विकासन्युज

विश्व स्वास्थ्य संगठनले राख्याे नेपाललाई काेरोनाको उच्च जोखिम सूचीमा

काठमाडौं । नेपाल कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा परेको छ । बिहिबार विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचीमा नेपाल काेराेना भाईरसको उच्च जोखिमा परेकाे हाे । विश्व स्वास्थ्य संगठनको बिहीबार बसेको बैठकले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा राखेको हो । यसअघि चीनलाई मात्र संगठनले उच्च जोखिम भएको  देशमा राखेको थियो । संगठनले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकलाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ । नेपालमा हालसम्म एक जनामा बाहेक कसैमा पनि काेराेना भाईरस देखिएको छैन । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ । चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ । चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको  उल्लेख गरिएको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै, कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् । कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ । त्यस्तै, बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

नेपालको करः गाडी किन्दा २५६, पेट्रोलमा ८६, आम्दानी ३६ र टेलिफोनमा २८ प्रतिशत

काठमाडौं । अचाक्ली कर थोपरेको भनेर जनस्तरबाट सरकारको आलोचना भइरहेको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर बढाएपछि सरकारको आलोचना झन् बढेको हो । अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लिने पूर्वाधार कर शतप्रतिशत बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याएको छ । पूर्वाधार कर बृद्धिसँगै पेट्रोलियम पदार्थमा कर ८६ प्रतिशत पुगेको छ । पेट्रोलियम पदार्थ मात्रै होइन, अन्य बस्तुमा पनि सरकारले धेरै कर लिने गरेको छ । सवारी साधन खरिदमा २ सय ५६ प्रतिशतसम्म, आम्दानीमा ३६ प्रतिशतसम्म तथा दूरसंचार सेवामा २८ प्रतिशतसम्म कर तिर्नुपर्छ । सवारी साधनमा २ सय ५६ प्रतिशत कर नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधरी आयत गर्दा भन्सार, अन्तशुल्क र मूल्य अभिविद्धि कर गरी २ सय ५६ प्रतिशतसम्म कर लाग्ने जानकारी दिए । गाडीमा पनि सबैभन्दा धेरै निजी सवारी साधनमा कर लाग्छ । पार्टपूर्जा खरिदमा पनि ५ देखि ३० प्रतिशतसम्म कर लाग्ने गरेको छ । ‘सवारी साधनमा लाग्ने करमध्ये सबैभन्दा सस्तो सर्वजनिक सवारी साधनको लागि प्रयोग हुने बसको छ,’ अध्यक्ष दुलालले भने । पेट्रोलियम पदार्थमा ८६ प्रतिशत कर नेपाल आयाल निगमले इन्डियन आयाल कर्पाेरेसनबाट पेट्रोल प्रतिलिटर ५१ रुपैयाँ ८४ पैसामा खरिद गरिरहेको छ । सो पेट्रोलमा सरकारले प्रतिलिटर १५ रुपैयाँ २३ पैसा भन्सार शुल्क, १० रुपैयाँ पूर्वाधार विकास कर, ४ रुपैयाँ सडक मर्मतसम्भार कर, १ रुपैयाँ ५० पैसा प्रदुषण शुल्क, १ रुपैयाँ १० पैसा मूल्य स्थिरीकरण कोष र १२ रुपैयाँ ६५ पैसा मूल्य अभिबृद्धिकर गरी ४४ रुपैयाँ ४८ पैसा लिन्छ । सरकारले विभिन्न नाममा लिने कर तथा शुल्क खरिद मूल्यको आधारमा ८६ प्रतिशत देखिन्छ । दूरसंचार सेवामा २८ प्रतिशत नेपालको दूरसंचार सेवा पनि धेरै कर लाग्ने क्षेत्रमध्येमै पर्छ । दूरसंचार सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क, २ प्रतिशत स्वामित्व शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने नेपाल टेलिकमको उपभोक्ता हित संरक्षण महाशाखाका उपनिर्देशक झलक बहादुर थापाले जानकारी दिए । इन्टरनेटमा २६ प्रतिशत उपभोक्ताले इन्टरनेट प्रयोग गरे वापत २६ प्रतिशत कर सरकारलाई तिर्ने गरेका छन् । यसमध्ये दूरसंचार सेवा कर १३ प्रतिशत र मूल्य अभिविद्धि कर १३ प्रतिशत लाग्ने नेपाल दूरसंचार प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखाका उपनिर्देशक झलक बहादुर थापाले जानकारी दिए । मदिरामा प्रतिलिटर ९ सय ५० रुपैयाँ र १३ प्रतिशत भ्याट गुणस्तरीय (२५ युपी) मदिरामा सरकारले प्रतिलिटर ९ सय ५० रुपैयाँ अन्त शुल्क लिन्छ । अन्तशुल्कमा आयातकर्ताको नाफा जोडेर तय गरिएको विक्री मूल्यमा फेरि १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) तिर्नुपर्छ । पछिल्लो समय साइकल गुडाएको कर, खोला तरेको कर, चट्पटे बेच्नेसँग कर, कपाल काट्नेसँग कर, जन्मदर्ता गरेको १ हजार रुपैयाँ कर, मृत्यु दर्ताको पनि कर लाग्न थालेको छ । आम्दानीमा ३६ प्रतिशतसम्म उपभोग्य बस्तु तथा सेवा खरिदमा चर्काे कर तिरेर बाँकी रहेको आम्दानीमा सरकारले फेरि ३६ प्रतिशतसम्म आयकर लिन्छ । सरकारले विवाहित व्यक्तिको लागि वार्षिक साढे ४ लाख रुपैयाँसम्म र अविवाहित व्यक्तिको लागि वार्षिक ४ लाख रुपैयाँसम्मको आम्दानीमा भने कर छुट दिने गरेको छ ।

