विकासन्युज

तीन महिनामा नै उपत्यकाका हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या निक्कै हराएर गएको छ । काठमाडौँ महानगरपालिकाले ब्रुमरको सहायतामा नियमित धुलो सफा गरिरहेको छ । प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेको छ । वषौँदेखि बिग्रिएका ट्राफिक बत्तीसमेत सञ्चालनमा आएको छ । उपत्यकाको मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा देखिने गरी सुधार आएको छ । यद्यपि भित्री र शाखा रोडमा समस्या यथावत छ । सरकारले उपत्यकाको भौतिक पूर्वाधार, यातायात र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम अघि बढाएकाले यो सम्भव भएको हो । सङ्घीय राजधानी काठमाडौँको यातायात व्यवस्थापनमा देखिएका समस्याको पहिचान गर्दै त्यसको समाधान गर्ने काममा सरकारको विशेष ध्यान छ । विदेशी विशिष्ट पाहुना र पर्यटकले पहिलो साक्षत्कार गर्ने तथा धेरैजसो अन्तरराष्ट्रिय सभा–सम्मेलन हुने भएकाले व्यवस्थित र सुन्दर काठमाडौँ बनाउन काठमाडौँ केन्द्रीत योजना अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधारको विकास महत्वपूर्ण आधार हो ।   पूर्वाधार निर्माण विना विकास र समृद्धिको चाहना सकिँदैन । नीतिगत र साङ्गठनिक सुधार गरी विकास निर्माणलाई तीव्रता दिएको बताउँदै मन्त्री नेम्वाङले भने, “विकासको आधार तयार पार्ने अभियानमा सरकार छ, यो वर्षको प्राथमिकतामा उपत्यका हो, उपत्यकाको ‘व्यूटिफिकेसन’मा हाम्रो बढी जोड छ । ”काठमाडौँ उपत्यकाको कतिपय कोरिडोर खुलिसकेका छ भने कतिपय निर्माणाधिन अवस्थामा छ । उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्ले १सय दिनमा मात्रै सरकारले काठमाडौं उपत्यकाक ९ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । हिउँदमा कालोपत्र गरिने समय नभएपनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति छुट्टै छ । मन्त्रालयका अनुसार काठमाडौंको कोटेश्वर चोकमा वर्षौदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन समाधानका रुपमा सडक चौडा पार्ने प्रक्रिया थालिएको छ । सडक चौडा पार्न चोकको दक्षिणतर्फको जग्गा प्राप्त भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रियामा छ । मनोहरा कोरिडोरको सडकलाई प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन निर्माण कार्य थालिएको मन्त्रालयले जनाएको छ । आफ्नो एक सय दिनको उपलव्धीबारेमा जानकारी दिँदै मन्त्री नेम्वाङले उपत्यकाको चक्रपथअन्र्तगत ग्वार्को, सातदोबाटो, नक्खुचोकमा फ्लाई ओभरका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर्)को काम थालिएको बताए। सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न र जडिबुटी–कोटेश्वरको जामको दीर्घकालिन समाधानका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए  । काठमाडौँ उपत्यकाको १७ वटा चोकमा ट्राफिक बत्ती जडान गरिसकिएको छ भने छ वटामा असार महिनाभित्रमा जोड्ने योजना सरकारको छ । यस्ता चोकमा हुने ट्राफिक जाम हटाउन ‘ईन्टेलिजेन्ट ट्राफिक प्रणाली’ प्रविधि अपनाउन आवश्यक परामर्शदाता छनोटको काम थालिएको छ । पैदल यात्रुको सुरक्षित यात्राका लागि चक्रपथको बालकुमारी, सातदोबाटो, एकान्तकुनामा ‘फुटओभर व्रिज’निर्माण सकिएको तथा बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माणको