विकासन्युज

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद: उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी आयोगमा आवेदन दिएका थिए । सो आवेदनमाथि आयोगमा सुनुवाइ भएको थियो ।  प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । प्राधिकरणको आग्रह बमोजिम पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले १ लाख ८६ हजार रुपैयाँ बराबर महसुल बुझाइसकेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार उद्योगीको मागदाबी नपुग्ने निर्णय भएको छ । आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने मार्ग प्रशस्त भएको छ । आयोगको निर्णय चित्त नबुझेको अवस्थामा व्यवसायी अदालत जान समेत सक्नेछन् ।  आयोगले निरन्तर रुपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित भएका थिए ।  नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरूपण गर्दै आएको छ  । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्रै आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने भएको छ । पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य उच्चदरले बढिरहेको निगमले जनाएको छ । यसले आपूर्ति प्रणालीमा समेत समस्या सिर्जना गरेको बताइएको छ । निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । नयाँ समायोजनअनुसार तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । त्यसैगरी, पहिलो वर्गका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज आदि) मा पेट्रोल १६९.५० र डिजेल १४९.५० रुपैयाँमा उपलब्ध हुनेछ । दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १७१ र डिजेलको १५१ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यअनुसार समायोजन नगरेमा भारतलाई भुक्तानी गर्नुपर्ने बक्यौता बढ्ने र आपूर्ति प्रणाली नै प्रभावित हुन सक्ने अवस्था रहेको छ । विगतमा पनि मूल्य वृद्धि समायोजन गर्न नसक्दा निगमले ठूलो आर्थिक दायित्व व्यहोर्नुपरेको उल्लेख गरिएको छ । निगमले सार्वजनिक सवारीसाधन तथा ढुवानी क्षेत्रमा असर कम पार्न डिजेलको मूल्य वृद्धि अपेक्षाकृत कम राख्ने रणनीति अपनाइएको जनाएको छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य घटाइने प्रतिबद्धता व्यक्त गरिएको छ । मूल्य वृद्धि पश्चात पनि निगमलाई करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २१६ रुपैयाँले बढेको भए पनि हाललाई यसको बिक्री मूल्यमा कुनै फेरबदल नगरिएको निगमको भनाइ छ । 

रास्वपाका किशोरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, धनुषा–१ बाट मातृका निर्वाचित हुने बाटो खुला

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।  आयोगको निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै साहको उम्मेदवारी औपचारिक रूपमा खारेज भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर्‍याएको हो ।  यसअघि निर्वाचन आयोगले साहको उम्मेदवारी कानुन विपरीत रहेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साह आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चको यो आदेशसँगै धनुषा-१ को निर्वाचन परिणामको अन्योल हटेको छ ।  अदालतले आयोगको निर्णयमा हस्तक्षेप नगरेपछि निर्वाचन अधिकृतको कार्यालयलाई मातृका यादवलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने कानुनी बाटो खुलेको छ ।

राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, भरत गिरीदेखि खुस्बु ओलीसम्म सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुंगो लगाएको हो ।  बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङ लाई सिफारिस गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको हो ।

ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा विद्यार्थी र युवाका लागि वित्तीय साक्षरता आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्ने भएको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा  डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको हो ।  बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसाथ गरी चैत्र १ गतेदेखि ८ गतेसम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।   यसका साथै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत पनि प्रशारण गर्नेछ ।  वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।  कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ मनोनीत

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।  राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ ।  सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी कानुन व्यवसायी हुन् ।

एआई प्रयोग गरेर ऊर्जा क्षेत्रमा समाधान खोज्दै युवा, काठमाडौंमा २४ घण्टे ह्याकथन सुरु

