विकासन्युज

झ्याजेटोलबाट ७० लाख रुपैयाँ बराबरको तरकारी निकासी

  भेरीगंगा (सुर्खेत) ।  दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाएका छन् । यही तरकारी बेचेरै उनले मनग्य आम्दानी गरेका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गरेको उनले सुनाए । ‘हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत–वैशाखदेखि नै लगाउँछौँ । अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ,’ उनले भने । उनले यो वर्ष करिब पाँच लाख रुपैयाँ भन्दा बढी कआम्दानी गरेको सुनाए । ‘मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु । केही नभए पनि एक याममा रु तीन–चार लाख त प्रत्येक घरकाले कमाउँछन् । तर हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन समस्या छ ।’ उनीमात्रै होइन, झ्याजेटोलकै गगनबहादुर खत्रीले पनि आफ्नो अधिकांश जग्गामा तरकारी खेती गर्दै आएका छन् । उन पनि याममा चारदेखि पाँच लाख रुपैयाँसम्म कमाई गर्छन् । उनी भन्छन्, ‘सबैभन्दा राम्रो कमाई आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ । तर कहिलेकाहीँ भाउ पाउँदैन ।’ यो टोलमा नौ घरपरिवार छन् । सबै घरपरिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । एक याममा मात्रै तरकारी खेती गर्ने गरिएको छ । तर पनि आम्दानी राम्रो छ । अर्का किसान बालकुमारी खत्री भन्छिन्, ‘वर्षायाममा मात्रै खेती गर्ने गर्छौँ । हिउँदयाममा तुसारो जम्छ, तरकारी उत्पादन गर्न सकिँदैन । हिउँदमा पनि उत्पादन गर्न सक्ने भए वर्षमा रु १० लाखसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो ।’ यहाँ फागुन चैतबाट तरकारी खेती सुरु हुन्छ भने कात्तिकसम्म बिक्री वितरण गर्ने गरिन्छ । अर्का किसान यामबहादुर ओली भन्छन्, ‘फागुनमा आलु लगाउँछौँ, असार साउनमा निकालेर बेच्न सुरु गर्छौँ, काउली बन्दा भने त्यसको बेर्ना तयार गरेर वैशाखबाट लगाउन सुरु गर्छौँ, अनि असारमा बेच्ने गर्छौँ । भाउ पायो भने त मनग्य आम्दानी हुन्छ ।’ तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको सो टोलका किसान स्थानीय पालिकाबाट सहयोग नपाएको गुनासो गर्छन् । आफूहरूलाई अनुदानमा मल र बीउ उपलब्ध गराउनुपर्ने र विभिन्न सरकारी कार्यक्रम लागू गर्न माग गर्छन् । किसान हीरादेवी केसी यहाँ पालिका तथा संघीय सरकारबाट कुनै पनि कार्यक्रममा नआएको बताउँछिन् । ‘यहाँ यति धेरै उत्पादन हुन्छ, हामीलाई समस्या भनेको सडकको छ, गाउँको माथिसम्म कच्ची सडक त आएको छ, तर सधैँ चल्दैन । हामीले आलुको बीउ महँगोमा किन्नुपर्छ, मल पनि हामी पाउँदैनौँ ।’ उनका अनुसार यो टोलमा एकजना किसानले ५० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । अर्का किसान कृष्णबहादुर खत्रीले उत्पादन तरकारी बोकेर लैजान समस्या रहेको जनाउँदै बस्तीसम्मै बाटो निर्माण गरिदिन माग गरेका छन् । गुराँस–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले बाटो नपुगेका बस्तीमा बाटो र भएका बाटो विस्तारका लागि पहल गर्ने बताएका छन् । प्रदेश सरकारले भने किसानको सहजताका लागि विगतको भन्दा फरक तरिकाले कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उत्पादन क्षेत्रलाई नै समेट्नेगरी योजना निर्माण गरिएको जानकारी दिए । ‘कुन ठाउँमा के उत्पादन हुन्छ, त्यही क्षेत्रलाई लक्ष्य गरी कार्यक्रम बनाइरहेका छौँ,’ उनले भने, ‘जस्तै झ्याजेटोल आलुका लागि उपयुक्त छ भने आलु पकेट क्षेत्र बनाएर किसानलाई प्रोत्साहित हुने कार्यक्रम हामीले बनाउने गरेका छौँ । आगामी वर्षको कार्यक्रममा त्यस क्षेत्रका किसानको आवश्यकतानुसार कार्यक्रम बनाउँछौँ ।’ रासस

