बैंकले सार्वजनिक गर्यो बुधबारको विनिमयदर, अमेरिकी डलरको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य मंगलबारको तुलनामा केही बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा पुगेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ १२ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ९ पैसा कायम भएको छ । एसियाली मुद्रातर्फ चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६५ पैसा र जापानी येन (१०) को बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । खाडी मुलुकका मुद्रामा साउदी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७० पैसा र युएई दिराम ४१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् राखेको छ । केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर बैंकको वेबसाइटबाट हेर्न आग्रह गरिएको छ ।
ग्लोबल आइएमई क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले ७ करोड ४० लाख ८७ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित १० प्रतिशतका दरले ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते होटल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे ८ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । साथै, सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङले २१.०५ प्रतिशत लाभांश दिने
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले ४ करोड ५ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित ११.०५ प्रतिशतका दरले ४ करोड ४७ लाख ६३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २० गते सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ ।
हरि ॐ पूजा सामग्री उद्योगलाई उद्योग विभागको ७ दिने अल्टिमेटम
काठमाडौं । राधा धागो उद्योगले हरि ॐ पूजा सामग्री उद्योगविरुद्ध ट्रेडमार्क दर्ता खारेजीको माग गर्दै उजुरी दिएको छ । बुटवल उपमहानगरपालिका-४, रुपन्देहीस्थित राधा धागो उद्योगले बुटवल उपमहानगरपालिका-६ स्थित हरि ॐ पूजा सामग्री उद्योगका सञ्चालक यशोदा ओस्तीविरुद्ध ट्रेडमार्क दर्ता खारेजीका लागि उजुरी दिएको उद्योग विभागले जनाएको हो । विभागका अनुसार उजुरी परेको उद्योगको नाम र ठेगानामा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम उजुरीको प्रतिलिपिसहित ७ दिने म्याद सूचना पठाइएको थियो । तर, हालसम्म लिखित प्रतिक्रिया पेस नभएको तथा म्याद तामेलीको प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशित गरेको जनाएको छ । बाटोको म्यादबाहेक ७ दिनभित्र विभागको कानुन शाखामा उपस्थित भई आफ्ना सबुद प्रमाणसहित आफैँ वा कानुनी प्रतिनिधिमार्फत लिखित प्रतिक्रिया पेस गर्न विभागले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने र त्यसपछि कुनै उजुरी नलाग्ने विभागले सूचनामार्फत जनाएको छ । सूचनामा ‘हरि ॐ’ तथा ‘शास्त्रीय वैदिक जनै’ लगायतका व्यापारिक चिह्नसम्बन्धी विवरण उल्लेख गरिएको छ ।
२० प्रतिशत लाभांश बाँड्ने आईएमईको घोषणा
काठमाडौं । आईएमई लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते आईएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे २६औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी आईएमई खल्ती लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । यस्तै, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत निर्धारण गर्नेछ ।
१० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा
काठमाडौं । ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे २०औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाबाट सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरिनेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत निर्धारण गर्नेछ । साथै, बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । त्यसैगरी, सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा बाँकी तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । विभागका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । राति पनि देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, राति देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपरान्ह १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपरान्ह १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउनेछन् । यसैबीच, आज अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ ।