विकासन्युज

एनआईसी एशिया क्यापिटलले पारित ग‍र्यो ५० प्रतिशत नगद लाभांश

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  क्यापिटलको दशौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको प्रतिवेदन तथा आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष रुपेश लुईंटेलका अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सो अवधिमा क्यापिटलले १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । क्यापिटलले व्यवसाय विस्तारतर्फ पनि उल्लेख्य प्रगति गरेको जनाएको छ । आषाढ मसान्त २०८३ सम्ममा क्यापिटलले ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत चार वटा बन्दमुखी र दुई वटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको छ ।  लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकको ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरेको क्यापिटलले जनाएको छ । सेयर रजिस्ट्रार सेवातर्फ क्यापिटलले २४ वटा कम्पनीलाई सेवा प्रदान गरिरहेको छ । ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत भने हालसम्म २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ । क्यापिटलका अनुसार दशौं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसहित हालसम्म आफ्ना सेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको छ ।

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात, १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । यस्तै, कोषका दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघ–संस्था तथा निकायबाट सहयोगस्वरूप रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो । कोषमा मौज्दात रहेको रकमबाट बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका काममा आवश्यकताअनुसार खर्च गरिने प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

अबदेखि नागरिक एपबाटै विदेश भ्रमणको आगमन–प्रस्थान विवरण पाइने

काठमाडौं । अबदेखि नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण (भ्रमण विवरण) अब नागरिक एपमार्फतै उपलब्ध हुने भएको छ । अध्यागमन विभागले यस्तो व्यवस्था गरेको हो । विभागबाट प्रदान हुने सेवालाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।  यससँगै अब विदेश भ्रमणको विवरण लिन नेपाली नागरिकले अध्यागमन विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको छ । यसअघि विभिन्न संघ–संस्था तथा व्यक्तिले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण लिन विभागमै भौतिक रूपमा निवेदन दिनुपर्ने अवस्था थियो । त्यसकारण विवरण प्राप्त गर्न समय लाग्ने, विभागको कार्यबोझ बढ्ने तथा सेवाग्राहीले प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ । अब सेवाग्राहीले आफ्नो स्मार्टफोनमा रहेको नागरिक एपमार्फत सहजै भ्रमण विवरण हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । त्यसका लागि नागरिक एपमा रहेको ‘अध्यागमन’ शीर्षकमा प्रवेश गरी ‘भ्रमण विवरण’विकल्पमा जानुपर्नेछ । नागरिक एपमा लिंक गरिएको राहदानीका आधारमा सम्बन्धित व्यक्तिको विदेश भ्रमणसम्बन्धी आगमन तथा प्रस्थान विवरण प्राप्त गर्न सकिने विभागले जनाएको छ । लिंक गरिएको राहदानीको विवरण मात्र उपलब्ध हुने भएकाले व्यक्तिगत विवरणको सुरक्षासमेत कायम रहने विभागले जनाएकाे छ । नयाँ व्यवस्थाबाट सेवाग्राहीको समय र लागत बचत हुनुका साथै अध्यागमन सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विभागले विश्वाससमेत व्यक्त गरेको छ । विभागका अनुसार यात्रा विवरण माग गर्ने व्यक्ति तथा संस्थाले नागरिक एपबाट प्राप्त गरेको विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सकिनेछ ।

रसुवाको अवरुद्ध सडक खुलाउन कृष्णभीरमा १० उपकरण परिचालन

काठमाडौं । रसुवामा बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीरमा सडक निर्माण तथा सुधारको काम तीव्र पारिएको छ ।  सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले आठौं दिन पनि निरन्तर काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ । कृष्णभीरमा ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सडक तयार गर्ने कामका लागि करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेशिन तथा उपकरण परिचालन गरिएको छ ।  उक्त काम दैनिक १४ घण्टासम्म निरन्तर भइरहेको योजनाले जनाएको छ । सवारी आवागमनलाई सहज बनाउन सडकको ग्रेडियन्ट प्राविधिक दृष्टिकोणले सीमित राख्ने गरी काम भइरहेको छ ।  सडकको यो चरणको काम सम्पन्न भएपछि नाली निर्माण, सब–सर्फेस ड्रेनेज तथा स्लोप प्रोटेक्सनको काम अघि बढाइनेछ । राजधानीको आपूर्ति व्यवस्थालाई सन्तुलित र सहज राख्न विशेषगरी ग्यास बुलेट, मालवाहक सवारीसाधन, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई यथासक्य चाँडो आवागमनको व्यवस्था मिलाउने गरी काम भइरहेको योजनाले जनाएको छ । सम्भव भएसम्म भदौ महिनाको अन्त्यसम्म अत्यावश्यक सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था तयार गर्ने लक्ष्यसहित निर्माण कार्यलाई निरन्तरता दिइएको जनाइएको छ ।