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए  । ‘झापा इनर्जीको यो परीक्षण उत्पादन हो’ उनले भने, ‘केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।’ उक्त विद्युत् उत्पादन सबस्टेशनमा जोडिँदा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईलगायतको उपस्थिति थियो । झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी १५ दिनसम्म परियोजनाबाट विद्युत् उत्पादन गरेर प्राधिकरणको सबस्टेशनमा जोडिरहने जानकारी दिए । परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युत्को कुनै शुल्क प्राधिकरणले तिर्नुपर्दैन । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा रु ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ । परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ । सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ । रासस

आधा दर्जन बैंकको साढे ३३ करोडको सेयर बेच्दै प्रुडेन्सियल र गणेश प्रोपर्टिज

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टले आधा दर्जन बढी कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेका छन् । यी दुवै कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल १८ लाख २३ हजार ४६० कित्ता अर्थात् ३३ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्राइम बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्राइम बैंकको ४९ हजार ७१७ कित्ता, कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८ कित्ता, प्रभु बैंकको ६८ हजार ७२९ कित्ता, प्रभु बैंकको ११० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता, आइसिएफसि फाइनान्सको ९२ हजार ६१६ कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखेको हो । प्राइम बैंकको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ, कुमारी बैंकको १ सय रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२० रुपैयाँ, आइसिएफसि फाइनान्सको १७५ रुपैयाँ र नेपाल लाइफको ३२५ रुपैयाँ तोकिएको छ । यस्तै, गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले आइसिएफसि फाइनान्सको १ लाख ६१२ कित्ता र हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखेको हो । आइसिएफसि फाइनान्सको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १७५ रुपैयाँ र हिमालयन लाइफको २ सय रुपैयाँ तोकेको छ । आज पुस ११ गतेदेखि पुस १९ गतेसम्म लिलाम बिक्रीमा राखिएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिकित्ता ११० रुपैयाँमा प्राइम बैंकको सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको ४९ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार आज पुस ११ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै, प्रतिकित्ता ५२५ रुपैयाँ

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखिएको छ । हस्पिटलले १८ लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको हो । कम्पनीको गत मंसिर ३० गते सम्पन्न विशेष साधारण सभाले जगेडामा रहेको १८ लाख सेयर अंकित मूल्य १ सय रुपैयाँमा ४२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५२५ रुपैयाँ बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सो प्रिमियम मूल्य नघटने गरी एकमुष्ठ खरीद गर्ने वा नगर्ने भनी आन्तरीक रुपमा सेयरधनीहरूलाई पुस १ गते ७ दिनको समय दिई पत्राचार गरीएको थियो । अधिकांश सेयरधनीहरूको जवाफ आईसकेको र केहि सेयरधनीहरूको जवाफ नआएकोले उक्त प्रिमियम मूल्यको सेयर खरीदको दावीको लागि ७ सात दिनको समय दिइएको कम्पनीले जनाएको छ ।

आज यी ३ कम्पनीको सेयर खरिद गर्यो भने लाभांश पाउने

काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फस्र्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ तीनै कम्पनीले पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १५औं वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंमा बिहान १० बजे डाकेको हो । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले २७औं वार्षिक साधारणसभा पुस २४ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १४औं वार्षिक साधारणसभा पुस २८ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।

यशोदा फूड्सको ब्राण्ड एम्बास्डरमा कप्तान एरिक

काठमाडौं । यशोदा फुड्सको ब्राण्ड एम्बास्डरमा एरिक नियुक्त भएका छन् । यशोदा फुड्सले नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनीका मार्की खेलाडि एवम् कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कम्पनीले कप्तान एरिकसँग एक वर्ष अवधिका लागि सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यशोदा फुडसँग जोडिन पाउँदा खुसी लागेको र कम्पनीलाई उचाइमा पुर्याउन सहयोग गर्ने एरिकले बताए । एनएसएलमा करेन्टले बुटवल लुम्बिनीलाई पनि प्रायोजन गरेको थियो । यशोदा फूड्स करेन्ट चाउचाउ, चिज बल लगायतको उत्पादक कम्पनी हो ।

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्ने बताएका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसवर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा दुई दशमलव सात प्रतिशत बिन्दुले कम भएको उल्लेख गरेका हुन् । ‘यो पक्कै उपलब्धि हो । तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन, उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी काम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ, उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा सकारात्मक प्रभाव पर्ने निश्चित छ ।’ भुक्तानी सन्तुलन झण्डै एक खर्ब ५० अर्बले सकारात्मक रहनु र विगत कैयौँ वर्षदेखि घाटामा रहेका चालु खातासमेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित भएको र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए । ‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढिकन आयात मात्र घटेर कम हुँदा व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ । समस्यालाई जनतासँग लुकाएर देश अघि बढ्दैन, ‘उनले भने, ‘आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्नका लागि म आवश्यक पहल गर्छु । विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ ।’ आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन तथा रोजगारी बढाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगलाई लगानी तथा पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुख फिर्ता बोलाइने छन् ।’ रासस