भरतपुरकाे पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ काे शुभारम्भ प्रचण्डबाट
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गरेका छन् । बिहीबार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब रु तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएको छ । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए । साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ । पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । रासस
राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता–२०७६ सम्पन्न, पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम
काठमाडौं । काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बालकुमारी ललितपुरको आयोजनामा पाँचौं संस्करणको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता २०७६ सम्पन्न भएको छ । यस विद्यालयले विगत २०७२ सालदेखि निरन्तर वार्षिक रूपमा प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विद्यालयतहका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ३० वटा विद्यालयका ८५ जना विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम भएकी छन् । उनले रु २० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेकी हुन् । सिद्धार्थ वनस्थली स्कुलका स्पन्दन बोहोरा द्वितीय हुन सफल भए । उनले रु १२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । यसैगरी ज्ञाननिकेतन स्कुलकी करिश्मा थापाले तृतीय स्थान प्राप्त गर्दै रु. ८ हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना स्थान प्राप्त गर्नेमा केएमसी स्कुलकी ईराशु कार्की, बिडीएस. स्कुलकी एइभा आचार्य, अवयर्नेश इन्टरनेशनल एकेडेमीकी भावना अर्याल, ब्लु बर्ड सेकेण्डरी स्कुलका फिरोज आफ्रिन र काठमाडौं जेभिएर स्कुलका स्वच्छन्द अधिकारी रहेका छन् । यस्ता बौद्धिक कार्यक्रमहरूले विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटित गर्न मद्दत पुग्दछ भन्दै विद्यार्थीहरूले समयको महत्वपलाई बुझेर कार्यसम्पादन गर्न सके कहिल्यै असफल हुनु नपर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका सहअध्यक्ष डि.के ढुङ्गानाले बताए । कार्यक्रममा सहभागी प्रतियोगी तथा अतिथिहरूलाई केएमसी नेटवर्कका निर्देशक किशोर गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । निबन्ध लेखनपूर्व त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेश भट्टराईले निबन्ध लेखनका बारे अभिमुखीकरण गरे । लेखिएका निबन्धहरूलाई प्रा.डा. अम्माराज जोशी र प्रा.डा. रमेश भट्टराईको नेतृत्वमा रहेको १५ सदस्यीय निर्णायक मण्डलले मूल्यांकन गरेको थियो । निबन्ध लेखनमा सहभागी विद्यार्थीहरूलाई उत्प्रेरक व्यक्तित्व डा. ताराजीले मोटिभेशन स्पिच दिएका थिए । सुखी नेपाली ः समृद्ध नेपाल, सामाजिक सञ्जालका र यसको प्रभाव, नेपाल भ्रमण वर्ष २०२० र राष्ट्रप्रति मेरो कर्तव्य शीर्षकमध्ये गोलाप्रथाद्वारा छानिएका शीर्षकमा प्रतियोगीहरूले निबन्ध लेखेका थिए । विद्यालयका प्राचार्य सुरेन्द्र सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रम उपप्राध्यापक प्रकाश तिवारीले सञ्चालन गरेका हुन् ।
चाइल्डसेफनेटद्वारा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम
काठमाडौं । बालबालिका तथा युवा वर्गका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको संस्था चाइल्डसेफनेटले मंगलबार पाटन दरवार क्षेत्रमा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राम्रो इण्टरनेटका लागि हातेमालो नाराका साथ ‘सुरक्षित इण्टरनेट दिवस – २०२०’ का अवसरमा चाइल्डसेफनेटले उक्त कार्यक्रम गरेकाे हाे । यसले सन् २०१९ देखि नेपालमा सुरक्षित इण्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । स्थानीय खुला डबलीमा सार्वजकि रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले आजको डिजिटल युगमा तीव्रताका साथ अगाडि बढिरहेको सूचना तथा सञ्चार प्रविधिले सकारात्मकका साथै नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि ल्याइरहेको चर्चा गरेका छन् । उनले बालबालिका तथा युवा वर्गलाई यसका नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक भएको बताएका छन् । इण्टरनेट बालबालिकाको अश्लील चित्र र भिडियो देखिएमा रिपोर्ट गर्न चाइल्डसेफनेटले इण्टरनेट वाच फाउण्डेसनसँग हालै सहकार्य सुरु गरेको जानकारी दिँदै रघुवंशीले ।।।।। मा नेपाली भाषामा बेनामी रिपोर्ट गर्न सकिने बताए । कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरो कार्यरत रहेको जानकारी दिएका छन् । त्यसैगरी सिविन नेपालका माधव लोहनीले बाल हेल्पलाइन १०९८ मा निःशुल्क फोन गरी अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन जस्ता घटनाको रिपोर्ट गर्न सकिने जानकारीे दिए । कार्यक्रममा बाल वातावरण केन्द्र नेपालबाट साइबर सुरक्षासम्बन्धी तथा ब्लूबर्ड स्कुलबाट साइबर बुलिङसम्बन्धी सडक नाटकहरु प्रदर्शन गरिएको उक्त कार्यक्रममा