काठमाडौं । फिफा विश्वकपअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई पराजित गरेको छ ।
समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को अन्तरले हराएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
खेलको छैटौँ मिनेटमा गोल गर्दै उनले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।
३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा उज्वेकिस्तानका अब्दवोहिद नेमातोवले आत्मघाती गोल गरे । ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।
जितसँगै पोर्चुगल समूह ‘के’ को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो ।