दुबै हातले लेखेर पढाउने ‘मिश्र सर’को कथाः पत्रिकाको हकरदेखि राष्ट्र बैंकको इडीसम्म

<p>काठमाडौं । हरेक सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एक चरणमा अत्यासलाग्दो प्रतिकूलता र प्रेरणादायी संघर्ष नगरेको मानिस जीवनमा विरलै सफल हुन्छन् । झन् भुइमान्छेका हकमा भने अभाव, संघर्ष, अनिश्चय र अस्थिरताको विरासत खडा हुन्छ । अनि त्यही भुइमान्छे सफल भयो भने नि ? जवाफ स्वभाविक छ, ऊ [&hellip;]</p>

काठमाडौं । हरेक सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एक चरणमा अत्यासलाग्दो प्रतिकूलता र प्रेरणादायी संघर्ष नगरेको मानिस जीवनमा विरलै सफल हुन्छन् । झन् भुइमान्छेका हकमा भने अभाव, संघर्ष, अनिश्चय र अस्थिरताको विरासत खडा हुन्छ ।

अनि त्यही भुइमान्छे सफल भयो भने नि ? जवाफ स्वभाविक छ, ऊ धेरैको प्रेरणाको स्रोत बन्न सक्छ ।

हो, आज हामी यस्तै एउटा यस्तै गरिमामय संघर्षको पृष्ठभूमि बोकेका एक व्यक्तिको संघर्ष, जीवनयात्रा र सफलताको कथा पस्कदैछाैं।

जीवनयात्रा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (इडी) बमबहादुर मिश्रको हो । उनी अहिले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुखको जिम्मेवारीमा छन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको राष्ट्र बैंकका कर्मचारीहरुको सबैभन्दा माथिल्लो पद हो । राष्ट्र बैंकको व्यवस्थापकीय जिम्मेवारीमा कार्यकारी निर्देशकमाथि २ जना डेपुटी गभर्नर र एक जना गभर्नर हुन्छन् । तर, मन्त्रिपरिषदले कार्यकारी निर्देशकमध्येबाट २ जनालाई डेपुटी गभर्नर बनाउने हो । गभर्नर पनि मन्त्रिपरिषदले नै नियुक्त गर्ने हो । त्यसैकारण राजनीतिक नियुक्ति राज्यले गर्ने भयाे । व्यक्तिकाे क्षमताले पुग्ने सबैभन्दा माथिल्लाे पद हाे कार्यकारी निर्देशक, राष्ट बैंकभित्र ।

पाँचथर जन्मथलो भएका मिश्रको परिवार झापाको दमकमा बसाई सराई गरेर झर्यो । मिश्रको जन्म २०२९ भएको हो । उनका ४ दाजु र ४ दिदी बहिनी छन् ।

मिश्र सानैदखि पढाईमा अब्बल थिए । त्यसैले एसएलसी परीक्षामा उनी स्कूल टप भए । एसएलसी गरेपछि आईएसी गर्न धरानको हात्तिसार क्याम्पस पुगे । सो क्याम्पसमा पनि उनी आइएसीको कलेज टपर भए ।

२०४८ सालतिर राजनीतिक अस्थिरता थियो । बहुदल आएको २ वर्ष वितेपनि राजनीतिले सही दिशा लिन सकिरहेको थिएन । यता आईएसीमा कलेज टप गरेका मिश्रलाई डाक्टर बन्ने रहर थियो । त्यसैले उनले शिक्षा मन्त्रालयको कोलम्बो प्लानमा छात्रबृत्तिको लागि निवेदन दिए ।

तर, उनको सौभाग्य भनौं या दुर्भाग्य, त्यो साल छात्रबृत्तिमा कसैको पनि नाम निस्किएन । उनी डाक्टर बन्न पाएनन् । तै पनि पढ्ने तिब्र आकांक्षा थला परेको थिएन । काठमाडौं आए । त्रिचन्द्र क्याम्पसमा भर्ना भए बीएससी पढ्न ।

