विकासन्युज

सेञ्चुरी बैंकले चितवनका विद्यार्थीलाई दियाे १२२ थान पोसाक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकको नारायणगढ शाखाले चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयको २६औं वार्षिकउत्सव तथा अभिभावक दिवसका दिन पारेर उक्त सहयोग गरेको हो । उक्त पोसाक बैंकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेशप्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । शनिबार आयोजित उक्त तालिम धनगढीमा सम्पन्न भएको हो । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको थियो । गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रणका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदि विषयमा विस्तृत जानकारी दिएको हो । कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति थियो ।

हजारको तहमा पुग्न लागेको एभरेष्ट बैंकमा लगानी गर्नु कत्ति उत्तम ? (प्राविधिक विश्लेषण सहित)

काठमाडाैं । एभरेष्ट बैंक, २०५१ साल कात्तिक १ गतेदेखि सञ्चालनमा आएको हो । मुलुकमा वैदेशीक संयुक्त लगानीमा बैंकहरु सञ्चालनमा आइरहेको समयमा निरन्तर, बलियो र भरपर्दो नारा सहित यस बैंक सञ्चालनमा आएको हो । पञ्जाब नेशनल बैंक भारत र नेपालीहरुको संयुक्त लगानीमा सञ्चालनमा रहेको बैंकको नेतृत्व हालसम्म पनि भारतबाटै हुने गरेको छ । बैंकको प्रमूख कार्यकारी अधिकृतमा हाल पनि भारतको पञ्जाब नेशनल बैंकबाट आएका गजेन्द्र कुमार नेगी छन् । बैंकको ९४ शाखा र १ सय २२ वटा एटीएमबाट ग्राहकले सेवा पाइरहेका छन् । ८.४६ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ३.५० देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ । उपाधी बैंकले २००६ मा लण्डनको फाइनान्सियल टाइम्स्बाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । नेपालका आर्थिक पत्रिकाहरुबाट बैंकले विभिन्न समयमा अवार्डहरु पाएको छ । बैंकले २०१३, २०१८ र २०१९ मा बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१८ मा क्यामेल रेटिङको आधारमा दोस्रो बैंकको उपाधी समेत पाएको छ । लगानी बैंकमा हाल लगानीमा थोरै परिवर्तन आएको छ । गत वर्ष पञ्जाब नेशनल बैंक भारत पछि सबैभन्दा धेरै सेयर हुनेमा होटल स्नो लायन रहेकोमा हाल प्रतिमा श्रेष्ठको लगानी दोस्रो स्थानमा छ । लगानी स्वामित्वको आधारमा होटल स्नो पछि बि के श्रेष्ठ (एनबी समूह)को लगानी देखिन्छ । बिके श्रेष्ठ बैंकको अध्यक्ष समेत हुन् । अन्य लगानी बैंकको सहायक कम्पनी छैन । तर, बैंकले फर्वाड कम्युनिटी माइक्रोफाइनान्समा २५ प्रतिशत (३१ करोड रुपैयाँ) सेयर लगानी गरेको छ । संस्थापक सेयर धनीको रुपमा छ । बैंकले अन्य केही लघुवित्त, होटेल लगायतमा गरेको लगानी ८५ करोड रुपैयाँ पुगेको छ । यो स्वामित्वको लागि नभई लगानी उदेश्यका आधारमा मात्र गरिएको लगानी हो । लाभांश बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५ प्रतिशत दिएको छ । पाँच वर्षमा बैंकको औसत लाभांश दर ३७.९९ छ । हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ८६ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा १० प्रतिशत हो । सेयर प्रिमियम रकम समेत जोड्दा यो दर १३ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा ५.५८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । यो रकम १ अर्ब ५० करोड रुपैयाँ छ । नाफा रकमको आधारमा बैंक नवौं स्थानमा छ । बैंकको अन्य आम्दानी बढ्दा र खराब कर्जाको लागि राखिने प्रावधान घट्दा समेत नाफाबढ्न सहयोग पुगेको हो । बैंकको व्याज आम्दानी १५ प्रतिशत र खुद व्याज आम्दानी करीब ९ प्रतिशतले बढेको छ । ७ अर्ब १७ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा २ अर्ब ९० करोड पुगेको छ । खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ८ करोड ९३ लाख रुपैयाँ प्रावधान राखेको छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ४ प्रतिशतले कमि भएर ८ अर्ब ८२ करोड रुपैयाँ छ । कोष लागत केही बढेर ६.४४ पुगेको छ । बैंकमा ८ सय ९३ जना कर्मचारी छन् । बैंकको कर्मचारी खर्चमा करीब ११ प्रतिशतको वृद्धि छ । निक्षेप प्राथमिक पुजीको आधारमा कर्जा लगानी अनुपात ७५.०४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात २४.८० प्रतिशत छ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । रेटिङ बैंकलाई केयर रेटिङ नेपालले एए माइनस रेटिङ दिएको छ । सो क्रममा बैंकको सामर्थ्य र कमजोरीलाई निम्न अनुसार देखाएको छ । कर्जा र निक्षेपमा निरन्तरको वृद्धि क्षेत्रगत आधारमा निक्षेपको हिस्सा घटेर ४.५३ मा सिमित खुद व्याज मार्जिन घटेर ३.६४ कम लागतका निक्षेपको हिस्सा सामान्य घट्यो (हाल ३८.९५ प्रतिशत), समग्र क्षेत्रको औसत दर (४१.७७) कोषल लागतभने क्षेत्रगत आधारमा कम खराब कर्जा दर निकै न्युन खुद व्याज आम्दानी लगायतमा वृद्धि २० प्रमूख निक्षेपकर्ताको हिस्सा ३२ प्रतिशत, २० प्रमूख ऋणीको हिस्सा २३.९१ प्रवृत्ति बुलिश बैंकको सेयर मूल्य करिब एक वर्ष यताकै उच्च (८सय ८० रुपैयाँ) मा आएको छ । यसअघि बैंकले कप विथ ह्याण्डल आकृति बनाएर ८ सय ६० सम्म मूल्य पुग्न सक्ने देखाएको थियो । बैंकको सेयरमा दरिलो आकर्षण छ । ७ दिने सिम्पल मुभिङ एभरेजले २१ दिने रेखा लाई काटेर माथि लागेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे आगामी एक महिनामा ९ सय ७० मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सयमा टेवा पाउने देखाउँछ । बैंकको सेयर कारोबारमा उच्च आकर्षण रहेको १४ दिने आरएसआई सुचकले संकेत गर्छ । यो ९३ स्केल मा छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । बैंकको सेयर मूल्यले अन्तिम दिन क्रमशः सेतो मैनवत्ति आकृति बनाएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमै रहेको संकेत गर्छ । मूल्य बढ्न सक्ने संकेत कायमै देखिन्छ ।

पुस्तकमा गरिएको मूल्यवृद्धिको आज देशभर विरोध

काठमाडाैं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखी आज देशभर विरोध गरेका हुन् । नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरेका छन् । “सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ”, उनले भने । अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए । रासस

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै लागेन टुङ्गो

काठमाडाैं । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए । उनले भने, “अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।” यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो । विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि/निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका हुन् । रासस

ग्लोबल आइएमईसहित तीन संस्थाबीच वित्तीय पहुँचसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच सक्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरल रुपमा वित्तीय पहुँच पुर्याउन संयुक्त रुपमा काम गर्ने छन् । बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ । यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ ।

६ वटा बैंक/वित्तीय संस्था मर्ज तथा एक्विजिशनमा जाँदै, एनएमबीले २ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्विजिशनमा जान सैद्धान्तिक सहमति दिएको छ । सिर्जना फाइनान्सलाई एक्वाएर गर्न सनराईज बैंकलाई स्वीकृति दिएको छ । एक्वाएरपछि सनराइज बैंकको पुँजी ९ अर्ब ७० करोड रुपैयाँ हुनेछ । हाल सनराईज बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ । सिर्जना फाइनान्सको पुँजी ७३ करोड रुपैयाँ छ । मर्जपछि सनराइज बैंकको शाखा १३३ वटा हुनेछन् । त्यस्तै, राष्ट्र बैंकले सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तलाई मर्ज गर्न सैद्धान्तिक सहमति दिएको छ । सारथी लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख छ भने नयाँ नेपालको १० करोड ८ लाख रुपैयाँ छ। त्यसैगरी, सजिलो लघुवित्तको जोडीलाई पनि मर्जको लागि स्वीकृति दिएको छ । सजिलो लघुवित्त समिट लघुवित्त वित्तीय संस्थासँग मर्जमा जाँदै छ । सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ भने समिटको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले एनएमबी बैंकलाई २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न स्वीकृत दिएको छ । एनएमबीले ६ वर्ष अवधिको लागि १० दशमलव २६ प्रतिशत व्याजमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कोरोनाका कारण ‘दोस्रो टोखा महोत्सव’ स्थगित

काठमाडाैं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । “विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ”, उनले भने । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा२५ लाख विनियोजन गरेको छ । रासस