सुरु नभई सर्यो प्रतिनिधिसभा बैठक
काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । बुधबार (आज) बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सुरु नभईकनै सरेको हो । संसद सचिवालयका अनुसार बैठक २ बजेसम्मका लागि सारिएको हो । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीच उच्चस्तरीय संवाद जारी छ । गतिरोध समाधानका लागि सत्तारूढ पक्षका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सांसद खुश्बु ओली सहभागी रहेका छन् । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विवाद चर्किएको हो । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
सम्पत्ति विवरण बुझाउन असार मसान्तसम्म म्याद थप
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका प्रवक्ता गणेश केसीले सम्पत्तिको विवरण बुझाउनेहरू विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको जानकारी दिए । ‘सम्पत्ति विवरण बुझाउन समय थप्न माग गरेकाले समय थपिएको हो,’ उनले विकासन्युजसँग भने । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो । आयोगका अनुसार हालसम्म करिब ३ हजार ५०० जनाले सम्पत्ति विवरण बुझाएका छन् । केसीका अनुसार आजै सम्पत्ति विवरण बुझाउनेहरूको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको हो ।
संसदको गतिरोध अन्त्यका लागि सत्ता र विपक्षी दलबीच उच्चस्तरीय छलफल सुरु
काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीच उच्चस्तरीय संवाद सुरु भएको छ । गतिरोध समाधानका लागि सत्तारूढ पक्षका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओली सहभागी रहेका छन् । बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित गरी नेताहरू छलफलमा जुटेका हुन् । संसदमा देखिएको अवरोध समाधान गर्ने प्रयासस्वरूप यो संवादलाई महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विवाद चर्किएको हो । उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
सिद्धबाबा गार्मेन्टमा आगलागी हुँदा ८ करोड रुपैयाँ बराबरको क्षति
काठमाडौं । सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज ९गार्मेन्ट० मा आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार बिहान २ बजेर ५२ मिनेटमा विद्युत सर्ट भई आगलागी भएको हो । ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ५स् ४५ बजे पूर्ण रूपमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ । अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ । लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।
विश्वकपअघि भिसा विवाद
काठमाडौं । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ । विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए । उनले कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताए । गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ । उनले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताए । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे । यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिनुभएको अधिकारीको भनाइ थियो । सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो । सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ । इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ । गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उनले बताए । उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गरे । उनका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहन्छन् । साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उनको भनाइ थियो । विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए । रासस
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी
बलेवा । बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ । सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ । उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन् । बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ । बाँदरको आतंकले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आएका छन् । उनी हरेक बिहान ५ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्छन् । 'बाँदर आयो भने मलाइँ टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन', लक्ष्मीदत्तले भने, 'बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।' सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् । जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताउँछन् । रासस
ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी बने निफ्राको अध्यक्ष, बाहिरिए अनुज अग्रवाल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले रेग्मीलाई अध्यक्ष चयन गरेको हो । रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै निफ्राको सञ्चालकका रूपमा कार्यरत थिए । यसअघि अध्यक्ष रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएपछि रेग्मीले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । अग्रवाल विशाल ग्रुपको प्रतिनिधित्व गर्दै संस्थापक समूहका तर्फबाट निफ्राको सञ्चालक बनेका थिए । तर, विशाल ग्रुपले उनको स्थानमा दीपक कुमार अग्रवाललाई सञ्चालकका रूपमा मनोनयन गरेपछि अनुज अग्रवालले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
मौलिक उत्पादनलाई विश्व बजारमा पुर्याउन उन्नति र मेरियट बिजनेस काउन्सिलबीच साझेदारी
काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित हस्तकला (ह्याण्डीक्राफ्ट) लाई अन्तर्राष्ट्रिय आतिथ्य (हस्पिटालिटी) बजारसँग जोड्ने उद्देश्यका साथ उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको एक विशेष पहल हो, जसले नेपाली परम्परागत सीप र हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने कार्य गर्दै आएको छ । राजधानीमा आयोजित एक विशेष समारोहका बीच चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो । यस सहकार्यको मुख्य उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु हो । सम्झौताअनुसार मेरियट र यससँग आबद्ध होटलहरूमा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाहरूको खोजी गरिनेछ । यस पहलले नेपाली मौलिक हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्न मद्दत गर्नुका साथै स्थानीय समुदायका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । सहकार्य अन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्राण्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास तथा छनोट गर्नेछ । यसका साथै योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान तथा परिचालन गर्ने, उत्पादनको गुणस्तर र मौलिकता सुनिश्चित गर्ने, ब्राण्डिङ गर्ने, प्रवद्र्धनका लागि स्टोरीटेलिङ (कथा प्रस्तुतीकरण) गर्ने तथा यसबाट परेको सकारात्मक प्रभावको मूल्याङ्कन गर्ने कार्य पनि उन्नतिले नै गर्नेछ । अर्कोतर्फ मेरियटले आफ्ना होटलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ । छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शन तथा प्रवद्र्धन गर्ने सम्भावनाको खोजी गर्नुका साथै होटल सञ्चालकहरूसँग ती सामग्रीहरूलाई होटल सञ्चालन सामग्री तथा उपकरणमा समावेश गर्ने विषयमा छलफल र सहजीकरण गर्ने भूमिका मेरियटले खेल्नेछ । हस्ताक्षर समारोहमा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै त्यसले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्नेमा जोड दिए । यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै समावेशी आर्थिक वृद्धिलाई टेवा पु‍र्याउने लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई विश्वव्यापी उपभोक्तासम्म पुग्ने अवसर सिर्जना गरेर यस पहलले नेपालको हस्तकला क्षेत्रलाई थप सुदृढ बनाउनुका साथै देशभर दिगो उद्यम विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने तथा नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता समेत पुनः व्यक्त गरेका छन् ।