१९ लाख ४८ हजारको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालत, काठमाडौंले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । अख्तियारका अनुसार नरहरिनाथ गाउँपालिका–७ स्थित ओगडेनी सिरुपाटादेखि उच्छव आडिखोलासम्म सिंचाइ कुलो निर्माण योजनामा वास्तविकभन्दा बढी काम भएको देखाई नापी किताबमा परिमाण बढाएर रकम भुक्तानी लिने–दिने गरी भ्रष्टाचार भएको थियो । उक्त कसुरमा अख्तियारले दुर्गालाल न्यौपानेसमेतका प्रतिवादीविरुद्ध १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । साथै नापी किताबमा गलत विवरण उल्लेख गरेको कसुरमा समेत भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको मागदाबी गरिएको थियो । तर विशेष अदालतले २०८२ फागुन २५ गतेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।

भोटेकोशी बाढीका साना दाबी एक महिनाभित्र भुक्तानी गर्ने बीमक संघको घोषणा

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बढुवाल क्षेत्रीले भदौ १० गते भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा सानातिना क्षति बेहोरेका पीडितलाई एक महिनाभित्रै बीमा दाबी भुक्तानी गर्ने घोषणा गरेका छन् । इप्पानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले मानवीय क्षति, साना सवारीसाधन, कृषि लगायतका ५ देखि १० लाख रुपैयाँसम्मका साना दाबीलाई तत्काल फर्छ्याैट गर्ने तयारी भइरहेको जानकारी दिए ।  उनका अनुसार विपद्पीडितलाई राहत पुग्ने गरी यस्ता दाबी छिटोभन्दा छिटो भुक्तानी गर्ने योजना बनाइएको छ । तर, जलविद्युत आयोजनामा भएको अर्बौं रुपैयाँको क्षतिले भने नेपालको निर्जीवन बिमा क्षेत्रमै ठूलो चुनौती थपिएको क्षेत्रीले बताए । बेपत्ता व्यक्तिलाई मृत्यु घोषणा गर्न नेपालको कानुनअनुसार १० वर्ष कुर्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।  विपद्को यस्तो विषम परिस्थितिमा उक्त व्यवस्था सहज बनाउनुपर्ने भन्दै उनले संक्षिप्त दाबी फस्र्योट कार्यविधि ल्याउन नेपाल बिमा प्राधिकरण र अर्थ मन्त्रालयमा पहल भइरहेको बताए । ‘यसका लागि संक्षिप्त दाबी फस्र्योट कार्यविधि पास गर्न हामीले बिमा प्राधिकरण र अर्थ मन्त्रालयमा पहल गरिसकेका छौं,’ उनले भने, ‘यो पास हुनेबित्तिकै एक महिनाभित्रै पीडितलाई राहत दिने गरी दाबी भुक्तानी गर्छौं ।’ क्षेत्रीले जलविद्युत आयोजनामा भएको क्षतिले नेपालको निर्जीवन बिमा क्षेत्रको क्षमतामाथि नै ठूलो दबाब सिर्जना गर्न सक्ने बताए । प्रारम्भिक अनुमानअनुसार रसुवागढी, अपर त्रिशूली, लामटाङलगायत ४/५ वटा ठूला आयोजनामा मात्रै १५ देखि २३ अर्ब रुपैयाँसम्मको क्षति भएको उनले जानकारी दिए । यद्यपि, आयोजनामा आंशिक क्षति भएको हो वा हेडवर्क्सदेखि पावरहाउससम्मै पूर्ण क्षति भएको हो भन्ने अझै यकिन भइनसकेको उनले बताए । ‘यदि पूर्ण क्षति भएको हो भने हाल नेपालको निर्जीवन बिमा क्षेत्रले धानिरहेको दाबीको आकारभन्दा यो २ देखि ३ गुणा बढी हुनेछ,’ क्षेत्रीले भने । उनका अनुसार विदेशी लगानी र विदेशी कम्पनीमै बिमा गरिएको अपर त्रिशूलीबाहेक अन्य आयोजनाको दाबी भुक्तानीमा भने समय लाग्न सक्ने अवस्था छ । अध्यक्ष क्षेत्रीले नेपालको जलविद्युत क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिष्ठित पुनर्बीमा कम्पनीहरूले चासो नदेखाउनुका कारणसमेत खुलाए । जलवायु परिवर्तन र हिमताल विस्फोटको बढ्दो जोखिमका कारण विदेशी पुनर्बीमा कम्पनीहरू नेपालमा जोखिम लिन हच्किने गरेको उनले बताए । विदेशी पुनर्बीमा कम्पनीहरूले नेपालमा हिमतालको अवस्था र बाढीको सम्भावित ‘फोर्स’ सम्बन्धी पर्याप्त अध्ययन नभएको प्रश्न उठाउने गरेको क्षेत्रीले बताए । ‘तिमीहरूसँग हिमतालको अवस्था र बाढीको सम्भावित फोर्सको कुनै अध्ययन नै छैन । यस्तो बाढीलाई थेग्न सक्ने संरचना नै नबनाएका कारण हामी नेपालको जोखिम लिन सक्दैनौं,’ विदेशी कम्पनीहरूको भनाइ उद्धृत गर्दै उनले भने । अवस्था यतिसम्म पुगेको उनले बताए कि कतिपय विदेशी पुनर्बीमा कम्पनीले नेपालमा जारी हुने हाइड्रोपावर बिमामा हिमताल विस्फोटबाट आउने बाढीको जोखिमलाई नै कभर नगर्ने सर्त राख्न थालेका छन् । क्षेत्रीले विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न आयोजनाको निर्माण गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । संरचना बलियो र जोखिमअनुकूल निर्माण गर्न सके विदेशी पुनर्बीमा कम्पनीहरू प्रिमियम घटाएरै भए पनि नेपालमा बिमा गर्न तयार हुने उनको भनाइ छ । ठूला दाबीका हकमा प्रभावित आयोजना र सर्भेयरसँग समन्वय गरी जतिसक्दो छिटो र प्रभावकारी रूपमा काम अगाडि बढाउने प्रतिबद्धतासमेत अध्यक्ष क्षेत्रीले व्यक्त गरे ।

ललितपुर महानगरले ब्यूँतायो शारदा पुस्तकालय

ललितपुर । ललितपुर महानगरले वि‍.सं २०४६ सालदेखि बन्द रहेको  ऐतिहासिक शारदा पुस्तकालय  संचालनमा ल्याएको छ । उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बी को चौथो तल्लामा रहेको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि जोशीले शारदा पुस्तकालयलाई जीवन्तता दिएकोमा ललितपुर महानगरलाई धन्यवाद दिए । उनले भने, ‘महानगरका प्रमुख, उपप्रमुख र महानगरको सम्पूर्ण परिवारलाई शारदा पुस्तकालय संचालन गरेकोमा धन्यवाद छ ।’ शारदाको अर्थ आमा भएको बताउँदै उक्त पुस्तकालयको उद्घाटन गर्न पाउँदाको क्षण जीवनको महत्वपूर्ण क्षण भएको बताए । उनले भने, ‘आज मेरो आमाको पुण्यतिथि हो, यो दिनमा पुस्तकालय उद्घाटन गर्न पाउँदा निकै आनन्दको अनुभव गरेको छु । ’ पुस्तकालय यसअघि कालकोठरीमा रहेको बताउँदै महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कुनै शहरको लागि सिटी लाइब्रेरी र सिटी हल अपरिहार्य हुने भएकाले महानगरले यसलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘ सिटी हलको पनि व्यवस्था ग¥यौं , नयाँ भवनमा सिटी लाइब्रेरी संचालनमा ल्याएका छौं ।’ पुन : स्थापित शारदा पुस्तकालय संचालनको सम्बन्धमा महानगर संवेदनशील भएको बताए । पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए । सत्यमोहन जोशीले शारदा पुस्तकालय पुन स्थापित गर्न आफूलाई पटक पटक पे्रेरित गरेको नगरप्रमुख महर्जनले स्मरण गरे । २०४६ सालको जनआन्दोलनको बेलामा बिउ समेत नरहने गरी पुस्तकालय मासिएको बताए । नगर प्रमुख महर्जनले महानगरले कला, साहित्य र संस्कृति संरक्षणका लागि गरेका कामका बारेमा जानकारी गराए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन : स्थापित गरेको बताइन् । पुस्तकालयको पुनःस्थापना सजिलो नभएको बताउँदै सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिइन् । पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारिन् । लेखक तथा प्रकाशक मिर सुब्बा नारायण प्रसाद श्रेष्ठले विश्व प्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट शहर भएको प्रष्ट पारे । शारदा पुस्तकालयको पुनःस्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी,नेपाल राष्ट्रिय पुस्तकालय,मदन पुस्तकालयलाई पुस्तकालय पुनःस्थापना गर्नका लागि गरेको सहयोगप्रति नगरप्रमुखले आभार प्रकट गरे ।

