विकासन्युज

२० अर्ब पुँजी पुर्‍याउन नेपाल रिलाई छैन सकस, हिमालयनसँग दुई विकल्प

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुनर्बीमा कम्पनीहरू त्यसकाे तयारीमा जुटेका छन् । प्राधिकरणले नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीका सञ्चालकहरू आन्तरिक छलफलमा जुटेका हुन् । प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीलाई १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि समय दिएको छ । अब कुन उपकरण अपनाएर पुँजी वृद्धि गर्ने भन्ने विषयमा दुवै कम्पनीका सञ्चालक समिति आन्तरिक छलफलमा जुटेका हुन् । उसो त यसअघि पनि प्राधिकरणले पुनर्बीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमै बोलाएर पुँजी वृद्धिको विषयमा छलफल गरिसकेको थियाे । प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिए पनि कसरी वृद्धि गर्ने भन्ने विषयमा भने सार्वजनिक धारणा राखेको छैन । त्यसका लागि योजना पेस गर्न कम्पनीलाई नै जिम्मा दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल दुईटै पुनर्बीमा कम्पनीले पेस गरेको पुँजी वृद्धिको योजना अध्ययन गरेर सही विकल्पलाई अनुमति दिने बताउँछन् । नेपाल पुनर्बीमा कम्पनीको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । पुँजी वृद्धिका लागि सरकारले मात्रै ३ अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई भने पुँजी वृद्धिका लागि सकस नहुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउने योजना बनाइरहेको छ । अपुग पुँजीका लागि कम्पनीले एफपीओ जारी गर्न सक्छ । सोही विषयमा कम्पनीमा छलफल पनि भइसकेको बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्याल आन्तरिक छलफल गरेर कुन विकल्प रोज्ने भन्ने विषय टुंगो लगाउने बताउँछन् । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी नेपाल सरकार र अन्य सेयरधनीहरूसँग छलफल गरेर पुँजी वृद्धिको योजना तयार पार्ने उनको भनाइ छ । ‘पुँजी वृद्धिका लागि विकल्पहरू धेरै छन्, अहिले नै निर्णय भएको छैन, मुख्य सेयरधनी नेपाल सरकार वा अर्थमन्त्रालयसँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषय टुंगो लगाउँछौं, मन्त्रालयमा मन्त्री तथा सचिवज्यूसँग छलफ गरेर आगामी दिशा तय गर्छाैं,’ उनले भने । यस्तै, हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । हिमालयनले हालै मात्र प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । सुरुमा ७ अर्ब रहेको पुँजी आईपीओ जारी गरेपछि १० अर्ब पुगेको छ । कम्पनीले अझै १० अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । कम्पनीमा ३० जना संस्थापक सेयरधनी छन् । जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०/५० लाख कित्ता, इन्फिनीटी होल्डिङ्गसकाे ४५ लाख कित्ता र जगदम्बा मोटर्सको ३२ लाख कित्ता सेयर स्वामित्व छ । यस्तै, केएल दुगड ग्रुपका प्रबन्ध संचालक विकास दुगड र जगदम्बा स्टिलसको २२/२२ लाख कित्ता, साफ्रोन सिके र हंसराज हुलासचन्दको २०/२० लाख कित्ता, आरएमसी कन्ष्ट्रक्सन र सशीकान्त अग्रवालको १५/१५ लाख कित्ता, कार्भी ग्लोबल, अटल फिन्कोर्प, अकोर्ड फिन्कोर्प र कालिका फिन्कोपको १३.५०/१३.५० लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीमा सौर्य सिमेन्ट, सन्दिप अग्रवाल, राहुल अग्रवाल, विकास जे.वि.राणा, शालिमार इनभेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाश सिरोहिया, किर्ती एपेक्स, ओण्डर भेन्चर्स, उज्जिवन मर्चेन्ट र अजन्ता होल्डिङ्गसको १०/१० लाख, एक्सप्रेस इनभेष्टमेन्ट र कामधेनु इनभेष्टमेन्टको ९/९ लाख कित्ता, पशुपति मुरारका र सिरिश कुमार मुरारकाको ७.२५/७.२५ लाख  कित्ता सेयर स्वामित्व छ । नेपाल पुनर्बीमाको तुलनामा हिमालयनलाई पुँजी वृद्धिमा केही सकस भोग्नु पर्ने देखिन्छ । कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने वा विदेशी साझेदार भित्र्याउन सक्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेर एक वर्षभित्र १० अर्ब पुँजी बढाउन सक्ने सम्भावना देखिँदैन । पुँजी वृद्धिको अर्को उपकरण भनेको मर्जर हो । तर, नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमाबीच मर्जरको सम्भावना शून्य प्राय छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलका अनुसार अबको एक वर्ष अर्थात् वि.सं २०८१ माघ १० गतेभित्र पुँजी वद्धि गरेर २० अर्ब पुर्याउनु पर्नेछ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गराउन निर्देशन दिएको उनको भनाइ छ । पुनर्बीमा कम्पनीहरू बीमा कम्पनीको पनि बीमा गर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनले बताए । उनका अनुसार पुनर्बीमा कम्पनीहरूले विदेशमा पनि व्यवसाय गर्नु पर्ने भएकाले पुँजी बढाउन आवश्यक छ ।

