नेपाल तरुण दलले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने
काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घरबास गुमाएकाहरुका लागि नेपाल तरुण दलले पनि अस्थायी आवास निर्माण गरिदिने भएको छ । यस प्रयोजनका लागि नेपाल तरुण दलको एक टोली आज जाजरकोट प्रस्थान गरेको छ । यसअघि त्यहाँ विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनले पीडितका लागि अस्थायी आवास निर्माण गर्ने काम गरिररहेका छन् । सोही बमोजिम तरुण दलले पनि आवास निर्माणका तरुण अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा ३० जना केन्द्रीय सदस्यको टोली आवश्यक निर्माण सामग्रीसहित आज काठमाडौंंबाट त्यसतर्फ प्रस्थान गरेको केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार उक्त टोलीले पहिलो चरणमा अर्थात् यस पटक जाजरकोटका भूकम्प पीडितका लागि कम्तिमा ६० देखि एक सयवटा आवास निर्माण गर्ने लक्ष्य लिएको छ । गएको कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको थियो । भूकम्पका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर क्षतिग्रस्त भएका छन् । सरकारले अस्थायी आवास निर्माणका लागि रु ५० हजार दिने घोषणा गरेको छ तर पनि सबै पीडितका अस्थायी आवास निर्माण हुन सकेको छैन । पछिल्लो समयमा मौसमी प्रतिकूलताका कारण भूकम्पप्रभावितको जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको बताइएको छ । प्रभावित त्रिपालमुनि रात बिताउन बाध्य छ भने अहिलेको जाडोमा त्रिपालले समेत थेग्ने अवस्था नहुँदा प्रभावितले अस्थायी आवास छिटो निर्माण गर्न सरकारसँग आग्रह गरिरहेका छन् । रासस
शिवम् सिमेन्टको बोनसमा लोभिए लगानीकर्ता, कारोबार र सेयर मूल्य दुबै बढ्यो
काठमाडौं । मंगलबारको सेयर बजारमा लगानीकर्ताहरु शिवम् सिमेन्टको बोनसमा लोभिएका छन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीले मंगलबार मात्रै सेयरधनीलाई सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणासँगै कम्पनीको सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कम्पनीको एकैदिन ३७ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने ६ लाख ४८ हजार ९५ कित्ता सेयर खरिदबिक्री भएका छन् । कम्पनीको सेयर कारोबार सँगसगै सेयर मूल्यमा पनि वृद्धि भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले बढी हो । मंगलबार कूल २४३ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १८३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ वटा कम्पनीको घटेको छ । र, बाँकी रहेको ७ वटा कम्पनीको मूल्य भने स्थीर रहेको छ । यसअघि नगद लाभांशमा जोड दिएको शिवम् सिमेन्टले यो वर्ष बोनस सेयरमा जोड दिएको देखिन्छ । विगतका लाभांश इतिहास हेर्ने हो भने कम्पनीले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा निरन्तर नगद लाभांश मात्रै दिँदै आएको थियो । तर आर्थिक वर्ष २०७९/८० मा भने कम्पनीले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जुन अघिल्लो वर्षको लाभांशभन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । नगदभन्दा बोनसमा जोड दिएसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । कम्पनीले पुस १९ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । त्यस्तै, कम्पनीले आगामी पुस २७ गते शुक्रबारको दिन आठौं वार्षिक साधारणसभा डाकेको छ ।
दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता
