विकासन्युज

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

रमेश गिरी भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ । भारतलगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो ।   विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालका बिरामीको शल्यक्रियामार्फत उपचार गर्ने प्रविधि रोबोटिक सर्जरी हो । निजी क्षेत्रका अस्पतालले त्यस खाले उपचार सेवा यसअघि नै सुरु गरिए तापनि भक्तपुर अस्पतालले सञ्चालन गर्न लागेको रोबोटिक सर्जरी अत्याधुनिक रहेको जनाइएको छ ।   बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताए । उनले भने, 'अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को बागमती प्रदेश सरकारले गरेको छ, त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यसबाट बिरामीलाई सहज र सुलभ रुपमा उपचार सेवा दिन सक्छौँ ।'       बागमती प्रदेश सरकारको मुख्यमन्त्री इन्द्र बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रविधि भित्र्याएर सर्वसुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ बागमती प्रदेश सरकारले रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो ।   स्वास्थ्य थापाले विशेषज्ञ चिकित्सकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोट प्रविधिमार्फत शल्यक्रिया गर्ने भएकाले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको बताए । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा. रन्जिसकुमार पहाडी क्षेत्रीले जानकारी दिए ।      नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । पछिल्ला वर्षहरुमा सरकारी अस्पतालमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्दै आएको अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको छ ।  उनले भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासँगै यसको तालिम केन्द्रका रुपमा विकास गरिने बताए । भक्तपुर अस्तालले त्यो सेवा सुरु गर्न आवश्यक जनशक्तिका समेत सञ्चालन गर्ने जनाएको छ । डा पहारीले रोबोटिक शल्यक्रियाको सुरुआतले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ केन्द्रको रुपमा रहन पुगेको दाबी गरे ।   सरकारी अस्पतालमा भित्रिएको यस प्रविधिबाट गरिब तथा विपन्न वर्गका बिरामीले समेत संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सुलभ उपचार पाउने अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले बताए ।  रोबोटिक शल्यक्रिया के हो ?       रोबोटिक शल्यक्रिया मेसिन वा रोबोट आफैँले शल्यक्रिया गर्ने नभई रोबोटलाई सर्जन चिकित्सकले नियन्त्रणमा राखेर गरिने शल्यक्रिया भएका डा. पहारी बताउँछन् । उनका अनुसार, चिकित्सकले उपकरण चलाउँदा रोबोटका हात बिरामीको पेटभित्र निकै मसिनो र सटिक तरिकाले चल्ने भएकाले त्यसका माध्यमबाट शल्यक्रिया गरिन्छ । भक्तपुर अस्पतालमा त्यस प्रविधिको प्रयोग गरी विशेषगरी पेटको मांसपेशी नै सिलाउन र मिलाउनुपर्ने जटिल खालका हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मिर्गौला र प्रोस्टेटसम्बन्धी जटिल समस्या तथा कार्डियाक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रिया सञ्चालन गर्ने लक्ष्यछ ।  कम दुखाइ र न्यून खर्चमा हुने यो प्रविधिले पेटमा ठूलो प्वाल नभई स–साना प्वाल पारेर शल्यक्रिया गरिनेछ । घाउ सानो हुने भएकाले तुलनात्मकरुपमा बिरामीलाई दुखाइ कम हुने, शल्यक्रियापछि थोरै समयमै हिँडडुल गर्न र घर फर्कन सहज हुनेछ । प्रविधिको प्रयोबाट हुने उपचार बिरामीको खर्च र अस्पतालको बसाई निकै कम हुने विश्वास गरिएको छ ।  नयाँ प्रविधिलाई अझ व्यवस्थित र सुरक्षित बनाउन रोबोटिक रजिस्ट्री  विवरणलाई व्यवस्थित तुल्याइने अस्पतालले जनाएको छ । प्रविधिलाई नेपाली बिरामीमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी अस्पतालका सर्जनले नियमित रूपमा अनुसन्धान गर्ने छन् । त्यससँगै अस्पताललाई तालिमसहित रोबोटिक शल्यक्रिया सिकाउने नेपालकै उत्कृष्ट सेन्टर अफ एक्सीलेन्स बनाउने तयारी गरिएको छ । रासस  

