विकासन्युज

फिस्लिङ-तोक्दाङ ९ किमी सडक : ९ करोड खर्चिए पनि उस्तै !

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट रु ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम सुरु गरिएको थियो । उक्त ५० हजारबाट सडकको ट्याक खन्न सम्भव थिएन । स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे । सो ट्रयाक खन्ने काममा मनकामना दर्शन प्रालिले पनि साथ दियो । स्थानीय लोकबहादुर गुरुङका अनुसार मनकामना दर्शन प्रालिले सडक खन्ने एउटा मेसिन उपलब्ध गराएको थियो । उनका अनुसार उक्त ट्रयाक खोल्न रु ४६ लाख खर्च भएको थियो । पन्ध्र वर्षअघि ट्रयाक खनेर गाडी गुड्न थालेको यस ग्रामीण सडकमा यात्रा भने सधैँ जोखिपूर्ण रहेको छ । हिउँदमा केही सहज भए पनि भरपर्दो नाली, पर्खाल नहुँदा वर्षायाममा निकै जोखिम रहेको र नियमित सवारीसाधन जान सक्ने अवस्था नहुने उनको भनाइ छ । स्थानीय गुरुङले भने, ‘सडक निर्माण गरेको १५ वर्ष भयो, सडक स्तरोन्नति नहुँदा जोखिम यात्रा गर्न बाध्य छौँ, हिउँदमा केही सहज भए पनि बर्खामा भने नियमित सवारी नै चल्न सक्ने अवस्था रहँदैन ।’ उनका अनुसार यस भेगमा वर्षायाममा उत्पादन हुने तरकारी बजारसम्म लैजान समस्या छ । इच्छाकामनाको तोक्दाङ, माझगाउँलगायतका गाउँ सुन्तला र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यस भेगका स्थानीयको मुख्य अम्दानीको स्रोत सुन्तला र तरकारी खेती हो । गाउँपालिकाले माँझगाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ । सडक सहज नहुँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । नौ करोड खर्चिए पनि सडक उस्तै उक्त सडकखण्डअन्तर्गत फिस्लिङबाट तोक्दाङसम्म नौ किलोमिटर विसं २०७४ मा रु नौ करोड खर्चिएर स्तरोन्नति गरिए पनि एक वर्ष पनि टिक्न सकेन । वर्ष दिन नपुग्दै सडक पुरानै अवस्थामा आएको स्थानीयको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत उक्त नौ किलोमिटर सडकको स्तरोन्नतिको काम भएका थिए । ग्राभेल, पर्खाल, नाला निर्माणलगायतका काम पनि ती भत्किएका छन् । धार्मिक पर्यटकीयस्थल इच्छाकामना मन्दिर जाने यस मुख्य ग्रामीण सडकको स्तरोन्नतिका लागि प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यस सडक स्तरोन्नतिका लागि गाउँपालिकाले पहल गरिरहेको जानकारी दिनुभयो । तत्काल गाउँपालिकाको बजेटबाट एक किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको र बढी जोखिम रहेको स्थानमा ढलान गरिने बताए । अध्यक्ष गुरुङले भने, ‘इच्छाकामना मन्दिर जाने यस सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ, कालोपत्रक लागि केन्द्र र प्रदेशमा पहल गरेका छौँ, तत्काल गाउँपालिकाको बजेटले एक किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ भने अप्ठ्यारा खण्डमा ढलान गर्ने छौँ ।’ फिस्लिङ–शक्तिखोर ग्रामीण सडक आयोजनाभित्र पर्ने यस सडक कालोपत्रका लागि छुट्याएको बजेटसमेत आर्थिक अभाव रहेको जनाउँदै अर्थ मन्त्रालयले रोकेको उनको भनाइ छ । रासस

माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर, आजैदेखि लागू हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६०३ प्रतिशत र ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै, रेमिट्यान्स मुद्दती खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

डेढ दर्जन लघुवित्तको लाभांश घोषणा, ५ लघुवित्तका सेयरधनीहरूको हात रित्तो

काठमाडौं । चालु आर्थिक वर्षमा डेढ दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने/नगर्ने घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत लघुवित्तहरूमध्ये १८ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धी निर्णय गरेका हुन् । जसमध्ये १२ वटा लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ६ वटा लघुवित्तले भने लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । हालसम्म युनिक लघुवित्त, आरएसडिसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त, धौलागिरी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, साना किसान विकास लघुवित्त, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । युनिक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस ४ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २१ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्ने छन् । यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैठौँ वार्षिक साधारणसभा पुस ६ गते धरान सुनसरीमा बिहान ९ बजे बोलाएको हो । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले नेप्सेमा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्ने छन् । यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, धौलागिरी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ५ लघुवित्तका सेयरधनीहरूको हात रित्तो गत वर्षको नाफाबाट विभिन्न ५ वटा लघुवित्तले भने सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, हिमालयन लघुवित्त, सामुदायिक लघुवित्त र ग्रामीण विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएका हुन् । गुराँस लघुवित्तको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले आठौं वार्षिक साधारणसभा पुस १८ गते धनकुटामा बिहान ११ बजे आह्वान गरेको छ । यस्तै, मनकामना स्मार्ट लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उपकार लघुवित्तको कात्तिक २१ गते हिमालयन लघुवित्तको मंसिर ८ गते र सामुदायिक लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ग्रामीण विकास लघुवित्तले भने लाभांश बिना नै साधारणसभा आह्वान गरिसकेको छ । लघुवित्तको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार पशुपतिमा देखाइने

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ । मङ्गलबार बिहान साढे ९ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । मङ्गलबार नै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् । बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले भनिन्, “शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ । ” मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए ।

३ सय रुपैयाँमा नेपाल रिको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर २६ गते एक सूचना प्रकाशन गर्दै संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन कम्पनीले आग्रह गरेको छ । यदि सो अवधिभि बिक्री नभएमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट, किन धमाधम बाहिरिँदै छन् नेपाल रिका संस्थापक ?

लाभांश पारित गर्न चिलिमे जलविद्युतले बोलायो २७औं साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले २७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस २० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे साधारणसभा डाकेको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिका सदस्यहरुको सुविधा बढाउने, दुई जना स्वतन्त्र सञ्चालकको निर्वाचन, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

काठमाडौं । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ,” विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा.घनश्याम गुरुङले भने, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।” पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा भएको समूहगत छलफलमा उनले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताए । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गरे । पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन,” उनले भने, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।” कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा.अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताइन् । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पुर्याइरहेको छ, जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन,” उनले भनिन् । पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उनको भनाइ छ । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उनले बताइन् । “जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन, नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन्,” डा महर्जनले भने । उनले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गरे । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ ।” छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएकोए । उनले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राखे । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ, पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ,” उनले भने । हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनको सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राखे । “नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ, पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ,” पत्रकार दीक्षितले भने । उनले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताए । जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा.जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताए । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ, हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन्,” उनले भने । हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा.अधिकारीको भनाइ छ । हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उनले बताए । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन, प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन्,” डा अधिकारीले भने । उनले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राखे ।