अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने बताए । बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यु रेसियोको हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरे । यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरु बारे प्रस्तुतिकरणमार्फत विस्तृत रुपमा जानकारी प्रदान गरे । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएको नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
‘पिकनिक’ को आकर्षक गन्तव्य बन्दै ‘बालाजु बाइसधारा’
काठमाडौं । मुलुकको सङ्घीय राजधानीको सबैभन्दा नजिक रहेको बालाजुको बाइसधारा पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित उत्तर–पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा पछिल्लो समय पिकनिक र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।बालाजु बाइसधारा घुम्नका लागि अहिले दैनिक सयौँ व्यक्ति यहाँ पुग्ने गरेका छन् । बालाजु पार्कसँगै जङ्गलसमेत भएकाले रमणीय वतावरणमा समय बिताउन चाहनेको रोजाइमा यो पार्क पर्न थालेको स्थानीय बताउँछन् । बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्वको पर्यटकीयस्थल पनि हो । यो बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने गरेको छ ।उक्त पार्क हाल काठमाडौँ महानगरपालिकाको वातावरण विभागअन्तर्गतको बालाजु बाइसधारा उद्यान कार्यालयले रेखदेख गर्दै आएको छ । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन यहाँ घुम्न आउने व्यक्तिको सङ्ख्या अत्यधिक हुने गरेको बताए । ‘अव्यवस्थित सहरीकरणका कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले राजधानीवासीको मन जित्न सफल भएको छ,’ उनले भने । दैनिक पाँच सयदेखि सात सय व्यक्ति र पर्व तथा बिदाको दिनमा तीन हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका बस्नेतले जानकारी दिए । उनका अनुसार यहाँ रहेका २२ धारामा भने अहिले पानी आउँदैन ।जाडोको समयमा बालाजु वरपरका मानिस उद्यानमा घाम ताप्नसमेत जाने गरेका छन् । काठमाडौं वनस्थलीबाट उद्यान घुम्न आएकी रेशु श्रेष्ठले स्वच्छ, सफा वातावरण खोज्दै यहाँ आएको भन्दै यहाँ आएपछि मन आनन्दित भएको बताइन् । ‘यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरीथरी फूलको सुगन्धले सारा दुःख नै भुलाउँछ’, उनले भने । बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करिब एक सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो । विसं २०१८ जेठ २७ गते शिलान्यास भई विसं २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइसधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ । राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सो क्षेत्र जताततै पानीले जलमग्न भएकाले पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा २१ ढुङ्गेधारा निर्माण गरिएको किंवदन्ती छ । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरू ठूलो धारा थपी बाइस धारा पुराएको इतिहास छ ।आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडौँ आउने क्रममा बालाजु देखेपछि रमाएर कविता लेखेका थिए । भानुभक्तले बालाजु बाइसधाराको बारेमा कविता लेखेकै कारण विसं २०५१ मा भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको सालिक स्थापना गरियो । बालाजु बाइसधारा आन्तरिक तथा बाह्य पर्यटकको घुम्नेमात्र ठाउँ नभएर साहित्यकर्मीका लागि पनि त्यत्तिकै महत्वपूर्ण तीर्थस्थल हो । धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ । सो अवसरमा बाइसधारामा मेला लाग्ने गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक लाख ८३ हजार तीन सय १२ जनाले बालाजु बाइसधाराको भ्रमण गरेका उद्यान कार्यालयले जनाएको छ । उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि पनि मानिस आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्क नेपालीका लागि रू ३०, नेपाली विद्यार्थीका लागि रू २०, विदेशीका लागि रू एक सय, मोटरसाइकल पार्किङका लागि रू ३०, ठूला सवारी साधन पार्किङ शुल्क रू ६० र पाँच जनाभन्दा बढी ड्राइफुड जमघटका लागि रू तीन सय लिँदै आइएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार व्यक्तिगत क्यामरा रू एक सय, व्यावसायिक फोटो रू एक हजार पाँच सय र विवाह फोटो सुट रू पाँच सय, म्युजिक भिडियो सुटिङ रू १० हजार लिने गरिएको छ । सातवटा पिकनिक ‘स्पट’का लागि रू एक हजार पाँच सयदेखि पाँच हजारसम्म शुल्क लिइँदै आएको कार्यालयले जनाएको छ ।बालाजु बाइसधारा उद्यान कार्यालयले चालु आवको छ महिनामा रू ६० लाख १४ हजार दुई सय ८० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ । लामो इतिहास बोकेको यस पार्कमा दैनिक सयौँ र पर्व तथा बिदाको समयमा हजारौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यथेष्ट मात्रामा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको बताउँछन् । रासस
