काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना प्रस्तुत गरेका छन् ।
यो प्रस्तावना यसअघि मंसिर २०८० को महोत्तरी केन्द्रीय समिति बैठक र असोज २०८१ को काठमाडौं राष्ट्रिय भेलामा प्रस्तुत भई परिमार्जनसहित महाधिवेशनमा पेस गरिएको हो ।
रास्वपाले आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गरेको छ ।
प्रस्तावनामा वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति र विधिको शासनमा आधारित असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने ध्येय राखिएको छ ।
पार्टीले उद्यममैत्री, लगानीअनुकूल एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको विकासका लागि बलियो र स्वच्छ नियमनकारी राज्यसंयन्त्र आवश्यक रहेको औल्याएको छ। नेपालमा व्याप्त लैंगिक, जातीय, वर्गीय र क्षेत्रीयलगायतका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक प्रहार गर्ने प्रतिबद्धता प्रस्तावनामा छ ।
शासकीय सुधारका सन्दर्भमा रास्वपाले वर्तमान संविधानको परिमार्जन गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बबन प्रणाली, दलविहीन स्थानीय तह, स्थानीय तहको सङ्ख्यामा एकतिहाइ कटौती, प्रदेश सभाको खारेजी र संवैधानिक अङ्गहरूको आमूल सुधारजस्ता एजेन्डाहरू अघि सारेको छ ।
आर्थिक उन्नयनका लागि आसेपासे वा मिलिभगत पुँजीवाद (क्रोनी क्यापिटलिज्म) र रेन्ट सिकिङ प्रवृत्तिको अन्त्य गर्दै नवप्रवर्तन र उत्पादकत्व वृद्धिमा जोड दिइने प्रस्तावनामा उल्लेख छ ।
विदेशी सहायताको सट्टा स्वदेशी तथा विदेशी लगानीको समुचित परिचालन गर्ने र विश्वभर फैलिएका नेपाली डायस्पोरालाई पुँजी, सीप र प्रविधिको स्रोतका रूपमा परिचालन गर्न राजनीतिकबाहेकका सबै आर्थिक(सामाजिक अधिकारसहितको नागरिकता पूर्ण कार्यान्वयन गर्ने नीति लिइएको छ ।
परराष्ट्र नीतिका सवालमा रास्वपाले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तका आधारमा स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने जनाएको छ ।
भूराजनीतिक प्रतिस्पर्धाको भुमरीबाट बच्न तटस्थ नीति र सैन्य सहयोगमा रणनीतिक स्वायत्तता अपनाइने प्रस्तावनामा उल्लेख छ। साथै, दक्षिण एसियाभन्दा बाहिर बिमस्टेक, आसियान र युरोपेली सङ्घसँग आर्थिक कूटनीति विस्तार गर्ने र जलवायु कूटनीतिमार्फत नेपाललाई विश्वस्तरमा नेतृत्वदायी भूमिकामा पुर्याउने लक्ष्य रास्वपाले अघि सारेको छ ।