आज बस्दै प्रतिनिधिसभा बैठक, नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु अधिवेशनमै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
रिलायबल समृद्धि योजनजा-२ बिक्री खुला, १ करोड इकाई खरिद गर्न मिल्ने
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडले आज वैशाख २९ गतेदेखि रिलायबल समृद्धि योजनजा-२ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । कम्पनीले कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरे जेठ १२ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको फण्डमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
आजको मौसमः केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको पनि प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । महाशाखाले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
स्नो रिभर्सको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज वैशाख २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता स्थानीयलाई, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १८ हजार ७५० कित्ता कर्मचारीहरुलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
साढे २ करोडमा बनेका वाटर एटिएम बुथमा पानीको दुरुपयोग
काठमाडौं । निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौंका विभिन्न ८ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताए । उनका अनुसार कामपाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटिएम बुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प्रयोग परीक्षण गरेपछि वैशाख ५ गते यी बुथको औपचारिक शुभारम्भ गरिएको बज्राचार्यले जानकारी दिए । ८ वटा बुथको निर्माण लागत २ करोड ६० लाख रूपैयाँ रहेको कामपाले जनाएको छ । उनका अनुसार बुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसार गुणस्तरीय स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ । नेपाली मौलिक शैलीमा निर्माण गरिएका बुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौंको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कुलको कम्पाउन्ड (जमलबाट कमलादी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं १७ लिङ्क रोड ढल्को चोक, वडा नं ५ नरःदे (हाँडीगाउँ), वडा नं २६ परिसर र वडा नं ३१ परिसरमा यो प्रणाली जडान भएका छन् । बुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक बज्राचार्यले बताए । पानीको स्वच्छता नियमित रूपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सिसिटिभी क्यामरा जडान गरिएको उनको भनाइ छ । ‘बुथलाई मौलिक जरुहिटीको परिवर्तित स्वरूप मान्न सकिन्छ । काठमाडौंबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटीमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अम्खोरा पनि हुन्थ्यो । हिटीबाट पानी भरेर फर्किँदा अम्खोरामा भएको पानी बाटोमा बनाइएको पानी सङ्कलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो,’ उनले भने । पहिले जस्तो अहिले हिटीमा गएर पानी ल्याउनु नपर्दै भएपछि जरुहिटी पनि सुक्दै गएको निर्देशक बज्राचार्यको बुझाइ छ । यसरी सुक्दै गएका जरुहिटीले बटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटिएम बुथ बनाइएको उनले बताए ।
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
काठमाडौं । सरकारले आध्यात्मिक तीर्थ कुटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कुटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ । धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने विषयलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकताका साथ उल्लेख गरेको छ । समुदायद्वारा सञ्चालित घरवास (होमस्टे), स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन वृद्धिका लागि रोजगारी प्रवर्द्धन गरिने भएको छ । जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङ सहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । स्थानीयबासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए । महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदा बित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएका छ ।
५३० किमी रेन्ज दिने 'एमजी एस सिक्स' नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ९९ हजार
काठमाडौं । १०० वर्ष पुरानो अटोमोवाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) को नयाँ इलेक्ट्रिक एसयूभी 'एमजी एस सिक्स' नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि एमजीकोआधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले सोमबार राजधानीमा एक कार्यक्रमबीच 'एमजी एस सिक्स' गाडी अनावरण गरेको हो । कार्यक्रममा एमजीको मातृ कम्पनी एसएआइसीका प्रतिनिधि मोहम्मद कासिम र प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनील क्षेत्रीले संयुक्त रूपमा नयाँ गाडीको अनावरण गरेका थिए । सन् २०१७ मा स्थापना भएको प्यारामाउन्ट मोटर्सले २०१८ देखि नेपालमा एमजीका गाडीहरू बिक्री गर्दैआएको हो । कम्पनीका अनुसार यसअघि एमजी जेडएस ईभीले नेपाली विद्युतीय सवारीको बजारमा निकै ठूलो सफलता पाएको थियो । हालसम्म नेपालमा एमजीका ४ हजार ५०० भन्दा बढी गाडीहरू गुडिरहेका छन् । एमजीले आफ्नो १०० वर्षको इतिहासलाई यो नयाँ प्रिमियम मोडलमार्फत निरन्तरता दिएको छ । यस्ता छन् विशेषता यस गाडीमा १८० किलोवाटको शक्तिशाली मोटर र ३५० एनएम टर्क रहेको छ । यसमा ७७ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जुन यो सेग्मेन्टमै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसले ५३० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन मात्र ३८ मिनेट लाग्छ । नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसमा १९ इन्चको मिसिलिन टायर प्रयोग गरिएको छ । सुरक्षाको दृष्टिकोणले यो गाडी निकै मजबुत मानिएको छ । यसले 'युरो एनक्याप' बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसको ब्याट्री प्याकले विभिन्न कठिन परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ । गाडीभित्र १२.८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, एम्बियन्ट लाइटिङ, र प्यानोरामिक सनरुफ जस्ता विशेषता छन् । यसमा टिकटक, युट्युब, र स्पोटिफाइ जस्ता एपहरु चल्ने स्मार्ट फिचर्सका साथै ११ वटा स्पिकरहरू रहेका छन् । यसमा 'भिटुएल' प्रविधि पनि छ, जसबाट गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । प्यारामाउन्ट मोटर्सले नेपाली बजारका लागि उक्त ईभीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ । प्रिमियम लुक्स, अत्याधुनिक फिचर्स र बलियो सुरक्षामापदण्डका कारण यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।