त्रिचन्द्रमा उनी बायोलोजी पढ्न लागे । केही महिना अध्ययन गरेपछि उनलाई वायोलोजीमा गरिखान सकिएला जस्तो लागेन । अनि फिजिक्स पढ्न अस्कल भर्ना भए । यो बेलासम्म उनी डाक्टर बन्ने आफ्नो सपनाबाट धेरै टाढा पुगिसकेका थिए ।

त्रिचन्द्रमा उनी बायोलोजी पढ्न लागे । केही महिना अध्ययन गरेपछि उनलाई वायोलोजीमा गरिखान सकिएला जस्तो लागेन । अनि फिजिक्स पढ्न अस्कल भर्ना भए । यो बेलासम्म उनी डाक्टर बन्ने आफ्नो सपनाबाट धेरै टाढा पुगिसकेका थिए ।

अस्कलमा फिजिक्स पढ्दै गर्दा उनी काठमाडौंको कुलेश्वरमा डेरा गरेर बस्थे । कुलेश्वरदेखि लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस (अस्कल) सम्म आउनको लागि उनीसँग पर्याप्त भाडा हुदैनथ्यो । कुलेश्वरदेखि अस्कल क्याम्पससम्म हिडेरै आउने गरेको मिश्र सम्झन्छन् ।

एक धोक्रो चामल र ५० रुपैयाँ लिएर झापाबाट काठमाडौं आएका मिश्रलाई पढ्ने खर्चको अभाव हुन थाल्यो । अनि त्यो बेला आफूले पत्रिका बाँड्न थालेको मिश्र बताउँछन् ।

‘हिडेर पत्रिका फाल्थेँ, साइकल किन्न पाएको भए राम्रो हुन्थ्यो, कलेज आउन जान पनि सहज हुन्थ्यो, तर साइकल किन्ने पैसा थिएन, हातमा पत्रिका बोक्थेँ, घरघरमा फाल्दै हिड्थेँ,’ मिश्रले भने ।

यसरी केही महिना पत्रिका बाँढ्न थालेपछि उनले ‘एवन’ साइकल पनि किने । त्यसपछि उनलाई आफू धेरै धनी र सुविधा सम्पन्न भएको महसुस भयो ।

केही महिना पत्रिका बाँढ्न थालेपछि बमबहादुर मिश्रले ‘एवन’ साइकल पनि किने । त्यसपछि उनलाई आफू धेरै धनी र सुविधा सम्पन्न भएको महसुस भयो ।

 

एसएलसी गरेदेखि नै मिश्र मौका पाएसम्म अध्यापनको कार्य पनि गर्दै आएका थिए । पढाउँन सक्छु भन्ने उनलाई लाग्थ्यो । त्यसैले उनी हातमा सर्टिफिकेट बोकेर जागिर खोज्न निस्के । त्यस्तैमा सोह्रखुट्टेमा रहेको एभरेष्ट स्कूलका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यलाई भेटेर उनले जागिर मागे ।

‘उहाँ बढो अचम्मको मानिस हुनुहुन्थ्यो, कुरा गर्दा पनि हातबाट चुरोटको ठूटो हटाउनु हुन्नथ्यो, जतिबेला पनि उहाँको हातमा चुरोट हुन्थ्यो,’ आचार्यको हुलिया स्मरण गर्दै मिश्रले भने ।

पढाएको अनुभव थियो । पढाउन सक्छु भन्ने हिम्मत पनि थियो । त्यसैले उनले एभरेष्ट माविमा जागिर पाएँ । तर, पैसा थोरै थियो, दैनिक ३ पिरियड पढाउँनु पर्ने, तलब मासिक ३ सय रुपैयाँ ।

उनी राम्रोसँग पढाउन सक्थे । त्यसैले एभरेष्टमा उनको फूल टाइम जागिर भयो । र, तलब मासिक १ हजार ५० रुपैयाँ । तर, खटाई भने राम्रै हुन थाल्यो ।

‘एउटा पिरियड पनि ग्याप हुन्नथ्यो, सातै पिरियड बढाउँथेँ, ब्ल्याकबोर्डमा चकले लेख्दा लेख्दा हात गलेर उचाल्नै नहुने हुन थाल्यो, हात गल्यो भनेर जागिर छोड्ने अवस्था थिएन, आराम पनि पाउँदैनथेँ, त्यसैले मैले अर्काे जुक्ति निकालेँ, पालैपिलो दुबै हातले ब्ल्याकबोर्डमा लेख्न थालेँ,’ मिश्रले संघर्षका दिन सुनाउन थाले ।

त्यहीबेला सिकेकोले होला, मिश्र अझै पनि बोर्डमा पायो भने दुबै हातले लेख्छन् ।

विहान अस्कलमा पढ्थे । दिउँसो एभरेष्टमा पढाउँथे । पढाउनको लागि तयारी पनि गर्नै पर्यो । त्यसैले साँझ चाउचाउ र अण्डा खाने, रातभरी पढ्ने गर्न थाले उनी । त्यो बेला आफूले सुत्ने गरेको उनलाई याद छैन । सायद सुत्दैनथे ।

यस्तैमा बीएससीको रिजल्ट आयो । अनौठो के भयो भने मिश्रले यो परीक्षामा पनि कलेज टप गरे ।

अन्नपूर्णमा जागिर भएपछि त मसँग पैसैपैसा भयो नि, महिनाको ३६ सय आउँथ्यो, अनि त्यो पैसाले टन्न सपिङ गरेँ, केही पैसा घरमा पनि पठाईदिएँ

यस्तैमा कमलाक्षीको अन्नपूर्ण माविमा शिक्षक माग भएको उनले थाहा पाए । त्यो बेलासम्म एभरेष्टले उनलाई मासिक १७ सय रुपैयाँ तलब दिन्थ्यो । र, अन्नपूर्ण माविमा उनको जागिर भयो । र, तलब पनि मासिक ३६ सय रुपैयाँ ।

‘अन्नपूर्णमा जागिर भएपछि त मसँग पैसैपैसा भयो नि, महिनाको ३६ सय आउँथ्यो, अनि त्यो पैसाले टन्न सपिङ गरेँ, केही पैसा घरमा पनि पठाईदिएँ,’ मिश्रले हास्दै भने ।

त्यहीबीचमा एउटा लिडिङ बैंकको लागि भन्दै जुनियर असिष्टेन्टमा जागिर खुलेको उनले फेला पारे । यो २०५२ सालको मंसिरतिरको कुरा थियो ।  फिजिक्स पढेको मानिसले बैंकमा जागिर गर्न सक्ने नसक्ने, बैंकमा जागिर गर्न जाने नजाने भन्ने दुविधा पनि छदैथियो ।

यस्तैमा उनले अस्कलकै उनीअघिका कलेज टपर टिका सुवेदीसँग परामर्श गरे । टिकाकाे सुझाव अनुसार बैंकमा  निवेदन दिए । परीक्षा दिन बोलायो । जागिर खुलेको तत्कालिन नेपाल अरब बैंक र अहिलेको नविल बैंकमा रहेछ ।

नेपाल अरब बैंकमा जुनियर असिष्टेन्टको परीक्षा दिए । पास भए । र, उनको पहिलो पोष्टिङ विराटनगरमा भयो ।

अझ रमाइलो कुरा त उनको फेरि तलब बढ्यो ।

‘नेपाल अरब बैंकमा जाँदा मेरो तलब ह्यात्तै बढ्यो नि, मासिक ३६ प्लस १६ सय गरेर ५ हजार रुपैयाँ आउन थाल्यो, मासिक ३६ सय तलब खानेलाई ५ हजार रुपैयाँ भनेको निकै धेरै थियो,’ मिश्रले भने ।

जागिर त भयो तर दिनभरको जागिर, रातभरको पढाइको कारण उनको जिउ सुकेर सिन्का जस्तै भएको थियो । ‘त्यो बेला ४८ केजी वजन थियो,’ मिश्र सम्झन्छन् ।

