विकासन्युज

विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ ।       मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २(१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एकरएक गोल गरे । चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए ।      खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो । खेलको ५९ औँ मिनेटमा लाडिस्लाभले गोल गर्दै आफनो टोलीलाई पहिलो अग्रता दिलाए । चेक रिपब्लिकको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलकोे ६७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । दक्षिण कोरियाका हवाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई एकरएक गोलका बराबरीमा ल्याए ।       त्यसैगरी, दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेनन र अन्ततः दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्‍यो । जितसँगै दक्षिण कोरियाले शीर्ष तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ ।  समूह ‘ए’अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो । यससँगै समूह ‘ए’मा समान तीन अङ्क बटुलेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।  

स्मार्ट सहर, सम्पदा संरक्षण र नागरिकमैत्री स्वास्थ्य सेवामा जोड

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणका क्रममा सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ । ललितपुर महानगरले चक्रपथबाहिरका वडाको विकास, सम्पदा संरक्षण, स्मार्ट पूर्वाधार तथा घरदैलो स्वास्थ्य सेवालाई आगामी बजेटका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने संकेत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा बिहीबार बोल्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले गत वर्ष तय गरिएका करिब ९० प्रतिशत नीति कार्यान्वयनको चरणमा पुगेको दाबी गरे। महानगरले हरेक वर्ष सार्वजनिक सुनुवाइ, जनप्रतिनिधि, सल्लाहकार तथा सरोकारवालासँग परामर्श गरी नीति तथा कार्यक्रम तयार गर्ने गरेको उल्लेख गर्दै उनले यसलाई सुशासनको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरे। नगरप्रमुख महर्जनले सिटी हल र सिटी पुस्तकालय निर्माणका लागि आवश्यक स्थान व्यवस्थापन भइसकेको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रममा ती योजनालाई समेटिने बताए । पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी सटल बस सञ्चालन गर्ने योजना रहेको तथा मेकानिकल पार्किङ निर्माणलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।  महर्जनले महानगरमा पछि गाभिएका चक्रपथबाहिरका वडाहरूमा अझै धेरै पूर्वाधार विकास गर्न बाँकी रहेको उल्लेख गर्दै ती क्षेत्रलाई पुराना शहरी वडासरह विकास गर्ने नीति लिइएको बताए । उनले आगामी साउन १ गतेदेखि चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने जानकारी दिँदै बिरामीको जानकारी प्राप्त भएपछि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइने बताए। साथै चक्रपथ क्षेत्रमा छिट्टै स्मार्ट स्ट्रिट लाइट जडान गरिने पनि उनले जानकारी दिए । महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विकास निर्माणसँगै सम्पदा संरक्षण, संस्कृति प्रवद्र्धन र सामाजिक क्षेत्रलाई समान प्राथमिकता दिइएको बताइन्। उनले महानगरका करिब ८० प्रतिशत योजना चक्रपथबाहिरका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ललितपुरका जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आगामी वर्ष पनि पर्याप्त बजेट विनियोजन गरिने बताइन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले छलफलमा उठेका सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश गरिने बताइन् । उनले अघिल्लो वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन उन्मुख रहेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रमलाई समयको आवश्यकता अनुरूप रुपान्तरणकारी र परिणाममुखी बनाइने बताइन् ।  छलफलमा सहभागी विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूले महानगरको आगामी नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए ।  ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ललितपुरलाई सम्पदा र पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले कोर एरियामा सरसफाइ सुधारिए पनि भित्री टोल तथा गल्लीहरूमा अझै प्रभावकारी व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै नेवा संग्रहालय स्थापना गर्न माग गरे। राजोपाध्याय समाजका अध्यक्ष संजयराज राजोपाध्यायले नेपाल संवत् प्रवद्र्धनका लागि बजेट वृद्धि गर्नुपर्ने तथा ऐतिहासिक कात्तिक नाचको संरक्षण र विकासका लागि थप रकम विनियोजन गर्नुपर्ने बताए। नेवा समाजका दीपेन्द्र शिल्पकारले घरबहाल करलाई थप सहज र व्यवहारिक बनाउनुपर्ने सुझाव दिए। बौद्ध विहार संघका अध्यक्ष कर्ण बज्राचार्यले स्मार्ट स्ट्रिट लाइट जडानसँगै प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको बताए। उनले गबहाल क्षेत्रमा ढल व्यवस्थापन कमजोर हुँदा वर्षायाममा ढल स्थानीयवासीका घरसम्म पस्ने समस्या रहेको उल्लेख गरे। चेम्बर अफ कमर्स ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले अभिलेखीकरण कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताए। उनले कर संकलनमा मात्र ध्यान दिनुभन्दा करदातालाई उपलब्ध गराइने सुविधा र सेवाको गुणस्तरमा पनि सुधार गर्नुपर्ने धारणा राखे। वाराही संघका अध्यक्ष उपेन्द्र वाराहीले ललितपुरलाई हस्तकला नगरी घोषणा गरिए पनि त्यसपछिका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको गुनासो गरे। राष्ट्रिय समाचार समिति (रासस) का ललितपुर प्रतिनिधि माधवप्रसाद घिमिरेले घरबहाल करमा आवासीय र व्यावसायिक प्रयोजनलाई फरक ढंगले हेर्नुपर्ने बताए। आवासीय घरबहालमा करदर घटाउन सके करको दायरा विस्तार हुन सक्ने उनको भनाइ थियो। उनले सहरका विभिन्न क्षेत्रमा बढ्दो दुर्गन्ध व्यवस्थापनमा पनि महानगरले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। छलफलमा सहभागीहरूले पूर्वाधार विकास, कर प्रणाली सुधार, सम्पदा संरक्षण, वातावरण व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए। महानगरले प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।  

बीमा क्षेत्रमा रोजगारी अवसर बढ्दै, विश्वविद्यालयको विद्यार्थीसँग छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिहीबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा स्नातक तहका छैठौं र आठौं सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यासका साथै बीमालेख विकासका चरण र स्वीकृति प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन र अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको बताए । उनले अध्ययनको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्रोत परिचालनमा सहयोग गर्न प्राधिकरण तयार रहेको उल्लेख गरे । उनका अनुसार नेपालमा बीमाङ्कीहरूको माग बढ्दै गएको छ र प्रत्येक बीमा कम्पनीमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएकाले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो सम्भावना रहेको छ । प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदृढीकरणका लागि बीमाङ्की तथा विश्लेषकहरूको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा यसको कार्यान्वयनबारे प्रस्तुति दिएकी थिइन् भने सहायक निर्देशक सुधा काफ्लेले बीमालेख विकासका चरण तथा नियामकीय प्रक्रियाबारे जानकारी गराएकी थिइन् । अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका, बीमालेख विकासमा योगदान तथा रोजगारी अवसरबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल, कार्यक्रम संयोजक केशव राज फुलारा तथा सम्बन्धित विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

आईएमई लाइफले १०० जना मोतीबिन्दु बिरामीको निःशुल्क शल्यक्रियामा गर्‍यो सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतीबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । माट्रिका आइ सेन्टरले विगतदेखि देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतीबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे । उनले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामीण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए । आईएमई लाइफ इन्स्योरेन्सले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक, पाँच लाखभन्दा बढीले पाए एनसी आईडी

काठमाडौं । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यहरूको अद्यावधिक प्रक्रिया सम्पन्न भएको छ । पार्टीले वैशाख १ गतेदेखि सुरु गरेको अद्यावधिक अभियान जेठ २८ गते मध्यरातमा समाप्त भएको कांग्रेसले जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालीसेका अनुसार गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको विवरण सङ्कलन गरी अद्यावधिक गरिएको हो । अद्यावधिकका लागि देशभर ७ लाख ८२ हजार २०९ जना क्रियाशील सदस्य योग्य रहेका थिए । हालसम्म ५ लाख ३८ हजार ६२२ जना सदस्यले वडास्तरबाट आफ्नो विवरण अद्यावधिक गराई एनसी आईडी प्राप्त गरिसकेको प्रवक्ता चालीसेले जानकारी दिए । चालीसेका अनुसार १ लाख ४९ हजार ३०९ जनाले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवेदन दिइसकेका भए पनि उनीहरूले एनसी आईडी प्राप्त गर्न बाँकी रहेको छ । कांग्रेस प्रवक्ता चालीसेका अनुसार एनसी आईडी प्राप्त नगरेका सदस्यहरूले आगामी असोजमा हुने पन्ध्रौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउने छैनन् । पार्टी प्रवक्ता चालीसेका अनुसार केही हिमाली जिल्लाका सदस्य तथा विदेशस्थित जनसम्पर्क समिति अन्तर्गत रहेका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित र सहजीकरण गरिनेछ । भौगोलिक तथा प्राविधिक कारणले समयमै प्रक्रिया पूरा गर्न नसकेका क्षेत्रहरूको विवरण समेत समेट्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । यसका लागि प्राप्त भएका तथ्याङ्कलाई फिल्टरेसन गर्ने कार्य भइरहेको चालीसेले जानकारी दिए । यसैबीच, नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि अनलाइन आवेदन प्रणाली खुला गरिएको कांग्रेसले जनाएको छ । चालीसेका अनुसार नयाँ सदस्यताका लागि अनलाइनमार्फत निरन्तर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । क्रियाशील सदस्यहरूको डिजिटल अभिलेखीकरण, एनसी आईडी प्रणाली र अद्यावधिक अभियानलाई कांग्रेसले पन्ध्रौँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारीको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ । 

साइबर सुरक्षाका लागि आर्यन श्रेष्ठ लाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’

काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० औँ दिक्षान्त समारोहमा बीएसआईटी तहमा अध्ययनपुरा गरेका विद्यार्थी आर्यन श्रेष्ठलाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’ प्रदान गरेको छ ।  प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार यो विद्यार्थीलाई प्रदान गरिने संस्थाको सबैभन्दा प्रतिष्ठित सम्मान हो । स्कुलले शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, संस्थागत योगदान, सामुदायिक सेवा, सहकार्य र नवप्रवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विद्यार्थीमध्ये एक जनालाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गर्दै आएको जनाएको छ । प्राध्यापक तथा उच्च व्यवस्थापनका प्रतिनिधिहरूको विशेष समितिले यस वर्ष श्रेष्ठलाई अवार्डका लागि छनोट गरेको हो । उक्त समारोहमा एमबीएका मनोज ढुंगेल र विशाल अर्यालस एमएसआइटीका सुशील तिवारी र सुष्मिता श्रेष्ठस बीबीएका बिद्यासागर श्रेष्ठ र दिनेश पाठक र बीएसआइटीका प्राप्ति रिजाल र सरू खतिवडालाई यस बर्षको उत्कृष्ट विद्यार्थी अवार्ड प्रदान गरिएको थियो । 'हामी यस्ता विद्यार्थी उत्पादन गर्न चाहन्छौँ जसले केवल डिग्री मात्र हासिल नगरी समाज, उद्योग र राष्ट्रका लागि सकारात्मक परिवर्तन ल्याउने क्षमता विकास गरून् र वास्तविक समस्याहरूको सिर्जनशिल समाधान गर्न सकुन । आर्यन श्रेष्ठ त्यही सोचको प्रतिनिधित्व गर्ने विद्यार्थी हुन्' अध्यक्ष केसीले भने । यस वर्षको ‘प्रेसिडेन्ट्स अवार्ड’ अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटीकी चिफ एकेडेमिक अफिसर डा। यिङ आइभर्सन र स्कुलका संस्थापक केसीले संयुक्त रुपमा प्रदान गरेका थिए । उक्त सम्मानअन्तर्गत श्रेष्ठलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । वेस्टक्लिफ युनिभर्सिटीअन्तर्गत प्रदान गरिने यो पुरस्कारलाई शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, नवप्रवर्तनशील सोच, समाजमा पारेको प्रभाव तथा संस्थागत योगदानका आधारमा प्रदान गरिने सर्वोत्कृष्ट सम्मानका रूपमा लिइन्छ । यस पुरस्कार प्राप्त गर्नु सम्बन्धित विद्यार्थीका लागि मात्र नभई सम्पूर्ण शैक्षिक समुदायका लागि पनि गौरवको विषय मानिन्छ । अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै श्रेष्ठले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि आफूले सँगै काम गरेका विद्यार्थी, शिक्षक तथा कलेज समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए । उनले आगामी दिनमा पनि साइबर सुरक्षा, प्रविधि, नवप्रवर्तन तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने सिर्जना गर्ने परियोजनाहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । स्कुलका संस्थापम केसीका अनुसार श्रेष्ठले अध्ययन अवधिभर नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । उनले कलेजमा साइबर सेक्युरिटी क्लब स्थापना गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए । साइबर सेक्युरिटी क्लबका अध्यक्षका रूपमा श्रेष्ठले स्कुलमा अध्ययनरत विद्यार्थीका लागि आन्तरिक