दीगो ग्रुपले मुल्कोटमा शुरु गर्यो ईभी चार्जिङ स्टेशनसहितको ई-स्टप

काठमाडौं । दीगो ग्रुप अफ कम्पनीले मुलकोटको रामटारमा आफ्नो पहिलो दीगो ई-स्टप स्थापना गरेको छ । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरूको संयोजन गर्दै राजमार्ग यात्रुहरूका लागि आवश्यक सेवा प्रदान गर्न कम्पनी उक्त ई-स्टप स्थापना गरेको हो । रणनीतिक रूपमा मुलकोटमा अवस्थित दीगो ई-स्टपले लामो दुरीको सडक यात्रामा क्रान्ति ल्याउने कम्पनीको प्रतिबद्धता छ । लामो दूरीका यात्रुहरूका लागि समाधान गरेर दीगो ई-स्टप नेपालभर दिगो र पर्यावरण-मैत्री यात्राहरू प्रवर्द्धन गर्न कम्पनी एउटा ल्यान्डमार्क बन्न तयार छ । ईभी चार्जिङ स्टेसनहरू, परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता अत्याधुनिक सुविधाहरूसहित दीगो ई-स्टप लामो समयको लागि यात्रा गर्न प्रतिबद्ध छ । सार्वजनिक यातायात र निजी सवारी साधन यात्री दुबैले यसको सुविधा लिन सक्नेछन् । दीगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले नेपालभरका राजमार्गहरूमा ई-स्टपहरुको विस्तार गर्ने र विद्युतीय यातायात प्रवर्द्धनका साथै राजमार्गहरूमा सफा र स्वच्छतापूर्ण विश्राम स्टपहरू उपलब्ध गराउने बताए । ‘मुलकोटमा ई-स्टपले आधुनिक यात्रीहरूको लागि दिगो र नवीन समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । ईभी चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरू एकीकृत गरेर, हामीले यातायातका दिगो र पर्यावरण-मैत्री मोडहरू प्रवर्द्धन गर्दै राजमार्ग यात्रुहरूका लागि समग्र अनुभव सिर्जना गर्ने लक्ष्य राखेका छौं ।’ उनले भने ।

जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

जापान । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले निर्यात गरेको ४९ लाख १० हजारको तुलनामा यो सङ्ख्या करिब पाँच लाखले बढी हो । यद्यपि, चीनको भन्सार विभागले निर्यात सङ्ख्या ५२ लाख २० हजार पुगेको र बर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जानकारी गराएको छ । चीनले सन् २०२३ को शुरू देखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो र बुधबार सार्वजनिक समग्र तथ्याङ्कमा चीनले जापानलेभन्दा बढी सवारी साधन निर्यात गरेको देखिएको छ । हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ । यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ । जापानी निर्माताहरूले लामो समयदेखि हाइब्रिड कार उत्पादनको शर्त राखेका छन् । हाइब्रिड कार जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन् । चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ । यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पूँजीकृत गरेको छ । सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बीवाईडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ । शेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बीवाईडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्दछ । रासस

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट १५० जना विद्यार्थी दीक्षित

काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन । काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरे । सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा फाईभ स्टार ¥याङक प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधि सम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालय मध्ये १६ औँ स्थानमा पर्न सफल भएको छ । लर्डबुद्ध एजुकेशन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यवहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले भने,  ‘लर्डबुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो ।’ नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले बताए । विदेशमा जानका लागि लाखौँ, करोडौँ रुपैयाँ खर्च गर्ने तर त्यही रकम स्वदेशमा लगानी गर्न नसक्नु विडम्बना भएको अध्यक्ष जालानको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शैक्षिक बेरोजगारीको सङ्ख्या बढ्दै जानु मुलुकका लागि दुर्भाग्य भएको अध्यक्ष मल्लको भनाई छ ।

हेटौँडा आन्तरिक राजस्व कार्यालयबाट करिब तीन अर्ब राजस्व सङ्कलन

हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले छ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ ४८ करोड छयासी लाख ६७ हजार, घरभाडा करतर्फ ७८ लाख ९२ हजार, ब्याज करतर्फ चार करोड पाँच लाख ८१ हजार, आन्तरिक करतर्फ ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार राजस्व सङ्कलन भएको जनाएको छ । विगत छ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको कार्यालयले जनाएको छ । प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताए । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा छ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो । रासस

१५ वर्षमा लाग्यो इसेवा : डिजिटल नेपालको सेवामा अझै समर्पित

काठमाडौं । इसेवाले अहिले १५ औँ वार्षिकोत्सव मनाइरहेको छ। दक्षिण एसियामै पहिलो डिजिटल भक्तानी सेवा प्रदायकको रूपमा स्थापित इसेवाले नेपाललाई डिजिटल बनाउनमा पनि सधैँ अग्रणी भूमिका निभाउँदै आएको कम्पनीको ठहर छ । डिजिटल नेपालको सपनालाई साकार पार्नका लागि विविध सेवालाई डिजिटल बनाउँदै सर्वसाधारणको दैनिक जीवनशैली इसेवाले सहज बनाइदिएको कम्पनीको दाबी छ । आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवमा १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याउने पनि जानकारी दिएको छ । सन् २००९ मा इसेवाको सुरुवात हुनुअघि रिचार्ज कार्ड स्क्रयाच गर्दै फोन रिचार्ज गरेको सम्झना त हामी सबैलाई नै होला । त्यस्तै, घरायसी बिजुली बत्तीको तथा खानेपानीको महशुल तिर्नका लागि पनि विद्युत प्राधिकरणको कार्यालयमा तथा खानेपानीको कार्यालयमा घन्टौं लाइन लाग्नुपरेको पनि हामी सबैलाई अहिले सम्झदा कुन्नी कहिले पो इतिहासको कुरा हो जस्तो लाग्न सक्छ । आन्तरिक उडानको लागि टिकट काट्दा समेत विभिन्न ट्राभलर टूर्सको कार्यालय धाएर आफुलाई पायक पर्ने मूल्यमा टिकट किनेको पनि अब सम्झनामा मात्र सिमीत भएको छ । इसेवाले सर्वसाधारणको यी सबै आवश्यकताहरू पूरा गर्नका लागि सबैलाई सजिलो डिजिटल उपाय चिनाईदिएको थियो । इन्टरनेटको पहुँच सिमीत ठाउँ तथा सिमीत मानिसहरूसँग मात्र हुँदा मेसेज प्रणालीमा बनेको इसेवाले आफ्नो एजेन्ट सञ्जाल देशभरी फैल्याएर सबैलाई लाइनमा पर्खनुपर्ने झन्झटबाट मुक्त गरिदिएको थियो । समयसँगै थप विविध सेवाहरू थप्दै आफ्नो सेवा परिष्कृत गर्दै आएकाले इसेवासँग आजसम्म पनि डिजिटल सेवा प्रयोग गर्दै आएका सर्वसाधारण मध्ये अधिकांश प्रयोगकर्ताहरू रहेका छन् । नेपालभरी करिब ८१ लाख प्रयोगकर्ताले इसेवा एपको प्रयोग गर्दै आइरहेका छन् । अझै पनि देशभरीको ७५३ वटा स्थानीय तह मध्ये ७४८ वटा स्थानीय तहमा इसेवाका २ लाख ३० हजार बढी एजेन्टहरू मार्फत  करिब २ करोड जनसंख्याले विविध डिजिटल सेवाको उपयोग गर्दै आएको सुखद अनुभव इसेवाले साझा गरेको छ । सबै सहरी तथा ग्रामीण स्थानहरूमा पनि आफ्नो सेवा प्रभावकारी रूपमा सर्वसाधारणबीच पुर्याउनका लागि इसेवाले ७ वटा प्रदेशमा ८ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालयहरू संचालनमा ल्याएको छ। साथमा इसेवामा ४९ं बैंक, ४५ं माइक्रोफाइनान्स, ७००ं सहकारीहरू पनि जोडिएका छन् । जसमार्फत इसेवामा सजिलै पैसा पाउन तथा इसेवाबाट पैसा पठाउन सकिन्छ । डिजिटल सेवा पुर्याउदै आएका नेपालमा रजिष्टर भएका डिजिटल वालेटको सङ्ख्या २७ पुगेको भए तापनि अझै पनि सर्वसाधारणको पहिलो रोजाईमा इसेवा नै रहेको कुरा प्रयोगकर्ताको संख्याले प्रष्टै देखाउँछ । नेपालमा विविध ग्रामीण स्थानमा समेत डिजिटल सेवा पुर्याउन तथा डिजिटल लिटरेसीका लागि इसेवा सधैँ तत्पर रहेको जनाएको छ । हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले ५ हजार बढी विविध सेवाहरू पुर्याउँदै आइरहेको छ । नवीनता अर्थात् इनोभेशनलाई आत्मसाथ गर्दै अघि बढिरहेको इसेवाले समयसँगै सर्वसाधारणको जीवनशैलीलाई थप सहज बनाउनका लागि नयाँ-नयाँ सेवाहरू प्रदान गर्दै आइरहेको छ । अहिले मोबाइल रिचार्ज गर्न, खानेपानी र बिजुली बत्तीको महशुल तिर्न, स्कुल तथा कलेजको फी तिर्न, इन्स्योरेन्सको प्रिमियम तिर्न, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट किन्न, टिभी तथा इन्टरनेटको बिल तिर्न, सरकारी बिलको भुक्तानी गर्न, रेमिट्यान्स