डिजाईन सम्पन्न भइ ठेक्का प्रक्रियामा पुगेको छ । उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्डको कामसमेत अघिबढेको मन्त्रालयले जनाएको छ । कलङ्की–महाराजगञ्ज सडकखण्ड विस्तारको प्रारम्भिक प्रक्रिया शुरु भएको छ । सो खण्डमा रुख हटाउने र विजुली तथा टेलिफोनका तार स्थानान्तरणको चरणमा छ । केही ठाउँमा जग्गा प्राप्ति गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया थालिएको छ । उपत्यकाको तीनकुुने–एयरपोर्ट–तिलगङ्गा सडकखण्डलाई आठ लेनमा स्तरोन्नति गर्ने कामसमेत सरकारले अघि बढाएको छ । उक्त सडकको स्तरोन्नतिका लागि डिपिआरको तयारीमा सरकार लागेको मन्त्री नेम्वाङले बताए ।   शाखा सडकमा समेत सरकारको ध्यान सरकारले उपत्यकासँग जोडिने शाखा सडकसमेतलाई उत्तीकै प्राथकिता दिएको छ । उक्त क्षेत्रका सडकको पूर्वाधार निर्माणको कामलाई तीब्रता दिइएको छ । मन्त्री नेम्वाङले उपत्यका जोड्ने उक्त सडकको स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेट विनियोजन गरी ठेक्का व्यवस्थापनको चरणमा पुगेको जानकारी दिए । सडकलाई सुरक्षित र सौन्दर्यकरण गर्न फुटपाथ निर्माण, रेडिङ, जेब्रा मार्किङ तथा रङ्रोगनको कामसमेत जारी छ । काम सामान्यजस्तो लागे पनि सौन्दर्यकरणले उपत्यका ओर्लिने स्वदेशी वा विदेशीमा आकर्षण भाव पैदा गर्छ । मुलुकको पहिचानसँग जोडिने भएकाले पनि उपत्यकालाई विशेष जोड दिइएको जनाइएको छ । रासस

परिमार्जन नभइ एमसिसी पारित हुन्नः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताए । प्रेस सङ्गठन नेपालले सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रुपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो । अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुन दोहोर्याए । अध्यक्ष दाहाल नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गरेका हुन् । रासस

कर्णाली प्रदेशबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६ सय १५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । २०७५ माघमा कणाली प्रदेशलाई लक्षित गरि श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो । सुर्खेतमा रहेको उक्त श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ । पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी श्यामकृष्ण आचार्यका अनुसार कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर साउदी अरेबिया, कतार, मलेसिया र युएईमा बढी जाने गरेको पाइएको छ । यसैबीच, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून मात्रामा रोजगारदाता कम्पनीमा दर्ता भएका छन् । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको दुई वर्ष बित्न लाग्दा १ सय २१ रोजगारदाता कम्पनी दर्ता भएका हुन् । कोषमा योगदान गर्ने श्रमिकको संख्या भने १ सय ७२ रहेको छ । सरकारले दुई वर्ष अघि श्रमिकलाई अवकाश हुँदा पेन्सन, उपदान र उपचार सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषको स्थापना गरेको थियो । रासस

दुबै हातले लेखेर पढाउने ‘मिश्र सर’को कथाः पत्रिकाको हकरदेखि राष्ट्र बैंकको इडीसम्म

काठमाडौं । हरेक सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एक चरणमा अत्यासलाग्दो प्रतिकूलता र प्रेरणादायी संघर्ष नगरेको मानिस जीवनमा विरलै सफल हुन्छन् । झन् भुइमान्छेका हकमा भने अभाव, संघर्ष, अनिश्चय र अस्थिरताको विरासत खडा हुन्छ । अनि त्यही भुइमान्छे सफल भयो भने नि ? जवाफ स्वभाविक छ, ऊ धेरैको प्रेरणाको स्रोत बन्न सक्छ । हो, आज हामी यस्तै एउटा यस्तै गरिमामय संघर्षको पृष्ठभूमि बोकेका एक व्यक्तिको संघर्ष, जीवनयात्रा र सफलताको कथा पस्कदैछाैं। जीवनयात्रा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (इडी) बमबहादुर मिश्रको हो । उनी अहिले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुखको जिम्मेवारीमा छन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको राष्ट्र बैंकका कर्मचारीहरुको सबैभन्दा माथिल्लो पद हो । राष्ट्र बैंकको व्यवस्थापकीय जिम्मेवारीमा कार्यकारी निर्देशकमाथि २ जना डेपुटी गभर्नर र एक जना गभर्नर हुन्छन् । तर, मन्त्रिपरिषदले कार्यकारी निर्देशकमध्येबाट २ जनालाई डेपुटी गभर्नर बनाउने हो । गभर्नर पनि मन्त्रिपरिषदले नै नियुक्त गर्ने हो । त्यसैकारण राजनीतिक नियुक्ति राज्यले गर्ने भयाे । व्यक्तिकाे क्षमताले पुग्ने सबैभन्दा माथिल्लाे पद हाे कार्यकारी निर्देशक, राष्ट बैंकभित्र । पाँचथर जन्मथलो भएका मिश्रको परिवार झापाको दमकमा बसाई सराई गरेर झर्यो । मिश्रको जन्म २०२९ भएको हो । उनका ४ दाजु र ४ दिदी बहिनी छन् । मिश्र सानैदखि पढाईमा अब्बल थिए । त्यसैले एसएलसी परीक्षामा उनी स्कूल टप भए । एसएलसी गरेपछि आईएसी गर्न धरानको हात्तिसार क्याम्पस पुगे । सो क्याम्पसमा पनि उनी आइएसीको कलेज टपर भए । २०४८ सालतिर राजनीतिक अस्थिरता थियो । बहुदल आएको २ वर्ष वितेपनि राजनीतिले सही दिशा लिन सकिरहेको थिएन । यता आईएसीमा कलेज टप गरेका मिश्रलाई डाक्टर बन्ने रहर थियो । त्यसैले उनले शिक्षा मन्त्रालयको कोलम्बो प्लानमा छात्रबृत्तिको लागि निवेदन दिए । तर, उनको सौभाग्य भनौं या दुर्भाग्य, त्यो साल छात्रबृत्तिमा कसैको पनि नाम निस्किएन । उनी डाक्टर बन्न पाएनन् । तै पनि पढ्ने तिब्र आकांक्षा थला परेको थिएन । काठमाडौं आए । त्रिचन्द्र क्याम्पसमा भर्ना भए बीएससी पढ्न । त्रिचन्द्रमा उनी बायोलोजी पढ्न लागे । केही महिना अध्ययन गरेपछि उनलाई वायोलोजीमा गरिखान सकिएला जस्तो लागेन । अनि फिजिक्स पढ्न अस्कल भर्ना भए । यो बेलासम्म उनी डाक्टर बन्ने आफ्नो सपनाबाट धेरै टाढा पुगिसकेका थिए । त्रिचन्द्रमा उनी बायोलोजी पढ्न लागे । केही महिना अध्ययन गरेपछि उनलाई वायोलोजीमा गरिखान सकिएला जस्तो लागेन । अनि फिजिक्स पढ्न अस्कल भर्ना भए । यो बेलासम्म उनी डाक्टर बन्ने आफ्नो सपनाबाट धेरै टाढा पुगिसकेका थिए । अस्कलमा फिजिक्स पढ्दै गर्दा उनी काठमाडौंको कुलेश्वरमा डेरा गरेर बस्थे । कुलेश्वरदेखि लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस (अस्कल) सम्म आउनको लागि उनीसँग पर्याप्त भाडा हुदैनथ्यो । कुलेश्वरदेखि अस्कल क्याम्पससम्म हिडेरै आउने गरेको मिश्र सम्झन्छन् । एक धोक्रो चामल र ५० रुपैयाँ लिएर झापाबाट काठमाडौं आएका मिश्रलाई पढ्ने खर्चको अभाव हुन थाल्यो । अनि त्यो बेला आफूले पत्रिका बाँड्न थालेको मिश्र बताउँछन् । ‘हिडेर पत्रिका फाल्थेँ, साइकल किन्न पाएको भए राम्रो हुन्थ्यो, कलेज आउन जान पनि सहज हुन्थ्यो, तर साइकल किन्ने पैसा थिएन, हातमा पत्रिका बोक्थेँ, घरघरमा फाल्दै हिड्थेँ,’ मिश्रले भने । यसरी केही महिना पत्रिका बाँढ्न थालेपछि उनले ‘एवन’ साइकल पनि किने । त्यसपछि उनलाई आफू धेरै धनी र सुविधा सम्पन्न भएको महसुस भयो । केही महिना पत्रिका बाँढ्न थालेपछि बमबहादुर मिश्रले ‘एवन’ साइकल पनि किने । त्यसपछि उनलाई आफू धेरै धनी र सुविधा सम्पन्न भएको महसुस भयो ।   