कार्यक्रमहरू तथा बाह्य सहकार्यमार्फत तीन सयभन्दा बढी विद्यार्थीलाई साइबर सेक्युरिटीका बारेमा मार्गदर्शन गरेका थिए । उनी सन् २०२२ मा ह्याकरअर्थ क्याम्पस एम्बासडर समेत बनेका थिए । श्रेष्ठले सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी सामग्री पहिचान गर्ने प्रणालीसम्बन्धी परियोजना विकास गरेका थिए । उक्त परियोजना एनसिई प्रोजेक्ट डेमोन्स्ट्रेसन प्रतियोगितामा पुरस्कृत समेत भएको थियो । उनले विभिन्न प्राविधिक तथा शैक्षिक कार्यक्रमहरूको आयोजना र समन्वय गर्नुका साथै विश्वका विभिन्न साइबर सुरक्षा संस्थासँग सहकार्य गर्दै विद्यार्थीहरूका लागि व्यवहारिक सिकाइका अवसर सिर्जना गरेका थिए । श्रेष्ठले कलेजमा सेक्युरिटी अपरेसन सेन्टर स्थापना गर्न पनि महत्वपूर्ण पहल गरेका थिए । उक्त केन्द्रले विद्यार्थीलाई वास्तविक साइबर सुरक्षा निगरानी, जोखिम विश्लेषण तथा साइबर घटनाको व्यवस्थापन सम्बन्धी व्यवहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्दछ । 

शुक्रबार सबैभन्दा सस्तो तरकारी सेतो मूला, किलोको २० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १०० र पिँडालु प्रतिकिलो रु ९०, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमुला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ११०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ । 

शेखर गोल्छाको बयान: साढे ५२ करोड फिर्ता लिन बाँकी छ, गैरकानुनी संलग्नता छैन

काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले विचौलिया व्यापारी दीपक भट्टसहित विभिन्न व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अदालतमा बैंकिङ कसुर, बीमा कसुर, धितोपत्र सम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरण लगायत मुद्दा दायर गरेको हो । जसमा उद्योगी तथा व्यवसायी शेखर गोल्छालाई पनि विशेष सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ ।  तर, गोल्छाले आफूले कुनै गैरकानुनी कार्य नगरेको दाबी गर्दै बयान दिएका छन् । उनले भृकुटी ब्रोकरमा राखिएको रकम आफ्नो वैधानिक आम्दानी भएको र सेयर लगानीका लागि मात्र प्रयोग गरिएको बयान दिएका छन् । सो रकम दुरुपयोग भएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले सम्पूर्ण जिम्मेवारी सम्बन्धित ब्रोकर संस्थामाथि रहने बताए ।  गोल्छाले आफूले सन्दीप चाचन अग्रवाललाई व्यक्तिगत रूपमा नचिनेको र भृकुटी स्टक ब्रोकिङ कम्पनीमा आफ्नो डिम्याट खाता समेत नरहेको दाबी गरेका छन् । उनले करिब ५२ करोड ५० लाख रुपैयाँ फिर्ता लिन बाँकी रहेको उल्लेख गर्दै रकम फिर्ताका लागि पटक-पटक अनुरोध र पत्राचार गरिएको बताए । त्यस्तै, उनले हिमालयन रि–इन्स्योरेन्सको सञ्चालक अध्यक्षको रूपमा कार्यकारी भूमिका नभएको र सेयर कारोबारबारे प्रत्यक्ष जानकारी नरहेको दाबी गरेका छन् । कम्पनीभित्र लगानी समितिले निर्णय गर्ने भएकाले सञ्चालक समितिलाई सबै कारोबारको जानकारी नहुने उनको भनाइ छ । गोल्छाले आफूलाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न गराइएको आरोप अस्वीकार गर्दै आवश्यक परे कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न आग्रह गरेका छन् । शेखर गोल्छाको बयान: मैले मेरो सेयर कारोबारको लागि श्रीकृष्ण सेक्युरिटिज लि.