सिद्धार्थ बैंकले सुर्खेतमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा सोमबार भएको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ
हिरोले गर्यो ‘एक्स्ट्रीम १६०आर’ लाई शोकेस, ६० केएमपीएच सम्मको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्ने
काठमाडौं । हिरोले आफ्नो विल्कुलै नयाँ मोटरसाइकल एक्स्ट्रीम १६०आरलाई शोकेस गरेको छ । हिरोले यस मोटरसाइकललाई आगामी मार्च महिनामा भारतिय बजारमा आधिकारीक रुपमा सार्वजनिक गर्ने भएको छ । लञ्च पश्चात यो मोटरसाइकलले आफ्नै १५० सीसी मोटरसाइकल एक्स्ट्रीम स्पोर्टसकाे स्थान लिनेछ । कम्पनीले यस मोटरसाइकललाई ड्रम र डिस्क गरी दुई भेरियन्टहरुमा उपलब्ध गराउनेछ । एक्स्ट्रीम १६० आरले स्पोर्टी र एग्रेशिभ स्टाइलिङ्ग पाएको छ र यो स्टाइलिङ्ग हिरोले केहि महिना अगाडि प्रदर्शन गरेको कन्सेप्ट बाइक एक्स्ट्रीम १आर सँग प्रभावित छ । यो मोटरसाइकल सेग्मन्टकै पूर्ण एलईडी लाइटिङ्ग भएको मोटरसाइकल पनि हो । त्यसैगरी यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इञ्जिन साइड स्ट्याण्ड कटअफ स्वीच र हजार्ड ल्याम्प्स लगायत विशेषता पनि समावेश छन् । हिरोले यो बाइकलाई ह्वाइट, रेड र ब्लु गरी तिन कलर अप्सनमा ल्याउनेछ । यो बाइकमा बीएस६ मापदण्डको १६० सीसी एयर–कुल्ड फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिएको छ जसले १५ एचपीको पावर र १४ एनएमको टर्क उत्पादन गर्दछ । ५ गियर भएको यो बाइकको तौल १३८.५ केजीको मात्र रहेको छ । यो बाइकको पावर टु वेट रेशियो सेग्मेन्टकै राम्रो रहेको छ जसले गर्दा बाइकले ० देखि ६० केएमपीएचको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्दछ । कम्पनीले एक्स्ट्रीम १६०आर लाई सेग्मेन्टकै फास्ट मोटरसाइकलको संज्ञा दिएको छ । डाउनट्युब फ्रेममा निर्माण भएको यो मोटरसाइकलमा अगाडितर्फ टेलिस्कपिक फर्क र पछाडि भने ७–स्टेप एड्जस्टेवल मोनोशक जडान गरिएको छ । त्यसैगरी यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल–च्यानल एबीएस समावेश गरिएको छ । हिरोले यसको ड्रम भेरियन्टको पछाडिको चक्कामा ड्रम ब्रेक जडान गर्नेछ । हिरोले सो मोटरसाइकलको लागि मूल्य घोषणा भने गरेको छैन । तर सधैंजसो सेग्मेन्टमै कम मूल्य पर्ने मोटरसाइकल ल्याउँदै गरेको कुरालाई विचार गर्ने हो भने यो मोटरसाइकलको मूल्य पनि सेग्मेन्टमै सस्तो पर्ने अनुमान लगाउन चाहिँ सकिन्छ । एक्स्ट्रीम १६०आर बजारमा आएपछि यसले बजाजको पल्सर एनएस१६०, होण्डाको सिबि हर्नेट १६०आर, सुजुकीको जिक्सर र यामाहाको एफजि भी३ लगायतका मोटरसाइकलहरु सँग प्रतिष्पर्धा गर्नेछ ।
गण्डकी विकास बैंकद्वारा बालोदय टोलमा डस्टविन सहयोग
काठमाडौं । गण्डकी विकास बैंकले पोखरा विरौटामा रहेको बालोदय टोल विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ । बालोदय टोल विकास समितिका अध्यक्ष गुरुप्रसाद गुरुङले आफ्नै टोल छेउमा आई सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी टोललाई समृद्ध बनाउन बैंकले खेलेको भूमिका प्रति आभार व्यक्त गरेका थिए । टोल विकास समितिका सल्लाहकार तथा बालोदय बोर्डिङ स्कुलका संस्थापक प्राचार्य दुर्गा पंगेनीले बैंकको भूमिका प्रति आफु सन्तुष्ट रहेको धारणा राखे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले स्वागत मन्तव्य राखे भने गण्डकी विकास बैंक, विरौटा शाखाका प्रबन्धक शिववहादुर कार्कीले सञ्चालन गरेका थिए ।
‘दोस्रो टोखा महोत्सव’ फागुन २३ गतेदेखि
काठमाडाैं । धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–२ र ३ टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा स्थानीय कला, संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ उनले भने । नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा टोखा नगरपालिकामा रहेका सांस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ । महोत्सवमा पाँच लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ । रासस
आकाशियो सुनको मूल्य, प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबा भएको सुन ४ सय रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ७७ हजार १ सय रुपैयाँ बिक्री भइरहेको छ । साताको तेस्रो दिन अर्थात मंगलबार प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा बिक्री भएको तेजावी बुधबार ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीले नि पछिल्लो समय नयाँ मूल्य कायम गर्दै प्रतितोला ९सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
वार्षिक साढे ९ लाखसम्मको आयमा कर छुट, तर शर्तमाथि शर्त
काठमाडौं । बार्षिक साढे ९ लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट हुने भएको छ । आयकर ऐनले दिएको वार्षिक साढे ४ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था र सामाजिक सुरक्षा कोषमा बचत भएको ५ लाख रुपैयाँसम्मको रकममा कर नलाग्ने भएको कारण वार्षिक साढे ९ लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युगको प्रारम्भ’ भन्दै थालनी गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको आय कर छुटको सीमा बढाइदैछ । सामाजिक सुरक्षा काेषमा बचत भएकाे वार्षिक ३ लाख रुपैयाँसम्म आय कर छुट हुने व्यवस्था संशोधन गरेर वार्षिक ५ लाख रुपैयाँ पुर्याउन लागिएको हो । प्रधानमन्त्री ओलीले सरकार गठन भएको २ वर्ष पूरा भएको उपलक्ष्यमा संघीय संसदमा गरेको सम्बोधनमा आय कर छुटको सीमा ३ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ बनाउने जानकारी दिए । प्रधानमन्त्रीको सो सम्बोधन अनुसार सरकारले राजपत्रमा सुचना प्रकाशित गरेर सीमा बढाउन लागेको कोषका निर्देशक कृष्ण अधिकारीले जानकारी दिए । कर छुटको सीमा बृद्धिसँगै गणना प्रक्रिया पनि केही संशोधन हुदैछ । अधिकारीका अनुसार अहिलेसम्म करयोग्य आम्दानीमा कोषमा जम्मा भएको रकमको २० प्रतिशत रकम घटाउन पाइन्थ्यो । यो २० प्रतिशत रकम भनेको रोजगारदाताले कामदारको लागि कोषमा जम्मा गरेको रकम हो । कोषमा रोजगारदाताले २० प्रतिशत र कामदारले ११ प्रतिशत गरी कुल तलबको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । पहिलाको व्यवस्था (रोजगारदाताले हालिदिएको २० प्रतिशतका दरले हुन आउने रकम) अनुसार ३ लाख रुपैयाँ छुट पाउन बार्षिक १५ लाख रुपैयाँ आम्दानी हुनुपथ्र्यो । यो १५ लाख रुपैयाँभित्र नै रोजगार दाताले कोषमा हालिदिएको २० प्रतिशत रकम पनि हुनुपथ्र्यो । तपाईको वार्षिक आम्दानी १५ लाख रुपैयाँ भयो भने त्यसमा २० प्रतिशतका दरले हुन आउने रकम ३ लाख रुपैयाँ आयकर छुटको लागि घटाउन पाइन्छ । यो घटाउँदा तपाईको करयोग्य आम्दानी १२ लाख रुपैयाँ भयो । यो १२ लाख रुपैयाँमा तपाई विवाहित व्यक्ति हो भने ४ लाख ५० हजार र अविवाहित व्यक्ति हो भने ४ लाख रुपैयाँ घटाउन पाइने सुविधा आयकर ऐनले दिएको छ । विवाहित व्यक्तिकै कुरा गरौं । आयकर ऐनका अनुसार यो १२ लाखमा ४ लाख ५० हजार रुपैयाँको कर लाग्दैन । त्यसो हुँदा तपाईको वार्षिक करयोग्य आम्दानी ७ लाख ५० हजार रुपैयाँ भयो । यो ७ लाख ५० हजार रुपैयाँ पहिलो १ लाख रुपैयाँको १० प्रतिशतका दरले आयकर लाग्छ । त्यसपछिको अर्काे २ लाख रुपैयाँको २० प्रतिशतका दरले कर लाग्छ । अब तपाईसँग अझै ४ लाख ५० हजार रुपैयाँ बाँकी छ । यो ४ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतका दरले कर लाग्छ । किनभने आयकर ऐनले ४ लाख ५० हजार रुपैयाँसम्मको वार्षिक आम्दानीमा कर छुट, ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म १० प्रतिशत कर, ५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्मका २० प्रतिशत कर, ७ लाख ५० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्ममा ३० प्रतिशत कर र सोभन्दा माथिको आम्दानीमा वार्षिक ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले कोषमा आवद्ध हुनेको आम्दानीमा ३१ प्रतिशत रकममै कर छुटको व्यवस्था गरिदिएको थियो भने वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार रुपैयाँ कर छुट पाउथे । यसो हुँदा ३० प्रतिशत कर तिर्नुपर्ने रकम कम हुन्थ्यो । अब यस्तो सरकारले अहिले वार्षिक आम्दानीमा ५ लाख रुपैयाँसम्म कर छुट दिने व्यवस्था गर्न लागेको छ । यो व्यवस्था भनेको कोषमा जम्मा हुने ३१ प्रतिशत तलब नै आय कर छुटको लागि गणना गर्न पाइने भन्ने हो । सरकारले पहिला नै ३१ प्रतिशत तलबमै कर छुटमा गणना गर्न दिने व्यवस्था गरेको हुन्थ्यो भने वार्षिक ३ लाख रुपैयाँको सीमा बढेर ४ लाख ६५ हजार रुपैयाँ हुन्थ्यो । त्यसैले अहिले गर्न लागिएको ३१ प्रतिशत रकम नै कर छुटमा गणना गर्न पाइने र त्यसमा थप ३५ हजार रुपैयाँ सीमा बढाएर ५ लाख पुर्याउन लागिएको मात्रै हो । अब सरकारले दिन लागेको ५ लाख रुपैयाँ नै कर छुट पाउनको लागि वार्षिक आम्दानी १६ लाख १२ हजार ९ सय ३ रुपैयाँ हुनुपर्छ । वार्षिक १६ लाख रुपैयाँमा ५ लाख रुपैयाँ घटाउँन पाउँदा करयोग्य आम्दानी ११ लाख रुपैयाँ बाँकी हुन्छ । त्यो ११ लाखमा पनि विवाहित व्यक्तिले वार्षिक ४ लाख ५० हजार रुपैयाँ कर छुट पाउँछ । यो हुँदा वार्षिक १६ लाख रुपैयाँ आम्दानी गर्ने व्यक्तिको करयोग्य आय ६ लाख ५० हजार रुपैयाँ हुन्छ । यो ६ लाख ५० हजार रुपैयाँमा १ लाख रुपैयाँको १० प्रतिशतका दरले, त्यसपछिको २ लाखमा २० प्रतिशतका दरले र बाँकी रहेको ३ लाख ५० हजार रुपैयाँमा ३० प्रतिशतका दरले कर तिर्नुपर्छ । अर्थात वार्षिक ५ लाख रुपैयाँ आयकर छुट पाउने व्यक्ति राज्यलाई वार्षिक ३० प्रतिशतसम्म आयकर तिर्ने तहको आम्दानी गर्ने व्यक्ति हुनेछ । तलबबाट हिसाव तपाईले वार्षिक ६ लाख रुपैयाँ तलब बुझ्नु हुन्छ भने सामाजिक सुरक्षा कोषमा तपाईको वार्षिक १ लाख ८६ हजार रुपैयाँ जम्मा हुन्छ । आयकर गणनाको लागि तपाईले वार्षिक आम्दानीबाट १ लाख ८६ हजार रुपैयाँ घटाउन पाउने हुनुभयो । यसो हुँदा तपाईको वार्षिक कर योग्य आम्दानी ४ लाख १४ हजार रुपैयाँ भयो । यस्तो अवस्थामा विवाहित व्यक्तिले आय कर तिर्नु पर्दैन । अविवाहित व्यक्तिले भने वार्षिक १४ हजार रुपैयाँको १० प्रतिशतका दरले १४ सय रुपैयाँ आयकर तिर्नुपर्छ । तपाईले मासिक ६० हजार रुपैयाँ तलब बुझिरहनु भएको छ भने एक वर्षमा ७ लाख ८० हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । यो ७ लाख ८० हजारको ३१ प्रतिशतका दरले वार्षिक २ लाख ४१ हजार ८ सय रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ । जुन, आयकर गणना प्रयोजनको लागि घटाउन पाइन्छ । वार्षिक ७ लाख ८० हजार आम्दानीमा कोषमा जम्मा भएको ३१ प्रतिशत रकम घटाउँदा ५ लाख ३८ हजार २ सय रुपैयाँ करयोग्य आम्दानी भयो । यस्तो रकमबाट पनि विवाहित व्यक्तिले ४ लाख ५० हजार रुपैयाँसम्ममा कर छुट पाउँछ । त्यसो हुन्दा विवाहित व्यक्तिले ८८ हजार २ सय रुपैयाँमा कर तिर्नुपर्छ, जुन वार्षिक १० प्रतिशतका दरले ८ हजार ८ सय २० रुपैयाँ तिरे हुन्छ । अविवाहित व्यक्तिले भने अलि धेरै कर तिर्नुपर्छ । वार्षिक ४ लाख रुपैयाँसम्ममा कर तिर्नु पर्दैन । अविवाहित व्यक्तिले कर तिर्ने भनेको १ लाख ३८ हजार २ सय रुपैयाँको मात्रै हो । त्यस्तो अवस्थामा १ लाख रुपैयाँको १० प्रतिशतका दरले १० हजार रुपैयाँ र ३८ हजार २ सयको २० प्रतिशतका दरले ७ हजार ६ सय ४० रुपैयाँ कर