विकासन्युज

उच्च अदालत जनकपुरको न्यायिक पहुँच अभियान आइतबारदेखि

काठमाडौं । उच्च अदालत, जनकपुरले धनुषाका आठ विभिन्न नगरपालिकामा प्रत्यक्ष रूपमा कानुनी सचेतना पु‍र्‍याउने उद्देश्यसहित न्यायिक पहुँच अभियान सुरु गर्ने भएको छ ।  जेठ १० गते आइतबारदेखि सुरु हुने उक्त कार्यक्रम न्यायपालिकालाई जनताको घरदैलोमै पु‍र्‍याउने प्रयास भएको उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश डा. टेकराज कुँवरले जानकारी दिए । उच्च अदालतका न्यायाधीशहरूको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रममार्फत स्थानीय नागरिक, कानुनप्रेमी, विद्यार्थी तथा समुदायका विभिन्न वर्गलाई न्याय प्रणालीबारे प्रत्यक्ष जानकारी दिइने कुँवरले बताए ।  उनका अनुसार अभियानका क्रममा अदालतका कामकारबाही, नागरिक अधिकार, न्यायमा पहुँच तथा कानुनी प्रक्रियाबारे खुला अन्तरक्रिया गरिने छ । कार्यक्रमअन्तर्गत अदालतका प्रतिनिधिहरू विभिन्न नगरपालिकामा पुगेर कानुनी सचेतना अभिवृद्धि, न्यायिक प्रक्रियाबारे प्रशिक्षण तथा नागरिकका जिज्ञासाको समाधान गर्ने कार्यक्रम रहेको छ ।  यसले सर्वसाधारण र न्यायपालिकाबीचको दूरी घटाउने तथा न्यायप्रति जनविश्वास थप बलियो बनाउने अपेक्षा गरिएको उच्च अदालतले जनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश कुँवरले अभियानले विशेषगरी ग्रामीण तथा कानुनी पहुँच कम भएका समुदायलाई लक्षित गर्ने जानकारी दिए । 

'द हिडन ट्रेजर मिस नेपाल २०२६' को मुख्य प्रायोजकमा कजारिया

काठमाडौं । कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो सहभागिता घोषणा गरेको छ । यस सम्बन्धी औपचारिक पत्रकार सम्मेलन जेठ ७ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो । कम्पनीले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने यस मञ्चसँग आबद्ध हुन पाउँदा गर्व व्यक्त गरेको छ । कजारियाका अनुसार यो सहकार्य केवल प्रायोजनमा सीमित नभई नेपालीहरूको आकांक्षा र सपनासँग जोडिने प्रतिबद्धता पनि हो । मिस नेपाल मञ्चले नयाँ पुस्तालाई प्रेरित गर्दै आत्मविश्वासले भरिपूर्ण व्यक्तित्व विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । यसै सन्दर्भमा कजारियाले टायल तथा डिजाइन सोलुसन्सभन्दा बाहिर गएर आफ्नो ब्रान्ड उपस्थितिलाई अझ मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ । कजारियाले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टताको प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । साथै, रचनात्मकता र रूपान्तरणलाई प्राथमिकता दिने यस्ता मञ्चहरूसँग सहकार्य गर्दै आफ्नो दृष्टिकोणलाई थप सबल बनाउने बताइएको छ । कम्पनीका प्रवक्ताले मिस नेपाल २०२६ सँगको सहकार्यले देशभरका उपभोक्तासँग भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले ब्रान्डको आकर्षण र विश्वसनीयतालाई थप मजबुत बनाउनेछ । यस मुख्य प्रायोजनमार्फत कजारियाले उत्पादनभन्दा माथि उठेर अर्थपूर्ण ब्रान्ड अनुभव सिर्जना गर्ने आफ्नो यात्रालाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले आफूलाई नेपालमा आधुनिक जीवनशैली, आत्मविश्वास र आकांक्षाको प्रतीक ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।   

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य  निर्वाचित भएका छन् । वैद्यले ५६ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याए । त्यसैगरी, कोषाध्यक्षमा मनिसलाल प्रधान निर्वाचित भएका छन् । उनले  ६१ मत ल्याए भने उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे ।

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन आग्रह गरे ।       काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद् ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेकाबाहेक अन्य सम्बन्धित परिषद्मा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि अवैध वा नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने उनले बताए ।      काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर/चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उनले जानकारी दिए । उनले आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिड कार्ड तथा सबै सामाजिक सञ्जालबाट त्यस्ता अवैध वा नियमविपरीत डाक्टर लेख्नेलाई तत्काल हटाउन निर्देशन दिएका हुन् ।       काउन्सिलले काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य जुनसुकै विधा वा परिषद्मा दर्ता भएका वा नभएका व्यक्तिका नामको अगाडि डाक्टर (डा) उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा काउन्सिलको ऐनबमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ ।      काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रुपमा चिकित्सीय अभ्यास गर्ने अनुमति स्वतःप्राप्त नभएको बताएको छ ।    

सेयर बजारमा ४ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २०३ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको २४ करोड, नेसनल हाइड्रोको १६ करोड १६ लाख, एपीआई पावर कम्पनीको १६ करोड र बुंगल हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज केस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १४.८१ प्रतिशतले बढेका छन् ।  शुक्रबारको कारोबारमा १२ समूहका सूचक बढेका छन् भने एउटाको सूचक घटेको छ । बैंकिङ ०.६१ प्रतिशत, डेभलपमेन्ट ०.३९ प्रतिशत, फाइनान्स ०.२८ प्रतिशत, होटल तथा टुरिजम ०.७५ प्रतिशत, हाइड्रोपावर १.२९ र इन्भेष्टमेन्ट ०.४३ प्रतिशतले बढेका छन् ।     

वरिष्ठ उपाध्यक्षको दौडबाट हेमराज ढकाल ‘ब्याक’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (आज) ढकालले उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै अब वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईलाई समर्थन गर्ने घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी फिर्तासँगै अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच मात्र प्रतिस्पर्धा हुने भएको छ ।  यसैबीच कोषाध्यक्ष पदका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यससँगै महासंघको निर्वाचन समीकरणमा नयाँ मोड आएको छ । अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टिमलाई दबाब परेको छ । श्रेष्ठ टिमबाट वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान चुनावी मैदानमा छन् । त्यस्तै, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षको समर्थन वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई र कोषाध्यक्ष उम्मेदवार अम्बिका प्रसाद पौडेललाई रहेको स्रोत बताउँछ । 

तालिम गर्दागर्दै बेहोस भएका सशस्त्र प्रहरीलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम गर्ने क्रममा ८ जना सशस्त्र प्रहरी बेहोस भएका छन् । शुक्रबार कैलालीको टीकापुरस्थित तालिम गर्दा उनीहरू बेहोस भएका हुन् । बेहोस भएका ६ जना जवानलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।  २ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बेहोस भएका ६ जनालाई थप उपचारका लागि आज दिउँसो पौने २ बजे नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको डीएसपी थापाले बताए । नियमित तालिमको अभ्यास गर्ने क्रममा गर्मीका कारण बेहोस भएको हुनसक्ने उनको भनाइ छ । 

पर्वतको कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो ।      \ खगोल विज्ञानसँग सम्बन्धित विज्ञ तथा इन्जिनियरको सहयोगमा आवश्यक अध्ययन, अनुसन्धान गरी अध्ययन केन्द्र स्थापना गर्न उपयुक्त स्थानका रूपमा पहिचान गरेर योजना अघि बढाइएको गाउँपालिकाले कार्यालयले जनाएको छ ।      एउटै स्थानबाट करिब एक दर्जन जिल्ला सदरमुकामको दृश्यावलोकन गर्न सकिने, नजिकबाट तारामण्डल र सौर्यमण्डल, ग्रह, उपग्रह, चन्द्रमालगायत आकाशीय पिण्डबारे अध्ययन, अवलोकन तथा जानकारी प्रदान गर्न सकिने भएकाले यो ठाउँ खगोल अध्ययन केन्द्र स्थापनाका लागि उयुक्त रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पालिकाका जनप्रतिनिधि र विज्ञसहितको टोलीले भारतको नैनीतालस्थित खगोल अध्ययन केन्द्र अवलोकनपछि कालाञ्जरको योजना अघि बढाएको हो ।   केन्द्र स्थापनाका लागि योजना निर्माण गरी सङ्घीय सरकारको राष्ट्रिय योजना आयोग, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा पेस गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा उक्त विषय समावेश भई बजेट विनियोजन भएमा शीघ्र काम अघि बढाइने उनले बताए ।           उक्त केन्द्र सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक एवं बाह्य पर्यटकलाई ब्रह्माण्ड, ग्रह, नक्षत्र, तारापुञ्ज तथा आकाशीय घटनाबारे प्रत्यक्ष अवलोकन र अध्ययन गर्न सहज हुनेछ । कालाञ्जर क्षेत्रको भौगोलिक अवस्थिति, कम प्रकाश प्रदूषण तथा स्वच्छ आकाश खगोल अध्ययनका लागि उपयुक्त मानिएकाले केन्द्र स्थापना गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिए ।       प्रारम्भिक चरणमा आधुनिक दूरबिन (टेलिस्कोप) जडान, खगोल अवलोकन प्लेटफर्म निर्माण तथा विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । साथै विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी खगोल विज्ञानसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र अवलोकन कार्यक्रम सञ्चालन गरिने तयारी छ । स्थानीय टीका पुनले केन्द्र सञ्चालनमा आएपछि कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक तथा प्राकृतिक महत्व बोकेको कालाञ्जर अब विज्ञान पर्यटनको केन्द्रका रूपमा परिचित बन्नसक्ने उनको भनाइ छ ।      सरोकार भएका निकायका अनुसार केन्द्र स्थापनासम्बन्धी आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन तथा साझेदारीका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक चरणमा आधुनिक टेलिस्कोप जडान, सौर्यमण्डलको संरचनासम्बन्धी प्रदर्शनी कक्ष निर्माण तथा विद्यार्थीलाई लक्षित विज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए ।       सुरुआती चरणमा यहाँ पुग्ने अध्ययन, अनुसन्धानकर्ता र विद्यार्थीको आवासका लागि पालिकाले करिब एक करोड रुपैयाँ खर्च गरेर आवास निर्माण गरिसकेको छ भने हेलिप्याड, सडकमार्ग तयार भइसकेको जलजला गाउँपलिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।         यहाँ खगोल अध्ययन केन्द्र स्थापनापछि विद्यार्थीले पुस्तकमा मात्र पढ्ने ग्रह, तारा, चन्द्रमा, सूर्यलगायत विषयकाबारेमा प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले विज्ञानप्रतिको रुचि बढ्ने भएको छ भने खगोल तथा अन्तरिक्ष विज्ञानबारे अनुसन्धान र अध्ययन गर्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ । विद्यालय तथा कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा सहयोग पुग्नुका साथै विज्ञान र प्रविधिप्रति युवापुस्ताको आकर्षण बढेर नयाँ आविष्कार र अनुसन्धानतर्फ प्रेरणा मिल्ने स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिए ।      यसैगरी, कालाञ्जर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै होटल, यातायात, स्थानीय व्यापार तथा रोजगारीका अवसर वृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ । धार्मिक र प्राकृतिक पर्यटनसँगै ‘विज्ञान पर्यटन’ का रूपमा नयाँ पहिचान स्थापित हुनसक्ने भएकाले गाउँपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष आचार्यले जानकारी दिए ।       कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा करोडौँ लगानी गरिसकेका छन् । जलजलामा रहेको समथर भू(भागमा कृत्रिम ताल निर्माणको योजना अघि बढाइएको छ । रासस