विकासन्युज

सेजन अवार्ड दाहाल र भट्टराईलाई, विभिन्न विधामा ५ जना सम्मानित

काठमाडौं । यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई यो अवार्ड प्रदान गर्दै आएको छ । कान्तिपुर दैनिकमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणबारेको समाचार लेखनका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिए । भोला चालिसे लिबरल जर्नलिजम अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन ब्रोडकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेल, सेजन डिजिटल मिडिया अवार्ड क्लिकमाण्डुका राजेश बर्मा र सेजन छापा माध्याम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवरलाई प्रदान गरिएको छ । ‘स्व सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई उपलब्ध गराइएको छ । सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ । रासस

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा संस्थाको थप ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

नौ हजार भूकम्पपीडितले पाए २२ करोड

काठमाडौं । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले राससलाई जानकारी दिए । पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म रु दुई करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो । प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि रु २८ लाख, रुकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि रु २१ करोड ४६ लाख २५ हजार र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु ३५ लाख ५० हजार रकम निकासा गरिएको हो । सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिए।

विजय लघुवित्तका संचालक र कर्मचारीले गरे भूकम्प पीडितलाई १५ लाख रुपैयाँ सहयोग

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ । लघुवित्त संस्थाले सञ्चालक समितिदेखि कर्मचारीहरूबाट सहयोग संकलन गरेर पीडित सदस्यहरुलाई नगद सहयोग गरेको जनाएका छ । सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । सीईओ लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिम जिल्लाको आठविसाकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको हो । भूकम्प पीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीहरुले एक दिनको तलब गरी करिब ६ लाख रुपैयाँ योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीहरुबाट संकलित रकमममा नपुगेको रकम संस्थाले हालेर करिब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए । उनका अनुसार पीडितलाई वर्गीकरण गरी परिवारका सदस्य निधन भएको सदस्यलाई २० हजार रुपैयाँसम्मका दरले वितरण गरिएको छ । साविकको विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर गत ३१ असारमा विजय लघुवित्त वित्तीय संस्था बनेको थियो । विजय लघुवित्तका देशभर १४७ शाखा सञ्जाल छन् भने करिब १,४३,००० ग्राहक सदस्यहरु रहेका छन् । जाजरकोटमा मात्रै खलंगा र बारेकोट गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

अबको निर्वाचनमा विश्वभर छरिएका नेपालीले भोट हाल्न पाउने व्यवस्था गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताए । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताए । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ । दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी गराएका थिए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए । सो अवसरमा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्नसकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

भूकम्प प्रभावितको अस्थायी आवासको लागि जाजरकोटमा पहिलो किस्ता वितरण सुरु

जाजरकोट। भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए। उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु आठ करोड २७ लाख २५ हजार पठाइएको छ। पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए। ‘वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्’, उनले भने, ‘त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।’ लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए। विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए। शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ। जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ । तीसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित ‘द वेस्टमिन्स्टर कलेज’ले यूकेको दुई शैक्षिक पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएको हो । सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्नको लागि वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लेखित पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको हो । प्रविधिको क्षेत्रमा नविनता र आविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य स्वरुप पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको कलेजको भनाई छ । वेस्टमिन्स्टर कलेजका प्रमुख अरुण लाल जोशीले यी पाठ्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने उत्साह व्यक्त गर्दै भने, ‘हामीले बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएर शिक्षा मात्रै प्रदान गरिरहेका छैनौं, डिजिटल नेपालको भविष्यलाई समेत आकार दिइरहेका छौ।’ कलेजले सम्भावित विद्यार्थी र उनीहरुको परिवारहरूलाई यी परिवर्तनकारी शैक्षिका कार्यक्रमहरूले डिजिटल युगमा फस्टाउँदो करिअरको लागि मार्ग प्रशस्त गर्ने प्रतिज्ञा गरेको छ । लण्डनस्थित वेस्टमिन्स्टर युनिभर्सिटी, क्यूएस वल्र्ड विश्वविद्यालय र्याङ्किङ्ग– २०२४ मा ७११–७२० मा परेर सिल्भर रेटिङ पाएको छ । विद्यार्थीहरुको शैक्षिक अनुभव र विद्यार्थीहरुको नतिजाको आधारमा सिल्भर रेटिङ पाएको हो । यस विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुले चार वर्षको डिग्री प्राप्त गर्छन् । त्यस्तै, उनीहरुले ई–लाइब्रेरी, ब्ल्याकबोर्ड प्लेटफर्मका साथै समृद्ध शैक्षिक अनुभवसम्मको पहुँच प्राप्त गर्छन् । कम्प्युटर साइन्स विषय व्यापक ज्ञानसँग विद्यार्थीहरुलाई हरेक ढंगले तम्तयार पार्नको लागि डिजाइन गरिएको छ, यसमा कम्प्युटर साइन्सबारे बृहत ज्ञान, सफ्टवेरको विकास, आर्टिफिसियल इन्टिलिजेन्स, डेटा एनालिटिक्स लगायतका क्षेत्रहरू समेटिएका छन् । यो पाठ्यक्रम विश्वव्यापी उद्योगका आवश्यकताहरु पूरा गर्न र प्राविधिक क्षेत्रका विविध भूमिकाका लागि विद्यार्थीहरु तयार पार्न सक्षम छ । त्यस्तै, कलेजले प्रदान गरेको अर्को विषय साइबर सेक्युरिटी एण्ड फोरेन्सिक कार्यक्रम साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको महत्वपूर्ण पक्षहरूमा केन्द्रित रहेको छ । यो विषयले डिजिटल एसेस्ट्सहरुको सुरक्षा गर्ने र साइबर अपराधहरूको अनुसन्धान गर्ने जनशक्तिहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ। विश्वव्यापी रूपमा साइबरसुरक्षा विज्ञहरुको बढ्दो मागलाई पुरा गर्नको लागि यस विषय महत्वपूर्ण छ ।

मौद्रिक नीतिको समीक्षा नगरे पनि हुन्छ, अर्थमन्त्रीसँग कुनै विवाद छैन

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । कतिपयले अर्थतन्त्र ठूलो समस्यामा गयो भनेर धारणा राखिरहेका छन् भने कतिपयले त्यति धेरै समस्या छैन पनि भनिरहेका छन् । नकारात्मक विषयलाई अगाडि ल्याउने चलन समाजमा व्याप्त छ । यर्थात भएको कुरालाई क्यास नगर्ने समाजको प्रवृति छ । हो, अर्थतन्त्र संरचनात्मकरूपमा समस्यामा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । हामी धेरैभन्दा धेरै रेमिट्यान्समा निभर्नर हुन थालेका छौं । आन्तरिक उत्पादनलाई बढाउने काम राज्यको तर्फबाट प्रयास भइरहेको छ । तर, पर्याप्त छैन । अब सबैको सहकार्य र समन्वयले आन्तरिक उत्पादनलाई बढाउनु पर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकतामा दिनु पर्छ । सरकारले पनि सोही किसिमको नीति अघि सार्नु पर्छ । कहिलेकाहीँ अर्थमन्त्री र गभर्नरबीच मनमुटाव भएको, विवाद भएको लगायत विषयहरू बाहिर आउने गरेका छन् । तर, हामीबीच कुनै समस्या छैन । राज्यका चारवटै क्षेत्रमा समस्या छैन । बैंकिङ क्षेत्रको स्थायित्व जरूरी हुन्छ । त्यसमा लागि हामी काम गरिरहेका छौं । पछिल्लो समय खराब कर्जा र कर्जाको गुणस्तरमा पनि समस्या देखिरहेको छ । यो कारण भनेको केही कसिलो नीति लिएर पनि हो । त्यो, स्वभाविक हो, यस्तो अवस्थामा केही कडाइ पनि गर्नु पर्छ । अहिले नेट एनपीए डेढ प्रतिशतभन्दा माथि पुगेको छैन । बैंकिङ प्रणाली सुरक्षित र साउण्ड छ । यस्तै, केही समयअघि हामीले भोगेको समस्या हो विदेशी मुद्राको सञ्चितीको । वाह्य क्षेत्रका विषयमा हामी केही चिन्तित थियौं । अहिले हामीसँग १२ महिना भन्दा धेरै समयको वस्तु आयात गर्नसक्ने क्षमता छ । राज्य र निजी क्षेत्रले काम गर्न खोज्दा कुनै अप्ठ्यारो नहुने अवस्था छ ।हामीसँग प्रयाप्त मात्रामा विदेशी मुद्राको सञ्चिति छ । वास्तविक क्षेत्र हेर्दा पर्यटनको अवस्था राम्रो छ । केही व्यवसायीलाई समस्या छ । तर, त्यो समस्याको कारण पनि हामलिाई थाहा छ । आफ्नो घाँटी नहेरी हड्डिको साईज लिनुहुन्छ र राज्यलाई दोष दिनुहुन्छ ? हामीले क्षेत्रगतरूपमा अध्ययन गरेका छौं । ८/९ प्रतिशत ब्याजमा कर्जा लिने व्यवसायी धेरै छन् । यदि कसैले १६/१७ प्रतिशत ब्याज लिएका छन भने राष्ट्र बैंक आउनुस् । हामी बढी लिएको ब्याज फिर्ता गराउँछौ । हामीले ब्याजदर बजारलाई छोडेका छौं । माइक्रोम्यानेजमेन्ट गरेका छैनौं । राष्ट्र बैंकले ४ प्रतिशतको स्प्रेडमा बैंकहरूलाई दिइएको छ । आर्थिक वृद्धिदरको विषयमा पनि बहस हुन्छ । त्यो बहस हुनु स्वभाविक हो । गत साल हाम्रो आर्थिक वृद्धिदर कम रह्यो यो वर्ष बिगत १० वर्षको औसतभन्दा कम हुँदैन । वित्तीय क्षेत्रमा राजस्व कम उठ्यो भन्ने विषय पनि छ । बजार सिफ्ट भैरहेको छ । बजार अनलाइन बिजनेसमा गइरहेको छ । गाडीबाट आउने राजस्व कम उठेको छ । हामीले ईभीलाई प्रोत्साहन गरिरहेका छौँ । सिथिलताको अवस्थामा इन्टरभेन्सन गर्ने भनेको खर्चमा नै हो । मौद्रिक नितिलाई दोष दिने काम भैरहेको छ । मौद्रिक नितिको आफ्नै सीमा हुन्छ । हामी सबैको धारणा बदल्न जरूरी छ । अहिले कुनै पनि काम गर्न बैंकसँग प्रयाप्त स्रोत छ । अहिले लगानी नभएकोले हामीले बैंकबाट १ प्रतिशत ब्याजमा मा लिनु पर्यो । हुन त राष्ट्र बैंकको नीतिको विरोध गरिरहनुभएको छ, सबैले भन्दिनुपर्यो कुनचाहीँ बुँदा के गर्नु पर्ने हो । पछिल्लो समय मौद्रिक नीतिको समिक्षा भएन भन्ने काम भएको छ । त्यो समीक्षा नगरे पनि हुन्छ । तर, ढिलो गर्दा केही डाटा पनि आएका छन् । राष्ट्र बैंक आफ्नो उदेश्यभन्दा बाहिर छैन । रिफर्मको प्रक्रियामा छ । हामीले पनि नयाँ समिति बनाएर अगाडि बढ्ने काम गरिरहेका छौं । (गभर्नर अधिकारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)