विकासन्युज

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ । आयोगले सोमबार (आज) विज्ञप्ति जारी गरी दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, ¥याली, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगोजस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरिएको हो ।  दल वा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो प्राप्त भएको भन्दै त्यस्ता काम नगर्न आयोगले आह्वान गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकाले यस्तो आह्वान गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा आयोगले रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्थासमेत रहेको स्मरण गराइएको छ । ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र निर्वाचन आचारसंहितासमेतको प्रतिकूल हुने हुँदा कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न नगराउनसमेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई आग्रह छ’, विज्ञप्तिमा भनिएको छ ।  यस्तै, कानुनद्वारा प्रत्याभूत बालबालिकाको अधिकारको संरक्षण तथा संवद्र्धन गर्दै अधिकारको प्रचलन र परिपालना गर्न/गराउन निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको ध्यानाकर्षण गराएको छ ।  यसका साथै आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न  नहुन पनि आग्रह गरेको छ ।   

उद्योगी व्यवसायीलाई पनि लाग्यो चुनाव, ढकालको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको छ । ढकालले प्रस्तावित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।  उनकाे समूहबाट ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । उनी ज्वेलर्स व्यवसायी तथा हाल महासंघको एसोसिएट उपाध्यक्षकै रूपमा काम गरिरहेकी छन् ।  यस्तै, उमेश डालमिया र कल्पना गैरे  जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् ।   यसैगरी, नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । उनी हस्तकला र निर्यात व्यवसायीका साथै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । उनीसँग दुई कार्यकाल कार्यसमितिको अनुभव समेत छ ।  कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् भने उनीसँग पनि तीन कार्यकाल महासंघको कार्यसमिति सदस्यको काम गरेकाे अनुभव छ ।   यस्तै, महिला उपाध्यक्ष पदका उम्मेदवार कमला श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य बनेको बताइन् । ‘ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु ।’ वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठाभन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदवार बनेको बताइन् । उनले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार उमेश डालमियाले पनि जिल्ला नगरका व्यवसायीको समस्या समाधानका लागि आफूले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने बताए ।  एसोसिएट उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले  वर्तमान कार्यसमितिमा रहेर महत्त्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् ।  'विदेशमा पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ’प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’  यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले उद्योगी तथा व्यवसायीहरूका समस्याहरू समाधानका लागि आवाज बुलन्द गर्ने बताए ।  उनले सबै उद्योगीहरू सशक्त भई एकवद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरूलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए ।  उनले भने,‘ अर्को समूहले पनि उम्मेदवारी दिने सुन्नमा आएको छ । म सबै व्यवसायी तथा उद्योगी साथीहरूलाई मिलेर जान अनुरोध गर्न चाहन्छु ।' 

मेडिकल व्यवसायी प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ । आदेशमा भनिएको छ, ‘जिल्ला प्रहरी परिसर काठमाडौंको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२-११-०४ को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू ।’ अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ ।  प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।

वीरगञ्जमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर लगाइएको कर्फ्यु आदेशलाई हटाएर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार (आज) बिहान ९ः४५ बजेदेखि लगाइएको कर्फ्युलाई साँझ ४ः३० बजेदेखि निषेधाज्ञामा सीमित हुने आदेश जारी गरेका हुन् ।  जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटनाको सम्बन्धमा तीनबुँदे सहमति गरेसँगै प्रजिअ दाहालले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेका हुन् ।  ‘समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षसँग आज भएको सर्वपक्षीय बैठकमा भएको निर्णयसमेतका आधारमा उक्त कर्फ्यु  आदेशलाई निरन्तरता दिइरहनुपर्ने नदेखिएकाले आज साँझ ४ः३० बजेदेखि लागू हुने गरी उक्त कर्फ्यु  आदेश हटाइएको छ’, प्रजिअ दाहालले भने। परिस्थिति पूर्ण रूपमा सामान्य भई नसकेको अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगरको चारकिल्ला क्षेत्रमा मङ्गलबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पूर्वमा बाइपासरोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघरचोकलाई सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । 

धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल गठन

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । सोमबार (आज) गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । 

