विकासन्युज

अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने भएकाे छ । आइतबारबाट लागु हुने गरी विमानस्थलबाट आवत-जावत गर्ने यात्रुकाे स्वास्थ्य  परीक्षण गरीने बताइएकाे छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमकाे सूचिमा राखेसँगै नेपालले सतर्कता अपनाएकाे हाे । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

अब टेलिकमको डाटा प्रतिएमबी ५ पैसामै चलाउन सकिने

काठमाडाैं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम करसहितका हुन् । लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट*1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ । आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

जीवन बीमा कम्पनीले आर्जन गरे ५४ अर्ब रुपैयाँ बीमा शुल्क, कसले कति कमाए ?

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ महिना सम्ममा ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म सो रकम आर्जन गरेका हुन् । उक्त बीमाशुल्क मध्ये जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कतर्फ १७ अर्ब ९० करोड रुपैयाँ र नविकरण बीमा शुल्कतर्फ ३५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेका छन् । बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा शुल्कतर्फ १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् । कम्पनीहरुले माघ महिनासम्ममा ७४ लाख ७८ हजार ८ सय ८४ बीमालेख जारी गरेका छन् । सो मध्ये वैदेशिक रोजगारमार्फत जारी भएको बीमालेखको संख्या ८ लाख ५३ हजार ३७ रहेको छ । जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्याेरेन्सले १६ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले ८ अर्ब ८४ करोड रुपैयाँ र बीमा संस्थानले ६ अर्ब रुपैयाँ आर्जन गरेको देखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमाबाट पाइने रिटर्नमा धेरै जना आकर्षित भएको बताए । बीमाका फाईदा बारे बुझ्नेको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ । जीवन बीमातर्फ अभिकर्ताहरुले बीमा चेतना बढाउन मद्धत गर्दे आएका कारण बीमाशुल्क संकलनमा हुने गरेका पुराना केही समस्याहरु घट्दै गएका छन् । बीमा कम्पनीहरु एक अर्काको प्रतिस्पर्धी बन्दै गएको अवस्था छ, हामीले नियामक निकाय (बीमा समिति) का तर्फबाट बीमा चेतना बढाउन काम गर्दै आएका छौँ’,त्यसले पनि पछिल्लो समय कम्पनीहरुले राम्रै रकम आर्जन गर्दै आएका छन्,’ उनले भने ।    

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई मेदान्त मेडिसिटी अस्पतालको सेवा शुल्कमा साे मात्राकाे छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सले गर्यो ‘आर्ट अफ सक्सेज’ कार्यक्रम

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले ‘आर्ट अफ सक्सेज’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम बसुन्धरा बैंक्वेटमा सम्पन्न भएको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका हुन् । सिटिजन लिडरहरुको क्षमता अभिवृद्दि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रशिक्षक डा. मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूने पर्ने गुणहरु बारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको बेजोड संलग्नता थियो ।  

यी हुन् प्रचण्डलाई जुत्ता हान्ने युवक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ। उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरे । उनले जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ । उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ । यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए । सम्बन्धित समाचार: प्रचण्डमाथि जुत्ता प्रहार

प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रियसभागृहमा जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्दा उनलाई लागेको थिएन । प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो । प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो । दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।