एनसेलबाट आजियाटाले लग्यो साढे ६६ अर्ब रुपैयाँ लाभांश
काठमाडौं । एनसेलको विदेशी साझेदार आजियाटाले नेपालबाट ६६ अर्ब ८० करोड रुपैयाँ लाभांश लगेको छ । नेपाल राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको तथ्यांक अनुसार आजियाटाले ६ आर्थिक वर्षमा कुल ६६ अर्ब ८० करोड ८५ लाख ४५ हजार रुपैयाँ लाभांश लगेको हो । सुरुवाती वर्षहरूमा कम्पनीले २३ अर्ब रुपैयाँसम्म लाभांश लगेको भएपनि पछिल्लो वर्षहरूमा भने त्यो रकम घटेको तथ्यांकले देखाउँछ । आजियाटाले आर्थिक वर्ष २०७३/७४ मा एनसेलमा गरेको लगानीबापत् ८ अर्ब ३६ करोड रुपैयाँ लाभांश लगेको छ भने आर्थिक वर्ष २०७४/७५ मा २३ अर्ब ५० करोड ५२ लाख ८० हजार रुपैयाँ लाभांश रकम फिर्ता लगेको छ । यस्तै, आर्थिक वर्ष २०७५/७५ मा लाभांश रकम करिब आधाले घटेर १२ अर्ब ५४ करोड रुपैयाँ झरेको देखिन्छ भने आर्थिक वर्ष २०७६/७७ मा लाभांश नै लगेको देखिँदैन । तर, त्यो वर्ष एनसेलले ४६ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा आजियाटाले १३ अर्ब ९७ करोड १८ लाख ४० हजार, आव २०७८/७९ मा ४ अर्ब ७७ करोड ७२ लाख १९ हजार र आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ६५ करोड ४२ लाख ६हजार रुपैयाँ लाभांश फिर्ता लगेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आजियाटाले एनसेलबाट पाउने लाभांश रकम वर्षेनी घट्दै जाँदा र व्यवसाय विस्तारमा पनि अनेक समस्या झेल्नुपर्दा कम्पनी निरुत्साहित भएर बाहिरिएको हुन सक्ने धारणा राष्ट्र बैंक स्रोतको छ । सेयर बेचेपनि लाभांश पाउने आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका विदेशी नागरिक सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बिक्री गरेका छन् । विशेषतः एनसेलमा आफ्नो खर्ब बढी सम्पत्ति रहेको आजियाटाले ८० प्रतिशत सेयर साढे ६ अर्बमा बिक्री गर्दा यसभित्रको रहस्यको विषयमा सबैको चासो बढ्न थालेको छ । सडकदेखि सदनसम्मको चासोको विषयकारूपमा एनसेलको सेयर खरिद बिक्रीलाई लिइएको छ । सन् २०१६ मा तत्कालीन टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर पाँच करोड अमेरिकी डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा बिक्री भएको छ । चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा बेच्नु अस्वभाविक पक्कै पनि हो । तर, सस्तैमा बिक्री गरेपनि दुई कम्पनीबीच लाभांश आजियाटचाले पाउने सअमति भएको छ । एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । लाइसेन्सको अवधिभरको लाभांश आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजियाटाकै हुने गरी दुई कम्पनीबीच समझदारी भएको हो । दुई कम्पनीबीच भएको समझदारी अनुसार २०२३ को ८० प्रतिशत लाभांश आजियाटाले पाउनेछ । २०२४ र २०२५ मा ४० प्रतिशत, सन् २०२६ र ०२७ मा ३० प्रतिशत र सन् २०२८ र ०२९ मा २० प्रतिशत लाभांश पाउने दुई कम्पनीबीच सहमति भएको छ । यसबापत् पनि आजियाटालाई फाइदा नै हुने देखिन्छ । यस्तो छ आम्दानी वि.स २०७२ चैत ३० गते नेपाली बजारमा बजारमा प्रवेश गरेको आजियाटा सुरुवाती वर्षहरूमा राम्रै आम्दानी गरेको देखिन्छ । तर, पछिल्लो वर्षहरूमा भने कम्पनीको व्यापारसँगै आम्दानी पनि केही घटेको देखिन्छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एनसेलले ५७ अर्ब ७२ करोड आम्दानी गरेको थियो भने आर्थिक वर्ष ०७३/०७४ मा ५६ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष ०७४/०७५ मा एनसेलले ५९ अर्ब ६९ करोड कमाएको देखिन्छ । जुन एनसेलले हालसम्मकै बढी आम्दानी हो । आर्थिक वर्ष २०७५/०७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड रुपैयाँ रहेको थियो भने आव २०७६/०७७ मा ४६ अर्ब ७६ करोड, आव ०७७/०७८ मा ४० अर्ब २२ करोड, आव ०७८/०७९ मा ३९ अर्ब ५० करोड र आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम
काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
ट्राभल सेवा उत्कृष्ट बनाउन रमेश कर्पले बोनजोय ट्राभलसँग गर्यो साझेदारी
काठमाडौं । नेपालको व्यापारिक घर रमेश कर्पले ट्राभल एजेन्सी बोन्जोय ट्राभलसँग समझदारी (एमओयू) गरेको छ । संस्थाले आफ्नो ट्राभल सेवा उत्कृष्ट बनाउन उक्त ट्राभलसँग समझदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउने छ । साथै, यस एमओयूको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत बनाउनु रहेको संस्थाले बताएको छ । रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले यस सहकार्यले कर्मचारी र ग्राहकको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने बताएका छन् ।
अब नबिल बैंकमा सोझै पैसा जम्मा गर्न सकिने, ल्यायो मेसिनबाटै चेक क्लियरिङ्ग हुने सुविधा
काठमाडौं । नबिल बैंकले किओस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा बैंकको विश्वास छ । हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने बैंकले जानकारी गराएको छ । हाल बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
