विकासन्युज

शान्ति समाजको भवन निर्माण गर्न एक करोड दान

विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौँमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन् । समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेबित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले रकम प्रदान गरेकाे  जनाएको छ ।

डाबर नेपालको नाफा ९ अर्ब, बार्षिक कारोबार २५ अर्ब

काठमाडौं । बहुराष्ट्रिय उत्पादक कम्पनी डाबर नेपालको आम्दामी वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८९ करोड ९० लाख ८ हजार १ सय ६० रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब १४ करोड ९८ लाख १० हजार २ सय २३ खुद नाफा गरेको थियो । डाबर नेपालले आर्थिक वर्ष २०७४/७५ मा २४ अर्ब २२ करोड ७६ लाख १८ हजार ३ सय ४ सय रुपैयाँ कारोबार गरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब १२ करोड ६८ लाख १५ हजार ९ सय ९ रुपैयाँ कारोबार भएको वित्तीय विवरण कर कार्यालयमा बुझाएको छ । आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ९० करोड ९१ लाख ९७ हजार ५ सय १९ रुपैयाँको करोबार वृद्धि भएको छ । कच्चा पदार्थ, श्रमिक र उत्पादनका लागि आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब ६९ करोड १० लाख ३९ हजार ९ सय ८४ रुपैयाँ कम्पनीको खर्च भएको छ । सोही शीर्षकमा आर्थिक वर्ष २०७४/७५ मा १३ अर्ब ९१ करोड १४ लाख ४० हजार ८ सय २ रुपैयाँ कम्पनीको खर्च भएको थियो । आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ६७ करोड ९५ लाख ९९ हजार १ सय ८२ रुपैयाँको खर्च वृद्धि भएको छ । कम्पनीले कर तिर्नु अघि आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब ३८ करोड ४५ लाख ७७ हजार ६ सय ९९ रुपैयाँ  आम्दानी गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा १३ अर्ब ५३ करोड १५ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष  २०७५/७६ मा ८५ करोड ३० लाख ४२ हजार ३ सय ६७ रुपैयाँ नाफा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ७४ करोड ९१ लाख ९७ हजार ९ सय ३७ रुपैयाँ खुद नाफा वृद्धि गरेको छ । ९ अर्ब चुक्ता पुँजी भएको डाबर नेपालले ५ अर्ब लगानी थपेर १४ अर्ब पुर्याउने प्रकृयामा छ । पछिल्लो समय डाबर नेपालको उत्पादन गुणस्तरीय भएका कारण उपभोक्ताले रुचाएका छन् । हाल डाबरले रियल, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर आयल उत्पादन गर्दै आएको छ ।  यस्तै कम्पनीले डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका थुप्रै उत्पादनहरु बिक्री गर्दै आएको छ । हाल डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु छन् । नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा ठाउँमा यसका उत्पादन केन्द्रहरु छन् । डाबर कम्पनीले राजश्वमार्फत नेपाल सरकारलाई सहयोग समेत पुर्याएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा सम्मानित भएको थियो । कर दिवसको अवसरमा डाबर नेपाललाई निर्यातकर्ताको तर्फबाट सम्मान पाएको थियो ।

२५ रुपैयाँको न्युनतम मौज्दातसहित बीओकेले ल्यायो दुई नयाँ योजना

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले बुधबार दुई नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता र ‘बीओके कृषि कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको हो । ‘सहज बचत खाता’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात २५ रुपैयाँमै खाता खोल्न सक्नेछन् । जसमा विभिन्न सेवा सुविधाहरु उपलब्ध रहेको बैंकले जानकारी गराएको छ । त्यस्तै, बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यले बीओके कृषि कर्जा योजना सार्वजनिक गरेको हो । बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’ मार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने बैंकले जानकारी गराएको छ । त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले साे रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसन डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् । साथै, बैंकले सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट(सेजोन) नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न चाहिने तालीम प्रदान गर्न सेजोन, नेपालका सभापति भिमप्रसाद गौतमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २० प्रतिशतले वृद्धि गरेको छ । गत आवको सो अवधिमा ३८ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको पुस मसान्तामा ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिमा निक्षेप र कर्जामा क्रमशः ७.८४ प्रतिशत र ९.१४ प्रतिशतले वृद्धि गरेको छ । बैंकको निक्षेप ९० अर्ब ११ करोड र कर्जा ८२ अर्ब ४९ लाख रुपैयाँ रहेको छ । बैंकले हाल ८७ शाखा, ७८ एटीएम र १० वटा एक्सटेन्स काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

