पेट्रोलियम पदार्थ अन्वेषणः पहिलो चरणको काम सम्पन्न, अब डिलिङको काम शुरू
दैलेख । दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार साइस्मिक सर्वेषक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी चार किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम सम्पन्न भएको बताएका छन् । चाइनाको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो । खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. त्रिपाठीले चाइनाको प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्वेक्षणबाट सङ्कलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चाईनाकै अर्को विशेषज्ञ टोली आएर चार किलोमिटर गइराइसम्म मुख्य डिलिङको काम गर्ने डा. त्रिपाठीले बताए । नेपालको संविधान २०७२ जारी भएपछि मधेशवाददलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि रु दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । रासस
हायात रिजेन्सीमा खुल्यो ‘द लिभिङ रुम’ रेष्टुरेन्ट
काठमाडौं । हायात रिजेन्सी काठमाडौंमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । हायात रिजेन्सीको लबी एरियामा अवस्थित उक्त भर्सटाइल रेष्टुरेन्ट योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खानाका पारखीहरूका लागि सञ्चालनमा ल्याइएको हो । शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्ट हुँदै टेरेस (छत) मा जान सकिन्छ जहाँबाट सुन्दर र हराभरा बगैचा तथा स्वीमिङ पुल देख्न सकिन्छ । यसको नाम ’दलिभिङ रुम’ जसको शाब्दिक अर्थ हुन्छ बैठक कोठा जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । यसको नामजस्तै यो रेष्टुरेन्ट होटल हायात रिजेन्सीमा सबै उत्सवहरू वा रमाइलो पलहरूमा जमघट हुनका लागि सबैभन्दा उपयुक्त स्थान हो । आधुनिक र मनै लोभ्याउने साजसज्जा तथा इन्टेरियर डेकोरेशन रहेको ‘द लिभिङ रुम’ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ सर्वोत्कृट खाना र स्फूर्ति दिने इनरजाइजिङ ड्रिङ्कहरू ग्राहकहरुलाई प्रदान गर्दछ ।
प्रभु बैंकले ल्यायो गुडलक सेभिङ निक्षेप योजना
काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित उक्त योजना ल्याएको हो । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । यस योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरु मै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपिओएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।
कमलादीस्थित हेयर यन्ड शान्तिका ग्राहकलाई हेरचार डटकमकाे सेवामा दश प्रतिशत छुट
काठमाडौं । हेयर यन्ड शान्तिका ग्राहकले हेरचार डटकमका विभिन्न सेवाशुल्कमा दश प्रतिशत छुट पाउने भएका छन् । व्यावसायिक घराना बैंक,इन्स्योरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धिकार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेको कमलादीस्थित सैलुन हेयर यन्ड शान्तिबीच सो मात्रामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेयर यन्ड शान्तिका प्रबन्ध निर्देशक देवराज राजभण्डारी र हेरचार डटकमका प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार हेयर यन्ड शान्ति, कमलादीका ग्राहकहरुले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भारसम्बन्धि कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने भएका हुन् । अब छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाडौं बाहिर पनि हेरचारको सेवालाई विस्तार गर्न लागेको हेरचार प्रबन्धक भट्टराइले बताएका छन् ।
उडिरहेको हेलिकोप्टरबाट खस्याे जस्तापाता, स्थानीयवासी भए त्रसित र आक्रोशित
सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे । सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको सुझाव कार्यान्वयन नभएकोमा गुनासो गरेका छन् । उनले सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिँदा मानवीय क्षति भएमा जिम्मेवारी नियमनकारी निकायले लिनुपर्छ भने । सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयवासीको गुनासो रहेको छ । नेपाल नागरिक उड्डयन ऐन २०७३ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु/गराउनु हुँदैन भन्ने उल्लेख छ । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरुको क्षेत्राधिकारभित्र नभएको जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको विकल्प नभएको बताएका छन् । उनले ढुवानीको गर्दा सम्बन्धित कम्पनीले ध्यान दिन आग्रह गरे । जस्तापाता खसेको विषयमा छानबिन गर्न चालक गुन्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले भने, “हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्छौँ, अहिलेलाई ढुवानी बन्द गरिएको छ ।” यस विषयमा कैलाश एयरका व्यवस्थापक प्रतापजङ्ग पाण्डेसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । रासस
विनोद चौधरी भन्छन्ः अर्थमन्त्री हटाउने खेलमा म छैन, राख्ने हटाउने नेकपाको विषय हो
काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफू अर्थमन्त्री डा. युवराज खतिवडा हटाउने खेलमा नलागेको बताएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहित केही व्यवसायी अर्थमन्त्री डा. खतिवडालाई हटाउने खेलमा लागेको भन्ने गुनासो पार्टी बरिष्ठ नेता माधब कुमार नेपालसँग गरेको भन्ने समाचार सार्वजनिक भएपछि चौधरीको यस्तो टिप्पणी आएको हो । गत बुधबार नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित गर्ने सांसदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयको यस्तो निर्णयप्रति प्रधानमन्त्री ओली असन्तुष्ट थिए । उनी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने अडानमा थिए । प्रधानमन्त्री ओलीले सोही दिन साँझ बरिष्ठ नेता नेपाललाई निवासमै बोलाएर डा. खतिवडालाई अर्थमन्त्रीबाट हटाउने प्रयोजनका लागि गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न भनिएकोले आफू त्यसो गर्न नसक्ने जानकारी गराएका भन्ने समाचार सार्वजनिक भएको थियो । डा. खतिवडाले स्वच्छ व्यवसाय गर्न मात्रै दिने भएकोले गैरकानुनी रुपमा व्यापार व्यवसाय गरिरहेका केही व्यवसायी उनलाई हटाउने अभियानमै लागेको प्रधानमन्त्रीले बताएको समाचारहरुमा उल्लेख गरिएको थियो । केही संचारमाध्यमहरुले भने प्रधानमन्त्री ओलीले नेता नेपालसँग चौधरीसहित अर्का व्यवसायी अजेयराज सुमार्गी र गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि अर्थमन्त्री डा. खतिवडालाई हटाउने अभियानमा लागेका बताएका उल्लेख गरेका थिए । चौधरीले यही सन्दर्भलाई लिएर सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू अर्थमन्त्री डा. खतिवडा हटाउने अभियानमा नलागेको बताएका हुन् । ‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका विज्ञ हुनुहुन्छ । उहाँको बहिर्गमन वा आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो,’ चौधरीले ट्वीटमा उल्लेख गरेका छन् । सम्बन्धित सामग्री निजी क्षेत्रसँग ब्ल्याकमेलिङ गर्दै सरकार
प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु
चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास बलिङले गरी संयुक्त रूपमा शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले राष्ट्रकै गौरवको रूपमा निर्माण भइरहेको रङ्गशालामा यस किसिमको प्रतियोगिता आयोजना हुँदा क्रिकेटको माहोल बढ्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले वडास्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता आयोजना गर्न जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्वकप्तान तथा अण्डर–१९ टोलीका प्रशिक्षक दासले पर्यटकीय क्षेत्रको रूपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रूपमा विश्वले चिन्ने बताए । कार्यक्रममा भरतपुर–२१ का वडाध्यक्ष तथा भरतपुर महानगरपालिका युवा तथा खेलकूद समिति संयोजक चित्रसेन अधिकारी, प्रतियोगिताको प्रमुख प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका–१५ का अध्यक्ष आकाश थापा, नेपाली काँग्रेसका अमृत बाँनियालगायतले भरतपुरलाई क्रिकेट खेलको केन्द्र बनाउन जोड दिएका थिए । प्रतियोगिताको आयोजक संस्था चितवन आदर्श युवा क्लबका संयोजक पुष्पराज आचार्यको संयोजकत्व तथा क्लबका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वकप्तान खड्कालाई सम्मान गरिएको थियो । प्रतियोगितामा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ ले विजयी शुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा भरतपुर–५ लाई ५४ रनले पराजित गर्दै आयोजक ‘बी’ ले विजयी शुरुआत गरेको हो । निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा आयोजक ‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर–५ ले १८ ओभरमा ९१ रन मात्र बनायो । प्रतियोगितामा महानगरका २८ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी तथा उपविजेताले रु ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस
समाधान उन्मुख नेकपा विवादः राष्ट्रियसभामा बामदेव, युवराज मन्त्री नै रहने
काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अडान जोगिने र सचिवालयको निर्णय पनि कार्यान्वयन गर्ने गरी विकल्प निकाल्न नेताहरु सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषदले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई नै सिफारिस गर्ने तयारी छ । गौतमलाई राष्ट्रियसभा सांसद सिफारिस गर्न सरकारलाई सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आफूलाई घेर्ने योजनासहित गौतमलाई राष्ट्रियसभामा लान सिफारिस गर्ने निर्णय सचिवालयले गरेको भन्दै सो निर्णय आफूले कार्यान्वयन नगर्ने अडान लिएका थिए । राष्ट्रियसभामा रिक्त रहेको पदमा मन्त्रिपरिषदले गर्ने निर्णय सरकारको अधिकार भएको भन्दै सचिवालयको निर्णय मान्न आफू वाध्य नहुने तर्क अघि सारेका थिए । प्रधानमन्त्री ओली आफू विरुद्ध षडयन्त्र भएको भन्दै राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ति गर्ने अडानमा थिए । सचिवालयको निर्णय एउटा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली अर्काे अडानमा रहदा नेकपामा समस्या उत्पन्न भएको थियो । नेकपाका दोस्रो तहका नेताहरुले शिर्ष नेतृत्वबीच देखिएको टकरावको अवस्था साम्य पार्न नयाँ विकल्प अघि सारेको नेकपा स्रोतले बतायो । संविधानले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने अवसर प्रदान गरेकोले सांसद नभए पनि डा. खतिवडालाई मन्त्री बनाइराख्न खोजिएको हो । ‘बामदेव कमरेडलाई राष्ट्रियसभामा लाने र युवराजजीलाई मन्त्री नै राखिराख्न सचिवालयले विरोध नगर्ने गरी विकल्प सुझाएका छौं, सचिवालयका अधिकांश नेताहरु यो विषयमा सहमत देखिनु भएको छ, यसो गर्दा कसैले पनि हारेको वा जितेको महसुस गर्नु परेन, पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने गरी नेताहरुलाई जुँगाको लडाईं नलड्न सुझाएका छौं,’ नेकपाको दोस्रो तहका एक नेताले भने । यस्तै, राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट सांसद बनेका एक व्यक्तिको मृत्यू भएको कारण सो स्थान खाली छ । रिक्त रहेको स्थानमा पछि डा. खतिवडालाई सांसद बनाएर ल्याउन सकिने सुझाव नेकपा दोस्रो तहका नेताहरुको छ । ‘प्रधानमन्त्रीलाई युवराजजी नै चाहिने हो भने पनि विकल्प छ, राष्ट्रियसभामा रिक्त रहेको एक पदमा उहाँलाई उम्मेदवार बनाएर ल्याउन सकिन्छ, बामदेव कमरेडलाई अहिले राष्ट्रियसभामा ल्याउने र रिक्त स्थानमा युवराजजीलाई ल्याउन सचिवालयले निर्णय गर्नु उचित हुन्छ भनेर सुझाएका छौं,’ ती नेताले भने । डा. खतिवडालाई अर्थमन्त्रालय नै दिने कि अर्काे कुनै मन्त्रालय दिने भन्ने विषयमा भने उनले प्रधानमन्त्रीलाई नै रोज्न दिनुपर्ने बताए । मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीको भएकोले उपयुक्त मन्त्रालयको जिम्मा उपयुक्त व्यक्तिलाई दिन प्रधानमन्त्री स्वतन्त्र रहेको उनको भनाइ छ । यता राष्ट्रियसभामा सांसद बनाएपछि गौतमलाई उपप्रधानमन्त्री बनाउन लागिएको छ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणको लागि चाढै नै अमेरिका जाने र ३ देखि ४ महिना आराम गर्नुपर्ने भएकोले कार्यवाहक प्रधानमन्त्री बनाउन गौतमलाई उपप्रधानमन्त्री बनाउन लागिएको हो । उपप्रधानमन्त्री इश्वर पोखलेलको काम सन्तोषजनक नभएको भन्दै प्रश्न उठेपछि पोखरेलभन्दा बरिष्ठ उपप्रधानमन्त्री बनाएर गौतमलाई ल्याउने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि गौतमलाई कार्यबाहक प्रधानमन्त्री बनाउनु पर्ने लविङमा रहेकी दाबी स्रोतहरुको छ ।