पाउन, बस तथा केबलकारको टिकट काट्न, फिल्मको टिकट काट्न, डिजिटल कारोबार गर्न, सहकारीमा पैसा राख्न तथा झिक्न, बैंक खातामा तथा साथीहरूलाई पैसा पठाउन, अस्पतालमा सेवा बुक गर्न लगायतको थुप्रै सुविधाको उपयोग गर्नका लागि सर्वसाधारणले इसेवाको प्रयोग गर्दै आएका छन् । यत्तिका विविध सेवाहरू इसेवामा उपलब्ध रहे तापनि इसेवाले अझ विविध सेवाहरू थप्दै आइरहेको नै छ। केही समय अघि, अनलाइन व्यापार-व्यवसायमा ठगीको मुद्दाहरू बढ्दै जाँदा इसेवाले एस्क्रो सेवा बजारमा ल्याएको थियो, जसमार्फत अपेक्षा गरिएको सेवा र सामानको चित्तबुझ्दो डेलिभरीपछि मात्रै प्रयोगकर्ताले व्यवसायीलाई सेवाको लागि भुक्तानी गर्न सक्छन् । इसेवा अहिले आफ्नो प्रयोगकर्ताका लागि एप तथा वेबमार्फत होटेल बुक गर्ने सजिलो माध्यम पनि बन्दै आएको छ। त्यस्तै, गतवर्ष मात्रै इसेवाले इसेवा वालेटमा भएको पैसा एटीएम बुथ मार्फत बिना एटीएम कार्ड निकाल्नका लागि एटीएम विथड्र सेवा पनि संचालनमा ल्याएको छ। त्यस्तै, डिजिटल कारोबारको खबर आवाजमार्फत् तुरुन्तै पुर्याउनका लागि इस्पीकर यन्त्र पनि इसेवाले भर्खरै मात्र बजारमा ल्याएको छ। साथमा इन्स्योरेन्सको लागि इसेवा केयर प्याकेज र घर तथा सम्पत्ति बीमा पनि इसेवाबाटै सबैले डिजिटल रूपमा खरिद गर्न सक्छन् । हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले यी विविध सेवाहरू पुर्याउँदै आएको छ । इसेवाको १५ औँ वार्षिकोत्सवको बहार इसेवाले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ ९फेब्रुअरी ८० सञ्चालनमा रहनेछ। इसेवाले १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, एजेन्ट सञ्जाल तथा मर्चेन्टहरू प्रति कृतज्ञता जाहेर गर्दै १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याएको बताएको छ । आफ्नो १५ औँ वार्षिकोत्सवमा धेरै भन्दा धेरै प्रयोगकर्तालाई लाभ पुर्याउनका लागि टपअप, हवाई टिकट, बैंक लोड, इसेवा केयर, इस्पीकर खरिद, होटेल बुकिङ लगायतका विविध सेवाहरूमा आकर्षक अफर इसेवाले ल्याएको हो । यी सबै अफरबारे थप जानकारी  इसेवाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध हुने पनि इसेवाले जनाएको छ । १५ औँ वार्षिकोत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने सम्पूर्ण इसेवा प्रयोगकर्ता, एजेन्ट सञ्जाल, मर्चेन्ट, पाटनर्स बैंक, नियमक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ । हामीले आगामी दिनमा इसेवाको मोबाईल एपलाई सम्पूर्ण आम मानिसको हरेक क्रियाकलापमा साथ दिनलाई थप विविध सेवाहरू अझ सुदृध रूपमा लिएर आउने लक्ष्य लिएका छौँ । मलाई आशा छ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ’ । डिजिटल कारोबारको प्रणालीलाई अपनाएर निरन्तरको यो साथका लागि सधैँ आभारी रहेको पनि इसेवाले जनाएको छ । इसेवाको अहिलेसम्मको यात्रा  सन् २००९ जनवरीबाट यात्रा सुरु गरेको इसेवा नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक हो । सहरी तथा दुर्गम क्षेत्रमा मोबाइल रिचार्ज देखि बिजुलीको बिल तिर्न अनलाइनबाटै  सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि सजिलो थिएन । इसेवा के होरु यसबाट के-के गर्न सकिन्छरु वा यो कसरी चलाउने भन्नेबारे सर्वसाधारण अनभिज्ञ रहनु पनि स्वाभाविक नै थियो । साथमा इन्टरनेटको पहुँच पनि सर्वसाधारणमा राम्रोसँग पुगेकै थिएन । ती तमाम चुनौतीहरूको समाधान गर्दै आजको दिनसम्म ८१ लाख बढी प्रयोगकर्तासँग इसेवा एपमार्फत प्रत्यक्ष रूपमा तथा एजेन्ट सञ्जाल मार्फत् करिब २ करोड जनसङ्ख्यालाई सेवा प्रदान गर्न सक्नु कुनै चानचुने काम हैन । आफ्नो १५ वर्षको यस यात्रामा इसेवाले थुप्रै सर्वसाधारणको भरोसा तथा मर्चेन्टहरूको दरिलो साथ पनि पाएको छ । सन् २००९मा स्थापना भएको इसेवाले सन् २०१० मा आफ्नो मोबाइल एप्लिकेसन ल्याएको थियो । सन् २०१२मा इसेवाले सुरुवाती दिन तथा अहिलेको सर्वसाधारणमा पुग्ने बलियो मेरुदण्डको रूपमा रहेको एजेन्ट नेटवर्क (सञ्जाल) सुरु गरेको थियो । सन् २०१३ मा सूचना तथा सञ्चार मन्त्रालय मार्फत उत्कृष्ट टेक्नोलोजीको अवार्ड पाएको थियो । सन् २०१७ मा नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमार्फत  इसेवाले भुक्तानी सेवा प्रदायकको रूपमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको थियो । सोही वर्ष अनलाइन मोबाइल रिचार्ज (टपअप) का लागि शीर्ष विक्रेता९टप सेलर० भएकोमा नेपाल टेलिकम मार्फत पनि सम्मानित भएको थियो । सन् २०१८ मा ५ लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको इसेवाले ३ वर्षको अवधिमा १० गुणा वृद्धि ल्याउँदै सन् २०२१ मा ५० लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको थियो । सन् २०२२ सम्ममा २ लाख मर्चेन्टको सेवा डिजिटल रूपमा प्रदान गरिरहेको इसेवाले अहिले ४ लाख बढी मर्चेन्टको सेवा प्रदान गरिरहेको छ । हाल इसेवामा ८१ लाख बढी प्रयोगकर्ताले प्रत्यक्ष सेवा लिइरहेका छन् भने २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत २ करोड बढी सर्वसाधारणले परोक्ष रूपमा डिजिटल सेवाको उपयोग गरिरहेका छन् । हाल इसेवामा ४००ं कर्मचारीहरू तथा १७५ं क्षेत्रीय प्रतिनिधीहरू रहेका छन् । इसेवाको विभिन्न सामाजिक सञ्जालमा समेत ९ लाख ३० हजार बढी प्रयोगकर्ताहरू जोडिएका छन् । इसेवाबारे के भन्छन् त मर्चेन्टहरू इसेवा मार्फत ८१ लाख बढी प्रयोगकर्ताहरू माझ सजिलै डिजिटल सेवा प्रदान गरिरहेका ४ लाख बढी मर्चेन्टहरू इसेवाप्रति सकारात्मक नै रहेका छन् । इसेवाबारे आफ्नो तथा आफूले प्रतिनिधित्व गर्ने संस्थाको इसेवाबारे धारणा थुप्रै मर्चेन्टहरूले साझा गरेका थिए । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक  कुलमान घिसिङले विद्युत प्राधिकरणको डिजिटल यात्रामा विगत ६ वर्ष देखि इसेवाले ठूलो योगदान पुर्याउदै आएको बताए । हाल करिब १२ लाख ग्राहकले इसेवा मार्फत विद्युत महशुलको भुक्तानी गरिरहेका छन् । आगामी दिनमा नेपाल विद्युत प्राधिकरणमा रहेका करिब ५०-६० लाख ग्राहकलाई बढी भन्दा बढी सेवा इसेवा मार्फत सेवा लिन सक्ने प्रबन्ध मिलाउने तर्फ मिलेर अघि बढ्न पनि घिसिङले आग्रह गरे । त्यस्तै, बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले सम्पूर्ण नेपाली सेवाग्राहीलाई धेरै लामो लाइन बसेर खरिद भुक्तानी गर्नुपर्ने झन्झटबाट इसेवाले मुक्त गरिदिएको बताएका छन् । केही क्लिक मै खरिद भुक्तानी गर्न सकिने सजिलो सुविधा इसेवाले बनाइदिएकाले धेरै मानिसलाई धेरै-धेरै सुविधा भएको पनि बस्नेतले थपे । सुबिसु केबलनेट लिमिटेडका अध्यक्ष सुधिर पराजुलीले इसेवा डिजिटल इकोसिस्टममा आउँदा एउटा साथी आएजस्तो भएको बताए । ग्राहकले तिर्नुपर्ने पैसा सजिलै डिजिटल माध्यमबाट उठाइदिने साथीको रूपमा इसेवा आएपछि पैसा बचाउनलाई पनि सजिलो भएको बताए । ६ महिना जतिको कोभिड महामारीको लकडाउनको समय सम्झँदै पराजुलीले उक्त समयमा इसेवामार्फत डिजिटल रूपमा सेवा सुचारु रहेकाले ग्राहकबाट पैसा उठाउन, आफ्नो कर्मचारीहरूलाई तलब दिन तथा अरूहरूलाई पैसा दिनलाई पनि उठाउन सजिलो भएकाले ठूलो योगदान