परियोजना बैंकको तीव्र कार्यान्वयनमा जुट्यो योजना आयोग

काठमाडौं । राष्ट्रिय योजाना आयोग परियोजना (प्रोजेक्ट) बैंकको तीव्र कार्यान्वयनमा जुटेको छ । आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले देशको दीर्घकालीन विकासको खाका तयार पार्नको लागि परियोजना बैंक आावश्यक भएको भन्दै यसको तीव्र कार्यान्वयनमा जुटेको बताएका छन् । देशको विकास र समृद्धिका लागि के कस्ता परियोजना निर्माण गर्न सकिन्छ र कस्ता परियाजनाहरुलाई कत्तिको प्राथमिकता दिने भन्ने आधार पत्र निर्माण गरी त्यसको अध्धयन अनुसन्धान मार्फत परियोजना बैंकको स्थापना हुने उनले बताए । उपाध्यक्ष कँडेलले चालु आर्थिक वर्षभित्रै परियोजना बैंकको काम सक्ने बताएका छन् । आयोजना तर्जुमा तथा व्यवस्थापनमा सुशासन अभिवृद्धि गरी सन्तुलित र मुलुकको दिगो विकास गर्ने सोचसहित राष्ट्रिय परियोजना बैंक अवधारणा ल्याइएको उनको भनाइ छ । बैंकको सिद्धान्त र मान्यता अनुरुप प्रादेशिक सरकार र स्थानीय तहमा समेत त्यस्तो प्रणालीको स्थापना गर्न सहजीकरण गर्ने कँडेलले बताए । ‘प्रोजेक्ट बैंंकको काम पनि हामी द्रुत रुपमा हामी अगाडि बढाइ रहेका छौं, प्रक्रियाको हिसाबले यो गेमचेञ्जरको प्रोजेक्ट हो, यसले आयोजनाको पहिचान र छनोट प्रक्रियालाई चेन्ज गरिदिन्छ,’ उनले भने । यसको मापदण्डबाहेक कसैले पनि केही गर्न नसक्ने उनको भनाइ छ । परियोजनाको नियमावली निर्माणमा मन्त्रालय लागि रहेको उनले बताए । आयोगको तर्फबाट हुने सबै काम तीव्र रुपमा भइरहेको उनले बताए । प्रोजेक्ट बैंकको जागरुकता प्रदेशहरुमा राम्रो भएको बताउँदै उनले यसको कार्यान्वयन स्थानिय तहमा भने अलि समस्या हुने बताए । परियोजना बैंकमा केही पुराना र केही नयाँ परियोजनाहरुलाई पनि जोड्न सकिने उनको भनाइ छ । परियोजन बैंकको स्थापना पछि अहिले पुँजीगत खर्च हुन नसकेको समस्या हट्ने उनको दाबी छ । परियोजना निर्माण लागत र समयावधि पनि यसमा समेटिनेछ। अहिले राष्ट्रिय आयोजनाबाट निर्धारित समयसीमाभित्र कार्य सम्पादन नहुँदा यसको सीधा असर पुँजीगत खर्चमा परेको गुनासो छ। साथै उनले चालु आर्थिक वर्षमा ८‍.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन भएको बताए । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक भएको स्विकार्दै उनले यो हिसावले चालु आर्थिक वर्षमा ५२ प्रतिशत सम्म पुँजीगत खर्च हुने बताए । चालु आर्थिक वर्षको हालसम्म चालुगत तर्फ ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ २५ प्रतिशत खर्च भएको छ । साथै, उनले १५ औं आवधिक आयोजना निर्माणको अन्तिम चरणमा भएको बताए ।  आयोगले सबै मन्त्रालयहरुसँग आयोजना माग गरेको उनकाे भनाइ छ ।

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुर्याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।’ प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए । उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको उल्लेख गरे । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए । उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याए । ‘त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्’, प्रधानमन्त्री ओलीले भने । विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गरे । उनले देशभित्र र देश बाहिर रहनुभएका आम नेपालीलाई दिवसको अबसरमा शुभकामनासमेत व्यक्त गरे । आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा स्मरण गरेकाे  ओलीले बताए । वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्वयवस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गरेका छन् । प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए । उनले थपे, ‘आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।’ द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ । नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको छ । नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उनले एउटा सरकारको ठाउँमा अर्काे सरकार बनेजस्तो सहज नभएको बताए । छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले समृद्धिको अभियानका समयमा कतिपय पक्षबाट आइरहेको असन्तुष्टि, प्रणालीगत वदलाव, जनआकाङ्क्षा र राज्यको संस्थागत आवश्यकतालाई केलाउनुपर्ने अबस्था रहेको उल्लेख गरे । विसं २००७ को परिवर्तनजस्तै आजको समय विकास र समृद्धिको युग हो भन्दै प्रधानमन्त्री ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगे पनि बेरोजगारी र पछौटेपनको अवस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको बताए । ‘विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रुपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ’, उनले थपे । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको बताएका छन् । यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । यस यात्राबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाँक्षा पूरा हुने उनले विश्वास व्यक्त गरे । यतिखेर सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित रहेको भन्दै उनले समृद्धि प्राप्तिको यो अभियानमा मित्रराष्ट्रको सहयोगको अपेक्षा गरे । उनले मुलुकलाई संविधान र कानूनअनुसार अघि बढाउने र लोकतान्त्रिक प्रणालीमा व्यवधान पुग्न नदिनेमा आम नेपालीलाई आश्वस्त पारे । राष्ट्र निर्माण, प्रजातन्त्र प्राप्ति, लोकतन्त्रका लागि गरेको लामो संघर्ष र इतिहासको परिघटनासम्बन्धीको ज्ञानलाई भावि पुस्ताले पनि अध्ययन गर्नुपर्नेमा उनकाे  जोड थियाे । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नी सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो । सो क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । रासस ­­­

महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिकबीच सेवासम्बन्धी सम्झौता, फार्मेसीमा १२ प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त पत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन्। यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।

पाँच करोड लागतको विद्युत् आयोजना अलपत्र

प्युठान । नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सवस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ । सवस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताए । आरके इन्टरनेशन नेपाल काठमाडौँले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो । फर्सालले भने, ‘ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।’ विद्युत् भार कटौती मुक्त जिल्लाका रुपमा रहेको प्यूठानमा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सवस्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख जयनन्द बोगटीले बताए । विद्युत् प्राथिकरणले आयोजना सम्पन्न गर्न विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् । ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन । १४ करोडको काम हुने यसै आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत रु १४ करोड लागतमा विद्युतीकरण गर्ने प्राधिकरण प्रमुख बोगटीले बताए । प्यूठान नगरपालिकाका केही ठाउँ र विद्युतीकरण नभएका जिल्लाका विभिन्न ठाउँमा वितरण लाइन निर्माण, ट्रान्सफर्मर जडानका काम गर्ने उहाँको भनाइ छ । यो बजेटले यसै आर्थिक वर्षमा काम गर्ने र जिल्लाका केही ठाउँमा अर्को आर्थिक वर्षमा काम गरि जिल्लामा विद्युतीकरणको काम सक्ने योजना आफूहरुले बनाएको उनी  बताउँछन् । आगामी आवमा गौमुखी गाउँपालिका–३ रजवाराको केही भाग, नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङका सबै ठाउँ, नौ बहिनी २ खवाङका केही ठाउँमा काम हुनेछ । जिल्लामा अहिले २३ हजार घरधुरीले विद्युत् जडान गरि सुविधा लिइरहेका छन् । रासस

तीन उद्योग बन्द गर्न निर्देशन, कुन कुन परे ?

बनेपा । बनेपा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं. १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न निर्देश दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए । मेलम्ची बगरमा कुनै पनि उद्योगलाई आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्न अनुमति नदिएको भए पनि मेलम्ची इन्द्रावती स्टोनले निरन्तर रुपमा मेलम्ची बगर क्षेत्रमा बालुवा, गिट्टी बिक्री वितरण गरेको पाइएको र गत आर्थिक वर्षमा गरेको कामको समेत अत्यावधिक विवरण उपलब्ध गराउन नसकेको भन्दै सोको बारेमा यथार्थ छानबिन गरी आवश्यक कार्वाही गरी जिल्लास्तरीय अनुगमन समितिलाई जानकारी दिन सम्बन्धीत नगरपालिकालाई अनुरोध गरेको समन्वय प्रमुख केसीले बताएका छन् । त्यस्तै वीर वी एण्ड सन्स र मञ्जुश्री मल्टिप्रपोज प्रालिले बालुवा प्रशोधन अनुमति लिएर क्रसर नै सञ्चालन गरिरहेको पाइएकाले उद्योग दर्ता अनुमति लिँदाको उद्देश्यभन्दा फरक कार्य गरेको भन्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ तर त्यसरी निर्देशन दिएको भए पनि धेरेजसो उद्योगहरु निर्देशनको अवज्ञा गर्दै सञ्चालन भइरहेको छ । जिल्लाभित्र सञ्चालन गरिएका नदीजन्य पदार्थ सङ्कलन र उद्योग तथा खानीजन्य उद्योग, क्रसर (ढुङ्गा, गिट्टी, बालुवा) उद्योगको अनुगमन औपचारिकता मात्रै समिति भएको छ । अनुगमन गरिएको समितिमा कारवाही गर्ने अधिकार नहुनु र त्यसको लागि माथिल्लो तहमा प्रतिवेदन पठाउने गरेको भए पनि त्यसको कारवाही प्रक्रियामा कार्यान्वयन नहुने भएपछि औपचारिकतामा मात्रै समिति बनेको हो । रासस