विकासन्युज

बाँदर धपाउन छुट्याइयो ४५ लाख रुपैयाँ बजेट

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउन लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदर लगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरे ।  बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको जनाइएको छ । नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई के चाहिन्छ ? कार्यक्रम अन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बिउविजन वितरण र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

विश्वकपमा क्रोएसियाको पहिलो जित

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एल’को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।  क्यानडाको टोरन्टोमा आज बिहान भएको खेलमा अनुभवी फरवार्ड आन्ते बुडिमिरले गरेको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गरेका थिए । तर दोस्रो हाफको ५४औँ मिनेटमा मार्को पासालिचको उत्कृष्ट ब्याकहिल पासपछि जोसिप स्तानिसिचले दिएको लो क्रसलाई बुडिमिरले गोलमा परिणत गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको सुरुआती चरणमा पानामाले केही राम्रो अवसर बनाएको थियो । जोसे लुइस रोड्रिगेजको हेडर क्रसबारमा लागेर फर्किएको थियो भने अन्य केही आक्रमण पनि गोलमा परिणत हुन सकेनन् । इङ्ग्ल्यान्डसँग पहिलो खेलमा ४–२ ले पराजित भएको क्रोएसियाका लागि यो जित नकआउट चरणको सम्भावना जीवित राख्न अत्यन्त महत्वपूर्ण रह्यो।  अनुभवी कप्तान लुका मोड्रिकले आफ्नो अन्तर्राष्ट्रिय करियरको २००औँ खेल खेल्दै टोलीको मध्यपंक्तिलाई नेतृत्व गरेका थिए । यता लगातार दोस्रो हार बेहोरेको पानामा भने समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ । अब अन्तिम खेलमा उसलाई जितसहित अन्य नतिजाको समेत भर पर्नुपर्ने अवस्था बनेको छ । यो नतिजापछि समूह ‘एल’मा क्रोएसियाले पहिलो तीन अंक जोड्दै नकआउट यात्राको आशा कायम राखेको छ भने पानामाको स्थिति थप जटिल बनेको छ ।

इंग्ल्यान्ड र घाना बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इंग्ल्यान्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।  दुबैले समान १-१ अंक बाँडे । इंग्ल्यान्डको ग्रुप तालिकाको शीर्ष स्थानमा छ भने घाना दोस्रो स्थानमा छ ।  पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामालाई १–० गोलले पराजित गरेको थियो ।

चट्याङ, वर्षा र तातो लहरको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम  वर्षा वा हिमपातको सम्भावना  छ । साथै, कोशी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको शानदार जित, रोनाल्डोले गरे २ गोल

काठमाडौं । फिफा विश्वकपअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई पराजित गरेको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को अन्तरले हराएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा गोल गर्दै उनले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा उज्वेकिस्तानका अब्दवोहिद नेमातोवले आत्मघाती गोल गरे । ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो । जितसँगै पोर्चुगल समूह ‘के’ को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । 

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।  अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।  रविको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका थिए ।  रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन । पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ ।

शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४का लागि एक अर्ब ५१ करोड १० लाख ५८ हजारको बजेट पारित गरेको छ ।नगरपालिकाको १२औं नगरसभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।  नगरसभाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ६७ करोड ६२ लाख २७ हजार ४८ रुपैयाँ अर्थात् ४४ दशमलव ७० प्रतिशत र पुँजीगततर्फ ८३ करोड २३ लाख ५६ हजार २५२ रुपैयाँ अर्थात ५५ दशमलव ३० प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ लाख अर्थात् ० दशमलव १६ प्रतिशत बजेट छुट्याइएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३५ करोड ५० लाख १९ हजार ६०, राजस्व बाँडफाँडबाट २५ करोड ६६ लाख १४ हजार २४०, सङ्घीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३६ करोड १७ लाख रुपैयाँ, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ५६ लाख ७७ हजार रुपैयाँ तथा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि १३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । पारित बजेटअनुसार नगरपालिकाका ९ वटा वडाका लागि वडागत योजना सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र वडा नं १ लाई ६० लाख रुपैयाँका दरले कुल चार करोड ६० लाख विनियोजन गरिएको छ ।  साथै वडा कार्यालयको सिफारिसका आधारमा प्रत्येक वडालाई एक करोड रुपैयाँका दरले थप नौ करोड  रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । नगरवासीको आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरिएका नगरस्तरीय पूर्वाधार विकास योजनाका लागि पाँच करोड रुपैयाँ व्यवस्था गरिएको छ ।  यस्तै, साना तथा मझौला योजना वडा कार्यालयको सिफारिसमा सञ्चालन गरिने, मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष तथा प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण र पुनःस्थापनाका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख रमेश नापितले जानकारी दिए ।  नगरसभामा प्रस्तुत बजेटले पूर्वाधार विकास, पर्यटन र कृषि विकास, सेवा प्रवाह सुधार, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको नगर प्रमुख नापितले बताए ।  सौहाद्र्ररूपमा नगरसभा सम्पन्न गरी समससीमाभित्रै बजेट ल्याउन सफल भएकोमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा कर्मचारीलाई उनले धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा नगरप्रमुख रमेश नापितले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख समिता श्रेष्ठले आर्थिक विधेयक प्रस्तुत गरेका थिए । नगरसभामा प्रस्तुत भएका विधेयक तथा अन्य प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

