विकासन्युज

चीन र भारत जोड्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नति, एक घण्टाको यात्रा २० मिनेटमा छोटियो

काठमाडौं । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो । पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्र गर्न २०७७ साल चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १३ किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए । ‘ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ । वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक-एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ,’ उनले भने । वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताए । विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो । सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए । यसअघि गत वर्ष मालढुङ्गा-फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो । गत मङ्सिर पहिलो सातादेखि सुरु भएको लस्ती-बेनी खण्डको ६ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए ।  यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा-बेनी सडक बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो । यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा-बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । ‘पछिल्लो ५ वर्षयता पोखरा-बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउँरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ । घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ,’ उनले भने । जलजला गाउँपालिका-७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

मुस्ताङमा ७ महिनामा ३ लाख २५ हजार बढी पर्यटक भित्रिए

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ३ लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा  ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । गत वर्षको साउनदेखि माघसम्म ३ लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडक मार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख सङ्कलन गर्ने गरेको छ । पोखरा-जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख सङ्कलन गर्ने गरेका छन् । मुस्ताङमा आव २०८०/८१ मा ४ लाख ५४ हजार ३२६ जना र आव २०८१/८२ मा ७ लाख ५ हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको हो । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी-जोमसोम सडक मार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन् । मुस्ताङको कागबेनी धाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम-कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्ने गरेका पाइएको छ ।

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउँदा ५० हजार जित्ने मौका

काठमाडौं । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ । राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि यस खालको प्रतियोगिता अगाडि बढाउन लागेको हो । निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेट बराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ । आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ । आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ । टिकटक भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक, अडियो र अभिनय भएको भिडियोलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ । निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता, महत्व र मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्यका बारेमा जानकारी दिइएको हुनुपर्नेछ । यस्तै, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीजस्ता छुट्टा छुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउनुपर्नेछ । कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन् । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सक्ने आयोगले जनाएको छ । त्यसरी प्राप्त भएका भिडियोमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न सक्नेछ । तोकिएको सर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिनेछ । उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुने सूचनामा उल्लेख छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानी पूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

