यी हुन् गौतमश्री सहकारीको कर्जा नतिर्ने १३७ भीआईपी ऋणी (नामसहित)
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका १३७ जना ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिले गत वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको हो । यसअघि नेपाल सरकारले २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । समितिका अनुसार संस्थाबाट लिएको कर्जा हालसम्म नतिर्ने ऋणीहरूको उपलब्ध विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । सार्वजनिक सूचीमा विभिन्न व्यवसायी, सहकारीसँग आबद्ध व्यक्ति तथा प्रभावशाली व्यक्तिहरू समेत समावेश रहेको जनाइएको छ । समितिले ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै, हालसम्म कर्जा भुक्तानी नगरेका ऋणीहरूलाई तत्काल सम्पर्कमा आई ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । समितिले तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली तथा अन्य कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो । गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले यस वर्ष सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उल्लेख गरे । बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन् । गत आवको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आवमा यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए । यस वर्ष नेपालमा भएको जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्यपूर्वका देशमा भएको द्वन्द्वका कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए । नेपालीहरू पछिल्लो समय घुम्न थालेकाले आन्तरिक पर्यटकको आगमन बढेको सूचना अधिकारी थापामगरको भनाइ छ । उनले भने, 'सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेका हुनसक्छन् ।' गत वर्ष फागुन, चैत, वैशाखमा आन्तरिक पर्यटक ३४ हजार २०२ आएकामा यस वर्ष सो समयमा ४७ हजार ६६१ पुगेका उहाँले जानकारी दिए । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा अवलोकन भ्रमण गर्न विशेषगरी पर्यटक आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, पैदल सफारी, डुङ्गा सयर गर्न पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडियाल गोहीलगायत वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सरिश्रीप हेर्न पर्यटक आउने उनले बताए । यस वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट रु २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व संकलन भएको सूचना अधिकारी थापामगरले जानकारी दिए । उनका अनुसार काठदाउरा बिक्रीबापत ७१ हजार ३५० रुपैयाँ, गैरकाठ वन पैदावर बिक्रीबापत एक करोड ९५ लाख ३१ हजार ७५५ रुपैयाँ, दण्डसजायबाट १० लाख ७१ हजार ९०४ रुपैयाँ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ रकम राजस्व संकलन भएको छ । रासस
नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन पुनः नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीर कृष्ण महर्जन दोहोरिएका छन् । जेठ ८ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले महर्जनलाई ४ वर्षका लागि सीईओमा दोहोर्याउने निर्णय गरेको हो । जेठ १८ गतेदेखि लागु हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिइन् । ४ वर्ष अघि सीईओ बनेका मर्जनको कार्यकाल जेठ १७ गते सकिँदै छ । बैकिङ क्षेत्रमा विगत ३० वर्षदेखि सक्रिय महर्जन अनुभवी व्यक्तित्व हुन् । उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानुनको स्नातक हुन् । उनले मुम्बईको इन्सोरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए ।
बुढानिलकण्ठबाट चोरीको स्कुटरसहित राई पक्राउ
काठमाडौं । बुढानिलकण्ठबाट चोरीको स्कुटरसहित एक जना पक्राउ परेका छन् । बुधबार २७ वर्षीय सुजन राईलाई बुढानिलकण्ठ १० को भङ्गालबाट प्रहरीले पक्राउ गरेको हो । बा.प्र ०२ ०४२ प ८८१६ नम्बरको स्कुटर २०८२ पुस ८ गते पञ्चकन्या चोकबाट आफ्नै घरबाट हराएको भनेर बुढानिलकण्ठ प्रहरी प्रभागमा निवेदन परेको थियो । खोजतलासको क्रममा बुढानिलकण्ठ ८ को थापागाउँबाट चोरीको स्कुटरसहित राईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ ।