सामाजिक न्यायसहितको उदार अर्थतन्त्र: रास्वपाको महाधिवेशनमा डा. वाग्लेको अर्थ-राजनीतिक प्रस्तावना पेस

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना प्रस्तुत गरेका छन् ।  यो प्रस्तावना यसअघि मंसिर २०८० को महोत्तरी केन्द्रीय समिति बैठक र असोज २०८१ को काठमाडौं राष्ट्रिय भेलामा प्रस्तुत भई परिमार्जनसहित महाधिवेशनमा पेस गरिएको हो ।   रास्वपाले आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गरेको छ । प्रस्तावनामा वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति र विधिको शासनमा आधारित असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने ध्येय राखिएको छ ।  पार्टीले उद्यममैत्री, लगानीअनुकूल एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको विकासका लागि बलियो र स्वच्छ नियमनकारी राज्यसंयन्त्र आवश्यक रहेको औल्याएको छ। नेपालमा व्याप्त लैंगिक, जातीय, वर्गीय र क्षेत्रीयलगायतका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक प्रहार गर्ने प्रतिबद्धता प्रस्तावनामा छ ।   शासकीय सुधारका सन्दर्भमा रास्वपाले वर्तमान संविधानको परिमार्जन गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बबन प्रणाली, दलविहीन स्थानीय तह, स्थानीय तहको सङ्ख्यामा एकतिहाइ कटौती, प्रदेश सभाको खारेजी र संवैधानिक अङ्गहरूको आमूल सुधारजस्ता एजेन्डाहरू अघि सारेको छ ।  आर्थिक उन्नयनका लागि आसेपासे वा मिलिभगत पुँजीवाद (क्रोनी क्यापिटलिज्म) र रेन्ट सिकिङ प्रवृत्तिको अन्त्य गर्दै नवप्रवर्तन र उत्पादकत्व वृद्धिमा जोड दिइने प्रस्तावनामा उल्लेख छ ।  विदेशी सहायताको सट्टा स्वदेशी तथा विदेशी लगानीको समुचित परिचालन गर्ने र विश्वभर फैलिएका नेपाली डायस्पोरालाई पुँजी, सीप र प्रविधिको स्रोतका रूपमा परिचालन गर्न राजनीतिकबाहेकका सबै आर्थिक(सामाजिक अधिकारसहितको नागरिकता पूर्ण कार्यान्वयन गर्ने नीति लिइएको छ ।   परराष्ट्र नीतिका सवालमा रास्वपाले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तका आधारमा स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने जनाएको छ ।  भूराजनीतिक प्रतिस्पर्धाको भुमरीबाट बच्न तटस्थ नीति र सैन्य सहयोगमा रणनीतिक स्वायत्तता अपनाइने प्रस्तावनामा उल्लेख छ। साथै, दक्षिण एसियाभन्दा बाहिर बिमस्टेक, आसियान र युरोपेली सङ्घसँग आर्थिक कूटनीति विस्तार गर्ने र जलवायु कूटनीतिमार्फत नेपाललाई विश्वस्तरमा नेतृत्वदायी भूमिकामा पुर्‍याउने लक्ष्य रास्वपाले अघि सारेको छ ।