एसएलसी गरेदेखि नै मिश्र मौका पाएसम्म अध्यापनको कार्य पनि गर्दै आएका थिए । पढाउँन सक्छु भन्ने उनलाई लाग्थ्यो । त्यसैले उनी हातमा सर्टिफिकेट बोकेर जागिर खोज्न निस्के । त्यस्तैमा सोह्रखुट्टेमा रहेको एभरेष्ट स्कूलका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यलाई भेटेर उनले जागिर मागे । ‘उहाँ बढो अचम्मको मानिस हुनुहुन्थ्यो, कुरा गर्दा पनि हातबाट चुरोटको ठूटो हटाउनु हुन्नथ्यो, जतिबेला पनि उहाँको हातमा चुरोट हुन्थ्यो,’ आचार्यको हुलिया स्मरण गर्दै मिश्रले भने । पढाएको अनुभव थियो । पढाउन सक्छु भन्ने हिम्मत पनि थियो । त्यसैले उनले एभरेष्ट माविमा जागिर पाएँ । तर, पैसा थोरै थियो, दैनिक ३ पिरियड पढाउँनु पर्ने, तलब मासिक ३ सय रुपैयाँ । उनी राम्रोसँग पढाउन सक्थे । त्यसैले एभरेष्टमा उनको फूल टाइम जागिर भयो । र, तलब मासिक १ हजार ५० रुपैयाँ । तर, खटाई भने राम्रै हुन थाल्यो । ‘एउटा पिरियड पनि ग्याप हुन्नथ्यो, सातै पिरियड बढाउँथेँ, ब्ल्याकबोर्डमा चकले लेख्दा लेख्दा हात गलेर उचाल्नै नहुने हुन थाल्यो, हात गल्यो भनेर जागिर छोड्ने अवस्था थिएन, आराम पनि पाउँदैनथेँ, त्यसैले मैले अर्काे जुक्ति निकालेँ, पालैपिलो दुबै हातले ब्ल्याकबोर्डमा लेख्न थालेँ,’ मिश्रले संघर्षका दिन सुनाउन थाले । त्यहीबेला सिकेकोले होला, मिश्र अझै पनि बोर्डमा पायो भने दुबै हातले लेख्छन् । विहान अस्कलमा पढ्थे । दिउँसो एभरेष्टमा पढाउँथे । पढाउनको लागि तयारी पनि गर्नै पर्यो । त्यसैले साँझ चाउचाउ र अण्डा खाने, रातभरी पढ्ने गर्न थाले उनी । त्यो बेला आफूले सुत्ने गरेको उनलाई याद छैन । सायद सुत्दैनथे । यस्तैमा बीएससीको रिजल्ट आयो । अनौठो के भयो भने मिश्रले यो परीक्षामा पनि कलेज टप गरे । अन्नपूर्णमा जागिर भएपछि त मसँग पैसैपैसा भयो नि, महिनाको ३६ सय आउँथ्यो, अनि त्यो पैसाले टन्न सपिङ गरेँ, केही पैसा घरमा पनि पठाईदिएँ यस्तैमा कमलाक्षीको अन्नपूर्ण माविमा शिक्षक माग भएको उनले थाहा पाए । त्यो बेलासम्म एभरेष्टले उनलाई मासिक १७ सय रुपैयाँ तलब दिन्थ्यो । र, अन्नपूर्ण माविमा उनको जागिर भयो । र, तलब पनि मासिक ३६ सय रुपैयाँ । ‘अन्नपूर्णमा जागिर भएपछि त मसँग पैसैपैसा भयो नि, महिनाको ३६ सय आउँथ्यो, अनि त्यो पैसाले टन्न सपिङ गरेँ, केही पैसा घरमा पनि पठाईदिएँ,’ मिश्रले हास्दै भने । त्यहीबीचमा एउटा लिडिङ बैंकको लागि भन्दै जुनियर असिष्टेन्टमा जागिर खुलेको उनले फेला पारे । यो २०५२ सालको मंसिरतिरको कुरा थियो ।  