आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ । स्तानान्तरित शाखा कार्यालयबाट आजदेखि कारोबार सुरू गरिएको कम्पनीले जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले शाखा कार्यालय उद्घाटन गरे । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू र स्थानीयको उपस्थिति थियो । नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने विश्वास कम्पनीको छ ।
नबिल स्टक डिलरले शुरु गर्यो ब्रोकरेज सेवा, बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन
काठमाडौं । नबिल बैंकको सहायक कम्पनीका रुपमा नबिल स्टक डिलरको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित डिलरको उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ । संस्थाले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भएपनि आज अर्थात मंसिर २९ गते औपचारिक सेवा सुरुवात गरेको हो । नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने विश्वास छ । त्यस्तै, यसले ब्रोकर नम्बर ७७ को रुपमा ब्रोकरेज सेवा प्रवाह गर्ने छ ।
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । रासस
शनिबार काठमाडौंका यी स्थानमा बिजुली काटिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ । त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । शनिबार बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै प्राधिकरणले आज एक सूचनामार्फत त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलमा छुट
काठमाडौं । प्रभु क्यापिटलले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छुट समझौता गरेको छ । उक्त सम्झौतापत्रमा दुबै पक्षबीच मंसिर २९ गते हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्त उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा न.पा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिदा हस्पिटलले दिदैं आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ । तिलोत्तमा न.पा, मणिग्राम ५, रुपन्देहीमा अवस्थित यो क्रिमसन हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधाहरू सहितको उत्कृष्ट मध्येको हस्पिटल हो, जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ । प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ ।
मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र
तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो । यो सहित पूर्वी खण्डमा हालसम्म १२ दशमलब पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत मंसिर २२ गते आँबुखैरेनी –३ गाउँपालिकाचोकदेखि पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडी बढाइएको थियो । उनले भने, ‘यसअघि बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकदेखि कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडी बढाउने तयारी गरिएको छ ।’ यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलब पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलब पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फी रुपमा १२ दशमलब पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ।’ पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१दशमलब पाँच किलोमिटर दूरीको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडी बढेको पाण्डेको भनाइ छ। पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलब ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइएको छ । विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ। डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ । रासस
पूर्वगृहमन्त्री खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । पूर्व गृहमन्त्री खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नको लागि प्रक्रिया पुर्याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाँणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छु : परराष्ट्र सचिव लम्साल
काठमाडौं। नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा आज पद बहालीपछि उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् । उनले भनिन्, ‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु।’ देशको परराष्ट्र नीति अनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उनले बताइन् । फरक प्रसङ्गमा परराष्ट्र सचिवले आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताइन् । नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन् । रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उनले अनुमतिपत्र प्रदान गरिने बताएकी हुन् । ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसकेकी उनले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा सेवा गरेकी थिइन् । रासस