काठमाडौं । स्टार्टअप नेटवर्क नेपालको आयोजना र इम्बार्क कलेजको सहकार्यमा २४ घण्टे कृत्रिम बौद्धिकता (एआई) ह्याकथन सुरु भएको छ । स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले ह्याकथन आयोजना गरिएको हो ।  स्टार्ट अफ नेटवर्क फाउण्डर अफ म्यानेजिङ डिरेक्टर सुदीप रौनियारले आइतबार सुरु भएको ह्याकथन भोलि (सोमबार) साँझसम्म जारी रहने बताए ।  सुदीप रौनियार । पहिलो दिन आइतबार आज दुईवटा टोली भारतीय र बाँकी नेपाली गरी ३५ युवाहरूले सहभागिता जनाएका छन्। टाटा कन्सल्टिङ इन्जिनियर्सका पूर्वअध्यक्ष, टाटा पावरका पूर्वकार्यकारी निर्देशकले सहभागी प्रतियोगीलाई एआईको बढ्दो प्रयोग, युवाहरूले कसरी उपयोग गर्न सक्छन् र टाटा पावरमा कसरी उपयोग गर्न सकिन्छ भन्ने ४० वर्षको अनुभव साटेका छन् । सहभागीहरूले एआईको प्रयोग गरेर विश्वभर ऊर्जा प्रणालीलाई परम्परागत इन्धनबाट स्वच्छ र नवीकरणीय ऊर्जातर्फ कसरी गर्नसक्छन् भन्ने विषयमा आ-आफ्नो आइडिया राख्नेछन् । प्रतिस्पर्धीले सोमबार बेलुकी ५ बजेसम्म एआईको माध्यमबाट न्यूनतम भ्यालुएबल प्रोडक्ट बनाउनेछन् र त्यसलाई मूल्यांकन गरेर एउटा टिमले क्यास प्राइस र क्रेडिट पाउने आयोजकले जनाएको छ ।  रौनियारले आमजनमानसमा एआईसँग सम्बन्धीत चेतना बुझ्नलाई ह्याकथनको आयोजना गरिएको जानकारी दिए । नेपाली युवाहरू आफ्नौ दैनिक जनजीवनमा कत्तिको र कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा पनि यो ह्याकथनबाट जानकारी हुने अपेक्षा आयोजकले गरेको छ । थप तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

