विकासन्युज

  काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा गत आर्थिक वर्ष २०७९ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९२.६१ रहेको कच्चा पेट्रोलियमको मूल्य चालु आर्थिक वर्षको कात्तिक मसान्तमा १६.१ प्रतिशतले कमी आई अमेरिकी डलर ७७.७३ कायम भएको छ राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७७३ रहेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९८०.१० पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५१ प्रतिशतले अवमूल्यन भएको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.७४ रुपैयाँ पुगेको छ । असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो ।

नेपालीले चार महिनामा गरे विदेश भ्रमणमा ६१ अर्ब र विदेशमा पढ्न ३८ अर्ब खर्च

काठमाडौं । नेपालीले चालु आर्थिक वर्षको चार महिनामा विदेश भ्रमणमा ६१ अर्ब ९२ करोड र विदेशमा पढ्न ३८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा नेपालीहरुले विदेश भ्रमणमा ६५ प्रतिशत खर्च गरेका हुन् । समीक्षा अवधिमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो । त्यस्तै, सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पनि ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छव । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकमा घट्यो मूल्यवृद्धि, मरमसलाको भाउ भने ३६.४६ प्रतिशतले वृद्धि

काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत कार्त्तिक महिनामा मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू तथा तेल र तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । कात्तिकमा यातायात उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ । कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब रुपैयाँले बचत

काठमाडौं । चालुु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति डेढ खर्ब बचत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ । गत कात्तिकसम्म पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ थियो ।

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री 

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् । ‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ,’ अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।’ उनले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखे । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए । महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे । उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे । ‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ,’ उनले भने । उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए । उनले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताए । रासस

वैदेशिक व्यापारमा संकुचन : निर्यातमा ७.७ र आयातमा ३.८ प्रतिशतले कमि

काठमाडौं ।  आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० अर्ब ५७ करोड बराबरकाे आयात भएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५१२ अर्ब ५० करोड रहेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४२ अर्ब ६९ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.६ प्रतिशत र ४४.१ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.६ प्रतिशत, ०.०२ प्रतिशत र ४५.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.० प्रतिशत, ८.३ प्रतिशत र ३८.७ प्रतिशत रहेका थिए । निर्यात–आयात मूल्य सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २०८० कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.५ प्रतिशतले घटेको छ । २०८० कात्तिक महिनामा व्यापारको शर्त ७.७ प्रतिशतले बढेको छ ।

कोरियाबाट फर्किएर स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु रेग्मी

तनहुँ । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन् । मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँलेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यही नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउँछन् । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो । बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइराला जानकारी दिन्छिन् । कागती खेतीबाट बर्सेनी उत्पादन वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछिन् । ‘कागतीका बिरुवा आफूले हुर्काएपनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेसा सम्हाल्दै आउनुभएको छ’, सिर्जना भन्छिन्, ‘घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।’ विसं २०७८ मा रु चार लाख, २०७९ मा रु सात लाख र २०८० मा रु पन्ध्र लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यसवर्ष गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको असिनाले क्षति नबनाएको भए करिब रु बीस लाख बराबरको कागती बिक्री हुने लक्ष्य उनीहरूको थियो । करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकामा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलव्ध गराएको थियो । आफूहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न उत्प्रेरण दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कूलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्छिन् । कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उनी बताउँछिन् । पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ। हाल जिल्लामा दुई सय त्रिसठ्ठी हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने दुई सय एक्काइस हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार पाँच सय पच्चीस मेट्रिकटन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार जानकारी दिन्छन् । बिक्रीका लागि समस्या छैन उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताँछिन् । उत्पादित कागती पोखरा,चितवनलगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु एक सयदेखि रु एक सय पचाससम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ । कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् । सानोतिनो मेहनत र परिश्रमले कागती खेती हुदैन्, सिर्जना भन्छिन्, ‘सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।’ सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउदो भएकाले यसैतर्फ आकर्षित भएको उनको भनाइ छ । कागती फागुन र चैत महिनादेखि फूल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउँछन् । बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्ला समय कागती खेतीतर्फ आर्कषण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् । रासस

१७ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेर १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत कात्तिकसम्म विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्ष २०८०÷८१को ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशत बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा ८.९ प्रतिशत बढेर १२ अर्ब ७५ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलर ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा १०.८ प्रतिशत बढेर कात्तिकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेका छ । सातै, बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति ६.४ प्रतिशत बढेर २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म भने १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।