बिपी अस्पताल सुधार गर्ने

नारायणगढ । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।      मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए ।      कर्मचारी र सेवाग्राहीबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राहीबीच सहमति भएको छ ।  अस्पतालका निमित्त कार्यकारी निर्देशक उमेश नेपालले सेवाग्राहीबाट उठाइएका विषयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सुधारात्मक कार्यान्वयन गरिने बचन व्यक्त गरेका थिए ।       सेवाग्राहीले बिमाका बिरामीको थप चाप बढेको उल्लेख गर्दै  स्वास्थ्य बिमा तथा विपन्न नागरिक लक्षित सेवामा देखिएका समस्याको समाधानका लागि आवाज उठाएका थिए ।       हाल दैनिक रूपमा करिब एक हजार २०० जना बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिने गरेका छन् । तीमध्ये अधिकांश फलोअपका बिरामी रहने तथा दैनिक २५ देखि ३० जना नयाँ क्यान्सरका बिरामी पहिचान हुने गरेको निर्देशक नेपालले बताए ।     

वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न २ लाख रुपैयाँ, अन्य पदमा कति ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४ औं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ । संस्थाको मौजुदा विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको इप्पानले जनाएको छ । संस्थाको विधानको धारा १५ (१२) बमोजिम जेठ २५ गते अर्थात् सोमबार बसेको कार्यसमितिको बैठकले निर्वाचन प्रयोजनका लागि उम्मेदवारी मनोनयन शुल्कसमेत निर्धारण गरेको थियो । सोही बमोजिम १ जना वरिष्ठ उपाध्यक्षका लागि २ लाख रुपैयाँ तथा ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप-महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका लागि जनही १ लाख ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।  त्यसैगरी, खुलातर्फका ७ जना सदस्य र महिलातर्फका ३ जना सदस्य पदका लागि उम्मेदवारी दिन चाहनेले जनही १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने इप्पानले जनाएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मनोनयन फारम दस्तुर छुट्टै १०० रुपैयाँ लाग्ने जानकारी दिएको छ । इप्पानको २४ औं वार्षिक साधारण सभा भोलि (शुक्रबार) हुँदैछ ।

‘मारिया अस्पताल’ विना अनुमति सञ्चालन

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ ।      मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा  सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।   उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका  सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा पत्राचार गरिएको बताए ।       काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता  तत्कालका लागि निलम्बन गरेको छ ।      संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा. पाण्डेले जानकारी दिए ।     

विद्युतीय गाडी आयातमा अनियमितता भएको भन्दै संसदीय छानबिनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विद्युतीय सवारीसाधन (ईभी) आयातका क्रममा भन्सारमा अनियमितता भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् । सांसद शाहीले मंगलबारको संसदीय बैठकमा बोल्दै ईभी आयात प्रक्रियामा पारदर्शिता अभाव देखिएको र राज्यलाई ठूलो राजस्व घाटा हुन सक्ने आशंका व्यक्त गरे ।  उनले भन्सार मूल्यांकनदेखि लिएर कर निर्धारणसम्मका प्रक्रियामा गम्भीर त्रुटि भएको दाबी गर्दै तत्काल उच्चस्तरीय छानबिन आवश्यक रहेको बताए । उनले यस्ता विषयमा निष्पक्ष छानबिन नगरे सार्वजनिक विश्वास कमजोर हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन् ।

सुभास श्रेष्ठले तिरेनन् हिमालयन बैंकको ऋण, बिक्रीमा राख्यो ३ कम्पनीको सेयर

काठमाडौं । हिमालयन बैंकले धितोमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको पाटन शाखाले ऋणी सुभास श्रेष्ठको नाममा रहेको सेयर कर्जा अन्तर्गत धितो राखिएका विभिन्न कम्पनीका संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो । बैंकका अनुसार ऋणी श्रेष्ठले सेयर कर्जा लिँदा प्राइम बैंकको ४६ हजार ८९४ कित्ता, युनाइटेड अजोड इन्सुरेन्सको ३८ हजार २७२ कित्ता र महालक्ष्मी विकास बैंकको ७३ हजार ८५३ कित्ता सेयर धितोमा राखेका थिए । कर्जाको साँवा, ब्याज तथा हर्जाना समयमै भुक्तानी नभएपछि बैंकले लिलाम प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।  बैंकका अनुसार ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिए पनि कुनै पहल नभएपछि धितोमा रहेको सेयर बिक्री प्रक्रिया अगाडि बढाइएको हो । बैंकले यसअघि ३५ दिनको समय दिएको भएपनि हालसम्म रकम भुक्तानी नभएपछि पुनः १५ दिनको समय दिएको हो ।  हाल बैंकको धितो सुरक्षणमा रहेको सेयर जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बिक्री गरिनेछ । इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाले पाटन शाखाबाट निर्धारित शुल्क तिरी बोलपत्र फारम खरिद गरी आवेदन दिन सक्नेछन् । 

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो ।      यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।      

‘दुई अर्ब होइन, दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनूस्, राजनीति छाडिदिन्छु’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।   बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।   नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ । अर्थमन्त्रीले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनूस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’