फोन गरेपछि घरमै पुग्छ बैंक, सिटिजन्सका २२ हजार ग्राहक ‘प्रिभिलेज बैंकिङ’मा

काठमाडौं । बैंकमा दैनिक हजारौं ग्राहकहरू आउने गर्छन् । तीमध्ये केही ग्राहक उच्च प्रोफाइलका हुन्छन् भने धेरै निक्षेप राखेर नियमित रूपमा कारोबार गरिरहेका हुन्छन् । कतिपय व्यवसायी हुन्छन्, कतिपय समाजसेवी, उच्चपदस्थ व्यक्तित्व वा वृद्धवृद्धा । यस्ता ग्राहकहरूका लागि बैंकमा लामो लाइन बस्ने समय वा सुविधा नहुन सक्छ । केही ग्राहकले आफ्नो बैंकिङ कारोबारमा गोपनीयता कायम गर्न पनि चाहन्छन्  । बैंकिङ सेवामा ग्राहकको अपेक्षा पनि बदलिँदै गएको छ । धेरैजसो ग्राहकहरूलाई छिटो सेवा र झन्झटरहित बैंकिङ सुविधा चाहिन्छ । यसैलाई मध्यनजर गर्दै ग्राहकले चाहेको बैंकिङ सेवा छिटो, छरितो, विश्वसनीय र गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स बैंकले सन् २०१९ मा ‘प्रिभिलेज बैंकिङ सेवा’ सुरु गरेको हो । बैंकले तोकेका निश्चित मापदण्ड पूरा गर्ने तथा निश्चित स्तरको कारोबार गर्ने ग्राहकलाई छनोट गरी यो सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । सिटिजन्स बैंकका रिलेशनसिप म्यानेजर विवेक श्रेष्ठका अनुसार हाल बैंकले देशभरका १५ वटा शाखाबाट प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको हेड अफिस दरबारमार्ग, थापाथली, बौद्ध, न्युरोड, कोटेश्वर, कुमारीपाटी र डिल्लीबजार शाखा तथा उपत्यकाबाहिर झापाको बिर्तामोड, बुटवलको अमरपथ, कालिकानगर, सप्तरीको राजविराज, कास्कीको सिमलचौर, धनुषाको विद्यापति चोक र मोरङको विराटनगर शाखाबाट यो सेवा उपलब्ध रहेको उनले जानकारी दिए । श्रेष्ठका अनुसार प्रिभिलेज ग्राहकहरूसँग नियमित सम्पर्क राख्ने व्यवस्था गरिएको छ । प्रिभिलेज ग्राहकहरूले तोकिएका रिलेशनसिप म्यानेजर वा डीआरओलाई सम्पर्क गरेर सहज रूपमा सेवा लिन सक्ने उनको भनाइ छ । बैंकमा आएपछि उनीहरूलाई लाइन बस्नु नपर्ने गरी सेवा उपलब्ध गराइरहेको उनले बताए ।  ‘ती ठाउँमा हामीले रिलेशनसिप म्यानेजर (आरएम) तोकेर राखेका छौं । साथै, डेडिकेटेड रिलेसनसिप अफिसर (डीआरओ) पनि छुट्याएका छौं,’ उनले भने, ‘ग्राहकहरूलाई प्रत्येक महिना फोन गरेर कुनै समस्या परेको छ कि छैन, कुनै बैंकिङ सेवा आवश्यक छ कि छैन भनेर जानकारी लिन्छौं र आवश्यक समाधान पनि गरिरहेका छौं । होम-बेस सेवा पनि दिइरहेको छौं । ग्राहकले फोन गरेर चेक साटिदिनु पर्यो भन्नु भयो भने हामी घरमै पुगेर सेवा दिन्छौं ।’ हाल प्रिभिलेज बैंकिङ सेवाका लागि १५ वटा शाखामा छुट्टै प्रिभिलेज काउन्टर सञ्चालनमा भएपनि भविष्यमा आवश्यकताका आधारमा थप विस्तार गरिने उनले बताए । प्रिभिलेज बैंकिङ सेवा उपलब्ध नभएका शाखाको हकमा शाखा म्यानेजरसँग भेट गरी लाइन नबसी छिटो सेवा पाउने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । हाल सिटिजन्स बैंकका करिब २० लाखभन्दा बढी ग्राहक छन् । तीमध्ये २२ हजारभन्दा बढी ग्राहकले प्रिभिलेज बैंकिङ सेवा उपभोग गरिरहेका छन् । मोबाइल बैंकिङमै प्रिभिलेज ग्राहक भनेर आरएम र डीआरओको नाम समेत राखिएको हुन्छ । ग्राहकहरूले तोकिएका रिलेशनसिप म्यानेजरमार्फत बिना झन्झट सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ । ‘प्रिभिलेज बैंकिङ’ सेवाका लागि को-को योग्य छन् ? सिटिजन्स बैंकका करिब २०० शाखा रहेका छन् । शाखाको प्रकृति र कारोबारका आधारमा विभिन्न क्याटेगोरीमा वर्गीकरण गरिएको छ । ‘काठमाडौंभित्रका शाखा एउटा क्याटेगोरीमा राखिएको छ भने उपत्यकाबाहिरका शाखामा स्थान र कारोबारअनुसार छुट्टै क्याटेगोरीमा राखिएको छ,’ श्रेष्ठले भने ।  