‘बालेनमा देश बनाउने हुटहुटी छ, निजी क्षेत्रप्रति शतप्रतिशत सकारात्मक पाएँ’

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मुलुकका शीर्ष उद्योगी-व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल भएको छ । आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झन्डै दुई घण्टा चलेको थियो । प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी थिए । भेटवार्ताको सहजीकरण भने सांसद एवं व्यवसायी विदुषी राणाले गरेकी थिइन् । छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिएको थियो । तर, स्वास्थ्य समस्याका कारण उनी उपस्थित हुन सकेनन् । उद्योगी पवनकुमार गोल्यानसँग गरिएको कुराकानी: प्रधानमन्त्री बालेन शाहसँग भेट्नुभयो । के-के कुराकानी भए ? प्रधानमन्त्रीसँग मेरो पहिलो भेट हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग राम्रै छलफल भयो । उहाँको मुख्य चासो लगानी बढाउनुपर्यो, त्यसका लागि के गरिदिनुपर्छ, कहाँनेर हामीले सहयोग गर्नुपर्छ भन्नेमा थियो । निजगढ विमानस्थल तपाईंहरू बनाउन सक्नुहुन्छ भन्ने पनि उहाँको प्रश्न थियो । पूर्व-पश्चिम रेलवे पनि बनाउन सकिन्छ । ‘बुट मोडल’मा जानुपर्यो । यी सबै काम तपाईंहरूले गर्नुहोस् भन्ने उहाँको चाहना थियो । पूर्व-पश्चिम रेलवे, उत्तर-दक्षिण रेलवे अनि हाइवेजस्ता ठूला-ठूला पूर्वाधारका परियोजनासँगै अब हामीलाई क्रुड रिफाइनरी पनि चाहियो । यहाँ तेल-ग्यासको समस्या स्थायी रूपमा समाधान गर्नका लागि त्यो पनि चाहियो । प्लास्टिकका सामग्री नेपालमै उत्पादन गर्न ठूलो उद्योग स्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने उहाँको प्रश्न थियो । विनोद चौधरीजीले ‘हामी मिलेर गर्न सक्छौँ, एक्लैले गर्न सकिँदैन’ भन्नुभएपछि उहाँले के गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा चासो राख्नुभयो । पहिला हाम्रो चाहना के हो भने नेपाली उद्यमीहरूलाई नै प्राथमिकता दिन चाहन्छौँ । त्यसपछि एनआरएनए डायस्पोरालाई दिने हो । त्यसपछि बल्ल विदेशीहरूको कुरा हुन्छ । पैसा चाहियो भने तपाईंहरू मिलेर विदेशीहरूलाई पनि ल्याउनुस् भन्नुभयो । ‘तपाईंहरू मिलेर सुझाव दिनुहोस्’ भन्नुभयो । मैले नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गर्नेको संख्या १० प्रतिशत पनि छैन भनेँ । पहिला उहाँहरूलाई छुट्याउनुपर्यो । त्यसपछि उहाँहरूसँग महिनामा वा कम्तीमा तीन महिनामा एकपटक अन्तरक्रिया हुने वातावरण बनाउनुपर्छ । त्यो भयो भने अहिलेका समस्या र अरू विषयमा पनि काम गर्न सकिन्छ । अब टेक्सटाइल भ्यालु चेन हुन्छ । एग्रिकल्चरमा लागेको हुनाले कृषिमा पनि एग्रो भ्यालु चेनहरू सिर्जना गर्नुपर्छ । त्यसका लागि छुट्टै समयको कुरा भएको छ । समग्रमा उहाँसँग राम्रो छलफल भयो । उहाँको जिज्ञासा पनि रहेछ। बीच-बीचमा प्रश्न राख्नुहुन्छ । उहाँले विषयको भित्री पक्षसम्म पुगेर बुझ्न पनि चाहनुहुन्छ । रिजल्ट ल्याऊँ भन्नेमा उहाँमा हुटहुटी रहेको छ । भेट हुनुभन्दा अगाडि र भेटपछि कस्तो परिवर्तन