थामिएन बजारको पहिरो, १६१ कम्पनीको सेयर मूल्य घट्दा सबैभन्दा बढी विशाल बजारको
काठमाडौं । करिब एक सातादेखि सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । मंगलबारको बजारमा पनि सेयर मूल्य मापक नेप्से परिसूचक दोहोरो अंक अर्थात १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटी हो । बजारमा नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ । सोमबार एक अर्ब १९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी माउन्टेन इनर्जी नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ४२.७० रुपैयाँले घटेर प्रतिकित्ता ४३४.९० रुपैयाँमा झरेको छ । मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । ६२ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । बजारमा सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २५ रुपैयाँले बढी हो । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.५३ प्रतिशतले घटेर प्रतिकित्ता ३४१० रुपैयाँमा झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३५९.४० रुपैयाँले घटी हो ।
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिए । डा शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । उनले भने, ‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले युएसएफडए मान्यता समेत पाएको छ ।’ म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलब्ध हुने गरेपनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको छ । डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाखभन्दा बढी पर्छ ।
टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा
काठमाडौैं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो । अदालतले उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो । टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।
दाबी भुक्तानीमा ढिलाइ गर्ने बीमा कम्पनीलाई कारबाही गर्न मुख्यमन्त्री चौधरीको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज राप्ती उपत्यका (देउखुरी)स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तर्क्रिया एवं छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरुलाई कारबाही गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् । उनले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बद्नाम हुन नदिन आग्रहसमेत गरे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि प्रदेश बीमा नीति ल्याउनु आवश्यक भएको औंल्याउँदै बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । उनले भने, ‘बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिक रूपमा कार्य गर्दै आएको छ, आम नागरिकलाई सहज रूपमा बीमा सेवा पुर्याउन जोड दिइएको छ।’ कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिँदै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन कार्य भइरहेको जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुले बीमा गर्न बीमा अभिकर्ता घर घरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरुले ढिलाइ गर्ने वा नदिने गरेको गुनासो आउने गरको, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कुषिबीमा विस्तार नभएको, हरेक स्थानीय तहसम्म बीमकका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गरे। यसैगरी, बीमा कम्पनीहरुले कम्पलसरी बीमाबाहेक अन्य बीमा गर्न नमानेको, लम्पीस्किन रोगका कारण क्षति भएका गाई, भैंसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएकोलगायतका धारणा सहभागीहरुले राखेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरु, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए।
१३ अर्ब डलर ऋण बोकेको ट्वीटर टाट पल्टिन लागेको हो ?
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यापारी इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्न करिब १३ अर्ब अमेरिकी डलर ऋण लिएका थिए । सोसल मिडिया कम्पनी ट्वीटर (हाल एक्स) को प्रत्येक वर्ष उक्त ऋणको ब्याजका रूपमा १ अर्ब २० करोड डलर चुक्ता गरिरहनुपर्छ । पछिल्ला केही दिनदेखि ठूला विज्ञापनदाताहरूले सामाजिक सञ्जाल साइट एक्स छाडिरहेका छन् । अब एक्सले ऋणको ब्याज तिर्न वा कर्मचारीको तलब भुक्तानी गर्नका लागि आवश्यक पैसा उठाउन संघर्ष गरिरहेको छ । आइतबारको एक रिपोर्टमा सोसल मिडिया साइट एक्स टाट पल्टिन सक्ने जानकारी दिइएको छ । रिपोर्टमा भनिएको छ कि मस्क एक्सलाई यस अवस्थाबाट बचाउन कडा प्रयास गरिरहेका छन् । तर, यदि ठूला विज्ञापनदाताहरू यसरी नै भागे भने सोसल मिडिया एक्सलाई टाट पल्टिनबाट जोगाउन सकिँदैन । करिब ४४ अर्ब डलरमा किनेको सामाजिक सञ्जाल ट्वीटर टाट पल्टिन लागेको खबर धेरैलाई मन नपर्ला, तर यो सम्भव भएको बजारका विज्ञहरू बताउँछन् । डिज्नी र एप्पलजस्ता कम्पनीहरूले सोसल मिडिया साइट एक्समा विज्ञापन गर्न अस्वीकार गरेका छन् र यसबाट रिसाएर मस्कले पनि गत साता सोसल मिडियामा आफ्नो रिस पोखेका थिए । रिटेल टिकेटिङ कम्पनी वालमार्टले पनि एक्समा विज्ञापन नगर्ने घोषणा गरेको छ । वालमार्टका प्रवक्ताले भनेका छन्, ‘हामी एक्समा विज्ञापन गर्न गइरहेका छैनौं किनभने हामीले हाम्रा ग्राहकहरूमाझ अझ राम्रोसँग पुग्न अन्य मिडिया प्लेटफर्महरू प्रयोग गरिरहेका छौं ।’ सोसल मिडिया एक्स छाड्ने ब्रान्डहरूबारे कुरा गर्दा यसमा एप्पल, डिज्नी, आईबीएम, कमकास्ट र वार्नर ब्रदर्स आदि पर्छन् । अब डिस्कभरी पनि ती कम्पनीहरूमा सामेल भएको छ जुन अब एक्समा विज्ञापन गर्न इच्छुक छैन । गत वर्ष एक्सको ९० प्रतिशत राजस्व यी कम्पनीहरूबाट आएको थियो । यस वर्ष उनीहरूबाट पैसाको अपेक्षा गरिएको छैन । मस्कले धेरैपटक चेतावनी दिएका छन् कि यदि ठूला विज्ञापनदाताहरूले एक्स छाडे भने यो एक्सका लागि दुखद खबर हुन सक्छ । मस्कले सोसल मिडिया जाइन्ट असफल भए यसको मुख्य कारण केही विज्ञापनदाताले बहिष्कार गर्ने भएकाले सोसल मिडिया जाइन्ट टाट पल्टिन सक्ने खतरा रहेको बताए ।
दि नेपाल डिस्टीलरिजले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ल्याउँदै
काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । कम्पनीका अनुुसार ४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरुको आकर्षण छ। अन्तशुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री छ । यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । ‘नेपाली मदिरा बजारमा ४० यूपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ । त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्ताहरुलाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं ।’ लामिछानेले भने–‘दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताहरुको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० यूपी सेगमेन्टको ह्वीस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने घोषणा गर्दछौं ।’ नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरु खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् । लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’ नेपालबाट विभिन्न देशमा सबैभन्दा बढी निर्यात हुने मदिराजन्य उत्पादन हो । यसले लामो समयदेखि विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए । उनले भने, ‘परिवारका अरू सदस्य काठमाडौँ गयो । हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म ।’ हिमपात भएपछि चिसो बढेको उनले बताए। त्यसैगरी, मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएका बताए । उनले भने ‘अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ । हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घरबाहिर निस्कनै मुस्किल भएको छ ।’ किसान गुरुङका अनुसार चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयवासीमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुसी भएका हुन् । यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए । उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे । सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ । हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित, कहिले छ अर्को पेसी ?
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसलेलको कर विवादसम्बन्धी मुद्दा स्थगित भएको छ । ठूला ठूला करदाता कार्यालयको निर्णयविरुद्ध दायर गरेको मुद्दा मंगलबार सर्वोच्च अदालतमा स्थगितको सूचीमा परेको हो । जुन आज सुनुवाइका लागि पेशी तोकिएको थियो । तर मंगलबार कुनै पनि न्यायाधीशले गोला तान्ने क्रममा एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दाको पेशी सूची नतानेपछि उक्त मुद्दा मंगलबार पनि स्थगितमा परेको हो । यससँगै अब उक्त मुद्दाको अर्को पेसी सर्वोच्चले फागुन १५ गतेलाई तोकेको छ । आजियटाले २०७२ साल चैतमा स्वीडिस दूरसञ्चार कम्पनी टेलियासोनेरासँग एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा खरिद गरेको थियो । सोही खरिद प्रकृयामा नै एनसेलले सरकारलाई बुझाउनुपर्ने लाभकरको विषयमा ठूला करदाता कार्यालयले दाबी गरेपछि एनसेल सो को विरुद्धमा सर्वोच्च अदालत गएको थियो । एनसेलले आफूमाथिको ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण तत्काल रोकिपाउँ भन्दै करिब तीन वर्षअघि सर्वोच्चमा रिट दायर गरेको थियो । एनसेलले कर निर्धारण विरुद्ध लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट (आईसीएसआईडी)मा पनि मुद्दा दायर गरेको थियो । सो मुद्दामा भने एनसेलको दाबीमाथि सुनुवाई गर्दै गत जुनमा खारेज गरिदिसकेको छ । एनसेलले दायर गरेको मुद्दा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताकोमा विचाराधीन रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट निवेदन माथिको सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै आएको थियो । अन्तर्राष्ट्रिय मध्यस्थकर्ताबाट विवाद टुंगिइसकेकोले सर्वोच्चले पनि सो मुद्दालाई अब टुंग्याउने अनुमान गरिएको छ ।