नबिल बैंकले बन्द गर्यो एकैपटक १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र
काठमाडौं । नबिल बैंकले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ । बैंकले सुर्खेत, बझाङ, अर्घाखाँची, तेह्रथुम, धनकुटा र डोटीमा सञ्चालित १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गरेको जनाएको हो । बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रमा सुर्खेतको बराहताल-२ रानीघाट, बझाङको बित्थडचिर गाउँपालिका-१, २ र ९, अर्घाखाँचीको छत्रदेव-४, तेह्रथुमको फेदाप गाउँपालिका-२ ओयाकजुङ, ४ स्थित साम्दु, ५ स्थित इशिबु, धनकुटाको साँगुरीगढी-२ बुद्धिमोरङ तथा डोटीको सायल गाउँपालिका-२ स्थित छपाली, ६ स्थित डल्लेख र मेल्लेखमा रहेका शाखारहित बैंकिङ सेवा केन्द्र बन्द भएका हुन् । नबिल बैंकले शाखारहित बैंकिङ सेवा बन्द भइसकेकाले सम्बन्धित प्रतिनिधिमार्फत अबउप्रान्त कुनै पनि बैंकिङ कारोबार नगर्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले बैंकिङ सेवा लिन नजिकको शाखा वा डिजिटल बैंकिङ सेवा ‘लद्यबलप’ प्रयोग गर्न अनुरोध गरेको छ । साथै, शाखारहित बैंकिङ सेवा प्रदान गर्ने प्रतिनिधिहरूलाई पनि अबउप्रान्त कुनै पनि बीएलबी कारोबार नगर्न तथा नगराउन बैंकले निर्देशन दिएको छ ।
अर्थमन्त्री वाग्लेले बोलाए तीन दर्जन उद्योगपति
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका अग्रणी उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे विशेष छलफल गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिसँग अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरिएको हो। छलफलमा अर्थमन्त्री डा. वाग्लेसहित अर्थसचिव डा। घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीलगायत अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रम आज अपरान्ह ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
आवासीय भवनमा शिक्षिकाको शव, श्रीमानको म्यासेजपछि खुलासा
काठमाडौं । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् । श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको बताउँछन् । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा थिएनन् । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन नसकेको उनको भनाइ छ । ‘दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४:३० बजे रतन गुप्ता आफैंले मेरो वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफू अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए,’ प्रधानाध्यापक लुइँटेलले भने । स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुइवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा रहेका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अवाले भने, ‘विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ । सम्पर्क विहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको छ ।’
नेप्सेको सीईओका लागि आवेदन आह्वान, तलब–भत्ता सरकारले तोक्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । नेप्सेका तत्कालीन सीईओ चुडामणि चापागाईंले गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको पदका लागि आवेदन आह्वान गरिएको हो । अर्थ मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेको सीईओ बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्ष काम गरेकोसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । मन्त्रालयले व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरहको पद, वा कम्पनी तथा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तह मातहतसम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्तिलाई जनाउने उल्लेख गरेको छ । आवेदक नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ । साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) अनुसार कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । गैरनेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई फुकुवा भएको तीन वर्ष पूरा नभएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गरेका, सार्वजनिक निकायसँग ठेक्का वा पट्टा सम्झौता गरी कार्यरत तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति भने आवेदनका लागि अयोग्य हुने मन्त्रालयले जनाएको छ । आवेदनसँगै स्वघोषणा फाराम, स्वयंले प्रमाणित गरेका शैक्षिक तथा अनुभवका प्रमाणपत्र, दुई प्रति पासपोर्ट आकारका फोटो तथा व्यावसायिक कार्ययोजनाका तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ । दरखास्त दस्तुरबापत ५ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि आवेदनसँगै पेश गर्नुपर्नेछ । मन्त्रालयका अनुसार प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सरकारले तोकेबमोजिम हुनेछ । छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनलाई आवश्यक परे कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्ने मन्त्रालयले जनाएको छ । साथै, झुटा विवरण वा कागजात पेश गर्ने आवेदकको आवेदन रद्द गरिनुका साथै प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
कर्मचारीमाथि सरकारको एक्सन, ९ जनालाई कारबाही
