।
६० प्रतिशत हकप्रदपछि दुई इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । सोमबार दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । ६० प्रतिशत हकप्रद पछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ५६५.६३ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको पनि ६० प्रतिशत हकप्रद पछिको मूल्य प्रतिकित्ता ४६७.५० रुपैयाँ तोकिएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा सुगन्ध थलेसिमिया प्रोजेक्टलाई साढे २ लाख सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमकाे चेक बैंककाे विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले हस्तान्तरण गरेका हुन् । कार्यक्रम शनिबार आदर्श मा. वि. विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउण्ड टेबल- ११द्वारा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् । प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए ।
ज्योति लाईफ इन्स्योरेन्सकोे प्रादेशिक कार्यालय धनगढीमा, बीमा समितिका अध्यक्षद्वारा उद्घाटन
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराएका छन् । साथै, अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने बताए । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा समेत जानकारी गराए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको बताए । यसैगरी, सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराएका थिए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले छोटो समयमानै बीमाको दायरा ६ % बाट २२ % पुर्याउन बीमा समितिको अहम भूमिका रहेको कारण समितिप्रति कृतज्ञता ज्ञापन गरे ।