जापानी कम्पनीले भारतमा आइफोनको ब्याट्री बनाउने, १ हजारले रोजगारी पाउने दाबी
एजेन्सी । भारतका केन्द्रीय आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले जापानी इलेक्ट्रोनिक पार्ट्स निर्माता टीडीके कर्पोरेसनले भारतमा एप्पलको आइफोनका लागि लिथियम आयन ब्याट्री सेल बनाउने जानकारी दिएका छन् । एप्पलले केही वर्षहरूमा भारतमा आफ्ना उत्पादन गतिविधिहरू द्रुतरूपमा विस्तार गरिरहेको छ, किनभने कम्पनीले आफ्नो उत्पादनको एक हिस्सा चीनबाट बाहिर सार्ने देखिन्छ । एप्पलले २०१७ मा विस्ट्रोनसँग भारतमा आइफोन एसेम्बल गर्न थालेको थियो । यसपछि यसले फक्सकनसँग पनि काम गर्न थाल्यो । हाल भारतमा यसको १४ आपूर्तिकर्ता छन् । राज्यमन्त्री राजीव चन्द्रशेखरले सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा लेखेका छन्– ‘टीडीकेले उत्तरी राज्य हरियाणामा आफ्नो उत्पादन सुविधा स्थापना गर्ने छ। यसले करिब १ हजार नयाँ व्यक्तिलाई रोजगारी दिने छ ।’ मिडिया रिपोर्टका अनुसार हरियाणामा टीडीकेद्वारा तयार गरिएका सेलहरू एप्पलको लिथियम आयन ब्याट्री एसेम्बलर सुनभोडा इलेक्ट्रोनिक्सलाई आपूर्ति गरिने छ । यद्यपि, यस समाचारमा एप्पल र टीडीपी कर्पोरेसनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
एनसेल खरिद बिक्री प्रकरण : छलफल गर्न प्रधानमन्त्रीले राखे बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाएका छन् । । प्रधानमन्त्री सचिवालयअनुुसार मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्रीको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ दलहरुलाई छलफलमा बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले बोलाएका छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी छन् ।
सिद्धार्थ प्रिमियर र आइशरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता
काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । मंगलबार काठमाडौंस्थित बतास एम. ए. डब्लु.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा दुबै कम्पनीका प्रमुखले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बीमा कम्पनी र बतास एम.ए.डब्लु.बीच कारोबार हुने बताइएको छ । दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्नेछ । यसका साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिँदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने कम्पनीले जानकारी गराएको छ । योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए । यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ । उक्त समारोहमा टंगालस्थित बतास एम.ए.डब्लुका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एम.ए.डब्लु. कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थिति थियो ।
लगातार किन बढिरहेको छ सुनको मूल्य ?
काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमबार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलबार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो । तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दि बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दि, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए । दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए । विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको जानकारी दिए । विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गरे । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताए । ‘विश्वका शक्तिशाली देशहरु युद्धहरुमा संलग्न हुनु, व्यापारमा ठूलो अन्तर आउनु, विश्व व्यापीहरुमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दाहरु फस्टाउने भन्दा पनि समस्यामा पर्न लागेको कारणले गर्दा सबैको ध्यान सुनमा गएको कारण पछिल्लो समय सुनको मूल्य उतारचढाव आएको आएको छ । अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णय पछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाएकाले पनि सुनको मूल्य बढ्यो । नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेको थियो । तर अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण केही दिन अघि २० किलो रहेकामा आजसम्म हेर्दा दैनिक १० केजी मात्रै खपत रहेको छ । अहिले किन्ने आउने भन्दा पनि बेच्न आउनेहरुको सुन किन्न पैसा अपुग भएकाे छ’, उनले भने । उनले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलबार मूल्यमा गिरावट आएको बताए । उनले नेपाली बजारमा पनि त्यसैको असर देखिएको जानकारी दिए । नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताए ।