विकासन्युज

१५ प्रतिशत ब्याज तिर्नु भएको छ भने राष्ट्र बैंक आउनुस्, फिर्ता गराउँछौं : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीहरूले १५ प्रतिशत ब्याज तिरेको भए राष्ट्र बैंकले फिर्ता गराउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यदि कसैले १५ प्रतिशत ब्याज तिरेको भए राष्ट्र बैंकले फिर्ता गराउने बताएका हुन् । ‘हामीले सेक्टरवाईज अध्ययन गरेका छौं, ८/९ प्रतिशतमा लोन लिने व्यवसायी धेरै छन्, यदि कसैले १५, १६ वा १७ प्रतिशत ब्याज लिएका छन् भने राष्ट्र बैंक आउनुस्, बढी लिएको ब्याज हामी फिर्ता गराउँछौं’- उनले भने । क्षमता भन्दा बढी कर्जा लिनेहरु समस्यामा परेको उनको टिप्पाणी छ । ‘केही व्यवसायीलाई समस्या छ, आफ्नो घाँटी नहेरी हड्डिको साईज लिनुहुन्छ र राज्यलाई दोष दिनुहुन्छ,’ उनले थपे । राष्ट्र बैंकले ब्याजदर बजारलाई छोडेको र स्प्रेडदर ४ प्रतिशत झार्न निर्देशन दिएको उनले बताए । एनपीए र कर्जा गुणस्तरमा समस्या बैंकिङ सिस्टम सुरक्षित र साउन्ड भएको उनले बताए । अर्थतन्त्र संरचनात्मक रुपमा समस्यामा रहेको र रेमिट्यान्सले धानेको उनको भनाइ छ । आन्तरिक उत्पादनलाई बढाउने काम राज्यको तर्फबाट प्रयास भएपनि पर्याप्त नरहेको उनले बताए । उनले अर्थतन्त्री र गभर्नर बिचको सम्बन्धमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुने धारणा राखेका छन् । ‘बैकिङ क्षेत्रमा सुधार आइरहेको छ, ब्याजदर घटिरहेको छ, यसले आर्थिक क्षेत्र चलायमान बनाउने अनुमान छ, तरलताको समस्या समाधान भएको छ,’ उनले भने ।

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १९ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

अर्थतन्त्रमा समस्या हुँदाहुँदै पनि सरकार र राष्ट्र बैंकले स्वीकारेनन् : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रमा समस्या हुँदाहुँदै पनि सरकार र राष्ट्र बैंकले अस्वीकार गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अग्रवालले सो बताएका हुन् । ‘कोभिड संक्रमणसँगै समस्या शुरु भएको अर्थतन्त्रमा समस्या समाधान भैसकेको छैन, समस्या हुँदाहुँदै पनि सरकार र राष्ट्र बैंकले स्वीकार गरेका छैनन्, प्रश्न गर्दै उनले भने- ‘सरकारले किन जिडिपी प्रकाशन गरेको छैन ?’ उनले भने । लगातार तीन त्रैमासिक अवधिमा आर्थिक वृद्धि नकारात्मक भएता पनि त्यसको राष्ट्र बैंकमा पुनर्संरचना गर्नुपर्ने अग्रवालले बताए । उनले पहुँचका आधारमा भन्दा क्षमताका आधारमा सञ्चालक नियुक्ति गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताउँदै मौद्रिक नीतिको लागि छुट्टै विशेष समिति बनाउने अभ्यास गर्नुपर्ने उनको भनाई छ । ‘राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टतर्फ लागेको जस्तो देखिन्छ, बैंकहरु आफैँ सक्षम छन्, अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी सरकारको हातमा छ, समस्या समाधान पशुपतिनाथले गर्छन् भनेर हुँदैन,’ उनले भने ।

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे । उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरुको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गरेका थिए । त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यका बारेमा पनि छलफल गरेका थिए । अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय,  विभाग एवं निकायका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारीको सहभागिता थियो ।

देउवाले गृह जिल्ला डडेल्धुरामा गरे एमाले अध्यक्ष ओलीको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्लामा स्वागत गरेका छन् । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई सभापति देउवाले डडेल्धुरामा स्वागत गरेका हुन् । अभियानको सिलसिलामा देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले सोही ठाउँबाट देउवालाई मोबाइलमार्फत् कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् । साथै, सभापति देउवाले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भएको अध्यक्ष ओलीले जानकारी दिए । देउवासँग भिडियो कल गरेको भिडियो पोस्ट गर्दै ओलीले भने, ‘सुन्दर डडेलधुरा, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो, उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो, धन्यवाद शेरबहादुरजी ।’ ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको सभापति देउवालाई जानकारी दिन्छन् ।

मनकामना स्मार्ट लघुवित्तका सेयरधनीको हात खाली, छैन लाभांश प्रस्ताव

काठमाडौं । यो वर्ष मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले २०८० असार मसान्तको वासलात, गत आवको नाफा नोक्सान लगायतका वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाले पारित गर्ने छ । संस्थाले यसअघि दुई वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेको छ । संस्थाले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश (नगद लाभांशसहित) र आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १७ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गरेको थियो ।

ईयुको २०२२ मा रक्षा खर्च इतिहासकै उच्च

काठमाडौं । युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ । बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो । इडिए डिफेन्स डाटा २०२२ प्रतिवेदनअनुसार यो संख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो । २७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रिय हबको रूपमा कार्य गर्दछ ।

मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले गरे नेपाल भ्रमण

काठमाडौं । मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले नेपाल भ्रमण गरेका छन् । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्तासँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा भाग लिए। यसले नेपालमा मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष हुन् । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे, र उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य हुन् र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष छन् ।