नविलको जागिर गर्दै गर्दा उनलाई अर्थशास्त्रमा एमए गर्ने रहर जाग्यो । तर बीएससी गरेको व्यक्तिले त्यो बेला अर्थशास्त्रमा एमए गर्न पाइदैनथ्यो । त्यसैले उनले एमबीए पढ्ने निधो गरे । र, पीजी क्याम्पस विराटनगरमा भर्ना भए ।

नविलको एलसी शाखामा उनले काम गरेका थिए । नविलको व्यस्त जागिर, विहानको कलेज, उनलाई फेरि धपेडी बढ्यो । तर, त्यो बेला पनि उनीसँग साइकल भने थियो ।

यो २०५३ सालतिरको कुरा हो । त्यो बेला विराटनगरमा लोडसेडिङ सुरु भइसकेको थियो । बत्ती आउँदैनथ्यो ।

‘बत्ती छैन भन्ने कुरा दिमागमा नपरोस भनेर १०/१२ वटा मैनबत्ती बालेर पढ्न थालेँ, फिजिक्स गरेको मान्छे, एमबीए गर्न गएको छु, पढ्नु त परिहाल्यो नि,’ मिश्रले विगत सम्झिए ।

विराटनगरको गर्मी, एउटा कोठामा १०/१२ वटा मैनबत्ती बालेर पढ्दा उनको के होला भयो होला ?

विराटनगरको पीजी क्याम्पसमा एमबीए गर्दा पनि उनले रेकर्ड भने तोडेनन् । अर्थात एमबीएमा पनि उनी क्याम्पस टप भए ।

एमबीए सक्ने वित्तिकै प्राडा खगेन्द्र आचार्यले उनलाई सोही कलेजमा पढाउन अफर गरे । विहान कलेज पढाउन पनि थाले । दिउसो नविलको जागिर छदैथियो ।

त्यही बेला विराटनगरमै केन्द्रीय कार्यालय रहने गरी एनआई बैंक (अहिलेको एनआईसी एशिया बैंक) खुल्यो । उनलाई एनआईसी बैंकले जुनियर अफिसर पद दिने अफर गर्यो । एनआईसी बैंक गए । र, तलब मासिक १३ हजार रुपैयाँ ।

एनआईसी बैंक गएपछि उनले ९२ हजार ५ सय रुपैयाँ हालेर हिरोहोण्डको स्ल्पेन्डर मोटरसाईकल किने । र, २६ हजार ५ सय रुपैयाँ हालेर एलजीको एउटा टिभी पनि । यो २०५६ साल असारतिरको कुरा थियो । त्यो बेला काठमाडौंको कपनतिर ९२ हजार रुपैयाँमा एक रोपनी जग्गा नै आउँथ्यो ।

अब उनीसँग अथाह पैसा हुन थाल्यो । अथाह यस अर्थमा कि कुलेश्वरबाट अस्कल कलेज आउने गाडी भाडा नभएर हिड्दै आउने व्यक्तिले मासिक १३ हजार पाउनु वास्तबमै अथाहा पैसा नै थियो ।

एनआईसी बैंक गएपछि उनले ९२ हजार ५ सय रुपैयाँ हालेर हिरोहोण्डको स्ल्पेन्डर मोटरसाईकल किने । र, २६ हजार ५ सय रुपैयाँ हालेर एलजीको एउटा टिभी पनि । यो २०५६ साल असारतिरको कुरा थियो । त्यो बेला काठमाडौंको कपनतिर ९२ हजार रुपैयाँमा एक रोपनी जग्गा नै आउँथ्यो ।

२०५७ सालमा विराटनगरबाट काठमाडौं सरुवा भयो । उनी त्यही मोटरसाईकल चढेर काठमाडौं आए । २०५८ सालमा विहे गरे । प्रमोसन भएर सिनियर अफिसर भए । मासिक तलब २२ हजार प्लस १० हजार रुपैयाँ थियो ।

त्यही बेला नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो । जागिरको विज्ञापनसँगै तलब पनि खुलाएको थियो । तलब मासिक ८ हजार ७५ रुपैयाँ भनिएको थियो ।

मासिक ३२ हजार रुपैयाँ तलब खाइरहेको व्यक्तिले मासिक ८ हजारको जागिरमा आवेदन दिने कि नदिने भन्ने दुविधा आइलाग्यो । तर, सरकारी भनेको सरकारी जागिर नै हो भनेर उनले आवेदन दिए ।

आवेदन दिदासम्म त केही पनि भएन । उनी अफिसलाई जानकारी नदिई लिखित परीक्षामा पनि सहभागी भए । लिखितमा नाम पनि निस्क्यो । तर, लिखितमा नाम निस्केपछि उनलाई अफिसमा समस्या पर्यो । अफिसमा जानकारी नदिई किन राष्ट्र बैंकमा जागिर खान आवेदन दिएको भन्ने प्रश्न उनलाई गरियो ।

समस्या जटिल नै पर्यो । उनको लिखितमा नाम निस्किसकेको थियो । अन्तरवार्ताको लागि २०५९ साल जेठ १९ गते मिति तोकिएको थियो । अफिसले अन्तरवार्तामा जाने दिन विदा दिने नदिने यकिन भएको थिएन ।

तर, त्यो बेला तत्कालिन राजा विरेन्द्रको बंश नास भएर राजा बनेका ज्ञानेन्द्रले शासन सत्तामा आफ्ने भूमिका बढाउँदै लगेका थिए । त्यसैले विरेन्द्रको बंश नास भएको जेठ १९ गतेको सम्झनामा सरकारले सार्वजनिक विदा दियो । त्यसैले राष्ट्र बैंकको अन्तरवार्तामा आउन उनलाई अफिसले विदा दिइरहनु नै परेन ।

अन्तरवार्तामा पास भए । र, २०५९ साल साउन २७ गते राष्ट्र बैंकमा उनको नियुक्ति भयो । राष्ट्र बैंकको सहायक निर्देशक पदमा नाम निकालेका मिश्रको पोष्टिङ तत्कालिन बैंक निरीक्षण तथा सुपरीवेक्षण विभागमा भयो ।

राष्ट्र बैंकको जागिर चल्दै थियो । यस्तैमा उनले सन् २००५ मा इकोनोमिक पोलिसीमा माष्टर्स गर्न जापानमा छात्रबृत्ति पाए । जापानबाट फर्केपछि राष्ट्र बैंककै बैंकिङ कार्यालय बिरगन्जमा सरुवा भयो ।

केही समय विरगंजमा बसेपछि बैंकिङ कार्यालय थापाथलीमा सरुवा भयो । २०६५ सालमा बढुवा भएर उनी उपनिर्देशक भए । यो बीचमा वित्तीय संस्था सुपरीवेक्षण, विदेशी विनिमय विभाग जस्ता विभागमा रहेर उनले काम गरे । यसैबीच २०७२ सालमा आन्तरिक प्रतिस्पर्धामा नाम निकालेर उनी राष्ट्र बैंकको निर्देशक बने ।

त्यो बेला नेपाल आयाल निगमको पथलैया डिपोबाट पेट्रोलियम पदार्थ राष्ट्र बैंकको विरगंज कार्यालयसम्म ल्याउन अरु डराएपछि मिश्र आफैले गाडी चलाएर ल्याएको उनका सहकर्मी स्मरण गर्दछन् ।

निर्देशकमा बढुवा भएपछि मिश्रको फेरि बिरगंज सरुवा भयो । उनी विरगंजमै रहेको बेलामा नेपालको संविधान २०७२ जारी भयाे । संविधान जारी हुने वित्तिकै भारतले नेपालमाथि नाकाबन्दी गर्यो । मधेश आन्दोलनले उग्र रुप लियो । त्यो बेला नेपाल आयाल निगमको पथलैया डिपोबाट पेट्रोलियम पदार्थ राष्ट्र बैंकको विरगंज कार्यालयसम्म ल्याउन अरु डराएपछि मिश्र आफैले गाडी चलाएर ल्याएको उनका सहकर्मी स्मरण गर्दछन् ।

नाकाबन्दीकै समयमा उनले नेपाली सेनासँगको सहकार्य र आन्दोलनकारी मधेश केन्द्रीत दलहरुसँग समन्वय गरेर विरगंजदेखि काठमाडौंसम्म नोट पनि भित्र्याए ।

२०७३ को जेठमा उनको सरुवा भयो । राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बैंक सुपरीवेक्षण विभागमा आए । त्यसको एक वर्ष पनि नवित्दै उनी सुपरीवेक्षण विभागमा सरुवा भए ।

यस्तै, २०७५ को चैतमा तत्कालिन कार्यकारी निर्देशक नारायण पौडेलको अवकाशपछि उनी कामु कार्यकारी निर्देशक भए । गत साउन पहिलो साता भुक्तानी प्रणाली विभागको कामु कार्यकारी निर्देशक भएका मिश्र साउन चौथो साता कार्यकारी निर्देशकमा बढुवा भए ।

उनी भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक भएको बेला राष्ट्र बैंकले आरटीजीएस लागू गराउने अन्तिम तयारी गरेको थियो । उनी सोही विभागको प्रमुख भएको बेलामा नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ह्याक गरी चिनिया नागरिकले नेपालका केही बैंकको एटीएमबाट अनधिकृत रुपमा पैसा निकाले । सो सिस्टम ह्याक प्रकरणको पनि राम्रोसँग छानविन गरेर उचित सुरक्षा प्रबन्ध मिलाउनु पर्ने चुनौति राष्ट्र बैंकमाथि थपिएको थियो । यी दुबै परीक्षामा मिश्र खरो उत्रिए ।

गत माघदेखि उनी राष्ट्र बैंकको विदेशी विनियम विभागको प्रमुखका रुपमा कार्यरत छन् ।

अध्ययनमा सधै स्कुल र कलेज टप गरेका मिश्रले राष्ट्र बैंकको जागिरपछि दिएको एलएलबी परीक्षामा भने कलेज टप गर्न सकेनन् ।

मिश्र खासमा डाक्टर बन्ने सपना पालेर अघि बढेका थिए । उनी सानै छदा उनकी आमालाई टीबी रोग लागेको थियो । त्यसैकारण पनि उनलाई डाक्टर बन्ने रहर जागेको हो । तर, उनी डाक्टर बन्न सकेनन्, बरु नर्स सितादेबी कुँबरसँग वैवाहिक सम्बन्ध जोडे । कुँबर अहिले ओम हेल्थ क्याम्पसको क्याम्पस प्रमुख छन् ।

आफूले सोचे जस्तो कहिल्यै पाइनँ, म डाक्टर बन्न चाहन्थेँ, यो पेशामा आइपुगेँ, तर जीवनमा जे पाएँ, त्यो धेरै नै महत्वपूर्ण र उपलब्धिमुलक कुरा पाएँ

‘आफूले सोचे जस्तो कहिल्यै पाइनँ, म डाक्टर बन्न चाहन्थेँ, यो पेशामा आइपुगेँ, तर जीवनमा जे पाएँ, त्यो धेरै नै महत्वपूर्ण र उपलब्धिमुलक कुरा पाएँ,’ मिश्रले भने ।

उनी ब्ल्याकबोर्डमा दुबै हातले लेख्न सक्छन् र ब्यामिन्टन पनि दुबै हातले खेल्न सक्छन् । फुटबल र स्वीमिङका शौखिन हुन् । उनी घुम्न र साइकलिङ गर्न पनि रमाउँछन् ।

राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा हुने व्याडमिन्टन प्रतियोगितामा विगत ३ वर्षदेखि उनी निरन्तर पहिलो भइरहेका छन् । ३ वर्षअघि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका शिवनाथ पाण्डे हुन्जेल मिश्रले पाण्डेलाई व्याडमिन्टनमा जित्न भने सकेनन् ।

Share News