एकैदिन १२ सयले घट्यो सुन, प्रतितोला ७८ हजारमा कारोबार
काठमाडौं । साताको पहिलो दिन प्रतितोला १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छ । गत साता हाल सम्मकै उच्च मूल्यमा सुन कारोबार भएको थियो । गत साताको सोमबार ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८० हजारमा बिक्री भयो यस्तै गरि बुधबार ७९ हजार ५ सय रुपैयाँ, बिहीबार ७९हजार ७ सय रुपैयाँ सुन बिक्री भएको थियो । त्यस्तै गत शुक्रबार प्रतितोला ७८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन आइतबार ७७ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार २० रुपैयाँमा घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै, यसै वर्षभित्र सञ्चालनमा ल्याइने
काठमाडाैं । मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ । यसैगरी, पानी जहाज सञ्चालनको आवश्यक प्रक्रिया पनि जारी छ । रेल सञ्चालनका लागि ‘रेल सेट’ समेत तयार भइसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । रेल सञ्चालनका लागि रेलवेसम्बन्धीको विधेयक संसद्मा पेश भइसकेको छ । पानीजहाजको पुरानो ऐन परिमार्जन गर्न मस्यौदा तयार पारेर विभिन्न मन्त्रालयको सुझाव लिने काम जारी रहेको जनाइएको छ । जनकपुर¬–जयनगर रेल सञ्चालनका लागि खरिद गरिएको दुई रेलसेटमध्ये एउटा भारतको चेन्नेइमा निर्माण सम्पन्न भएको छ । अर्काे रेलसेट निर्माण सम्पन्न हुने चरणमा पुगेको मन्त्रालयले जनाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्र चालू आवभित्र रेल सञ्चालन गर्ने गरी काम भइरहेको बताउँछन् । उनले कर्मचारी व्यवस्थापनको प्रक्रिया चलिरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि सरकारले २६ विदेशीसहित २२६ कामदार नियुक्ति प्रक्रिया थालिसकेको छ । अन्य विभिन्न क्षेत्रमा बन्ने रेलमार्गका लागि पनि सरकारले एकैसाथ प्रक्रिया अघि बढाइसकेको छ । जोगवनी¬–विराटनगर खण्डमा रेलस्टेशनका लागि लामो समयदेखि जग्गा प्राप्तिमा देखिएको समस्या निराकरण भएको मन्त्री नेम्वाङले बताए । उनका अनुसार पछिल्लो तीन महिनामा मात्रै निजगढ (चोचा) बर्दिबास रेलमार्ग खण्डमा थप दुई किलोमिटर ट्र्याक निर्माण गरिएको तथा चार पुलको फाउण्डेशन तयार भएको छ । यसैगरी, कतिपय ठाउँमा वन क्षेत्र पर्ने भएकाले रुख हटाउन वन मन्त्रालयमा विवरण पेश तथा पूर्वपश्चिम विद्युतीय रेलमार्गको वैकल्पिक खण्ड निजगढ–¬भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सकेर अहिले सम्झौता चरणमा पुगेको जनाइएको छ । काठमाडौँको नारायणगोपाल चोक, रत्नपार्क, सातदोबाटो हुँदै चल्ने मेट्रोरेलसम्बन्धीको डिपिआर तयार गर्ने काम पनि अघि बढेको छ । काँकडभिट्टा–इनरुवा रेलमार्ग खण्डको विस्तृत अध्ययनका लागि चीन सरकारसँग सम्झौताको प्रक्रिया अघि बढेको मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्ज–¬काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन कार्यका लागि भारत सरकारले बजेट विनियोजन गरिसकेको छ । चालू आवमा रेल विभागबाट सञ्चालित योजनाको पूँजीगत खर्च २३.७८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा विसं २०६८ मा रेल विभाग स्थापना भए पनि गति लिन नसकेको काम अहिले धमाधम भइरहेको छ । जल यातायातमा पनि काम तीव्र रेलसँगै सरकारले अन्तरदेशीय जलमार्गमा नेपाललाई जोड्न जल यातायातका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । सरकारले जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०७६ को मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा रायका लागि पठाइसकेको छ । कालीगण्डकी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरी इच्छुक फार्म/कम्पनीको छनोट प्रक्रिया अघि बढेको छ । हाल तयार भई पेश भएको मस्यौदा विधेयकअनुसार नयाँ नियमावली बनाउने कामसमेत शुरु भएको छ । सरकारले गत वर्षमात्रै पानीजहाजको कार्यालय स्थापना गरेको थियो । वर्तमान परिवर्तित समयमा पुरानो ऐनले काम नगर्ने भएकाले नयाँ ऐन आउने क्रममा छ । ऐन आउन ढिलाइ हुने भएकाले नियमालीबाट केही गर्न