गुल्मी कांग्रेसमा विभाजन, वेद थापाको नेतृत्वमा समानान्तर समिति बन्दै
काठमाडौं । केन्द्रमा नेपाली कांग्रेसभित्र चर्किएको विवादको प्रभाव गुल्मी जिल्लामा पनि देखिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन अघि बढाइरहेका बेला गुल्मी जिल्लामा त्यसको समानान्तर गतिविधि सुरु गर्ने तयारी भएको छ । नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीको नेतृत्वमा विशेष महाधिवेशनअन्तर्गतका वडा तथा पालिका अधिवेशन भइरहेका छन् । यस्तै १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा पराजित भएका वेद थापा मगरको नेतृत्वमा समानान्तर जिल्ला समिति गठन गर्ने तयारी भएको हो । कालीगण्डकी गाउँपालिकाका अध्यक्षसमेत रहेका थापा मगरले असोज १२ गते समानान्तर जिल्ला समिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित समानान्तर समिति गठनको तयारी गरिएको हो । जिल्लाका केही नेताहरूले विशेष महाधिवेशनको प्रक्रियामा असहमति राख्दै आएका नेताहरूलाई समेत समेटेर समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिए । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले आफ्नो पक्षमा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताको समर्थन रहेको दाबी गरेका छन् । एक नेताका अनुसार हाल जिल्लाका करिब ४५ प्रतिशत क्रियाशील सदस्य समानान्तर समितिको पक्षमा रहेको दाबी गरिएको छ । असोज १२ गतेसम्म उक्त संख्या करिब ५० प्रतिशत पुग्ने दाबी पनि ती नेताले गरेका छन् । तर सभापति पन्थी भने विशेष महाधिवेशन पक्षधर क्रियाशील सदस्यको संख्या ९० प्रतिशतभन्दा माथि रहेको छ । विशेष महाधिवेशनअन्तर्गत जिल्लाका वडा र पालिका तहमा अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला समानान्तर समिति गठनको तयारीले गुल्मी कांग्रेसभित्रको विवाद थप सतहमा ल्याएको छ । सभापति पन्थीले समानान्तर गतिविधिमा लाग्ने नेता कार्यकर्ता कारबाहीको दायरामा आउन सक्ने बताए । तर थापा पक्ष भने १२ गते समानान्तर जिल्ला कार्यसमिति गठनको अन्तिम तयारीमा रहेको छ । थापाले १२ गते विशेष कार्यक्रमका साथ समिति घोषणा गर्ने जानकारी दिए । यसअघि १४औं महाधिवेशनमा पन्थी र थापाबीच जिल्ला सभापतिका लागि प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा पन्थी सभापतिमा निर्वाचित भएका थिए । केन्द्रीय तहमा देखिएको संस्थापन र विशेष महाधिवेशन पक्षबीचको विवाद जिल्ला तहसम्मै विस्तार भइरहेका बेला गुल्मीमा समानान्तर समिति गठन हुन लागेको हो । असोज १२ गते हुने भनिएको घोषणा कार्यक्रमपछि जिल्लामा कांग्रेसका दुई धार औपचारिक रूपमा अलग गतिविधिमा जाने सम्भावना देखिएको छ ।
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको हो । नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन् । नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्रप्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मन्त्रीपछि सचिव पनि आउट, उद्योग मन्त्रालयमा नयाँ नेतृत्व
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक नेतृत्व दुई महिना नबित्दै पुनः फेरिएको छ । सरकारले उद्योग सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै हालै सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्व सुम्पिएको हो । ३० असार २०८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग मन्त्रालयमा आएका दुवाडीलाई छोटो समयमै हटाएर तामाङलाई पदस्थापन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो । बारम्बार हुने यस्तो प्रशासनिक फेरबदलले मन्त्रालयको नीतिगत र संस्थागत निरन्तरतामा असर पर्न सक्ने भन्दै प्रशासनिक वृत्तमा चासो र चिन्ता बढेको छ । दुवाडीको छोटो कार्यकाल विशेषगरी खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको विषय र कर्मचारीतन्त्रप्रति तत्कालीन मन्त्रीको तीव्र असन्तुष्टिका बीच गुज्रिएको थियो । ग्यास अभावको समस्या संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसम्म पुगेको थियो भने २४ भदौको समिति बैठकमा तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले कानुनी सुधार र आपूर्ति व्यवस्थापनमा कर्मचारीतन्त्रबाट सहयोग नपाएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएकी थिइन् । सोही असन्तुष्टिकै पृष्ठभूमिका बीच मन्त्री यादवले २५ भदौमा राजीनामा दिएकी थिइन् । नयाँ उद्योगमन्त्री दीपक कुमार साहले पदभार ग्रहण गर्दा सचिव दुवाडीसँगै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका भए पनि सरकारले मन्त्रालयको प्रशासनिक कमान्ड परिवर्तन गरेको छ । हाल सरकारले विभिन्न निकायमा सचिवहरूको सरुवा तथा पदस्थापनलाई तीव्र बनाएको सन्दर्भमा उद्योग मन्त्रालयमा पनि दुई महिनामै नयाँ नेतृत्व आएको हो । अब नवनियुक्त सचिव रुद्रसिंह तामाङका सामु मन्त्रालयका चालु आयोजना, आपूर्ति व्यवस्थापन र नीतिगत प्राथमिकताहरूलाई कसरी अघि बढाउने भन्ने मुख्य चुनौती रहेको छ ।
सर्लाहीमा १३२ केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति सुधार हुने
काठमाडौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा आएको छ । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुईवटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ । यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ । स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका ६ वटा फिडर निकालिएका छन् । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । यसबाट विद्युत् चुहावट घट्नुका साथै न्यून भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुनेछन् । साथै, स्थानीय क्षेत्रमा विद्युत्को बढ्दो माग व्यवस्थापन गर्न तथा आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्युत्को प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे । करिब २० किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो ।
जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
काठमाडौं । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई आधारभूत तहदेखि स्नातक तहसम्म निःशुल्क शिक्षा तथा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५’ को दफा ४१ बमोजिम ‘जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी लागू गरेको हो । मापदण्डअनुसार नेपाल सरकारबाट घोषित जेनजी सहिदका छोराछोरी तथा सहोदर दाजुभाइ–दिदीबहिनी र सम्बन्धित निकायबाट गम्भीर वा अति गम्भीर घाइते परिचयपत्र पाएका व्यक्ति लाभग्राही हुनेछन् । आधारभूत तह अर्थात् कक्षा १ देखि ८ सम्म प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा शैक्षिक सामग्रीका लागि कक्षा १–५ लाई वार्षिक १२ हजार र कक्षा ६–८ लाई १६ हजार रुपैयाँ उपलब्ध गराइनेछ । माध्यमिक तहमा कक्षा ९–१० का विद्यार्थीलाई पोशाक तथा सिकाइ सामग्रीबापत वार्षिक २० हजार र कक्षा ११–१२ का विद्यार्थीलाई २४ हजार रुपैयाँ दिइनेछ । विद्यालय तहको यस्तो रकम स्थानीय तहमार्फत विद्यार्थीको बैंक खातामा भुक्तानी गरिनेछ । स्नातक तहमा भने विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षित गर्नुपर्नेछ । निजी विद्यालय तथा क्याम्पसले समेत कानुनबमोजिम उपलब्ध गराउने छात्रवृत्ति कोटामा लाभग्राहीलाई समावेश गर्नुपर्नेछ । आरक्षित कोटामा पर्न नसकेका लाभग्राहीलाई विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत वार्षिक ३० हजार रुपैयाँ वा तोकिएको शुल्कमध्ये जुन कम हुन्छ, त्यति रकम छात्रवृत्तिका रूपमा उपलब्ध गराइनेछ । सुविधा लिन विद्यालय तहका विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत स्थानीय तहमा र स्नातक तहका विद्यार्थीले अध्ययनरत क्याम्पसमार्फत यूजीसीमा आवेदन दिनुपर्नेछ । आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता, नाता प्रमाणित गर्ने कागजात र शिक्षण संस्थाको सिफारिस पेश गर्नुपर्नेछ । लाभग्राहीको प्रमाणीकरण, रकम भुक्तानी तथा अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ भने आवश्यक बजेट विनियोजन तथा मापदण्ड कार्यान्वयन गराउने जिम्मेवारी शिक्षा तथा खेलकुद मन्त्रालयको हुनेछ । उच्च शिक्षाको छात्रवृत्ति व्यवस्थापनमा विश्वविद्यालय र यूजीसीले भूमिका निर्वाह गर्नेछन् । झुट्टा विवरण वा गलत कागजात पेश गरी सुविधा लिएको प्रमाणित भएमा सुविधा रद्द गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने मापदण्डमा उल्लेख छ ।
इरानी एयरलाइन्समाथि विश्वव्यापी प्रतिबन्ध, टर्कीए–इराक–जर्जिया पनि थपिए
काठमाडौं । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले २३ सेप्टेम्बरदेखि विश्वभर इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेका छन् । त्यससँगै टर्कीए, इराक र जर्जियाले पनि इरानी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । एएफपीका अनुसार अमेरिकी ट्रेजरी विभागको घोषणापछि इराकले इरानी एयरलाइन्सका उडान निलम्बन गर्ने त्यहाँका दुई अधिकारीले सोमबार बताएका छन् । त्यसपछि जर्जियाले पनि आफ्नो हवाई क्षेत्रमा इरानी एयरलाइन्सको प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसअघि शनिबार इरानी एयरलाइन्स महान एयरले टर्की सरकारको अनुरोधमा टर्कीका लागि आफ्ना उडान निलम्बन गरेको घोषणा गरेको थियो । कम्पनीका अनुसार टर्की सरकारले उसलाई उडान रोक्न आग्रह गरेको थियो । करिब दुई साताअघि अमेरिकी ट्रेजरी विभागले २७ वटा ईरानी एयरलाइन्सलाई आफ्नो प्रतिबन्ध सूचीमा समावेश गरेको थियो । त्यसयता इरानका विमानन कम्पनीमाथि अन्तर्राष्ट्रिय दबाब थप बढेको छ ।
सुन तोलामा १७ सय र चाँदी ३० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल
काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । डा. पौडेल वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए । यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए । डा. पौडेलले अब स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह तथा विभागीय प्रशासनको नेतृत्व गर्नेछन् ।