(ब्रोकर नं. २८) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मुख्य रूपमा एभरेष्ट बैंकको खाता प्रयोग गर्ने गरेको छु । भृकुटी ब्रोकर कम्पनीमा रहेको रकमको वास्तविक धनी म आफैं हुँ । मैले मेरो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम सेयरमा लगानी गर्नका लागि उक्त ब्रोकिङ कम्पनीलाई दिएको रकम हो । उक्त कम्पनीले खातामा रहेको मौज्दात रकम कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरे नगरेको मलाई थाहा छैन । त्यो सम्बन्धित ब्रोकरसँग अनुसन्धान होस् । मैले दिपक भट्ट लगायतका नाउँमा सेयर खरीद गर्न वा कुनै कसुरजन्य कार्यका लागि सहजीकरण गर्न उक्त रकम प्रयोग गर्न दिएको होइन । मेरो दिपक भट्टसँग कुनै पनि वित्तीय र व्यवसायीक कारोबार छैन । मेरो व्यक्तिगत वा मसँग सम्बन्धीत कुनै संस्था या मेरो परिवारको सदस्यहरुको नाममा नेपाल रि इन्स्युरेन्स प्रालिको कुनै पनि सेयर नभएको कुरा जानकारी गराउन चाहन्छु ।  धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको तालिका ४ हेरी व्यहोरा अवगत भयो । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका अध्यक्ष समेत रहेका सन्दिप चाचन अग्रवाललाई म व्यक्तिगत रुपमा चिन्दिनँ । उक्त कम्पनीलाई मैले ५२ करोड ५० लाख रुपैया दिएकोमा सो रकम फिर्ता लिन बाँकी छ जसका लागि उसलाई मैले पटक पटक आग्रह र अनुरोध गर्दा निजले बैंकको व्याजदर न्यून रहेकोमा सोभन्दा कमी नठहरीने गरी थप रकमसमेत दिउँला हाल मसँग रकम छैन भनी आलटाल गर्दै आएका छन् । साथै निजको कार्यालयमा मैंले रकम फिर्ताको लागि पत्राचार समेत पेश गरेको छु । साथै शुलभ अग्रवाल समेतले उक्त रकम सम्बन्धमा फिर्ता गराईदिने आश्वासन दिएका थिए । तर हालसम्म फिर्ता नगरी मलाई गैह्रकानुनी क्षति पुयाई पीडित गराएका छन् । उक्त रकम मैंले रोहित गुप्ता, राजबहादुर शाह, सुलभ अग्रवाल र अमित मोर समेतका साथीहरुसँग सल्लाहमा निजहरुको विश्वासमा दिएको हुँ ।  जब की उक्त ब्रोकिङ कम्पनीमा मेरो डिम्याट खाता पनि छैन । माथि उल्लिखित साथीहरू मध्ये शुलभ अग्रवाल र अमित मोर समेतका शंकास्पद व्यवहार र निजहरूका काम क्रियाकलाप प्रति विश्वास नलागेकोले मैले तत्काल खाता नखोलेको सहि सत्य हो। यस बाहेक अन्य कुनै पनि कारोबार एवं लेनदेन र नाता सम्बन्ध आदि छैन। उल्लिखित कम्पनीहरूको कारोबार सम्बन्धमा कम्पनीले कानुन बमोजिम कार्य गर्नुपर्ने हुन्छ । कोही जिम्मेवार पदाधिकारीले जिम्मेवारी निर्वाह नगरेको भए कानुन बमोजिम होस् । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमा स्थापनाकालदेखि नै सञ्चालक अध्यक्ष रहेको थिएँ । हाल अन्दाजी दुई महिना अगाडि मैले राजिनामा दिएको छु । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिले सेयर खरिद विक्री सम्बन्धी कारोबार कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएबमोजिम तथा प्रचलित कानुन बमोजिम लगानी समितिले गर्ने गरेको छ । उक्त कारोबारको बारेमा लगानी समितिलाई त्यसको पूरा जिम्मेवारी रहन्छ । व्यवस्थापन र नियमित प्रशासनिक कार्यहरूबाट त्यस्तो कारोबार भए गरेको भए कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई जानकारी होला । कम्पनीको संचालक अध्यक्षको रूपमा वार्षिक वित्तीय विवरणहरू बाहेक मलाई सेयर कारोबारको कुनै जानकारी हुने गरेको छैन । मैले यसभन्दा अगाडिको जवाफमा समेत खुलाईदिएको छु ।  