मनसुनको जोखिम घटाउन ट्राफिक प्रहरीको अभियान सुरु
काठमाडौं । सडक र सवारी लक्षित ‘मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३’ शुक्रबारबाट औपचारिक रूपमा सुरु गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरिएको हो । अभियानअन्तर्गत नयाँ बसपार्कसहित कलंकी, नागढुङ्गा, फर्पिङ र भक्तपुर लगायतका स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी सेवा सुरु गरिएको छ । मनसुनको समयमा हुने सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन तथा दृश्यता कम हुने समस्याका कारण मानव जीवन र यातायात व्यवस्थापनमा चुनौती बढ्दै आएको सन्दर्भमा यस्ता जोखिम न्यूनीकरण गर्दै सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का टेक्निकल एडभाइजर सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गरेका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्दै अभियानको औचित्यबारे प्रकाश पारेका थिए । सोही अवसरमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच ‘लज ट्यागिङ प्रणाली’ लागू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी लगायत नगर प्रहरी, विभिन्न यातायात मजदुर संघ, व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पूर्ण बन्यो महासंघ, अञ्जनलाई सफलता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन भएर पनि नतिजा आएसँगै नयाँ कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार भएको निर्वाचनमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भने कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भए । वैद्यले ५६ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याए । त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । उनले ६१ मत ल्याए भने उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे । योसँगै महासंघको कार्यसमितिले पूर्णता पाएको हो । महासंघमा ८ जना पदाधिकारी हुने व्यवस्था छ । जसमा अध्यक्ष अञ्जन श्रेष्ठसँगै निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ तथा कृष्णप्रसाद शर्मा र कोषाध्यक्ष मनिषलाल प्रधान बनेका हुन् । गत बैशाख २२ गते महासंघको नयाँ कार्यसमितिको निर्वाचन भएको थियो । सो निर्वाचनमार्फत अञ्जन वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए । अध्यक्ष श्रेष्ठले चाहेजस्तै टिम बनेको छ । यसमा अञ्जनलाई सफलता मिलेको हो । एसोसिएट उपाध्यक्षमा पाण्डेले १ हजार ७९ मत ल्याउँदै विजयी भएका थिए । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याएकी थिइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रुपमा पनि कार्यरत छन् । प्रवलजंग पाण्डे । एसोसिएट तर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशील थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका थिए । त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका थिए । यस्तै, महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका थिए । घिमिरेले ६० मत प्राप्त गरेका थिए । नरेशलाल श्रेष्ठ । वस्तुगततर्फको सदस्यमा अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका थिए । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका थिए । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी थिइन् । त्यस्तै, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गर्दै कार्यकाल बाँडेका थिए । यस्तै, महासंघको जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका थिए । शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै विजयी भएका थिए । जिल्ला-नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे पनि उम्मेदवार थिए । डालमियाले ५० र गैरेले ३० मत मात्रै ल्याएका थिए । कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ । जिल्ला-नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका थिए ।
२७ कम्पनीले तिरेनन् सरकारलाई कर
काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले लामो समयदेखि कर बक्यौता नतिर्ने २७ वटा फर्म तथा कम्पनीलाई बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ । कार्यालयले फोन सम्पर्क, एसएमएस तथा पत्राचारमार्फत पटक-पटक जानकारी गराउँदा पनि हालसम्म कर दाखिला नगरेको तथा केही करदाता सम्पर्कमा नआएकाले १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको हो । कार्यालयका अनुसार १५ दिनभित्र बक्यौता रकम दाखिला नगरे मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) तथा आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ । कार्यालयले बक्यौता फर्छ्याैट नगर्ने करदाताको चलअचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको रकम रोक्का गर्ने, खाताबाट रकम कट्टा गर्ने तथा कारोबारसमेत रोक्का गर्न सकिने चेतावनी दिएको छ । संयुक्त उपक्रम (जेभी) का हकमा सम्बन्धित फर्मका सञ्चालक, साझेदार वा प्रोप्राइटरलाई व्यक्तिगत रूपमा जिम्मेवार बनाइने र उनीहरूको व्यक्तिगत सम्पत्तिबाट समेत कर असुल गरिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बैजनाथ मोटर्स, शिवशक्ति-सुपिरियर-मालिका जेभी, गणपति कन्स्ट्रक्सन, ममताज बैंकिङ बेल्स, गोपाञ्जल ट्रेडर्स, इन्द्रधनु-हटैराज जेभी, महाकाली मिडिया, लक्की ट्रेडर्स, न्यु भुवनेश्वरी इँटा टायल उद्योग, भवानी इँटा उद्योग, पुष्पाञ्जली-आरबी जेभी, सेती महाकाली कपी उद्योग, जय बजरंगबली निर्माण सेवाले आय कर तथा मूल्य अभिवृद्धि कर तिरेका छैनन् । यस्तै, गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेसन, लुम्बिनी-राजेन्द्र-डाँफे जेभी, चन्द काष्ठ फर्निचर सप्लायर्स, मालिका-एचटिसी जेभी, जी फाइभ ट्रेडिङ/नवदुर्गा पशुपंक्षी फर्म, एसके निर्माण सेवा प्रालि, केएस-मित्र जेभी, सिद्धनाथ कन्स्ट्रक्सन, कान्छाराम-राजेन्द्र जेभी, लुम्बिनी-राजेन्द्र-समानान्तर जेभी, महाकाली कन्स्ट्रक्सन कम्पनी/महाकाली कन्सर्न, एवन सिमेन्ट इँटा तथा सेनेटरी उद्योग, जयलक्ष्मी कन्स्ट्रक्सन र न्यू गंगा ट्रेडर्सले आय कर तथा मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त फर्म तथा कम्पनीहरू कञ्चनपुर, कैलाली र बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका छन् । तीमध्ये केहीमाथि मूल्य अभिवृद्धि कर (भ्याट) बक्यौता रहेको छ भने केहीमाथि आयकर बक्यौता रहेको कार्यालयले जनाएको छ ।
कृषि विकास बैंकद्वारा मण्डन देउपुरमा २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण
काठमाडौं । कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यहरू सञ्चालन गरेको छ । सोही क्रममा जेठ ७ गते बिहीबार मण्डन देउपुर नगरपालिका–८ स्थित डेडी थुम्का माध्यमिक विद्यालयका २३२ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । उक्त विद्यालयमा स्थानीय दनुवार समुदायसहित गरिब तथा सिमान्तकृत वर्गका बालबालिका अध्ययनरत छन् । स्रोत अभावका बीच अध्ययन गरिरहेका विद्यार्थीलाई प्रदान गरिएको यस सहयोगले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालयले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगरपालिकाको मुख्य आयस्रोत कृषि रहेको उल्लेख गर्दै कृषि विकास बैंकसँगको सहकार्यले स्थानीय विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, कृषक तथा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न बैंकलाई आग्रह गरे । कार्यक्रममा बैंकका सञ्चालक विनोद कुमार गुरागाईंले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विद्यालयसँग दीर्घकालीन सहकार्यमार्फत गरिब विद्यार्थीको क्षमता अभिवृद्धिमा काम गर्न इच्छुक रहेको उल्लेख गरे । बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले विद्यार्थीहरूको उत्साह र आवश्यकतालाई ध्यानमा राख्दै सही स्थान छनोट गरिएकोमा खुशी व्यक्त गरे । सहयोग कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति उनले धन्यवाद पनि व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले विभिन्न स्रोत जुटाएर विद्यालय विकासमा काम गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा नगरपालिकाका उपमेयर विष्णु मणि नेपाल, कृषि विकास बैंकका मार्केटिङ तथा सेल्स विभाग प्रमुख वीणा शर्मा, बागमती प्रदेश कार्यालयका निर्देशक चन्द्र सिंह थापा, पाँचखाल शाखा प्रमुख विनोद कोइराला लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।