पाउनुभयो? भेट नहुँदाखेरि पनि उहाँ सकारात्मक हुनुहुन्छ, उहाँले केही गर्नुहुन्छ, देश बनाउनेमा उहाँमा हुटहुटी छ भन्ने लागेको थियो । तर, भेटेपछि त उहाँ शार्प र नलेजेबल पनि देखिनुभयो । मैले देखेको फरक यही हो । तुरुन्त गरिहालौँ, एकदमै चाँडोभन्दा चाँडो गरौँ, सबै कुरा चाँडै गरौँ भन्ने कुरा उहाँमा देखियो । निजी क्षेत्रमाथि भएको धरपकडको विषयमा केही छलफल भयो ? यो विषय चन्द्रजीले उठाउनुभएको थियो । तर, प्रधानमन्त्रीले बीचमै भनिहाल्नुभयो- कुनै पनि आर्थिक अपराधमा थुन्नुपर्ने आवश्यकता छैन । यसमा जे-जति भएको छ, त्यसमा पेनाल्टी तिराउने वा कर तिराउने भन्नेमा स्पष्ट छौँ । अब हुँदैन भन्ने रूपमा स्पष्ट सन्देश दिनुभएको छ । अब धरपकड हुँदै हुँदैन भन्ने होइन । आर्थिक गल्तीमा धरपकड नगर्ने सरकारको नीति छ । त्यो चाहिँ हुँदैन भन्नुभएको हो । प्रधानमन्त्रीको निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण कत्तिको सकारात्मक पाउनुभयो ? यसमा शतप्रतिशत सकारात्मक रहेको छ । उहाँले ठूला परियोजना तपाईंहरूले गर्नुहोस्, यदि जोड्नुपर्यो भने एनआरएनएलाई जोड्नुहोस् अनि मात्रै विदेशीलाई जोड्नुहोस् भन्नुभएको छ । यो भनेको उहाँमा शतप्रतिशत कन्फिडेन्स रहेछ भन्ने हो । उहाँ फेरि भनेर नगर्नेमा हुनुहुन्न । यसमा उहाँ सकारात्मक हुनुहुन्छ । निजी क्षेत्र कत्तिको बुझ्नुभएको छ ? बुझ्दै हुनुहुन्छ । धेरै बुझिसक्नुभयो । निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा लगानी नगरेका मान्छेलाई चिन्नुपरेको कारण पनि हो । बुझ्न सजिलो हुन्छ भनेरै भन्नुभएको हो । यो भेटघाटको वातावरण कसरी सुरु भयो ? यसमा विदुषी राणाले मिटिङ अर्गनाइज गर्नुभएको हो । उहाँ पनि सँगै हुनुहुन्थ्यो । प्रधानमन्त्रीको कार्यालयमा बसेर मिटिङ भएको हो । मिटिङमा मीनबहादुर गुरुङ पनि बोलाइनुभएको थियो । तर, उहाँ बिरामी भएकाले आउन सक्नुभएन । उहाँ आउनु भएकाे भए मलाई त झन् सजिलो हुन्थ्यो, किनभने उमेश श्रेष्ठजी हुनुहुन्थ्यो । उहाँ पनि कृषिमा हुनुहुन्छ । मीनबहादुरजी भएको भए भ्यालु चेन यसरी सिर्जना हुन्छ भनेर बुझाउन पनि सजिलो हुन्थ्यो । उहाँ भएको भए झन् रिटेलका कुराहरू उठ्थे । आफ्नो विषयभन्दा अन्यमा बोल्दा उपयुक्त हुँदैन । विगतका प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीलाई भेट्दा केही फरक पाउनुभयो ? सबैभन्दा ठूलो फरक यही पाएँ कि पहिला सुनेर मात्रै बीचमा जवाफ नदिने, पछि पनि केही क्रस-क्वेस्चन नगर्ने हुन्थ्यो । अहिलेको प्रधानमन्त्रीले क्रस-क्वेस्चन गर्नुभयो, त्यसलाई अझ डिटेलमा बुझ्ने प्रयास गर्नुभयो अनि बुझिसकेपछि त्यसमा आफ्नो रियाक्सन पनि तुरुन्तै दिनुभयो ।  तर, उहाँको नेगेटिभ रियाक्सन केहीमा पनि थिएन । तुरुन्तै रियाक्ट गर्ने बानी एकदमै राम्रो देखियो । त्यसले कम्तीमा हामीले बोलिरहेको कुरा ठीक हो कि होइन भन्ने जज गर्न उहाँको क्यापासिटी रहेछ भन्ने कुरा बुझियो । सबैभन्दा ठूलो फरक यही हो । योङ, डाइनामिक मान्छेहरू हुँदा यस्तो फरक त भइहाल्छ नि ।