सकिन्छ कि भनेर प्रयास थालिएको मन्त्री नेम्वाङले बताए । सम्भाव्यता अध्ययन नभएकाले नेपालको नदीमा कस्ता पानीजहाज चल्छन् भनेर अहिलेसम्म यकिन भएको छैन । मुख्यगरी पानीजहाजको काममा अन्तरमन्त्रालय समन्वयमा काम अघि बढेको र नेपालको झण्डा फहराएर कलकत्तादेखि बाराणसीसम्म जहाज सञ्चालन गर्न भारतसँग पारबहन सम्झौता अघि बढाएको समेत उनले जानकारी दिए। समुद्रमा चल्ने पानीजहाज नेपालमा आउँदैन । भारतमै पनि समुद्रमा चल्ने जहाज अन्य भित्री भागमा जाँदैन । आन्तरिक क्षेत्रमा रहेका नदीको पानीको बहावअनुसार साना जहाज चल्छन् । नेपालको कोशी, कर्णाली, नारायणी, कालीगण्डकीमा नदीको अध्ययन गरेपछि मात्रै कस्तो जहाज चल्छ भन्न सकिने पानीजहाज कार्यालयका निमित्त प्रमुख विपीनराज भण्डारीले बताए । कालीगण्डकीमा भने अध्ययनका लागि प्रक्रिया अघि बढेको उनले जानकारी दिए । नेपालमा पानीको बहावअनुसारको जहाज सञ्चालन हुनेछ भने नेपाली झण्डा फहराएर अन्य क्षेत्रमा पनि नेपाली जहाज सञ्चालन गर्ने योजना सरकारको छ । सरकारले एक वर्षअघि पानीजहाज कार्यालय स्थापना गरेको हो । कार्यालय उद्घाटनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पानीजहाजको नयाँ युगमा प्रवेश गरेको बताएका थिए। रासस
जापान पछाडि अमेरिकामा कामदार भिसा खुल्याे, आवेदन दिने यस्तो छ तरिका
काठमाडौं । पछिल्लो समय जापान पछि अमेरिकामा नि कामदार भिसा खुल्ला भएको छ । कामदार भिसाका लागि एचवान बीमा अमेरिका जान अनलाइन दर्ता प्रणाली खुल्ला भएको हो । मार्च १ गतेदेखि खुल्ला भएको उक्त अनलाईन प्रणाली मार्च २० सम्म हुने युएससीले जनाएको छ । युएससीआईएसका अनुसार, आर्थिक वर्ष २०२१ का लागि खुलेको सो कामदार भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त फर्म दर्ताका लागि १० डलर शुल्क लाग्नेछ । लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट हुनेछन् । आवेदकले युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नु पर्नेछ । छनौट भएका आवेदन उपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रक्रिया अगाडी बढ्न सक्नेछ । यी प्रक्रिया पूरा गरेको खण्डमा कामदारले भिसा प्राप्त गर्न सक्नेछ । अमेरिकाले कामदार भिसामा पहिलो पटक भिसाका लागि अनुमति दिएको हो । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि नयाँ प्रक्रिया थालनी हुने भएको हो । उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत फारम भर्न पाउने भएका छन् । ६५ हजारको कोटा ब्याचलर डिग्री गरेका र अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजार कोटा रहेको छ । त्यस्तै अमेरिकामा मास्टर्स डिग्री गरेकाले पनि ६५ हजारको कोटामा समेत भाग लिन पाउने व्यवस्था रहेको छ । आवेदन दिने यस्तो छ तरिका हेर्नुहाेस् भिडियाे ।
घातक रोग लागेमा कसरी उपचार गर्ने भन्ने चिन्ता छ ? यस्ता छन् विकल्प
काठमाडौं । बीमा कम्पनीहरुले बिमितको स्वास्थलाई लक्षित गरेर विभिन्न किसिमका बीमा योजनाहरु संचालन गरिरहेका छन् । यसमध्ये केही योजनाहरुबाट बिमितले अस्वस्थ भएको बेलामा उपचार खर्च पाउँन सक्छन् । जति ठूलो रोग लाग्यो, खर्च पनि उतिनै धेरै हुने गर्छ । रोग लाग्नुपूर्व बीमा गराएमा रोग लागेको अवस्थामा बिमितको आर्थिक तनाव कम गर्न बीमाले मद्दत गर्छ । हाल जीवन बीमा कम्पनीहरुले घातक रोग (क्रिटीकल इलनेस पोलिसी) शीर्षकमा बीमा पोलिसी बिक्री गर्दै आएका छन् । घातक रोग बीमा पोलिसीलाई राइडर अन्तरगतको बीमा पनि भनिन्छ । ‘राइडर भन्नाले जीवन बीमा गर्दा अन्य सेवा सुविधाहरु समेत थपिनु भन्ने बुझिन्छ, पछिल्लो समय बिमितहरु माझ बीमाको आवश्यकता थपिदै गएकाले यस्ता योजना बढ्दै गएको हो,’ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर शिवराम तिमल्सिनाले बिकास न्युजसँग भने । यी हुन् घातक रोग क्यान्सर, किड्नी फेलर, बोन म्यारो ट्रान्सप्लान्ट, हर्ट अट्याक, कोरोनरी आर्टरी बाइपास ग्राफ्ट, पर्मानेन्ट प्यारालाईसीस अफ लिम्ब्स, ब्रेन ट्युमर, पर्मानेन्ट न्यूरोलोजिकल स्ट्रोक, हाइपर टेन्सन, ग्राफ्ट सर्जरी, कोमा, मल्टीपल स्लेरोसीस, सिक्कल सेल एनिमीया । सिटीजन लाइफ सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस राइडर’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । समयको परिवर्तसँगै मानिसको जीवनशैली समेत परिवर्तन हँुदै जान्छ । सोही परिवर्तनको क्रममा मानिसले नसोचेका रोगहरु लाग्ने गर्छ । त्यस्ता रोगहरु लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिनु कम्पनीको मुख्य उद्देश्य हो । कम्पनीमा घातक रोगको बीमांक रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न सक्छन् । घातक रोगको बीमा गर्दा सिटिजन लाइफमा ५ वर्षदेखि २५ वर्षको अवधि तोकिएको छ । आईएमई लाइफ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २१ घातक रोगको बीमा योजना संचालन गर्दैआएको छ । कम्पनीमा बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । ज्योति लाईफ ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस’ शीर्षकको बीमा पोलिसी संचालन गर्दैआएको छ । कम्पनीले एउटा प्याकेजमा ३५ वटा तथा अर्को प्याकेजमा १८ वटा घातक रोगको बीमा योजना संचालन गरिरहेको छ । ज्योति लाइफमा घातक रोग बीमा योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्मको छ । बीमा अवधि ५ वर्षदेखि २० बर्षसम्मको छ । १८ वर्षदेखि ५५ वर्ष उमेर समूहले यो बीमा योजनामा सहभागी हुन् सक्छन् । प्रभु लाईफ प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुका लागि घातक रोगको बीमा योजना संचालन गरिहेको छ । कम्पनीमा बीमा गर्ने बिमितले तोकिएका ११ किसिमका रोग लागेमा आर्थिक सुरक्षा प्राप्त गर्न सक्छन् । प्राइम लाईफ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ‘सप्लीमेन्ट्री राइडर’ शीर्षकको बीमा योजना संचालनमा छ । उक्त बीमा योजनाको बिमांक रकम २५ लाख रुपैयाँसम्म छ । रिलायवल लाईफ रिलायवल लाइफले ‘क्रिटीकल इलनेस बेनिफीट’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ । उक्त योजनामा १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न पाउँछन् । सो बीमा योजना भने ५ देखि २० वर्षसम्मलाई तोकिएको छ । कम्पनीले तोकिएका १५ किसिमका घातक रोगको बीमा गर्छ । रिलायन्स लाईफ रिलायन्स लाईफ इन्स्योरेन्सले ‘रिलायन्स टर्म प्लान’ शीर्षकको बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले सो योजना अनुसार १८ घातक रोगको बीमा गराउँदै आएको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । सानिमा लाईफ सानिमा लाईफले ‘सानिमा क्रिटीकल इलनेस’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा कम्पनीले तोकिएका ११ घातक रोगको बीमा गर्ने जनाएको छ । सन नेपाल लाईफ सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक ५ रुपैयाँभन्दा कममा घातक रोगको बीमा गर्न सकिने योजना संचालन गरिरहेको छ । उक्त बीमाको अवधि ५ वर्ष छ । कम्पनीले तोकिएका १८ रोगमा बीमा गराउँछ भने यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँसम्म छ ।
सेञ्चुरी कमर्सियल बैंकद्वारा धुलिखेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । बैंकको शाखा कार्यालय धुलिखेलमा बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी र बैंकिङ पहुँच बाहिर रहेका ग्राहकहरुका लागि समुदायमा बैंक सम्बन्धि उक्त कार्यक्रम गरेको हो । कार्यक्रम धुलिखेलस्थित चेयर्स लाउञ्ज बारमा धुलिखेलका संस्थापक नगरप्रमुख एवं होटल व्यवसायी बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक दिपक ढुँगानाले गराएका थिए । साथै, बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्टार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अधिकृत सरोजा फुयालले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका हुन् । बैंकको बचत सुविधा सम्बन्धि बरिष्ठ गायक रामहरि न्यौपानेले गीत मार्फत प्रस्तुत गरे । बचत सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका प्रमुख बजार अधिकृत शेखरराज बस्ताकोटी र कर्जा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका प्रमुख प्रविण कुमार दाहालले गरेका थिए । कार्यक्रम धुलिखेल अस्पतालका मेडिकल डिन डा. राजेन्द्र कोजु, जिल्ला पशु सेवा कार्यालय तथा भेटेरीनरी अस्पतालका पशुविकास अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका लेखा अधिकृत डि.