बागलुङ । बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुनसकेको छैन । दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । यहाँबाट पालिकाको केन्द्र गलकोट हटिया आउन दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम आइपुग्न गाडीमा पाँच घण्टा पूरा लाग्छ । पाण्डबखानीभन्दा १४ किलोमिटर पश्चिम पर्छ रमुवा गाउँ । गलकोट नगरपालिका–१० मै पर्ने रमुवा गाउँ मोटरबाटोले जोडिएको धेरै भएको छैन । रमुवाबाट पालिका केन्द्र करिब ३५ किलोमिटर पूर्वपर्छ । यहाँबाट पालिकाको केन्द्र हटिया आउन पाँच घण्टा लाग्छ भने जिल्ला सदरमुकाम पुग्न आठ घण्टा बढीको यात्रा गर्नुपर्छ । कच्ची र अव्यवस्थित सडकका कारण पाण्डवखानी र रमुवाका हजारौँ नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । वर्षौदेखि हिँडेर पाण्डवखानीसम्म आई गाडीमा यात्रा गर्ने रमुवावासी अहिले गाउँमै गाडी गुड्न थालेपछि हर्षित छन् । डेढदशक अगाडिनै मोटरबाटोले जोडिएको पाण्डवखानी अहिलेसम्म स्तरोन्नति नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रा असहज हुने गरेको छ । स्थानीयवासीले सडकको स्तरोन्नतिको माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो छ । गत वर्षदेखि उक्त सडक एक निर्वाचन क्षेत्र, एक रणनीतिक आयोजनाका रुपमा परेको छ । आर्थिक वर्ष २०७८/७९ मा केन्द्र सरकारले ४० करोड बजेट विनियोजन गरेको थियो । ठेक्का सम्झौता भएर गत वर्षदेखि काम सुरु भए पनि अहिले भने निर्माण कम्पनीले काम गरेको छैन । यही सडक भएर पाण्डवखानी क्षेत्रमा करिब आधा दर्जन जीप तथा पिकअप सञ्चालन हुन्छन् । सडकको दुरवस्थाका कारण स्थानीयवासी जोखिम मोलेरै यात्रा गरिरहेका छन् । गाउँमा सीमित सवारी साधान चल्ने हुँदा स्थानीय जोखिम मोल्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्व वडाध्यक्ष तिलक घर्ती मगरले बताए । डेढदशक अगाडि नागरिकको सुविधाको लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला निकायको ध्यान नपुगेको उनले गुनासो गरे । सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने घर्ती मगर बताउँछन् । ‘यो गाउँ पालिकाको केन्द्रदेखि धेरै टाढा छ, सडक राम्रो हुन्थ्यो भने यात्रा गर्न सहज हुन्थ्यो, यतिका वर्षसम्म पनि सडकको हालत खराब छ, नगरपालिकामा सामान्य काम गर्न आउँदा पनि दिनभरी यात्रा गर्नुपर्ने स्थिति छ, जिल्ला सदरमुकाम पगेर फर्कन त झनै कठिन छ,’ घर्ती मगरले भने, ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक भनेर योजना परे पनि प्रभावकारी रुपमा काम हुनसकेको छैन, सडक निकै अप्ठ्यारो हुँदा गाउँमा कोही बिरामी परे तत्काल अस्पताल पु¥याउन बढी समस्या हुने गरेको छ, एम्बुलेन्स आए पनि सडकको खाल्डाखुल्डीका कारण समयमै पुग्न पनि समस्या हुन्छ ।’ स्थानीय सुरेश छन्त्यालले पाण्डवखानी तथा रमुवा क्षेत्रको मुख्य व्यापारिक केन्द्र गलकोटको हटिया र जिल्ला सदरमुकाम बागलुङ बजार भएको भन्दै सडकको स्थिति खराब हुँदा ढुवानीमा समस्या हुने गरेको बताए । हिउँदमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा निकै समस्या हुने छन्त्यालको भनाइ छ । सडक स्तरोन्नति भएको भए उपभोक्ता महँगीको मारमा नपर्ने भन्दै अहिले ढुवानीनै महँगो तिर्नु परेको उनले बताए। गाउँमा उत्पादन हुने कृषि उपज वस्तु बजार पु¥याउन पनि साह्रै समस्या भएको छन्त्याल बताउँछन् । उनले भने, ‘दुर्गम गाउँ भए पनि धेरै वर्ष अगाडि यहाँ सडक आएको थियो, सडकले हामीलाई धेरै राहत दियो तर अहिलेसम्म स्तरोन्नति हुन नसक्दा धेरै दुःख पनि पाइएको छ, हामीले सरकारलाई धेरै पटक यो सडक बनाउनका लागि माग ग¥यौँ तर अहिलेसम्म सुनुवाइनै भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ, सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महँगो तिर्नुपर्ने अवस्था छ, बाटो सजिलो हुन्थ्यो भने यात्रा गर्न र सामान ढुवानीमा सुविधा हुने थियो ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले नगरपालिकाले दुई वर्ष अगाडिसम्म मर्मत सम्भारका काम गर्ने गरेको भन्दै अहिले एक निर्वाचन, एक रणनीतिक सडकको आयोजना सञ्चालनमा आएपछि नगरपालिकाले काम नगरेको बताए । सडकका कारण वडा नं १० का नागरिकले वर्षौँदेखि समस्या भोग्दै आएको उनको भनाइ छ । नगरपालिकाको सबैभन्दा टाढाको वडा पाण्डवखानी र रमुवा भएको हुँदा नगरपालिकाले सुरुमा प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले सडकमा कम लगानी गरेको प्रवक्ता भण्डारीले बताए । ‘नगरपालिकाले सुरु–सुरुमा सडकमा लगानी गरेको थियो, जब केन्द्र सरकारले यहाँ लगानी ग¥यो त्यसपछि नगरपालिकाबाट बजेट पर्न छोडेको छ, दोहोरो बजेटपर्ने हुँदा यो सडकमा हामीहरुले काम गरेका छैनौँ’ प्रवक्ता भण्डारीले भने, ‘निर्माण कम्पनीलाई काम गर्ने वातावरण मिलाई दिने र समयमै काम सक्न खबरदारी गर्ने गरिरहेका छौँ, यो बाहेक पाण्डवखानी र रमुवाका अन्य ठाउँमा भने सडक निर्माण भने गरिरहेका छौँ, सडकलाई बाह्रैमहिना सञ्चालन हुने गरी काम गरेका छौँ । रासस
नेपाल बैंकको सीईओ बन्न संघर्ष गर्दैछन् पाँच उम्मेदवार, कसको सम्भावना बलियो ?
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम छनोट गरिएको छ । बैंकको सीईओका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम छनोट गरिएको हो । योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरी सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा पुस ४ गते बुधबार ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि बोलाएको हो । अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछ । सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले बैंकको सीईओ पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ । अशोक पौडेल अशोक पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । नेपाली बैंकिङ क्षेत्रमा लामो समय अनुभव भएका उनी पछिल्लो समय विभिन्न संस्थाको नेतृत्व गर्न हतारिएका छन् । उनले यसअघि कृषि विकास बैंकको सीईओ र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न आवेदन दिएका थिए । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओमा समेत आवेदन दिएका छन् । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओ छनोट समितिले सिफारिस गरेको दोस्रो स्थानमा छन् । ध्रुब गौतम कृषि विकास बैंकको उपमहाप्रबन्धक पदबाट अवकाश प्राप्त गौतमसँग पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । बहुआयामिक कार्य तथा वित्तीय क्षेत्रमा सरकारको नीतिलाई कार्यान्वयन र वाणिज्य बैंकको समेत काम गर्ने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको कृषि विकास बैंकमा उनले २२ वर्ष काम गरे । रिकभरी र समस्याग्रस्त कर्जाहरूमा विभागीय प्रमुख भएर झण्डै एक दशक काम गरेका गौतमसँग एसएमईमा समेत लामो समय काम गरेको अनुभव छ । कृषि विकास बैंकमा हुँदा क्षेत्रीय निर्देशक भएर काम गर्ने अवसर पाएको बताउँदै उनले भने, ‘जोखिम व्यवस्थापनमा ६÷७ वर्ष काम गरे, मेरो विज्ञता रिकभरी नै हो किनकी यसमा नै लामो समय बिताए, कर्पाेरेट बैंकिङमा चिफ अफिसर समेत भएर काम गरे ।’ त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका गौतम सीईओ भएपछि नेपाल बैंकको प्रविधिलाई समयानुकल परिवर्तन गर्ने योजना बनाएको बताउँछन् । साथै, नयाँ र पुरानो पुस्ताको ग्यापलाई पूर्णता दिने, जनशक्ति व्यवस्थापन परम्परागत ढंगबाट चलेको हुँदा त्यसलाई नयाँ शैलीमा लैजाने उनको योजना छ । ‘बैंकको परम्परागत प्रणालीलाई आधुनिकीकरण बनाउने, नयाँ पुस्ताको कर्मचारीलाई अभिमुखीकरण गराउने, कर्मचारी खर्च घटाउने, नीतिगत ग्यापलाई सुधार गर्ने, जोखिम व्यवस्थापनमा सुधार गर्ने, प्रविधिमा जोड दिने, अहिले भएको प्रविधिलाई परिवर्तन गर्ने, नयाँ मार्केटको खोजी गर्ने, बैंकको ब्राण्डलाई बलियो बनाउने योजना छ,’ उनले विकासन्युजसँग आफ्नो योजनाहरू सुनाउँदै भने, ‘रिकभरीमा दक्ष जनशक्ति भित्र्याउने, ग्राहकलाई छिटो र गुणस्तरीय सेवा दिने, अटोमेसन र डिजिटाइजेसनमा परिवर्तन गर्ने, एचआर पोलीसी परिवर्तन गर्ने, काम गर्ने वातावरण सहज बनाउने, मार्केट सेयरलाई सुधार गर्ने हो ।’ सरकारी लगानीको बैंक भएकाले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्ने उनको योजना छ । साथै, आवश्यकता अनुसार संस्थाको रिस्ट्रक्चरिङ गर्ने उनले बताए । इन्टर्नल कन्ट्रोलिङ सिस्टमलाई बलियो बनाउने योजना रहेको उनले बताए । तिलराज पाण्डे बैंकिङ क्षेत्रमा तीन दशक बढी अनुभव हासिल गरेका पाण्डे नेपाल बैंककै प्रडक्ट हुन् । २९ वर्ष नेपाल बैंकमा जागिर गरेपछि चिफ म्यानेजरबाट अवकास लिएका थिए । नेपाल बैंकबाट बाहिरिएपछि उनले एक वर्ष एशियाली विकास बैंकमा कन्सलटेन्ट भएर काम गरे । तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा उनी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरे । भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । र, उनी बाहिरिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशलन बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरे । उनले हाल नेपाल बैंकको खराब कर्जा बढी, रिकभरीको समस्या र लगानीको सुस्सता भएकोले यो समस्या समाधानका लागि आफूले काम गर्ने बताए । उनले ग्राहकहरुको मनोबल उठ्न नसकेका समस्या पहिचान गरी समाधान गर्ने पनि बताएका छन् । चितवन घर भएका पाण्डेलाई व्यवसायिक स्वार्थका लागि केही व्यवसायिक घरानाले बैंकको सीईओ बनाउनका लागि लबिङ गरिरहेको पनि बुझिएको छ । समता पन्त हाल नेपाल बैंकको कामु सीईओ भएर काम गरिरहेकी पन्त सीईओ बन्ने सम्भावित पात्र हुन् । उनले नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशकभन्दा बढी काम गरिसकेकी छन् । पन्तले एमबिएससम्मको अध्ययन गरेकी छन् । बैंकिङ क्षेत्रमा मिहिनेती र अनुभवी बैंकरको छवि बनाएकी पन्तले आफूलाई सीईओका लागि बलियो प्रतिस्पर्धाका रूपमा प्रस्तुत गरिरहेकी छन् । धेरैले उनलाई अबको नेपाल बैंकको सीईओका रूपमा हेरेका छन् । एउटा कुशल बैंकरका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी उनका श्रीमान राष्ट्र बैंकको कार्यकारी अधिकृत छन् । उनले पनि नेपाल बैंकको सीईओ बन्नका लागि पूर्णरूपमा संघर्ष गरिरहेकी छन् । लक्ष्मण पौडेल पौडेल अहिले नेपाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एबीए गरेका छन् । नेपाल बैंकमा दुई दशक काम गरिसकेका उनले बैंकमा विभिन्न विभागकाे प्रमुख भएर काम गरिसकेका छन् । उनले आफूले हालसम्म गरेका काम र त्यसको अनुभवबाट सिकेका विषयहरू कार्यान्वयन गर्दै अगाडि बढ्ने सुनाए ।
सेयर बजारमा उछाल कायमै, नेप्से परिसूचकले पार गर्यो २१ सय बिन्दु
काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार बढीरहेको छ । १८ सय बिन्दुको हाराहारिमा रहेको परिसूचक एक सातामै बढेर २१ सय बिन्दु पार गरिसकेको छ । मंगलबारको बजारमा परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो भने गत पाँच महिनायताकै उच्च हो । गत साउन १५ गतेको बजारमा नेप्से परिसूचक २१०६.१८ बिन्दुमा रहेको थियो । कारोबार रकममा भने केही करेक्सन देखिएको छ । सोमबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबारको बजारमा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८८ करोड रुपैयाँले घटी हो । बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ । मंगलबार १० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटल्स एण्ड टुरिजम समूह सर्वाधिक अर्थात ३९५ अंकले बढेको छ ।
उद्योग व्यवसायीको समस्या समाधान हुन्छ : अर्थमन्त्री
मनहरी । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा उनले बैँकको ब्याजदर र भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताए । उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने र हेटौँटा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताए । ‘पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरुप बजेट बनाउने छौँ’, अर्थमन्त्री डा महतले भने । उनले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनाका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरे । सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता र निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ–आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी ध्यानाकर्षण पत्र बुझाएका थिए । सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण कटुवाल, कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नंका प्रहरी उपरीक्षक अनिल बुढाथोकीलगायत उद्योगी–व्यवसायीहरुको सहभागितो थियो । रासस
रुकुम पश्चिमका करिब साढे १३ हजार भूकम्प प्रभावितले पाए पहिलो किस्ता
रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् । त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् । आठबीकोटमा सात हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका चार हजार सात सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार नगरिपालिकाभर नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या एकीन भएको छ । बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उनले जानकारी दिए । त्यहाँ हालसम्म दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण भइसकेको छ भने तीन हजार छ सय ९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट छ हजार दुई सय ७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा आठहजार तीन सय ८३ लाभ्रग्राहीको पहिचान भएको छ । अझै विगरण सङ्कलन गर्न केही दिन लाग्ने उनले जानकारी दिए । त्यहाँ एक सय १८ अस्थायी आवास निर्माण हुँदा एक हजार पाँच सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार तीन सय २१ लाभ्रग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म पाँच हजार चार सय २५ लाभग्राही पहिचान भएका छन् । जससमा बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए । उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घ संस्था तथा सरकारको अनुदानमा एक हजार छ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उनले जानकारी दिए । त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् दुई हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बाँकी रहेका छ सय ७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण सङ्कलनको काम अझै जारी छ । पालिकामा हालसम्म दुई सय २२ अस्थायी आवास निर्माण भएको र दुई सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा आठ सय ६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभगा्रहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । त्यहाँ हालसम्म नौ सयभन्दा बढी लाभग्राही पहिचान भएका छन् । बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार छ सय ९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि सङ्घीय सरकारलाई रु एक अर्ब दुई करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । रासस
सतिशलाल आचार्यको भीआईपी नेतासँग उठबस्, प्रचण्डले भने : सिंगापुर जाँदा उहाँकै घरमा बस्थ्यौं
काठमाडौं । एनसेलको सेयर खरिदकर्ता सतिशलाल आचार्यको राजनीतिक दलका शिर्षस्थ नेताहरूसँग सम्बन्ध रहेको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग आचार्यको राम्रै सम्बन्ध रहेको खुलेको हो । यो विषयको प्रष्टता प्रधानमन्त्री प्रचण्डले नै गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आचार्यसँग आफ्नो र अन्य नेताहरूको पनि चिनजान रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद गरेका आचार्यसँग राम्रै चिनजान रहेको बताएका हुन् । तर, आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको बताए । उनले आफूमात्र नभई कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उहाँकाे घरमा बस्ने गरेको बताए । ‘मेरो श्रीमति बिमारी भएको बेलामा आचार्यकै घरमा बसेको छु, शेरबहादुरजी र ओलीजी पनि उहाँको घरमा बस्नुभएको छ, हामी बीचमा कुरा पनि हुन्छ, चिनजान भएकै आधारमा कसैलाई छोडिँदैन,’ बैठकमा उनले भने । आचार्य नेपाली मुलका विदेशी हुन् । उनी सिंगापुरमा बस्छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले आचार्यको राम्रै राजनीतिक पहुँछ छ भन्ने पनि बुझिन्छ । यद्यपि, यस विषयमा सरकार प्रष्ट भएको र गलत गर्नेलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्री प्रचण्डको दाबी छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जन्ताका विरुद्ध हुने चलखेलकाविरुद्ध अन्तिम लडाइँ लड्न तयार भएको पनि बताएका छन् । अहिले एनसेलको खरिदबिक्रीको विषयले सडकदेखि सदनसम्म प्राथमिकता पाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बिनाअनुमति आचार्यको कम्पनीलाई साढे ६ अर्बमा बिक्री गरेपछि यो विषयले चर्चा पाएको हो ।