एनएमबी बैंकले रोल्पाको धाङ्सीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने

काठमाडौं । एनएमबी बैंकले रोल्पाको धाङ्सी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा बैंकले उक्त आयोजनाका लागि लगानी लगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दिर्घकालीन रणनीति अन्तर्गत पर्दछ, जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका र्निवाह गर्दछ । यस आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउने छ । मुलुकलाई ऊर्जा उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गराउँनका लागि विभित्र जलविद्युत् तथा नवीकरणीय ऊर्जाका आयोजनाहरूमा लगानी गर्दै आएर्कोे एनएमबी अग्रणी बैंक हो ।

नर्भिक अस्पतालले कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट दिने

काठमाडौं । नर्भिक अस्पतालकाे कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट  दिने भएकाे छ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा कानकाे अवसरमा ५० प्रतिशत छुट दिने भएकाे हाे । यस्तै, अस्पतालले  फागुन २० र २१ गते १० बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने पनि जनाएकाे  छ । निशुल्क सेवा प्राप्त गर्नका लागि ग्राहकहरुले अग्रिम नाम दर्ता गराउनुपर्ने छ । उक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भुषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने अस्पतालले जानकारी दिएको छ । दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षणसमेत निःशुल्क गरिने अस्पतालले जानकारी दिएको छ ।  कान सम्बन्धि शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा र शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने र साथै श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५ प्रतिशत छुटसहितको दरमा प्राप्त हुने अस्पतालले जानकारी दिएको छ ।

यस कारण अदालत पुगे पूर्वमन्त्री बास्कोटा (पूर्ण पाठसहित)

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै  उनले शुक्रबार  अदालतमा मुद्दा दर्ता गरेका हुन् । ७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए । उनले विकासन्यूजसँग कूरा गर्दै  उनले आफुमाथि लागेको झुठो आरोप विरुद्ध लड्न कानुनी प्रक्रियामा गएको बताए । मुद्दाको पुर्णपाठ: [pdf id=198302]

पाटा नेपालद्वारा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना गरेको छ । पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्ट्र सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान युवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम,सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने मञ्च बनेको छ । यस वर्ष पाटा नेपालले पाटा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट २०२० अन्र्तगत “पब्लिक स्पिकिङ कम्पिटिसन”,“टुरिजम एन्ड हस्पिटालिटी क्विज” र “फुटसल प्रतियोगिता” गरि तीन वटा कार्यक्रम अघि सारेको छ । फेब्रुअरी २४ तारिका दिन राजधानीको गेट कलेजमा आयोजित “पब्लिक स्पिकिङ कम्पिटिसन”को फाइनलमा १० वटा विभिन्न पाटा नेपाल सदस्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुले “पर्यटनमा आई पर्ने जोखिम तथा संकट न्युनीकरणका उपायहरु र आत्मवल निर्माणको आवश्यकता”, “भ्रमण वर्ष २०२० अभियानका लागि चुनौती तथा अवसरहरु”र “नेपाललाई घुम्नै पर्ने गन्तव्यका रुपमा स्थापना गर्ने रणनीतिहरु” जस्ता विषयमा प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमको निणार्यक मण्डलको रुपमा पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाल, पाटा नेपालका निर्वतमान अध्यक्ष र कोरा टुर्सका सिइओ विजय अमात्य रहेका थिए ।सहभागिहरुमध्ये नाथम कलेजका छात्र सन्जय नेपाल प्रथम, गेट कलेजका सम्जिक ह्याङग राई दोस्रो र सिल्भर माउन्टेनकी रोवीना श्रेष्ठ तेस्रो स्थान हासिल गरेका थिए । विजेताले पुरुस्कार स्वरुप आगामी मार्च ३१ देखी अप्रिल ३ सम्म यूएईमा आयोजना हुने पाटा एनुअल समिट्मा सहभागि हुने अवसर प्राप्त गरेका छन । त्यसैगरी फेब्रुअरी २७ तारिखका दिन मिडभ्यालि इन्टरनेशनल कलेजमा आयोजित “टुरिजम एन्ड हस्पिटालिटी क्विज” को उपाधि सिल्भर माउन्टेन स्कुुुल अफ होटल म्यानेजमेन्टले प्राप्त गरेको छ भने नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट ले दोस्रो र ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशनले तेस्रो स्थान हासिल गरेका छन । पाटा नेपाल द्धारा आयोजित युथ ट्यालेन्ट क्वेस्ट २०२० लाई जेनिथ ट्रेनिङ्ग इन्सिटिच्यूट, हाई ग्राउन्ड एडभेन्चर, वनहर्न एडभेन्चर, बुद्ध एयर, समिट एयर, केजिएच ग्रुप अफ होटल, सेभर नेपाल, आर्य भिलेज ट्राभल, मेरियट काठमाडौं, गोइङ नेपाल, ¥याफटिङ स्टार, फुडमान्डु, सिमसिमे ट्राभल र एटर्निटी लगायत विभिन्न सदस्य शैक्षिक संस्थाहरु गेट, मिडभ्याली, क्याथ, आईएसटि,गेटवे एनसिटिटिएम,र एविसि कलेजहरुले प्रायोजन तथा सहकार्य गरेका थिए ।

अधिकांश भन्सारको निर्यात न्यून, ८ वटा कार्यालय शून्य प्रतिशतमा

काठमाडाैं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणअनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । त्यसमा ८ भन्सार ८ भन्सार कार्यालयको निर्यात शून्यको निर्यात शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ । विभागका अनुसार भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर(नवलपरासी), सर्लाही, सती (कैलाली), सिरहा, सुनसरी, सुथौली(कपिलवस्तु), तातोपानी, ठाँडी(सिरहा) भन्सारलगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको पाइएको छ । विभागको विवरणअनुसार नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१.४१ प्रतिशत निर्यात भएको छ । सो भन्सारबाट चालू आवको सात महिनामा रु २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । यस्तै भैरहवा भन्सारको हिस्सा दोस्रोमा छ । सो भन्सारबाट कूल २८.४५ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार सो भन्सारबाट रु १८ अर्ब ४८ करोड ४१ लाख ११ हजार बराबरको निर्यात भएको छ । त्यस्तै तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ । सो भन्सारबाट रु १४ अर्ब नौ करोड ६० लाख ९३ हजार बराबरको निर्यात भएको छ । प्रतिशतका आधारमा सो भन्सारबाट २१.७० प्रतिशत निर्यात भएको छ । चालू आवको सात महिनामा कूल रु आठ खर्ब तीन अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको सामान आयात भएकामा रु ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको निर्यात भएको छ । विभागको विवरणअनुसार सामान आयात गर्नेमा पनि वीरगञ्ज भन्सार नै शीर्ष स्थानमा रहेको छ । सो भन्सारबाट रु दुई खर्ब ७५ अर्ब ६९ करोड २६ लाख ९९ हजार बराबरको माल सामान आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा ३४.३१ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयबाट मात्रै रु एक खर्ब ३७ अर्ब ३० करोड ४१ लाख १८ हजार बराबरको सामान आयात भएको छ । त्यो भनेको कूल आयातको १७.०९ प्रतिशत हो । यस्तै वीरगञ्ज सुक्खा बन्दरगाहबाट रु एक खर्ब एक अर्ब ३५ करोड ९५ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । विराटनगर भन्सारबाट रु ८४ अर्ब ७६ करोड ६६ लाख ८९ हजार बराबरको आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट रु ८१ अर्ब ५० करोड ६८ लाख ५३ हजार बराबरको माल वस्तु आयात भएको छ । प्रतिशतका आधारमा कूल आयातमध्ये १०.१४ प्रतिशत हिस्सा सो भन्सार कार्यालयले राखेको छ । विभागका अनुसार रसुवा भन्सारबाट रु २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार, नेपालगञ्ज भन्सारबाट रु ३० अर्ब ४० करोड २६ लाख ७६ हजार, कृष्णनगर भन्सारबाट रु १२ अर्ब २६ करोड २४ लाख छ हजार, कैलाली भन्सारबाट रु १० अर्ब ९७ करोड ५७ लाख २९ हजार बराबरको मालवस्तु आयात भएको छ । चालु  आवको सात महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा भने रु सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ । रासस

५० शैय्याको सैनिक अस्पताल सञ्चालनमा

इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।  उक्त अस्पतालकाे उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । उनले नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए । प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ । रासस