वि. बस्नेत, धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, सहकारीकर्मी लगायत संस्थापक शेयरधनी र सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख बजार व्यवस्थापक शेखरराज बस्ताकोटीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए । बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ ।
बजारमा बढ्दै छ टिसिएल टिभीको माग
काठमाडौं । नेपालमा पछिल्लो समय टिसिएलका विद्युतीय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्छ । अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । नयाँ पुस्ता प्रबिधिसँग नजिक हुने कारण उनीहरुलाई नयाँ नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ । स्मार्ट टिभीको जवानामा थप प्रविधिसहितको युएचडी टिभि आएकाले यसको माग बढ्दै गएको छ । सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको छ । नेपालको ग्रामिण बस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइन्छ ।नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा ऋट र एड गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टीभि ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्न मिल्छ । अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो । विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०।१३६ अर्ब आरएमबी रहेकोमा १० वर्षमा बढेर ८०६।५६ अर्ब आरएमबी पुगेको छ । टिसिएलको २३ वटा आरएण्डडि सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरीङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ । कम्पनीले आगामी दिनमा अझ यसका विश्वमा उत्कृष्ट टिभि नेपाली बजारमा ल्याउन लागेको छ ।
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्ताकोटी
भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष निरञ्जन बजगाईंले जानकारी दिए। सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्वितीय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरि दाहाल केसी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधीर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा रामहरि फुँयाल, रोशनकुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुलसीमैया ज्याख्वा चयन हुनुभएको छ । त्यसैगरी अधिवेशनले चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन गरेको छ ।
सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री पोखरेल
धनुषा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन् । उनले भने, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । मैले सुधार ल्याउन ध्यान दिएको छु ।” धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको शनिबार उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्छ भने । यस्ता विद्यालयले शिक्षक राख्न नपाउने र स्थानीय सरकारले माग गरेका शिक्षक शिक्षक सेवा आयोगले छ महिनाभित्र उपलब्ध गराउने उनले जानकारी दिएका छन् । शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो । शिक्षालयमा आगामी आर्थिक वर्ष २०७७/७८ देखि कृषिबाली विज्ञानको अध्ययन अध्यापन प्रारम्भ हुने विद्यालयका प्रधानाध्यापक राजदेव यादवले जानकारी दिए । विद्यालयको संरचना व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल रु २० लाख उपलब्ध गराएको छ । शहीद यादवकी छोरी प्रतिनिधिसभा सदस्य बोधमाया यादव, कान्छी छोरी सुनिता यादव र गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मीनादेवी यादवले शिक्षालय स्थापना गर्न अहं भूमिका निर्वाह गरेकाे बताइएको छ । तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय नेता रामवृक्ष यादवको विसं २०५२ भदौ २ गते हत्या भएको थियो । रासस