प्रतीज्ञापत्रमा कांग्रेसले के-के समेट्यो पूर्वाधार क्षेत्रका विषयहरू ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको मेरुदण्ड बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गर्दै सडक, यातायात, आवास, सहर विकास, ऊर्जा, खानेपानी, सरसफाइ र वातावरणीय सन्तुलनलाई एकीकृत रूपमा अघि बढाउने घोषणा गरेको छ। ‘सुरक्षित भविष्य, विकसित नेपाल’ नारासहित बिहीबार सार्वजनिक भएको प्रतीज्ञापत्रमा कांग्रेसले आगामी चरणको विकास हरित, दिगो र प्रविधिमैत्री हुने स्पष्ट पारेको छ । डिजिटल कनेक्टिभिटी विस्तार, हरित पूर्वाधार, जलवायु–मैत्री डिजाइन र नवीन वित्तीय उपकरणमार्फत गुणस्तरीय तथा समयमै सम्पन्न हुने आयोजना कार्यान्वयनमा जोड दिइने बताइएको छ । कांग्रेसले पहुँचको भरमा बजेटमा आयोजना राख्ने प्रवृत्ति अन्त्य गर्दै राष्ट्रिय प्राथमिकता र आवश्यकताका आधारमा मात्रै आयोजना छनोट गरिने जनाएको छ । राष्ट्रिय आयोजना बैंक प्रणालीलाई सुदृढ गर्दै प्रदेश र स्थानीय तहका योजनासमेत समावेश गरिने तथा दोहोरोपन हटाइने बताएको छ । सडक निर्माण गर्दा खानेपानी, ढल, विद्युत, दूरसञ्चार र इन्टरनेटका लागि ‘युटिलिटी करिडोर’ अनिवार्य गर्ने कानुनी व्यवस्था गरिने उल्लेख छ । ठूला परियोजनामा तेस्रो पक्ष समीक्षा, गुणस्तर परीक्षण प्रयोगशाला विस्तार र तीन शिफ्टमा काम गर्ने कार्यसंस्कृति लागू गरिने कांग्रेसको प्रतिबद्धता छ । सार्वजनिक खरिद ऐन संशोधन गरी न्यूनतम कबोल अंकको अभ्यास अन्त्य गर्दै प्राविधिक क्षमता, अनुभव र वित्तीय विश्वसनीयतामा आधारित मूल्यांकन प्रणाली लागू गरिने जनाएको छ । ठेक्का प्रक्रिया पूर्ण डिजिटल बनाइ पारदर्शिता र जवाफदेहिता सुदृढ गरिनेछ । पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार, उत्तर-दक्षिण करिडोर सम्पन्न, सुरुङमार्गलाई प्राथमिकता र ग्रामीण सडक बाह्रै मास सञ्चालनयोग्य बनाउने योजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन, स्मार्ट ट्रान्जिट प्रणाली एक वर्षभित्र लागू र शक्तिशाली यातायात प्राधिकरण स्थापना गर्ने घोषणा गरिएको छ । त्यस्तै,  काठमाडौं जोड्ने अन्तरदेशीय रेलमार्ग र पूर्व–पश्चिम रेलमार्ग सम्भाव्यता अध्ययनका आधारमा अघि बढाइनेछ । पाँच वर्षभित्र घरविहीन अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित विपन्न र दलित समुदायलाई सुरक्षित आवास उपलब्ध गराइने योजना छ । ‘बस्नयोग्य सहर’ अवधारणाअनुसार हरियाली, सार्वजनिक यातायात, किफायती आवास र सामाजिक समावेशीतामा आधारित सहरी विकास गरिने बताइएको छ । नारायणी नदी आसपास ‘ग्रेटर चितवन’ नमुना सहर विकास गर्ने योजना पनि समावेश छ । स्वच्छ हावालाई मौलिक अधिकारका रूपमा स्वीकार गर्दै राष्ट्रिय वायु गुणस्तर नीति लागू गरिनेछ। उद्योगमा कडा उत्सर्जन मापदण्ड, रियल–टाइम निगरानी र कार्बन क्याप्चर प्रविधि अनिवार्य गरिने जनाइएको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई स्रोतमै वर्गीकरण, पुनःप्रयोग र ऊर्जा उत्पादनसँग जोड्दै ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरिनेछ । कोशीदेखि सुदूरपश्चिमसम्मका प्रदेश गौरवका आयोजनालाई संघीय प्राथमिकतामा राखी स्रोत, प्राविधिक क्षमता र जनशक्ति सुनिश्चित गर्ने कांग्रेसको प्रतिज्ञापत्र छ । अन्तरप्रदेशीय सडक सञ्जाल विस्तारमार्फत क्षेत्रीय सन्तुलन र आर्थिक एकीकरण सुदृढ गर्ने लक्ष्य राखिएको छ । कांग्रेसले पूर्वाधार विकासलाई केवल निर्माणमा सीमित नराखी आर्थिक वृद्धिदर बढाउने, रोजगारी सिर्जना गर्ने र दिगो विकास लक्ष्य हासिल गर्ने माध्यमका रूपमा अघि बढाउने दाबी गरेको छ ।

डिजिटल मुद्रा ल्याउने, पुँजीबजार र बैंकिङमा व्यापक सुधार गर्ने एमालेको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेले वित्तीय क्षेत्रलाई आधुनिक, सुरक्षित र उत्पादनमूलक बनाउने लक्ष्यसहित डिजिटल मुद्रा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको हो । घोषणा पत्रअनुसार वित्तीय क्षेत्र विकास रणनीतिलाई परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । यसमार्फत नागरिकको वित्तीय पहुँच विस्तार, बचतको सुरक्षा सुनिश्चित तथा उच्च आर्थिक वृद्धिका लागि आवश्यक लगानी परिचालन गर्ने एमालेको योजना छ । बैंक तथा वित्तीय संस्थाको नियमनलाई थप सुदृढ बनाउँदै ऋण लगानी कृषि, उद्योग, ऊर्जा तथा अन्य पूर्वाधारजस्ता उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरिने उल्लेख गरिएको छ । बीमा क्षेत्रमा प्रभावकारी नियमन, जनशक्ति विकास, क्षति मूल्याङ्कनको विश्वसनीयता वृद्धि तथा दाबी भुक्तानी प्रक्रिया सहज बनाइ पहुँच विस्तार गर्ने नीति लिइने एमालेले जनाएको छ । यस्तै, पुँजी बजारको प्रभावकारी नियमन, सुधार र विस्तारमार्फत लगानीका लागि स्वपुँजी तथा दीर्घकालीन ऋण परिचालन गरिने र शेयर लगानीकर्ताको हित संरक्षण गरिने प्रतिवद्धता गरिएको छ । घोषणा पत्रमा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोषलगायत सम्झौतित बचत परिचालन गर्ने संस्थाहरूको प्रभावकारी नियमन गरिने उल्लेख छ । वित्तीय सेवालाई पूर्ण रूपमा डिजिटल बनाइने र वित्तीय प्रणालीमा हुने साइबर अपराध नियन्त्रण गरिने एमालेको भनाइ छ । एमालेले नियोजित रूपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्ने, सानोतिनो ऋणको आवश्यकता वित्तीय प्रणालीमार्फत उपलब्ध गराई मिटरव्याजी समस्या समाधान गर्ने लक्ष्य पनि अघि सारेको छ । साथै, हाईब्रिड एन्युटी, ब्लेण्डेड फाइनान्स, भेञ्चर क्यापिटल, क्राउड फण्डिङ, प्राइभेट इक्विटी, डायस्पोरा बन्ड, हरित बन्ड तथा जलवायु वित्तजस्ता वैकल्पिक वित्तीय साधनमार्फत उच्च आर्थिक वृद्धिका लागि आवश्यक पुँजी जुटाइने उल्लेख छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न व्यावसायिक कृषि, साना तथा मझौला उद्योग र सेयर बजारमा लगानीका अवसर सिर्जना गरिने एमालेले जनाएको छ । साथै, विदेशी मुद्रा सञ्चितिलाई सुरक्षित र लाभप्रद क्षेत्रमा लगानी गरी उच्च प्रतिफल प्राप्त गर्ने नीति लिइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