बाराही हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् ।
स्पेनको एसएएससँग सहकार्य गर्दै मुक्तिनाथ कृषि कम्पनीले ल्यायो नयाँ प्रडक्ट
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा सुरु भएको ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनीमा कम्पनीले ‘जैविक मल तथा उत्सर्जक’ नामक नयाँ उत्पादन सार्वजनिक गरेको हो । कम्पनीले स्पेनको सस्टेनेबल एग्रो सोलुसन्स (एसएएस) सँग सहकार्य गरेर नेपाली बजारमा उक्त प्रडक्ट भित्र्याएको हो । जसको सार्वजनिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. वेदुराम भुसालले गरेका हुन् । नेपालमा हाल बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिँदा बालीको वृद्धि हुन नसकेको अवस्थामा मध्यनजर गर्दै कम्पनीले उक्त प्रडक्ट ल्याएको बताएको छ । कम्पनीका अनुसार उक्त प्रडक्टले कृषि उत्पादन वृद्धि साथै बिरुवालाई पोषण मिल्ने छ । कम्पनीले यस प्रडक्टमा बालीको सम्पूर्ण वृद्धि अवस्था (वनस्पति विकास, फूल फुल्ने र फल लाग्ने) चरणमा आवश्यक पर्ने पोषक तथा सूक्ष्म पोषक तत्त्वहरू रहेको पनि जानकारी गराएको छ ।
फुटपाथ व्यवसायीले सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने
काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको हो । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्नको लागि माघ १७ गते जिल्ला प्रशासन कार्यलय,१८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए । एक हप्ता सबै स्वरोजगार श्रमिकहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते थाल चम्चा सहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए । उनले काठमाडौं महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरुको माग अहिलेसम्म सम्बोधन नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले महानगरले फुटपाथ व्यापारीहरुको जफथ गरेको सामान फिर्ता गर्न माग गरे । उनले निम्न वर्गका व्यवसायीहरुको सामान कब्जा गरी लिलाम गर्ने कार्य महानगरले तत्काल रोक्नुपर्ने बताए । उनले स्वरोजगार श्रमिकको लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे । उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरपालिकाले अहिले फुटपाथ व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारु गर्न दिन माग गरे । उनले महानगरपालिकाले स्वरोजगार व्यवसायीहरुलाई पञ्जिकरण गर्न सम्झौता भएपनि कार्यान्वयन गर्ने भन्दा बढी व्यवसायीहरुलाई धरपकट गर्ने काम भएको बताए । फुटपाथ व्यापारीको उचित व्यवस्थापनको लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग छ । महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकट गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताए । उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलाहरुलाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताए । फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर बिहान बेलुकाको दुई छाक टार्ने निम्न वर्गका व्यापारीहरुलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताए । उनले फुटपाथ व्यवसायीहरुको समस्या समाधानको लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाए । उनले महानगरपालिकाले कार्यदलमा फुटपाथ व्यवसायीलाई भुलाएर सडकमा व्यापारीहरुलाई धरपकट गर्ने काम गरेको आरोप लगाए ।
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो
सल्लेरी । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । निकुञ्जको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा रू छ करोड २३ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रू ६ करोड ९६ लाख ७८ हजार सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष रू ७३ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको हो । चालु आवको साउनमा रू छ लाख ५६ हजार, भदौमा रू ३३ लाख ९५ हजार, असोजमा रू दुई करोड दश लाख, रू ५४ हजार, कात्तिकमा रू तीन करोड १२ लाख २७ हजार, मङ्सिरमा रू एक करोड एक लाख ४३ हजार र पुसमा रू ३२ लाख एक हजार राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए । निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट रू छ करोड ६६ लाख ७० हजार, वन पैदावर बिक्री वितरण शीर्षकबाट रू ४० लाख ८३ हजार, दण्ड सजायबाट रू २५ लाख सङ्कलन भएको छ । निकुञ्जको प्रमुख राजस्व सङ्कलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ थियो । चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू तीन हजार राजस्व लिने गरेको छ ।एक पटक हेलिकप्टर अवतरण गरेबापत रू तीन हजार अवतरण शुल्क लिने गरिएको छ । निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए । ‘निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो’, उनले भने,’विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटक भ्रमणका लागि आउँछन्, त्यही भएर सिजनमा हामीलाई भ्याइनभ्याइ नै हुन्छ । अहिले ‘अफसिजन’मा केही भए पनि फुर्सद हुन्छ । यो मौसममा पर्यटक कम आउँछन् ।’ सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए । उनका अनुसार सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ थियो । जसमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्र नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् । निकुञ्ज भ्रमण गर्नेको संख्यामा वृद्धि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् । साउनमा दुई सय आठ, भदौमा एक हजार तीन सय २४, असोजमा नौ हजार आठ सय दश, कात्तिकमा १३ हजार २५, मङ्सिरमा दुई हजार छ सय ९४ र पुसमा एक हजार तीन सय २९ जना रहेका कार्यालयका सूचना अधिकारी मण्डलले जानकारी दिए । उनका अनुसार सार्क मुलुकका पर्यटक दुई हजार सात सय १९, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना रहेका छन् । ‘नेपाली पर्यटक अलिक कम आउँछन् । यहाँ घुम्न आउने अधिकांश पर्यटक विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन् । त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकसँग रमाउँदै काम गर्दाको मज्जा बेग्लै हुन्छ’, सूचना अधिकारी मण्डलले भने । उनका अनुसार यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ । फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच/सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । रासस
२२.८५ प्रतिशतसम्म घट्यो बैंकहरूको आधारदर, कर्जाको ब्याज पनि घट्दै
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको आधारदर औसत २.२१ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तमा बैंकहरूको औसत आधारदर ९.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा गत वर्षको तुलनामा बैंकहरूको आधादर औसत ११.८६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औसत आधारदर १०.७३ प्रतिशत बिन्दु थियो । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो । जसआधारमा गत वर्षको तुलनामा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत ११.८६ प्रतिशत घटेको देखिन्छ । दोस्रो त्रैमासमा सबैभन्दा धेरै घटाउने र कम आधारदर भएको बैंक स्ट्यान्डर्ड चार्टड देखिएको छ । चालु आवको पुसमा यस बैंकको आधारदर घटेर २.२१ प्रतिशत बिन्दु घटेर ७.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतमा बैंकको आधारदर २२.८५ प्रतिशत घटेको हो । यस्तै, प्रभु बैंकको १७.६५ प्रतिशत घटेर ९.४२ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १४.५५ प्रतिशत घटेर ८.६९ प्रतिशत बिन्दु, सानिमा बैंकको १४.४५ प्रतिशत घटेर ९.२९ प्रतिशत, माछापुच्छ्रे बैंकको १४.१३ प्रतिशत घटेर ९.७८ प्रतिशत बिन्दु र सिटिजन्स बैंकको १३.८७ प्रतिशत घटेर ९.८१ प्रतिशत बिन्दुमा आधार दर झारेका हुन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ११.१९ प्रतिशत घटेर ८.२५ प्रतिशत बिन्दु, नेपाल बैंकको १३.६३ प्रतिशत घटेर ८.५५ प्रतिशत बिन्दु, नबिल बैंकको १०.१९ प्रतिशत घटेर ९.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६९ प्रतिशत घटेर ९.४१ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ८.६२ प्रतिशत घटेर ९.५३ प्रतिशत बिन्दुमा आधारदर झरेको छ । ग्लोबल आइएमई बैंकको ११.११ प्रतिशत घटेर ९.६ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकको १०.१३ प्रतिशत घटेर ९.६६ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको १२.१५ प्रतिशत घटेर ९.६८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ११.२१ प्रतिशत घटेर ९.९२ प्रतिशत बिन्दु, एनएमबि बैंकको ६.८३ प्रतिशत घटेर ९.९५ प्रतिशत बिन्दु र लक्ष्मी सनराइज बैंकको १२.१२ प्रतिशत घटेर ९.९९ प्रतिशत बिन्दुमा आधारदर झरेको छ । समीक्षा अवधिमा हिमालयन बैंक, प्राइम बैंक र कुमारी बैंकको आधारदर दोहोरो अंकमा छ । सबैभन्दा धेरै आधारदर भएको बैंकका रुपमा हिमालय बैंक देखिन्छ । हिमालयन बैंकको आधारदर २.४८ प्रतिशत घटेर १०.५९ प्रतिशत बिन्दुमा छ । यस्तै, प्राइम बैंकको ८.४६ प्रतिशत घटेर १०.३८ प्रतिशत बिन्दु र कुमारी बैंकको १२.३६ प्रतिशत घटेर १०.२९ प्रतिशत बिन्दु छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाले कर्जाको ब्याजदर पनि कम हुन्छ ।
प्रभु महालक्ष्मीको निमित्त सीईओमा सन्तोष प्रसाई, माघ १६ गतेदेखि लागू हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सीईओ रमेश कुमार भट्टराई स्वीकृत बिदामा बस्ने भएकाले सञ्चालक समितिले निमित्त सीईओमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ भट्टराई माघ १६ गतेदेखि माघ २९ गतेसम्म स्वीकृत बिदामा बस्दै छन् । यससँगै प्रसाईले माघ १६ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । साथै, कम्पनीका अनुसार सीईओ भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् ।