विकासन्युज

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ ।  यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल-घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ ।  यस्तै, बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ ।  अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी-विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।  गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए ।  ‘एक्कासी आएको बाढीका कारण मोदी खोलाले एउटा घर पूर्ण रुपमा बगाएको छ भने एउटा रेष्टुेन्टमा क्षति पुगेको छ । पर्यटकीय गाउँ घान्द्रुक जाने सडक बगाएको छ’, अध्यक्ष केसीले भने । स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासी खोलिँदा बाढी आएको आँकलन गरिएको छ ।  स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।  स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ । घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

मुन्द्रा लुट्ने एक जना पक्राउ

काठमाडौं । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ-फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका-९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई  कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई फकाएर दुवै कानको मुन्द्रा लुटिएको थियो ।  स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी तथा कनकाई नगरपालिका-८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको समेत सोही तरिकाले कानको मुन्द्रा लुटिएको थियो । एक महिनायता कनकाई नगरपालिकाभित्र एउटै शैलीमा पाँच बालबालिकाको कानको मुन्द्रा लुटिएको घटना सार्वजनिक भएपछि विशेष निगरानी बढाइएको सूचना अधिकारी अवाले बताए । प्रहरीका अनुसार घटनास्थल आसपासका सिसीटिभी फुटेज र पीडित बालबालिकाको बयानको आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी अभियान तीव्र बनाइएको थियो ।  सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।  साथै, लुटिएका मुन्द्रा बिक्री-वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

कांग्रेस नीति तथा प्रतिष्ठानमा छ उपसमितिका संयोजक चयन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आइतबार (आज) छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेका हुन् ।  उनले अपाङ्गता संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा. डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको बताए ।  यस्तै, सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सिताराम काफ्लेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।  उपसभापति शर्माको अध्यक्षतामा यही असार २५ र २६ गते बसेको बैठकको निर्णयानुसार उनीहरुलाई उपसमितिको संयोजक तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले उपसमिति संयोजकहरुको मनोनयनका साथै प्रतिष्ठानको आगामी कार्यदिशा र विविध विषयमा समेत महत्वपूर्ण निर्णय गरेको सो पार्टीले जनाएको छ ।   

विद्युत मर्मतमा अब ढिलाइ नहुने, कर्णालीमा अत्यावश्यक क्रेन पठाइँदै

काठमाडौं । कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ । गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका बेला सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो ।  सो क्रममा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि मन्त्रीको ध्यानाकर्षण गराएको थियो । अनुगमनपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न भएपछि कर्णाली प्रदेशमा पठाउने निर्णय भएको हो । हालसम्म विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्थाका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको थियो । अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य तीव्र हुने, विद्युत अवरोधको अवधि घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ । ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार र नागरिकलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।

रविलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आइतबार (आज) दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।  उनी निकट स्रोतका अनुसार यो भेट नियमित हो । यसअघि पनि सभापति लामिछानेसँग राजनीतिक र संगठनात्मक कुराहरूबारे छलफल हुने गरेको थियो ।  आजको भेटमा पनि सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

सुकुमवासी समस्याको समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री सुधन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।   ‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ’, गृहमन्त्री गुरुङले भने, ‘यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।’  सुकुमवासीरभूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।  

खामेनी हत्याको बदला लिन ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

काठमाडौं । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भने, ‘बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ ।’ उनले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिएका छन् ।  तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो । यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन ।  पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको सङ्केत पनि छैन । उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा समावेश गरिएको छैन । ‘इन्फोग्राफिक’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेता समावेश छन् । युद्धका क्रममा इरानले युरोपेली मुलुकले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउँदै आएको छ । समाचारका अनुसार मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखा परेका छैनन् । उनका पिता मारिएको आक्रमणमा उनी पनि घाइते भएको बताइएको छ ।

बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं । बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।       श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो ।  श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि ५० हजार रुपैयाँ दिन्छु भन्दै प्रलोभन देखाएका थिए ।  उनले बालिकाको संवेदनशील अङ्गहरू छुने, बालिकाको ह्वाट्सप, इन्सटाग्रामलगायत सामाजिक सञ्जालमा सन्देश तथा भिडियो पठाउने गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए ।  श्रेष्ठलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।