मेरो विभिन्न उद्योग व्यवसायमा लगानी रहँदै आएको छ र आजसम्म म कुनै गैह्रकानुनी कार्य गरी दण्डित भएको छैन । म एक प्रतिष्ठित व्यवसायीको हैसियतमा विभिन्न संघ संस्थाहरूले मेरो नेतृत्वको आधारमा कम्पनीको विश्वसनीयता र बुक भ्यालु बढ्ने हुन्छ भनी नेतृत्व लिन आग्रह गर्ने गर्दछन् । सोही क्रममा नै हिमालयन रि इन्स्योरेन्स कम्पनीको समेत म सञ्चालक अध्यक्ष भएको थिएँ । तर म कुनै किसिमको कम्पनीको काममा कार्यकारी भूमिकामा थिईन । तर पछिल्लो समयमा कम्पनी सम्बद विभिन्न व्यक्तिहरूले यसको दुरूपयोग गरेको भन्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतको बयानमा मलाई शंका लागेपछि मैले उक्त संस्थाबाट राजीनामा दिएको छु । मैले कुनै गलत मनसाय राखी निर्णय गर्ने गराउने तथा गैह्रकानुनी कार्यमा सहभागी समेत भएको छैन । यससम्बन्ध बोर्डमा आकस्मिक बैठक बोलाई सीईओलगायतका अन्य उच्च व्यवस्थापनका कर्मचारीहरूसँग भृकुटीसँग लिनुपर्ने रकमको बारेमा प्रश्नावली गर्दा निजहरूले हामीले कानुनी पत्राचार गरेका छौं । तर सञ्चालक बोर्डका व्यक्तिहरूलाई कुनै पनि जानकारी नदिएको भनी माईन्युट समेत गरेको व्यहोरा जानकारी गराउँदछु । कोही कसैको त्यस्तो संलग्नता भेटिएमा कानुन बमोजिम होस् ।  मैले माथिको जवाफमा खुलाएबमोजिम नै कम्पनीका काम तथा गतिविधिको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयान गरेपश्चात मेरो जानकारी अनुसार शुलभ अग्रवाल, निजको श्रीमती शुभी अग्रवाल, दिपक भट्ट, ऋषिराज मोर, अमित मोर समेतको सहभागिता हुन सक्दछ । तर त्यो मैले एकिन गर्न सक्ने मसँग आधारहरू छैन । सो पश्चात मैंले आकस्मिक बोर्डको बैठक राखी कुनैपनि गैह्रकानुनी काम कारवाही भएको हुनसक्ने समेत कार्य म जस्तो जिम्मेवार व्यक्तिले सोच्न समेत नसक्ने भएकोले अध्यक्ष पदबाट राजिनामा दिएको थिएँ । म, रोहित गुप्ता, राज बहादुर शाह, अमित मोर र शुलभ अग्रवाल समेतले सामाजिक भेटघाटको सिलसिलामा निज शुलभ अग्रवालको अगुवाइमा धितोपत्र बजारमा राम्रो र वैधानिक आम्दानी ! हुन्छ । साथै भृकुटी ब्रोकिङ कम्पनीले न्यून कमिसनमा राम्रो र पारदर्शी सेवा प्रदान गर्दछ भन्ने विश्वास दिलाएर लगानी गर्ने कुराकानी भएको थियो । सो पश्चात सम्बन्धीत कम्पनीमा मैंले समेत धितोपत्र कारोबार गर्ने प्रयोजनको लागि रकम जम्मा गरेको सम्म हो । तर रकम जम्मा गरिसकेपश्चात पनि मेरो कानुन व्यवसायी र साथीहरूको सल्लाह बमोजिम मैले सेयर कारोबार नगर्ने निर्णय बमोजिम सेयर बजारको तत्कालिन अवस्थामा कुनै लगानी गरको छैन । कोही कसैलाई उक्त रकम प्रयोग गर्ने कुनै पनि सहमति दिएको छैन । मैले पटक पटक रकम फिर्ताको लागि आग्रह समेत गर्दै आएको छु । कानुनी रूपमा समेत पत्राचार गरेको छु । म सम्बद्ध कम्पनीका निर्णयहरू समेत मगाई उक्त कम्पनीका सेयर कारोबारमा जिम्मेवार व्यक्तिहरू लगानी समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेतलाई सोधपुछ गरी सोको एकिन होस् । माथि उल्लिखित सेयर कारोबारमा मेरो कुनै संलग्नता छैन म आफैं सेयर कारोबारमा सक्रिय समेत छैन । म माथि यी र यस्ता कार्यहरूबाट मेरो व्यवसायिक र व्यक्तिगत प्रतिष्ठामा आँच पुग्न गएको समेतले पिडा बोध र अपुरणीय क्षि भएको छ । उक्त कार्यको अनुसन्धान गरी मलाई समेत न्याय होस् । भृकुटी स्टक ब्रोकिङ लि. मार्फत कानुन बमोजिम हुने कारोबारको जानकारी सामान्य छ । तर माथि सवालमा उल्लिखित लाभपूर्ण मनसाय र कारोबार सम्बन्धमा म आफैँ कारोबार गर्दिन । त्यो सम्बन्धी कारोबारमा अध्यक्षको भूमिकामा कुनै पनि कारोबारको मलाई जानकारी समेत कुनै माध्यमबाट भए गरेको छैन । मैले जानेर वा बदनियत साथ आजसम्म कुनै गैह्रकानुनी कार्य समेत गरेको छैन । सो कुराको पुष्टि बोर्डमा भएको माईन्युटबाट समेत प्राप्त गर्न सकिन्छ । मेरा कारोबारहरू मैले बैकिङ प्रणालीमै गर्ने गरेको छु । कानुन बमोजिम मगाई सोको अनुसन्धान होस् । उक्त रकम मेरो व्यवसायबाट कानुन बमोजिम आर्जन गरेको वैध आम्दानी हो । मैंले माथिका सवालहरूमा समेत खुलाए बमोजिम नै म कुनै गैरकानुनी योजनामा संलग्न समेत छैन । मैले मलाई आरोप लागेको रकमको विषयमा समेत करयोग्य रकम ब्रोकरको खातामा उपयुक्त समयमा सेयर कारोबारको लागि राखेको हो । उक्त रकम नै दुरूपयोग गरेको सम्बन्धमा मलाई एकिन जानकारी हुने विषय समेत रहेन । उक्त विषयको जिम्मेवारी सम्बन्धीत स्टक ब्रोकिङ कम्पनीको हुनुपर्छ । निजलाई समेत आवश्यक अनुसन्धान होस् । दिपक भट्ट समेतसँग मेरो कुनैपनि व्यवसायिक सम्बन्ध नरहेको कुरा समेत पुनः दोहोच्याउन चाहन्छु । माथि सवालमा उल्लिखित गैह्रकानुनी कारोबारहरूको बारेमा मलाई कुनै जानकारी थिएन । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट क्यानको क्रममा मैंले जानकारी पाएको र उक्त जानकारीबाट म आफै विचलित भई आकस्मिक बोर्डको बैठक डाकी उक्त विषयमा ऋभ्इ लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूलाई समेत डाकी बैठकमा निजहरूले उक्त कारोबार भए गरेको सम्बन्धमा सञ्चालक समतिलाई जानकारी नगराएको भनी दिएको जवाफको माईन्युट समेत गरिएको व्यहोरा ! पुनः दोहोरÞ्याउन चाहन्छु । गत आर्थिक वर्षको वित्तिय विवरणहरू समेत मैंले प्रमाणित गरेको छैन । एकमुष्ट वित्तिय विवरण प्रमाणित गर्दा यसपूर्व भएका निर्णयहरू समेतमा मैंले कुनै गैह्रकानुनी कार्य प्रमाणित समेत गरेको छैन । प्रत्येक व्यक्ति तथा संस्थाले आफ्नो कानुन बमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्दछ । मैले कानुनबमोजिम काम गर्दा कुनै गलत मनसायगत धारणा राखी कुनै गैह्र कानुनी कार्य गरेको छैन । कुनै पनि लाभ लिएको छैन । प्रचलित कानुन वमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम सहन बुझाउन मेरो मन्जुरी छ भन्ने व्यहोराको प्रतिवादी शेखर गोल्छाको बयान । कम्पनीको लगानी समितिलाई कानुन बमोजिम लगानी गर्ने पुरा अधिकार दिईसके पश्चात सञ्चालक समितिमा पेश नगरेसम्म सञ्चालकलाई थाहा हुने कुरा भएन साथै सो सम्बन्धी कुनै पनि वार्षिक वित्तीय विवरण समेत तयार नभएको र मैले प्रमाणित नगरेको समेत जानकारी गराउन चाहन्छु । सञ्चालक समितिमा पेश नगरी के कसरी दुरूपयोग तथा कसुर भएको मैले समेत एकिन गर्न सक्ने कुरा भएन । यस कुराको पुष्टि मैंले आकस्मिक रुपमा सञ्चालक समितिको बैठक बोलाउँदा सीईओलगायत उच्च व्यवस्थापनले पुष्टि समेत गरेको अवस्थामा निजहरू नै जिम्मेवार हुनुपर्दछ सो सम्बन्धमा अनुसन्धान होस् । प्रचलित कानुन बमोजिम र प्रचलित नियमानुसार मेरो कुनै गल्ती भेटिए कानुन बमोजिम होस् । प्रस्तुत कसुर धितोपत्र सम्बन्धी कारोबारसँग सम्बन्धीत विषय हो । उक्त विषयमा म आफैँले कुनै धितोपत्रको कारोबार गरेको छैन । मैंले संस्थागत रूपमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको अध्यक्षको गलत प्रयोग गरेको छैन र कुनै लाभ समेत लिएको छैन । एनआरआईसीमा लगानी गर्ने या नगर्ने सल्लाहमा म, मेरो परिवार, मेरा हितैसी र कानुनी सल्लाहकारबाट म पछाडि हटेको हुँ म, मेरो परिवार, मेरो व्यवसाय समेतले गैह्रकानुनी तवरबाट प्रतिवेदनमा उल्लेख भएको भनिए बमोजिमका एनआरआईसी लगायतका सेयरहरूमा कुनै कारोबार समेत भएको छैन । कुनै प्रत्यक्ष र अप्रत्यक्ष लाभ समेत लिएको छैन । यी समेत तथ्यबाट मेरो कुनै कसुर गर्ने मनसाय र कार्य समेत भएको छैन ।