विकासन्युज

प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्रीको बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको  । बैठक आज जेठ २९ गते शुक्रबार अपरान्ह २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगमाथि कडा कारबाही हुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा विसर्जन गरेर प्रदूषण फैलाएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिएकी छन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा सिर्सिया नदी कोरिडोरका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदीमा मिसाइएको विषयमा व्यापक गुनासो, उजुरी आएपिछ चेतावनी दिएकाे हाे । प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता वा क्षमता वृद्धि गर्दा तथा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। त्यसैगरी, स्वीकृत वातावरणीय व्यवस्थापन योजना अन्तर्गत प्रदूषण न्यूनीकरणका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न र नेपाल सरकारले निर्धारण गरेको ‘इफ्लुएन्ट स्ट्यान्डर्ड’ अनुसार मात्र फोहोर पानी प्रशोधन गरी विसर्जन गर्न उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइसकेको छ । मन्त्री यादवले नदी तथा खोला प्रदूषण गर्ने कार्य आधारभूत मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको भन्दै वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारेकी छन् । मन्त्रालयले सम्पूर्ण उद्योग प्रतिष्ठानहरूलाई प्रचलित औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण पालना गरी मात्र उद्योग सञ्चालन गर्न अनुरोध गरेको छ । यदि औद्योगिक तथा वातावरणीय मापदण्डहरूको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बन्धित निकायहरूबाट कडा भन्दा कडा कारबाही प्रक्रिया अघि बढाइनेछ ।

गृहमन्त्री सुधन गुरुङ भावुक भएपछि...

काठमाडौं । लामो समयदेखि न्यायको माग गर्दै सडक संघर्षमा रहेका सुजन बिकले सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसँग भेट गर्दै आफ्ना माग राखेका छन् । चितवनको रत्ननगर नगरपालिका निवासी सुजन बिक विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्याय माग्दै काठमाडौंमा धर्ना र प्रदर्शन गर्दै आएका थिए । उनले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै निरन्तर न्यायको माग गरिरहेका छन् । सोही क्रममा गृहमन्त्री गुरुङले उनलाई मन्त्रालयमै बोलाएर भेट गरेका हुन् । आफ्नो काखमा नवजात शिशु च्यापेर पुगेका सुजनले श्रीमतीको मृत्यु सुत्केरी अवस्थामा अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै  न्यायको याचना गरेका थिए । भेटका क्रममा सुजनको अवस्था र पीडा देखेर गृहमन्त्री गुरुङ भावुक बनेका थिए । उनले नागरिकको सुरक्षा र न्याय राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गरे । गृहमन्त्री गुरुङले घटनाको छानबिनका लागि तत्काल समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले छानबिन निष्पक्ष रूपमा अघि बढाइने र दोषी देखिए कानुनी कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयका अनुसार छानबिन समितिले घटनाको वास्तविकता अध्ययन गरी यथाशीघ्र प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

नेपाल फाइनान्सको ६.३२ लाख सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं । नेपाल फाइनान्सले हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका सेयर लिलाम बिक्रीमा राखेको हो ।  कम्पनीले अवितरित ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयर आज जेठ २९ गतेदेखि बिक्री खुला भई असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा र प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आज देशभर वर्षा हुने, चट्याङ र हिमपातको चेतावनी

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना  छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले  सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

बजेटको अन्तिम कसरतमा गण्डकी सरकार

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले बताए ।  ‘आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ । चालु आवकै हाराहारीमा बजेट आउने सम्भावना छ, सङ्घ सरकारको अनुदानमा हेरफेर भएकाले बजेटको आकार केही तलमाथि हुनसक्छ,’ उनले भने ।  प्रदेश सरकारले चालु आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा बर्सेनि बजेट निर्माणमा प्रदेश सरकारलाई दबाब पर्ने गरेको छ । प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्रलगायत सरोकार भएका पक्षहरूसँग ‘प्रि-बजेट’ छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिज्यालले बताए ।  यसअघि आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । जसमा उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सृजना र गरिबी निवारणमा टेवा पुर्याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको थियो । जेठ १९ गते प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा पनि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रमले प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चितता आदिलाई जोड दिएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता एवं नीति तथा कार्यक्रमलाई समेटेर बजेट आउने आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिएको महाशाखा प्रमुख रिज्यालले बताए । कार्यान्वयनयोग्य र प्रदेशको यर्थाथ अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सहरको मुहार मात्र होइन, भित्री चोक-गल्ली पनि व्यवस्थित हुनुपर्छ: सुनिता डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र शहरलाई समेटेर तथा आवश्यक विकल्प उपलब्ध गराएर सुधार गर्न आग्रह गरेकी छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले ट्राफिक व्यवस्थापनमा सहरको बाहिरी मुहार मात्र हेरेर नभई झट्ट हेर्दा नदेखिने स्थानहरूमा व्यवस्थापन कसरी भइरहेको छ भन्ने पक्षलाई समेत ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘कालोपत्र सडकमा पार्किङ हुन दिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । तर यो मुहार त्यतिबेला मात्र अझ चम्किलो हुन्छ, जब भित्री गल्ली र चोकहरूमा सवारीसाधनको चाप व्यवस्थित हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङस्थल कहाँ छ भनेर चिन्न र उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्ने अवस्था हुँदैन ।’ काठमाडौंको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘पार्किङको सुविधा तथा विकल्प उपलब्ध गराएर व्यवस्थापन गरौँ । ट्राफिक प्रहरी र कामपा प्रहरीबीच निकट समन्वय कायम गरी दीर्घकालीन रूपमा काम गरौँ । यसका लागि कामपाले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।’ ‘काठमाडौंको पूर्वाधारसँग सवारी चालकहरूको मनोविज्ञान जोडिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भने, ‘सडकमा डोरी टाँगिएको छ वा कोन राखिएको छ भने मात्र ट्राफिक नियम पालना गर्ने, तर यस्ता पूर्वाधार नभएका स्थानमा जथाभावी गर्ने प्रवृत्ति देखिन्छ । पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधार गर्न आवश्यक छ ।’ चालकहरूको अनुशासनका विषयमा उनले भने, ‘गएका चार दिनमा विद्यालयका सवारीसाधन चलाउने १६ जना चालकले बिहानै मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइयो । यो एउटा उदाहरण मात्र हो । सुधार गर्नुपर्ने क्षेत्र अझै धेरै छन् ।’ काफ्लेले असार महिनभर सचेतना मूलक कार्यक्रम सञ्चालन गरी सडक सुरक्षा तथा ट्राफिक नियम पालनामा जिम्मेवार बन्न अनुरोध गर्ने र साउनदेखि कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए । काठमाडौंको सहरी व्यवस्थापनका प्रमुख विषयहरू मध्ये ट्राफिक व्यवस्थापन पनि एक रहेको उल्लेख गर्दै छलफलमा यसको सुधारबाट नागरिकले सरकारका कामको प्रत्यक्ष अनुभूति गर्न सक्ने धारणा व्यक्त गरिएको थियो । सोही उद्देश्य अनुरूप समन्वयात्मक रूपमा काम गर्ने निष्कर्ष बैठकले निकालेको थियो । छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पनि सहभागी थिए ।

विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक-एक गोल गरे । खेल सुरुआतको ९ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो । त्यसपछि खेलको ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७:४५ बजे हुनेछ ।