तिर्नुपर्छ । यसरी वार्षिक ७ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अर्थात मासिक ६० हजार रुपैयाँ तलब थाप्ने अविवाहित व्यक्तिले कोषमा रकम जम्मा गरेपनि वार्षिक १७ हजार ६ सय ४० रुपैयाँ कर तिर्नुपर्छ । कोषमा आवद्ध हुँदाको फाइदा सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने कर्मचारीले आयकरले दिएको सुविधा मात्रै पाउँछ । यो भनेको विवाहित व्यक्तिले वार्षिक ४ लाख ५० हजार रुपैयाँ र अविवाहित व्यक्तिले वार्षिक ४ लाख रुपैयाँसम्म मात्रै कर छुट पाउने हो । सोभन्दा बढीमा आयकरको सीमा अनुसार १० देखि ३६ प्रतिशतसम्म कर तिर्नुपर्छ । कोषमा आवद्ध हुँदाको फाइदा भनेको कोषमा जम्मा भएको रकम आफूले प्राप्त गरेको तलबमा घटाएर कर तिर्न पाइन्छ भन्ने हो । कोषमा आवद्ध हुँदाका अन्य फाइदाहरु भने छन् । यहाँ कर प्रयोजनको हिसावले मात्रै चर्चा गरिएको हो । सम्बन्धित समाचार कर छुटको दायरा बढाइयो, मासिक ३८ हजार ४ सय ६१ रुपैयाँ तलब हुनेले कर तिर्नु नपर्ने राष्ट्र बैंकको निर्देशनः अब ८० हजारभन्दा कम तलब खानेले गाडी किन्न नसक्ने ५० हजार तलब खानेले बढीमा २० लाख ऋण पाउने, तलबी कर्मचारीले कसरी लिने कर चुक्ता प्रमाण ?
बिएफआइएन र भिक्टोरिया युनिभर्सिटीबीच सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र भिक्टोरिया युनिभर्सिटी( भियु) बीच बुधबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भियुका व्यवसाय तथा कानुन संकायका प्रो.मार्क फरेलले हस्ताक्षर गरेका हुन् । माघ २८ गतेदेखि फागुन ३ गते सम्म भएको बिएफआइएन र भियुको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा संचालन गरिएको ५ दिने एक्सक्युटिभ लिडरसिप डेभलपमेन्ट प्रोगामको उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा नेपालका बैंक तथा वित्तिय संस्थामा उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व विकास तथा अन्य सम्बन्धी बिभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको बैंकिङ्ग, बिमा, पुँजी बजार, व्यवस्थापन लगायतका अन्य क्षेत्रहरुसंग सम्बन्धित ज्ञान विकासका लागी संयुक्त रुपमा मान्यता प्राप्त ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गर्ने विषय रहेका थिए । यसैगरी, भियुले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरु तथा विद्यार्थीलाई इन्टनशीपमा पठाउन सकिने, संयुक्त रुपमा वित्तिय क्षेत्रका बिभिन्न विषयमा खोज गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् । उक्त तालीम कार्यक्रममा भियुका व्यवसाय तथा कानुन संकायका प्रो.मार्क फरेलले उपस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठित संचालकहरुलाई स्वागत गरेका थिए । उक्त तालिममा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाका १७ जना संचालकहरुको उपस्थिति रहेको थियो । भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलियाको मेलबर्नमा स्थापित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो । सन् १९१० मा स्थापना भएको अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त यस विश्वविद्यालयले बिभिन्न बिषयमा प्राबिधिक तथा उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । बिएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसँंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुको संयुक्त लगानीमा स्थापना भएको हो
एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषामा
काठमाडौं । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग करोबार सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा दिंदै आएकाे छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।