इनसाइडर ट्रेडिङ र बजार चलखेल रोक्ने नेपाली काँग्रेसको प्रतिज्ञा

काठमाडौं । नेपाली काँग्रेसले पुँजी बजारमा हुने भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र अस्वाभाविक बजार चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागू गर्ने जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गर्दै यस्तो जनाएको हा ।  साथै नेपाली काँग्रेसको सरकार बनेपछि वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली (एनआरएन) तथा आम नागरिकलाई मोबाइल एपमार्फत सहज रूपमा पुँजीबजारमा जोड्ने नीति कार्यान्वयन गर्ने जनाएको छ । साना लगानीकर्ताको हित संरक्षणका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ । नेपाली काँग्रेसले साना तथा मझौला उद्योगलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न छुट्टै ‘एसएमई प्लेटफर्म’ विकास गर्ने योजना अघि सारेको छ । यसले यस्ता उद्योगलाई बजारबाट पुँजी जुटाउन सक्षम बनाउने पार्टीको दाबी छ । प्रतिज्ञा पत्रअनुसार धितोपत्र बोर्डलाई पूर्ण रूपमा स्वायत्त बनाइनेछ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाइनेछ । पार्टीले यी सुधारमार्फत पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।

वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने जनाएको छ ।  बिहीबार कांग्रेसले जारी गरेको घोषणापत्रमा वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने गरी मध्यम र न्यून आय भएकालाई राहत दिने उल्लेख छ । ‘खेतबारीदेखि भान्सासम्म’ आपूर्ति संयन्त्र बनाएर उपभोक्तालाई सस्तो मूल्य र किसानलाई उचित लाभ दिलाउने कांग्रेसले प्रतिबद्धता जनाएको छ । आयातित ग्यासको विकल्पमा सहुलियत दरको बिजुली र विद्युतीय चुल्हो प्रवर्धन गरी भान्साको मासिक खर्च घटाउने घोषणापत्रमा बताइएको छ । खाना पकाउने ग्यासमा दिइने अनुदानलाई वास्तविक गरिब र लक्षित वर्गको बैंकको खातामा सिधै पुग्ने प्रणाली लागु गर्ने घोषणापत्रमा जनाइएको छ । सडक लगायतका रणनीतिक पूर्वाधारहरूको विस्तारमार्फत वस्तु ढुवानीको खर्च घटाई बजार भाउ सस्तो बनाउने कांग्रेसले बताएको छ । घोषणापत्रमा घरभाडा नियमनका लागि स्पष्ट निर्देशिका ल्याउनुका साथै न्यून आय भएका परिवारका लागि सरकारी जग्गामा सस्तो सामूहिक आवास बनाइदिने जनाइएको छ । त्यस्तै, सहुलियत आवास कर्जाको व्यवस्था गरिने र  सहरमा बस्ने विद्यार्थी तथा कार्यरत युवाका लागि सार्वजनिक–निजी साझेदारीमा सुलभ होस्टलहरू सञ्चालन गरी बसोबास खर्च घटाउने पनि घोषणापत्रमा उल्लेख छ ।  सार्वजनिक शिक्षा र उपचारको गुणस्तर बढाउँदै स्वास्थ्य र शिक्षामा नागरिकले आफ्नो गोजीबाट गर्नुपर्ने खर्चलाई घटाइने घोषणापत्रमा बताइएको छ ।