काठमाडौं । सरकारले बिना अनुमति कार्यालयमा अनुपस्थित रहेका ९ जना कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अर्थ मन्त्रालयअन्तर्गतका निकायले सम्बन्धित कर्मचारीसँग सफाइ तथा स्पष्टीकरण मागेका हुन् । पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका ७ जना इन्जिनियरमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले इन्जिनियर पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठसँग ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । मन्त्रालयका अनुसार ती कर्मचारीलाई अध्ययन बिदा तथा असाधारण बिदाको अवधि समाप्त भएपछि पनि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम कार्यालयमा हाजिर नभएको विषयमा यसअघि १५ दिनको समय दिई सफाइ मागिएको थियो । तर, तोकिएको अवधिभित्र केहीले सफाइ नै पेश गरेनन् भने सफाइ पेश गर्नेहरूको जवाफसमेत सन्तोषजनक नभएपछि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) को उपखण्ड (१), निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (ख) तथा निजामती सेवा ऐनको दफा ६७ बमोजिम ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनबमोजिम विभागीय कारबाही गरिने मन्त्रालयले जनाएको छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका जियोलोजिस्ट नारायण अधिकारीमाथि पनि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका अनुसार अधिकारी २०८२ माघ २३ गतेदेखि हालसम्म बिना सूचना लगातार ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका छन् । अनुपस्थित रहनुको कारण खुलाउन निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम १५ दिनभित्र सफाइ पेश गर्न गत जेठ १ गतेको सचिवस्तरीय निर्णयअनुसार यसअघि सूचना जारी गरिएको थियो । साथै, तरपनि उनले हालसम्म कुनै सफाइ पेश नगरेको मन्त्रालयले जनाएको छ । त्यसपछि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) अन्तर्गतको कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी कारबाही किन नगर्ने भन्दै पुनः ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा चित्तबुझ्दो आधार प्रस्तुत गर्न नसके कानुनबमोजिम विभागीय कारबाही गरिने मन्त्रालयले जनाएको छ। यस्तै, अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले यान्त्रिक तालिम केन्द्र, पाटनढोका, ललितपुरमा कार्यरत नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्र अनङ्कित प्रथम श्रेणीका लेखापाल सरस्वती घिमिरे ज्ञवालीसँग पनि १५ दिनभित्र सफाइ र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार घिमिरे २०८१ पुस २ गतेदेखि बिना जानकारी ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेकी छन् । त्यसैले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने भन्ने विषयमा सफाइ माग गरिएको हो । महालेखा नियन्त्रक कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र चित्तबुझ्दो सफाइ र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा चित्तबुझ्दो आधार प्रस्तुत गर्न नसके निजामती सेवा ऐन, २०४९ तथा प्रचलित कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
देशभर मनसुनी गतिविधि सक्रिय, यी प्रदेशमा भारी पानी पर्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार आज दिउँसो हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशको हिमाली र पहाडी भू-भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू-भागका थोरै स्थानमा र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
काँकरभिट्टा नाकाबाट ८६ देशका साढे ९ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थल मार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा ९ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन । नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशत अर्थात् ४ हजार ९९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २ हजार १५२ जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ । सबैभन्दा बढी पुस महिनामा १ हजार ८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए । पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ । अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ ।
६.२३ अर्बमा २८.३० मेगावाटको मध्य चमेलिया बन्दै, ३ वर्षमा निर्माण सम्पन्न गर्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको थियो । आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ । सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रस्ताव भए बमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ । यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो । यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो । आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । यस्तै, २०८२ जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ । प्रस्तावित आयोजना स्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना रहेको छ । यस्तै, तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत आयोजना छ । उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वर्षायाममा ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१०० गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ रहेको छ ।