विकासन्युज

चैतमा ६ बैंकले घटाए ब्याजदर, अधिकतम ५ प्रतिशत पाइने

काठमाडौं । वाणिज्य बैंकहरूको चैतमा पनि ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी विभिन्न ६ बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  चैत महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०८ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । जबकि फागुनमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.५७ प्रतिशत थियो । यस्तै, चैतमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०४ प्रतिशत घटेर ३.२९ प्रतिशतमा झरेको छ । यसअघि फागुनमा संस्थागततर्फ औसत ३.३३ प्रतिशत ब्याजदर थियो । चैत महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैतमा ब्याजदर घटाएका हुन् । यस्तै, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।

विदेशमा रहेका नेपालीले आजसम्म टक्सार पिखुवा खोलाको आईपीओमा आवेदन दिन सक्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १ गते अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

ग्यास सिलिन्डर लुकाउने डिलरलाई ५० हजार जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।   बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि सो कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।  जिल्ला प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, स्थानीय जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका ५ ग्यास डिलरको अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै जरिवाना गरिएको बताए । अनुगमन टोलीले भण्डारी ट्रेडर्समा  भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्न समेत निर्देशन दिएको छ । प्रशासनको अग्रसरतामा आजै बसेको सरोकारवालाको समन्वय बैठकले एलपी ग्यासको बिक्रीवितरणलाई व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ ।  प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्रीवितरण गर्न र बोतल वा जर्किनमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्नसमेत आग्रह गरेको छ । प्रशासनले ज्येष्ठ नागरिक, पूर्ण रूपले अशक्त र अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई ग्यासमा प्राथमिकता दिन बिक्रेतालाई आग्रह गरेको छ । 

बेनी हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आ चैत १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  आयोजना प्रभावितलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थानीय, ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ का स्थानीय र २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सोलुखुम्बुका अन्य क्षेत्रका स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु र प्राइम बैंकको नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सानिगाड हाइड्रोले चैत ८ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ करोड ५० लाख रुपैयाँको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका-१, २ र ४ का स्थानीयलाई १८ लाख ५२ हजार ५ सय कित्ता र आयोजना प्रभावित क्षेत्र बुंगलनगरपालिका-३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयलाई ९ लाख ९७ हजार ५ सय कित्ता सेयर बिक्री गरिनेछ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय बुंगल, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखाबाट आवेदन दिन सक्नेछन् ।  यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १ गते अन्तिम दिन रहेको छ । फागुन १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमा दोलखाको बिगु नगरपालिका-८, कालिन्चोक गाउँपालिका-१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका-८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

बसको क्याबिनमा ढुङ्गा बजारिएपछि तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्ने गरी दुइवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सब इन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुइवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिने गरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताए ।  लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडक खण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठको भनाइ छ ।  शुक्रबार मात्र काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बसको क्याबिनमा ढुङ्गा बजारिएको थियो । यद्यपि चालकको होसियारीले  दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो ।

२.२४ अर्बमा चार लेन सडक बन्दै, धमाधम विद्युत् पोल हटाइँदै

काठमाडौं । घोराही-तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ । घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउने गरी तयारी थालिएको घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका साइड इन्चार्ज भुपेन्द्र बाँठाले बताए ।  ‘सर्रा क्षेत्रमा फिजिकल भेरिफिकेसन गर्ने कार्य भइरहेको छ, त्यसपछि सर्रादेखि घोराहीसम्मका पोल निकाल्छौँ । घोराहीदेखि बेलझुन्डीसम्म साढे चार सय बढी पोल निकाल्नु पर्नेछ,’ उनले भने ।  साइड इन्चार्ज बाँठाका अनुसार चार लेनअन्तर्गत घोराही विरतणको क्षेत्र तुलसीपुर-१८ को बेलझुन्डीसम्म पर्छ । बेलझुन्डीदेखि तुलसीपुरसम्मको कार्यक्षेत्र भने तुलसीपुर वितरण केन्द्रको पर्छ । तुलसीपुर क्षेत्रमा पनि ३०० भन्दा बढी पोल निकाल्नुपर्ने छ । तुलसीपुर क्षेत्रका पनि अबको केही समयमा निकाल्ने तयारी रहेको छ । उक्त सडक खण्डमा ११ केभी र ३३ केभी लाइन रहेका छन् । त्यसका लागि कार्यालयको आदेश आइसकेको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए । साथै सडक बीचमा पर्ने ५९ रुख पनि हटाउने प्रक्रिया अघि बढेको छ । ती रुखमा छपान गर्ने (चिह्न लगाउने) काम भइसकेको उनको भनाइ छ । अबको केही समयमा रुख पनि हटाउने काम हुने प्रमुख विष्टले बताए ।  हाल चार लेनमा पर्खाल निर्माण, कल्भर्ट निर्माण, माटो कटानको काम जारी छ । श्री दिवा-बन्दना भगवती जेभीले सडक स्तरवृद्धिको काम गरिरहेको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भई काम अघि बढेको हो । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचमा मेडिएन र दुवैतर्फ दुई-दुई लेनको हुने उनले बताए ।  सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालका प्रमुख विष्टले बताए । गएको २४ असारमा भ्याटबाहेक २ अर्ब २४ करोड ५६ लाख रुपैयाँमा उक्त सडक चार लेनको काम हुन लागेको हो । उक्त सडक चार लेन बनाउन यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्दपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयअनुसार ३ करोड ९९ लाख ४९ हजार रुपैयाँको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडक बीचमा पर्ने सेवारखोला, हापुरखोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।