झापा प्रशासनले भन्यो - निर्वाचन प्रचारप्रसारमा उम्मेदवारलाई गाली नगर्नूं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्काप्रति लाञ्छना लगाउने, गाली गलौज गर्ने, दल तथा उम्मेदवारको झण्डा र व्यानरहरू जलाउने कार्य नगर्न अनुरोध गरेको छ ।  कोही कसैप्रति घृणा वा द्वेष फैलाउने, हुलहुज्जत गर्ने, व्यक्तिका निजी घर तथा सार्वजनिक स्थल लगायतका ठाँउमा निर्वाचन आचारसंहिता विपरित उम्मेदवारको पार्टीका झण्डा तथा व्यानर लगायतका सामग्रीहरु राख्ने जस्ता गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसी त्यस्ता गतिविधिहरू नगर्न र नगराउन अनुरोध गर्ने निर्णय भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईले बताए । अवाञ्छित गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।  निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गरी निर्वाचन सम्बन्धी गतिविधिहरू गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय महिला फुटबलकी कप्तान सावित्रा भण्डारीले उपचारका लागि मागिन् आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आर्थिक सहयोग मागेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले घुँडाको एसीएलमा पहिले शल्यक्रिया गरिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको र त्यसको उपचारका लागि आर्थिक सहयोग आवश्यक भएको जानकारी दिइन् । ‘पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो भए अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझै म उपचारको लागि भौतारिइरहेकी छु,’ उनले भनिन् । उनले सामाजिक सञ्जालमा युएस डलर ८० हजार डलरको आवश्यक रहेको खुलाएकी छन् । आजको नेपाली मूल्य बराबर १ करोड १६ लाख ४६ हजार रुपैयाँ आवश्यक परेको बताएकी छन् । एन्फाले सहयोग गर्ने वाचा गरे पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको उनको भनाइ छ । चोट लागेपछि तीन सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको थियो, तर एन्फाले सहयोग गर्ने भने पनि त्यसमा ध्यान नदिएको उनी बताउँछिन् । ‘मैले पटक–पटक प्रयास गरेँ, सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । अघिल्लो साता एन्फाका अध्यक्षले नै मेरो उपचारमा प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र बाँकी प्रक्रिया आफैं गर्न भन्नुभयो । एकातिर मैले पहिले सुरु गरेको प्रक्रिया रोकियो, अर्कोतिर झन्डै दुई महिनापछि शल्यक्रियाको मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले थपिन् । उनले खेलिरहेको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको जानकारी दिइन् । ‘चोट गम्भीर छ र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकोले म पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राख्छु । क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिनेछ । तर उक्त रकम शल्यक्रिया र सात–आठ महिनाको रिह्याबका लागि अपुग हुने भएकाले समर्थकबाट सहयोग माग्न आएको हुँ,’ उनले लेखिन् । उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले खुलाएकी छन् । सरकारले सहयोग मागे पनि सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढेको छैन । सावित्राले आफ्नो खेलकुद करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको बताइन् । ‘हरेक पटक साहसका साथ पार गरेको र यसपटक पनि पुनः माथि उठ्न तपाईंको सहयोग आवश्यक छ । यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि मेरा साथमा आम समर्थकहरू छन् । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनिन् ।  

धितोपत्र अभौतिक सञ्चालन निर्देशिका २०८२ सार्वजनिक

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लि (सीडीएससी) ले ‘धितोपत्र अभौतिक सञ्चालन निर्देशिका, २०८२’ सार्वजनिक गरेकाे छ । सोमबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा कार्यक्रम आयोजना गरी सीडीएससी​​​​​​ले साे  निर्देशिका सार्वजनिक गरेकाे हाे । सीडीएससीका अनुसार हाल संस्थापक र सर्वसाधारण सेयर फरक–फरक ISIN मा रहेका कारण डेटा मिलान, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रियामा जटिलता देखिएको छ। प्रस्तावित निर्देशिकाले आवश्यक प्रक्रिया पूरा गरी एउटै ISIN मा मर्ज गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। यस्तो मर्ज प्रक्रियामा लगानीकर्ताबाट कुनै अतिरिक्त शुल्क नलाग्ने सिडिएससीले उल्लेख गरिएको छ। उक्त निर्देशिका स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड समक्ष पेश गरिएको सिडिएससीलेले जनाएकाे छ निर्देशिका कार्यान्वयन अघि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । स्वीकृतिपश्चात मात्र यो लागू हुनेछ। संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्नुअघि कम्पनीको वार्षिक साधारण सभाबाट पारित गराई सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ । सीडीएससीले पूँजी बजारमा तथ्यांक एकरूपता, विश्वसनीयता तथा पारदर्शिता कायम गर्न, लगानीकर्ताको कानुनी तथा आर्थिक अधिकार संरक्षण गर्न र समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त निर्देशिका ल्याएको जनाएको छ । प्रस्तावित व्यवस्थाअनुसार संस्थापक सेयरलाई ‘लक–इन अवधि’भित्र सर्वसाधारण सेयरभन्दा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर प्रदान गरिनेछ भने लक–इन अवधि समाप्तिपश्चात आवश्यक प्रक्रिया पूरा गरी एउटै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बरमा मिसाउन सकिने व्यवस्था गरिएको छ । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उल्लेख गरिएको छ । सीडीएससीका अनुसार, यस व्यवस्थाले पूँजी बजारमा तथ्यांक शुद्धता, विश्वसनीयता तथा निष्ठा अभिवृद्धि गरी दीगो आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।   आयोजित कार्यक्रममा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल धितोपत्र बोर्डका पदाधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि, विभिन्न संघ–संस्था तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।