फिजिक्स पढेको मानिसले बैंकमा जागिर गर्न सक्ने नसक्ने, बैंकमा जागिर गर्न जाने नजाने भन्ने दुविधा पनि छदैथियो । यस्तैमा उनले अस्कलकै उनीअघिका कलेज टपर टिका सुवेदीसँग परामर्श गरे । टिकाकाे सुझाव अनुसार बैंकमा  निवेदन दिए । परीक्षा दिन बोलायो । जागिर खुलेको तत्कालिन नेपाल अरब बैंक र अहिलेको नविल बैंकमा रहेछ । नेपाल अरब बैंकमा जुनियर असिष्टेन्टको परीक्षा दिए । पास भए । र, उनको पहिलो पोष्टिङ विराटनगरमा भयो । अझ रमाइलो कुरा त उनको फेरि तलब बढ्यो । ‘नेपाल अरब बैंकमा जाँदा मेरो तलब ह्यात्तै बढ्यो नि, मासिक ३६ प्लस १६ सय गरेर ५ हजार रुपैयाँ आउन थाल्यो, मासिक ३६ सय तलब खानेलाई ५ हजार रुपैयाँ भनेको निकै धेरै थियो,’ मिश्रले भने । जागिर त भयो तर दिनभरको जागिर, रातभरको पढाइको कारण उनको जिउ सुकेर सिन्का जस्तै भएको थियो । ‘त्यो बेला ४८ केजी वजन थियो,’ मिश्र सम्झन्छन् । नविलको जागिर गर्दै गर्दा उनलाई अर्थशास्त्रमा एमए गर्ने रहर जाग्यो । तर बीएससी गरेको व्यक्तिले त्यो बेला अर्थशास्त्रमा एमए गर्न पाइदैनथ्यो । त्यसैले उनले एमबीए पढ्ने निधो गरे । र, पीजी क्याम्पस विराटनगरमा भर्ना भए । नविलको एलसी शाखामा उनले काम गरेका थिए । नविलको व्यस्त जागिर, विहानको कलेज, उनलाई फेरि धपेडी बढ्यो । तर, त्यो बेला पनि उनीसँग साइकल भने थियो । यो २०५३ सालतिरको कुरा हो । त्यो बेला विराटनगरमा लोडसेडिङ सुरु भइसकेको थियो । बत्ती आउँदैनथ्यो । ‘बत्ती छैन भन्ने कुरा दिमागमा नपरोस भनेर १०/१२ वटा मैनबत्ती बालेर पढ्न थालेँ, फिजिक्स गरेको मान्छे, एमबीए गर्न गएको छु, पढ्नु त परिहाल्यो नि,’ मिश्रले विगत सम्झिए । विराटनगरको गर्मी, एउटा कोठामा १०/१२ वटा मैनबत्ती बालेर पढ्दा उनको के होला भयो होला ? विराटनगरको पीजी क्याम्पसमा एमबीए गर्दा पनि उनले रेकर्ड भने तोडेनन् । अर्थात एमबीएमा पनि उनी क्याम्पस टप भए । एमबीए सक्ने वित्तिकै प्राडा खगेन्द्र आचार्यले उनलाई सोही कलेजमा पढाउन अफर गरे । विहान कलेज पढाउन पनि थाले । दिउसो नविलको जागिर छदैथियो । त्यही बेला विराटनगरमै केन्द्रीय कार्यालय रहने गरी एनआई बैंक (अहिलेको एनआईसी एशिया बैंक) खुल्यो । उनलाई एनआईसी बैंकले जुनियर अफिसर पद दिने अफर गर्यो । एनआईसी बैंक गए । र, तलब मासिक १३ हजार रुपैयाँ । एनआईसी बैंक गएपछि उनले ९२ हजार ५ सय रुपैयाँ हालेर हिरोहोण्डको स्ल्पेन्डर मोटरसाईकल किने । र, २६ हजार ५ सय रुपैयाँ हालेर एलजीको एउटा टिभी पनि । यो २०५६ साल असारतिरको कुरा थियो । त्यो बेला काठमाडौंको कपनतिर ९२ हजार रुपैयाँमा एक रोपनी जग्गा नै आउँथ्यो । अब उनीसँग अथाह पैसा हुन थाल्यो । अथाह यस अर्थमा कि कुलेश्वरबाट अस्कल कलेज आउने गाडी भाडा नभएर हिड्दै आउने व्यक्तिले मासिक १३ हजार पाउनु वास्तबमै अथाहा पैसा नै थियो । एनआईसी बैंक गएपछि उनले ९२ हजार ५ सय रुपैयाँ हालेर हिरोहोण्डको स्ल्पेन्डर मोटरसाईकल किने । र, २६ हजार ५ सय रुपैयाँ हालेर एलजीको एउटा टिभी पनि । यो २०५६ साल असारतिरको कुरा थियो । त्यो बेला काठमाडौंको कपनतिर ९२ हजार रुपैयाँमा एक रोपनी जग्गा नै आउँथ्यो । २०५७ सालमा विराटनगरबाट काठमाडौं सरुवा भयो । उनी त्यही मोटरसाईकल चढेर काठमाडौं आए । २०५८ सालमा विहे गरे । प्रमोसन भएर सिनियर अफिसर भए । मासिक तलब २२ हजार प्लस १० हजार रुपैयाँ थियो । त्यही बेला नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो । जागिरको विज्ञापनसँगै तलब पनि खुलाएको थियो । तलब मासिक ८ हजार ७५ रुपैयाँ भनिएको थियो । मासिक ३२ हजार रुपैयाँ तलब खाइरहेको व्यक्तिले मासिक ८ हजारको जागिरमा आवेदन दिने कि नदिने