पुर्याएको स्मरण गरे । त्यस समयले सरकारलाई पनि डिजिटल भुक्तानी सेवा प्रदायक अत्यावश्यक सेवामा पर्दो रहेछ भनेर सरकारलाई पनि सिकाएको जिकिर गरे । डिजिटल माध्यमबाट कारोबार गर्दा पारदर्शीता रहने तथा कम्पनीहरूलाई पनि करको मामिला तथा अन्य कारोबारको मामिलामा ढुक्क हुन सक्ने वातावरण बनेको कुरा पराजुलीले बताए । पराजुलीले अन्य व्यवसायीलाई पनि सुझाव दिँदै इसेवा जस्ता डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरू सँग आबद्ध भई व्यवसायलाई सहज बनाउनलाई प्रोत्साहन समेत गरे । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्रा डा. चित्र बहादुर बुढाथोकी (मगर)ले इसेवाले शिक्षाको सेवामा पनि सहरी तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई थप सहजता पुर्याएको बताए । कोभिड महामारीको लकडाउनको समय सम्झँदै दुर्गम गाउँठाउँमा रहेका विद्यार्थीले पनि आफ्नै घरमा बसेर सजिलै फारम भरेको कुरा स्मरण गरेका छन् । इसेवाको अबको यात्रा इसेवाका चिफ स्ट्र्याट्रेजी अफिसर, रबि शाक्यले प्रयोगकर्तामा केन्द्रीत नवीनता (युजर फोकस्ड इन्नोभेशन), सेवा विविधीकरण (सर्भिस डाइभर्सीफिकेसन) र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस) नै इसेवाको सेवाका ३ प्रमुख स्तम्भहरू रहेको र आगामी दिनमा यी ३ स्तम्भलाई नै ध्यानमा राखेर आफ्नो सेवालाई बिस्तार तथा थप सुदृढ बनाउँदै लैजाने इसेवाको योजना रहेको जानकारी दिए । बैंक तथा अन्य वित्तीय सेवाहरूको पहुँच भन्दा टाढा रहेका स्थान तथा मानिसहरूमा वित्तीय कारोबारका लागि सजिलो डिजिटल उपायको रूपमा इसेवाको सेवा विस्तार गर्दै लैजाने कुरामा पनि उनले जोड दिए। दुर्गम स्थानहरूमा डिजिटल साक्षरता (लिटरेसी) का लागि ध्यान केन्द्रीत गर्दै इसेवा अघि बढ्ने कुरा पनि उनले बताए । त्यस्तै, अन्तरदेशीय भुक्तानीमा पनि इसेवाको सेवा विस्तार हुने कुरा उनले जानकारी दिए । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले आगामी दिनमा इसेवाले स्थानीय भाषाको प्रयोग मार्फत स्थानीयकरण तथा पर्सनालाइजेशनमा समेत ध्यान केन्द्रीत गर्ने बताए । नेपाली भाषामा पनि इसेवा एप चलाउन मिल्ने सुविधा छिट्टै सबै सर्वसाधारणले पाउन सक्नेबारे उनले जानकारी दिए । आफ्नै बोलीचालीको भाषामा इसेवा चलाउन पाएपछि इसेवाका ग्राहकहरूलाई थप सजिलो हुने कुरामा उनले जोड दिए । अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमाना रहेको छ । केही समय अघि मात्र इसेवाले  प्रयोगकर्ताले आफ्नो जिज्ञासा वा गुनासो आफ्नो एप तथा वेबबाट डिजिटल रूपमा दर्ता गर्न सक्ने सिस्टम ल्याएको थियो । प्रयोगकर्ताले इसेवाको विविध सेवासुविधाको प्रयोग गर्दा कुनै पनि समस्या आइपरेमा कल, इमेल गर्नुको सट्टामा एपबाटै डिजिटल रूपमा स्क्रिनशट सहित जुनसुकै समयमा आफ्नो समस्या दर्ता गर्न सक्ने गरी नयाँ सिस्टम ल्याइएको हो । प्रयोगकर्तालाई थप सहजता साथ आफ्नो जिज्ञासा राख्नका लागि इसेवाले इसेवा असिस्टेन्ट नामक एआई प्रोग्राम छिट्टै नै लिएर आउने पनि इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताए । मेसिन लर्निङमार्फत् यस प्रोग्रामले सबै प्रयोगकर्ताका लागि सजिलै जिज्ञासाको समाधान बताइदिने र समयसँगै थप प्रभावकारी हुँदै जाने पनि उनले जनाए । चिफ बिजनेस अफिसर आशिष गौतम तथा चिफ स्ट्र्याट्रेजी अफिसर रबि शाक्य दुवैले वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस)लाई केन्द्रमा राखेर आफ्ना विविध सेवाहरूलाई थप सुदृढ रूपमा अगाडि लैजाने कुरामा जोड दिए ।  

एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिपेन कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको संस्थाको बैठकले कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको सञ्चालकको जिम्मेवारी सम्हालेका कुमार राठीको राजिनामा स्वीकृत भएसँगै कार्कीले संस्थाको सञ्चालक पदको जिम्मेवारी पाएका हुन् । संस्थाको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि कार्कीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम उक्त बहाल पदको लागि कार्कीबाट सपथ ग्रहण समेत भैसकेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिए ।

५ हजार बढीले पाए सर्वोत्तम सिमेन्टको ५० कित्ता सेयर

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार रितपूर्वक प्राप्त भएका ३३ हजार ८१० वटा आवेदनहरुबाट प्राप्त जम्मा रकम ७७ करोड १७ लाख ८४ हजार रुपैयाँ बराबरको २१ लाख ३८ हजार ५०० कित्ता सेयर बाँडफाँटमा समावेश गरिएको थियो । जसमा बुक विल्डिङ निर्देशिकाअनुसार प्रतिआवेदकलाई न्यूनतम ५० कित्ताको दरले गोला प्रथा विधिद्वारा २ लाख ६७ हजार कित्ता सेयर ५ हजार ३४० जना आवेदकलाई सेयर बाँडफाँट गरिएको क्यापिटलले जानकारी गराएको छ । कम्पनीले पुस २५ गते देखि माघ १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर ३६० रुपैयाँ ९० पैसामा निष्काशन गरेको थियो । सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरोसेयर र सिडीएसले आईपीओ नतिजाको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।