उनका अनुसार काठमाडौं उपत्यकाभित्रका शाखामा बचत तथा मुद्दती खातामा पछिल्लो ६ महिनाको औसत ५० लाख रुपैयाँभन्दा बढी निक्षेप भएका तथा हाल कम्तीमा ३० लाख रुपैयाँ मौज्दात भएका ग्राहकले प्रिभिलेज सेवा पाउँछन् ।  यस्तै, उपत्यकाबाहिरका ‘ए’ देखि ‘सी’ क्याटागोरीका शाखामा ६ महिनाको औसत ३० लाख रुपैयाँभन्दा बढी निक्षेप राखेको र हाल २५ लाख रुपैयाँ मौज्दात भएका ग्राहक प्रिभिलेज बैंकिङ सेवाका लागि योग्य हुन्छन् । साथै ‘डी’ तथा ‘ई’ क्याटागोरीका शाखाको हकमा भने ६ महिनाको औसत २० लाख रुपैयाँ निक्षेप र न्यूनतम १५ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ । श्रेष्ठका अनुसार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका ग्राहक, बैंकका वर्तमान तथा पूर्व सञ्चालक, कर्पोरेट वा सरकारी संस्थाका उच्च पदस्थ अधिकारीहरू प्रिभिलेज बैंकङ सेवाका लागि योग्य हुने छन् । विदेशी मुद्रामा खाता सञ्चालन गर्ने र खातामा कम्तीमा ३ हजार अमेरिकी डलर मौज्दात राख्ने ग्राहक पनि योग्य हुने छन् ।  साथै वार्षिक ४ करोड रुपैयाँभन्दा बढी कारोबार हुने बचत खाताधारक तथा वर्षमा कम्तीमा १५ वटा क्रेडिट कारोबार गर्ने ग्राहकलाई पनि यस सेवाका लागि योग्य हुनेछन् । त्यस्तै औसत ५० लाख रुपैयाँभन्दा बढी मौज्दात भएका कम्पनी सञ्चालक वा व्यवसायी तथा लगातार ६ महिनासम्म मासिक १ लाख रुपैयाँभन्दा बढी तलब पाउने तलब खाताधारकहरू पनि प्रिभिलेज ग्राहक बन्न सक्छन् ।  संस्थागत ग्राहकतर्फ औसत १० लाख रुपैयाँभन्दा बढी मौज्दात हुने चालु खाताधारक कम्पनी, कम्तीमा ५ हजार अमेरिकी डलर मौज्दात भएका विदेशी मुद्रा खाताधारक तथा कम्तीमा २० जना कर्मचारीका लागि तलब खाता सञ्चालन गर्ने पेरोल ग्राहकहरूलाई पनि प्रिभिलेज बैंकिङ सेवामा समेटिने बैंकले जनाएको छ । रकमका आधारबाहेक सामाजिक प्रतिष्ठाका आधारमा पनि प्रिभिलेज बैंकिङ सेवामा छनोट गरिने श्रेष्ठले बताए । उनका अनुसार व्यवसायी, समाजसेवी, ठूलो संस्थाका सञ्चालकगायत विभिन्न मापदण्ड पूरा गर्ने ग्राहकहरूलाई पनि प्रिभिलेज सेवा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार २५ हजारभन्दा बढी सेयर धारण गरेका सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरू पनि प्रिभिलेज सेवाका लागि योग्य हुने उनले बताए । साथै वर्षौंदेखि बैंकसँग कारोबार गरिरहेका केही ग्राहकहरूलाई पनि यस सेवामा समावेश गरिएको छ । श्रेष्ठका अनुसार प्रिभिलेज बैंकिङ सेवामा अतिरिक्त शुल्क लाग्दैन । अन्य ग्राहकलाई जस्तै सेवा शुल्क तोकिएको भए पनि प्रिभिलेज ग्राहकलाई केही विशेष सुविधा प्रदान गरिएको छ । प्रिभिलेज बैंकिङ सेवा उपभोग गरिरहेका बैंकका ग्राहकलाई भारतको मेदान्त हस्पिटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।  ‘एटीएम, मोबाइल बैंकिङ, भिजाकार्डमा पहिलो वर्ष निःशुल्क सेवा दिइन्छ । साथै डलर साटफेर तथा लकर सेवामा पनि विशेष छुट उपलब्ध गराइन्छ,’ उनले भने ।