भन्ने दुविधा आइलाग्यो । तर, सरकारी भनेको सरकारी जागिर नै हो भनेर उनले आवेदन दिए । आवेदन दिदासम्म त केही पनि भएन । उनी अफिसलाई जानकारी नदिई लिखित परीक्षामा पनि सहभागी भए । लिखितमा नाम पनि निस्क्यो । तर, लिखितमा नाम निस्केपछि उनलाई अफिसमा समस्या पर्यो । अफिसमा जानकारी नदिई किन राष्ट्र बैंकमा जागिर खान आवेदन दिएको भन्ने प्रश्न उनलाई गरियो । समस्या जटिल नै पर्यो । उनको लिखितमा नाम निस्किसकेको थियो । अन्तरवार्ताको लागि २०५९ साल जेठ १९ गते मिति तोकिएको थियो । अफिसले अन्तरवार्तामा जाने दिन विदा दिने नदिने यकिन भएको थिएन । तर, त्यो बेला तत्कालिन राजा विरेन्द्रको बंश नास भएर राजा बनेका ज्ञानेन्द्रले शासन सत्तामा आफ्ने भूमिका बढाउँदै लगेका थिए । त्यसैले विरेन्द्रको बंश नास भएको जेठ १९ गतेको सम्झनामा सरकारले सार्वजनिक विदा दियो । त्यसैले राष्ट्र बैंकको अन्तरवार्तामा आउन उनलाई अफिसले विदा दिइरहनु नै परेन । अन्तरवार्तामा पास भए । र, २०५९ साल साउन २७ गते राष्ट्र बैंकमा उनको नियुक्ति भयो । राष्ट्र बैंकको सहायक निर्देशक पदमा नाम निकालेका मिश्रको पोष्टिङ तत्कालिन बैंक निरीक्षण तथा सुपरीवेक्षण विभागमा भयो । राष्ट्र बैंकको जागिर चल्दै थियो । यस्तैमा उनले सन् २००५ मा इकोनोमिक पोलिसीमा माष्टर्स गर्न जापानमा छात्रबृत्ति पाए । जापानबाट फर्केपछि राष्ट्र बैंककै बैंकिङ कार्यालय बिरगन्जमा सरुवा भयो । केही समय विरगंजमा बसेपछि बैंकिङ कार्यालय थापाथलीमा सरुवा भयो । २०६५ सालमा बढुवा भएर उनी उपनिर्देशक भए । यो बीचमा वित्तीय संस्था सुपरीवेक्षण, विदेशी विनिमय विभाग जस्ता विभागमा रहेर उनले काम गरे । यसैबीच २०७२ सालमा आन्तरिक प्रतिस्पर्धामा नाम निकालेर उनी राष्ट्र बैंकको निर्देशक बने । त्यो बेला नेपाल आयाल निगमको पथलैया डिपोबाट पेट्रोलियम पदार्थ राष्ट्र बैंकको विरगंज कार्यालयसम्म ल्याउन अरु डराएपछि मिश्र आफैले गाडी चलाएर ल्याएको उनका सहकर्मी स्मरण गर्दछन् । निर्देशकमा बढुवा भएपछि मिश्रको फेरि बिरगंज सरुवा भयो । उनी विरगंजमै रहेको बेलामा नेपालको संविधान २०७२ जारी भयाे । संविधान जारी हुने वित्तिकै भारतले नेपालमाथि नाकाबन्दी गर्यो । मधेश आन्दोलनले उग्र रुप लियो । त्यो बेला नेपाल आयाल निगमको पथलैया डिपोबाट पेट्रोलियम पदार्थ राष्ट्र बैंकको विरगंज कार्यालयसम्म ल्याउन अरु डराएपछि मिश्र आफैले गाडी चलाएर ल्याएको उनका सहकर्मी स्मरण गर्दछन् । नाकाबन्दीकै समयमा उनले नेपाली सेनासँगको सहकार्य र आन्दोलनकारी मधेश केन्द्रीत दलहरुसँग समन्वय गरेर विरगंजदेखि काठमाडौंसम्म नोट पनि भित्र्याए । २०७३ को जेठमा उनको सरुवा भयो । राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बैंक सुपरीवेक्षण विभागमा आए । त्यसको एक वर्ष पनि नवित्दै उनी सुपरीवेक्षण विभागमा सरुवा भए । यस्तै, २०७५ को चैतमा तत्कालिन कार्यकारी निर्देशक नारायण पौडेलको अवकाशपछि उनी कामु कार्यकारी निर्देशक भए । गत साउन पहिलो साता भुक्तानी प्रणाली विभागको कामु कार्यकारी निर्देशक भएका मिश्र साउन चौथो साता कार्यकारी निर्देशकमा बढुवा भए । उनी भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक भएको बेला राष्ट्र बैंकले आरटीजीएस लागू गराउने अन्तिम तयारी गरेको थियो । उनी सोही विभागको प्रमुख भएको बेलामा नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ह्याक गरी चिनिया नागरिकले नेपालका केही बैंकको एटीएमबाट अनधिकृत रुपमा पैसा निकाले । सो सिस्टम ह्याक प्रकरणको पनि राम्रोसँग छानविन गरेर उचित सुरक्षा प्रबन्ध मिलाउनु पर्ने चुनौति राष्ट्र बैंकमाथि थपिएको थियो । यी दुबै परीक्षामा मिश्र खरो उत्रिए । गत माघदेखि उनी राष्ट्र बैंकको विदेशी विनियम विभागको प्रमुखका रुपमा कार्यरत छन् । अध्ययनमा सधै स्कुल र कलेज टप गरेका मिश्रले राष्ट्र बैंकको जागिरपछि दिएको एलएलबी परीक्षामा भने कलेज टप गर्न सकेनन् । मिश्र खासमा डाक्टर बन्ने सपना पालेर अघि बढेका थिए । उनी सानै छदा उनकी आमालाई टीबी रोग लागेको थियो । त्यसैकारण पनि उनलाई डाक्टर बन्ने रहर जागेको हो । तर, उनी डाक्टर बन्न सकेनन्, बरु नर्स सितादेबी कुँबरसँग वैवाहिक सम्बन्ध जोडे । कुँबर अहिले ओम हेल्थ क्याम्पसको क्याम्पस प्रमुख छन् । आफूले सोचे जस्तो कहिल्यै पाइनँ, म डाक्टर बन्न चाहन्थेँ, यो पेशामा आइपुगेँ, तर जीवनमा जे पाएँ, त्यो धेरै नै महत्वपूर्ण र उपलब्धिमुलक कुरा पाएँ ‘आफूले सोचे जस्तो कहिल्यै पाइनँ, म डाक्टर बन्न चाहन्थेँ, यो पेशामा आइपुगेँ, तर जीवनमा जे पाएँ, त्यो धेरै नै महत्वपूर्ण र उपलब्धिमुलक कुरा पाएँ,’ मिश्रले भने । उनी ब्ल्याकबोर्डमा दुबै हातले लेख्न सक्छन् र ब्यामिन्टन पनि दुबै हातले खेल्न सक्छन् । फुटबल र स्वीमिङका शौखिन हुन् । उनी घुम्न र साइकलिङ गर्न पनि रमाउँछन् । राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा हुने व्याडमिन्टन प्रतियोगितामा विगत ३ वर्षदेखि उनी निरन्तर पहिलो भइरहेका छन् । ३ वर्षअघि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका शिवनाथ पाण्डे हुन्जेल मिश्रले पाण्डेलाई व्याडमिन्टनमा जित्न भने सकेनन् ।

तस्बीर हेरेर पशुपतिकाे मुड चेच्ज

काठमाडौं । फुर्सदको समय निस्कने बित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपति मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमश्रृङखलासम्म चढ्छन् । भ्रमणमा निस्कदा मोवाइलबाट उनले खिचेका तस्विर हेर्दा लाग्छ फोटोग्राफीमा सौखिन पत्रकार हुन् । उनी व्यस्त समयलाई छल्दै शुक्रबार विहान साढे दश वजे नेपाल आर्ट काउन्सिल पुगेका थिए । फोटो पत्रकार क्लवले ववरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको नेपालकै सवैभन्दा ठूलो प्रतियोगिता बाट छानिएका १७६ तस्विरको प्रदर्शनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा प्रदर्शित तस्विर हेरेर बिताए । प्रदर्शनीमा राखिएका केही तस्विर हेरेर मुरारका प्रसन्न भए भने केही तस्विरले उनलाई गम्भिर अवस्थामा पुर्यायो । विशेष गरी नेपालको प्राकृतिक सुन्दरता, डाँडा काँडा देखिएका तस्विरमा खुलेरै रमाएका उनी समाजको यथार्थ परक दृष्यहरुमा गम्भीर बनेका थिए । दुर्घटना र हिंस्रक तस्विरमा उनी चिन्तित देखिए । अवलोकन पछि कमेन्ट वुक्समा उनले लेखेका छन्–‘नेपालको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक साँस्कृतिक क्षेत्रलाई समग्र रुपमा यस प्रदर्शनीले समेटेको र यसले समग्र नेपाललाई परिचित बनाएको हुँदा यस प्रशर्दनीले नेपालको समग्रतालाई वुझन आफूलाई सहयोग गरेको छ ।’

उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिनेछौं : खानेपानी मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिने बताएकी छन् । शुक्रबार खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री  मगरले साे कूरा बताएकी हुन् । काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण गर्दै जाने बताइन् । मन्त्रालयको योजना अनुसार नै ढुंगेधारा र पोखरीहरुको संरक्षणमा जुट्न सबै स्थानीय तह र समुदायको सहयोग अति आवश्यक रहेको उनकाे भनाइ छ ।  मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ । बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्था बारे अध्ययन गरेर संरक्षणका लागि सबै नगरपालिकाहरुसँग समझदारी गर्ने योजना अनुरुप पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी गरेको हो । बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र रहेका कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो । जसमध्ये ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको अध्ययनले देखाएको छ । त्यसैगरी १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोर्डले जनाएको छ । मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन् भने १७ वटा पोखरीहरु छन् जसमा ३ वटा पोखरीहरु लोप भएका छन् । त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन् ।

नेपाल इन्जिनियरिङ कलेजका १ सय ८९ जना इन्जिनियरलाई विदाई

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय ८९ जना विद्यार्थी इन्जिनियरलाई एक कार्यक्रम गरी विदाई गरिएको छ । कलेजले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो । कलेजमा चार वर्षे सिभिल इन्जिनियर पूरा गरेका एक सय ४४ जना र पाँंचवर्षे आर्किटेक्ट इन्जिनियरिंङको पढाई पूरा गरेका ४५ गरी कुल एक सय ८९ जना इन्जिनियरिंङको अध्ययन पूरा गरेका विद्यार्थीको विदाइ गरिएको हो ।  कलेजको सिभिल इन्जिनियरिंङ र आर्किटेक्ट इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको हो । कार्यक्रममा कलेजका सवैजना विद्यार्थीलाई प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ, सहायक प्राचार्य दीपक धामी, एकेडेमिक ओअर्डिनेटर मोहनध्वज केसी, सिभिल विभाग प्रमुख दीव्यश्री लोहणी, आर्किटेक्चर विभाग प्रमुख नसला सायमीलगायतले टिका, अविर, खादालगाएर विदाई गरेका हुन् । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले विद्याथीलाई नैतिकतामा ध्यान दिएर काम गर्न अनुरोध गरे । उनले मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न विद्यार्थीलाई सल्लाह दिए । कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका हुन्छन् ।

घरेलु हिंसाको आरोप लगाउँदै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अदालतमा मुद्दा दागर भएकाे छ । उनी विरुद्द  शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएकाे हाे । मुख्यमन्त्री राई आफ्नो श्रीमान भएकाे दावी गर्दै एक जना खड्का राई नाम गरेकी महिलाले उनी विरुद्द मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी हुन् । उनले  अंश पाउनुपर्ने उनको माग दाबी गरेकी छन् । राईले आफूसँग बिहे गरेको दाबी गरेकी उनले घरेलु हिंसाको आरोप समेत लगाएकी छन् ।