रेड सर्कल क्रियटिभ सोलुसन्सका सुशान्त घिमिरेले साङ्गीतिक तथा एपेक्स लाइफ स्कूलका सजल पौड्यालले अनलाइन कुलतबारे हास्य प्रस्तुति दिएका थिए । यसैगरी लभग्रीन नेपालले चाइल्डसेफनेटसँगको सहकार्यमा पाँचखालको बालुवास्थित आजाद माध्यमकि विद्यालयमा साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेर सुरक्षित इण्टरनेट दिवस मनाएको छ । साथै, नवलपरासीको सुनवलमा वेदः सिर्जनशील संस्थाले चाइल्डसेफनेटको सहकार्यमा ‘इण्टरनेटको महत्व र चुनौति’ विषयक अन्तरक्रिया गरी सुरक्षित इण्टरनेट दिवस मनाइयो । त्यसैगरी ललितपुर छम्पीको होली टेम्पल माध्यामिक विद्यालय र जनजागृति माध्यामिक विद्यालय, बुढानीलकण्ठमा साइबर सुरक्षासम्बन्धी तालिम संचालन गरेर सुरक्षित इण्टरनेट दिवस मनाइएको थियो । यस अघि, सुरक्षित इण्टरनेट दिवसको तयारीको लागि गत माघ ९ देखि १२ गते चाइल्डसेफनेटले ललितपुरमा २० जना युवालाई चारदिने साइबर सुरक्षा प्रशिक्षक प्रशिक्षण दिएको थियो । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने, बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सय पचासभन्दा बढी देशमा आयोजना गरिएको छ ।
आरएमडीसीद्वारा सर्लाहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले बिहीबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीमा आयोजित उक्त कार्यक्रममा ३९ वटा सहकारीहरुबाट ६३ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले गरेका हुन् भने प्रमुख अथितिका रुपमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझा रहेका थिए । वित्तीय पहुँच अभिवृिद्घ तथा उद्यमशिलाको विकास मार्फत प्रदेशलाई आत्मनिर्भरता अभिवृद्धि र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीबारेमा जानकारी गराउने उद्देश्यले आयोजित यस १ दिने अन्तरक्रिया कार्यक्रममा इटहरीका शाखाप्रबन्धक गोबिन्द प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए । अन्तक्रिया कार्यक्रमको दोश्रो सत्रमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृतले आरएमडीसीको परिचय, उद्देश्य, तथा संचालन गरिरहेका कार्यहरुका साथै साझेदार बन्न आवश्यक न्युनतम मापदण्ड तथा प्रक्रियाहरुको बारेमा जानकारी गराए । आरएमडीसीले संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि सहयोगी भुमिका निर्वाह गर्दछ भने वित्तीय सुशासन कायम नगर्ने, नितीनियम भन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमा पनी प्रस्तुत हुने हुदा बजारमा आरएमडीसी आफैमा एउटा ब्राण्डको रुपमा रहेको समेत जानकारी गराएका थिए । उनले आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, वित्तीय पहुँच अभिवृिद्ध गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबी न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरे । कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका बारेमा पनि अनुभव आदान प्रदान गरिएको थियो ।
ड्रोन क्यामेरा-हेलिकप्टर बिना अनुमति निकुञ्जमा प्रयोग, वन्यजन्तुमाथि गम्भीर असर
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ड्रोन क्यामेरा जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा विभागमा पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा बिना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको उनले बताए । विगतमा निकुञ्ज क्षेत्रमा चोरी शिकारीका लागि थापिएका विभिन्न प्रकारका धराप, पासोलगायतका सामग्री बरामद हुने गरिएको भए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको निकुञ्जले जनाएको छ । विसं २०३२ मा स्थापना भएको निकुञ्जको कुल क्षेत्रफल १,१४८ वर्ग किमि रहेको छ । सर्वोच्च शिखर सगरमाथा (८८४८ मि), ६,००० मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत यसै निकुञ्ज क्षेत्रभित्र पर्छ । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यका रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेँलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चरा पाइन्छन् । सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौँ पयर्टक यहाँ आउने गर्दछन् । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । त्यसैले यस निकुञ्जभित्र विभिन्न मानवीय क्रियाकलाप गर्न प्रतिबन्द गरिएको निकुञ्जले जनाएको छ । नियम विपरीत हेलिकप्टरको उडान सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन् । यसले गर्दा यस क्षेत्रका पशुपक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता व्यक्त गरेका छन् तर हेलिकप्टर कम्पनी नियमको धज्जी उडाउँदै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख बताउँछन् । सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्याङ्क छ तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्याङ्क छैन ।रासस
देशभर निर्माणाधीन १ सय ८४ पुल समस्याग्रस्त
काठमाडाैं । देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ । कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जनाएको छ । निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । तीमध्ये कतिपयलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको त कतिको शुरु गर्ने चरणमा रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गर्दै आइएको छ ।’ राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ । हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ । ६० सडक पुल निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ । ती मध्ये चार पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन । रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ । स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन सम्पन्न भइसकेको जनाइएको छ । रासस
स्वास्थ्यमन्त्री ढकालले उद्घाटन गरे पाल्पाको पहिलाे महोत्सव, भन्छन्- चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन
काठमाडाैं । पाल्पाको दमकडामा ‘पाल्पाको समृद्धिको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ फागुन १ गतेदेखि प्रथम पाल्पा महोत्सव शुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ । समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका छन् । त्यस्तै पाल्पाका कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु, राष्ट्रिय अन्तरराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्रीलाई पनि महोत्सव राखिएको उनले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय उत्पादित वस्तु, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार र बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा पाल्पाका विभिन्न जाजजाति, धर्म, संस्कृति अनसारका झाँकी, घाटु नाच, लाखे नाच, चुट्का, रोइला, झ्याउरे, सोरठी कडुवा, ख्याली भजन लगायतका सांस्कृतिक प्रस्तुति देखाइने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिए । महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोबार हुने अपेक्षा आयोजकको छ ।महोत्सवका उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबारे बढी हल्ला भइरहेको बताए । नेपालमा अहिलेसम्म पनि कसैमा कोरोना भाइरस नदेखिएको बताउँदै उनले गलत हल्लाको पछाडि लागेर आतङ्कित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता रहेकाे जानकारी गराए । मन्त्री ढकालले भने, “चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन, १८ नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सङ्क्रमित भेटिएनन् ।
लगानी आकर्षित गर्न प्रदेश सरकारलाई ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने बताएका छन् । साथै, सरकारले कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहिलेको परम्परागत शैलीमा परिवर्तन गर्ने हो भने नेपालमा लगानीका सम्भावनाहरु थप बढ्ने उनले बताए । जिल्ला, नगर तथा प्रदेशस्तरमा हुने लगानी एवं व्यवसाय सञ्चालनका लागि कर, रजिष्ट्रेसन एवं नयाँ अनुमति लिनेजस्ता विषयमासमस्या झेल्नुपरेको गुनासो जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट अत्यधिक रुपमा आउने गरेको भन्दै यी समस्याप्रदेश तथा स्थानीय सरकारले समाधान गरिदिए देशका साना व्यावसायीका लागि वातावरण बन्ने बताए । यसरी साना व्यवसायीहरुका समस्या कम भएमा प्रदेशमा मात्र नभएर देशमै लगानीको राम्रो वातावरण बन्ने उनले बताए। प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरेकोले लगानी ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सिंह, अर्थमन्त्री प्रकाश ज्वाला लगायतले आग्रह गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकालले पनि सो आग्रह गरेका हुन् । सल्यानमा आयोजित प्रादेशिक कृषि, पर्यटन, उद्योग व्यापार मेलालाई आज सम्बोधन गर्दै उनले सो आग्रह आग्रह गरेका हुन् । नेपालमा तीन तहको सरकार र कानूनहरुबनिसकेपछि पनि अझै कतिपय कामहरुमा झमेला नहटेको व्यावसायीको गुनासो रहेको उनको भनाई थियो । उनले नयाँ नियम कानुन बन्दा सरोकारवाला पक्षको सहभागिता र परामर्श हुन सके त्यसले व्यावसायिक प्रवद्र्धनमा सहजता थप्ने बताए । कुनै पनि नयाँ आयोजना सञ्चालन गर्नका लागि पर्यटन, वन, वातावरण आदिका क्षेत्रमा गर्नुपर्ने सरकारी प्रक्रियागत कार्यहरुमा अझै चुस्तता जरुरी रहेको उनको भनाई थियो । नेपालको कर्णाली प्रदेश क्षेत्र जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन त्यस्तै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् । मेला महोत्सवजस्ता व्यवासायकि प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कामहरुलाई एउटा कार्यविधि बनाएर जिल्ला नगर उद्योग वाणिज्य संघहरुले नै गर्नेगरी जिम्मेवारी दिँदा व्यवहारिक हुने उनले बताए । यस्ता महोत्सव एवं प्रदर्शनीहरुमा विदेशबाट आयातित गर्ने वस्तु राख्नु हुदैन, नेपाली र स्थानीय उत्पादनलाई उजागर गर्ने, आन्तरिक प्रतिश्पर्धा गराउन सक्ने उत्पादन होस् या कला र अन्य विषयहरुलाई प्रवद्र्धन गर्ने र प्रोत्साहन गर्ने काम गर्नुपर्छ– उनले भने ।