बेनी-जोमसोम-कोरला सडक : ६ पुल निर्माण अन्तिम चरणमा
म्याग्दी । गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिए । ‘९५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्’, उनले भने, ‘पहुँच मार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।’ बेनी-जोमसोम-कोरला आयोजनाले पाँच पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो । रघुगङ्गा-१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो । थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो । लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ पुलको लागत रु चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत रु छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत रु छ करोड ८५ लाख हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए। योजनामार्फत १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित काली गण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित काली गण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । म्याग्दीको अन्नपूर्ण–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने काली गण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सातवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुईलेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस
विस्तारित नारायणगढ–बुटवल सडकखण्ड १८ किलोमिटर कालोपत्र
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उनको भनाइ छ । ‘पूर्वी खण्डमा पर्ने दाउन्ने पहाडको पाँच किलोमिटर पहाडमध्ये चार किलोमिटर पहाड काटेर फराकिलो पारिसकेका छौं’, उनले भने, ‘बाँकी रहेको एक किलोमिटर पहाड पनि एक महिनाभित्र काटेर सक्नेगरी काम अघि बढाएका छौं ।’ दुम्कीबासतर्फबाट पहाडको भित्तो काट्दै गएको उल्लेख गर्दै पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अगाडि बढाइने उनले बताए । अहिले गैंडाकोटको भेँडाबारीबाट झराही खोलासम्म, देवचुलीको रजहर, कावासोतीको डण्डा बजार र कावासोती बजार क्षेत्रमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए । ‘कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब चार सय मिटर विवाद भएको छ’, उनले भने, ‘एक महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्र गरिसकिन्छ ।’ आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैंडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने जानकारी दिए । ‘दोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ, त्यतिबेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, ‘हामीले विसं २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माणलाई तीव्रता दिएका छौँ ।’ सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन । गैँडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेका कारण त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको भन्दै त्यसबाहेक अन्य अवरोध नरहेको उनले बताए । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ बाट सडक विस्तारको काम सुरु गरिएको थियो । नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए । ‘पछिल्लो समय पूर्वी खण्डमा कल्भर्ट निर्माण, ठूला पुल निर्माण, तथा सडक किनारमा पर्खाल लगाउने काम भइरहेका छन्’, उनले भने, ‘सडक विस्तारको कामलाई तोकिएकै समयभित्र सम्पन्न गराउन हामीले निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौं ।’ यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये अधिकांश पुलको निर्माण सकिएको उनले बताए । ‘ठूला पुल निर्माणको काम पनि धमाधाम भइरहेको छ, दुई पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बाँकी पुलमा पनि काम भइरहेको हामीले पाएका छौं’, उनले भने । यस खण्डको कुल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७ दशमलव चार किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको चार दशमलव एक किलोमिटर उकालोमा तीनलेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि आयोजनाको पूर्वी खण्डमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् । रासस
कञ्चनपुरमा नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन् । बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन् । स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका हुन् । सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताए । ‘पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने ?’, उनले भने । बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । ‘वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ’, उनले भने, ‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।’ रासस
६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री
रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ । एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै एक क्वीन्टललाई चार हजारका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । व्यावसायिक रूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको साढे तीन क्वीन्टल बीउका लागि र १२ क्वीन्टल प्रतिक्वीन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनले बताए । त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए । तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए । अदुवा गाउँबाटै प्रतिक्वीन्टल चार हजार र बीउका लागि प्रयाेग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजारसम्म बिक्री भएकामा उनी खुसी छन् । ‘पहिले एक क्वीन्टल अदुवाबाट सात क्वीन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्वीन्टलसम्म उत्पादन गर्ने गरेको छु’, उनले भने । यस वर्ष बीउका लागि १२ क्वीन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए । रासस
झ्याजेटोलबाट ७० लाख रुपैयाँ बराबरको तरकारी निकासी
भेरीगंगा (सुर्खेत) । दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाएका छन् । यही तरकारी बेचेरै उनले मनग्य आम्दानी गरेका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गरेको उनले सुनाए । ‘हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत–वैशाखदेखि नै लगाउँछौँ । अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ,’ उनले भने । उनले यो वर्ष करिब पाँच लाख रुपैयाँ भन्दा बढी कआम्दानी गरेको सुनाए । ‘मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु । केही नभए पनि एक याममा रु तीन–चार लाख त प्रत्येक घरकाले कमाउँछन् । तर हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या छ ।’ उनीमात्रै होइन, झ्याजेटोलकै गगनबहादुर खत्रीले पनि आफ्नो अधिकांश जग्गामा तरकारी खेती गर्दै आएका छन् । उन पनि याममा चारदेखि पाँच लाख रुपैयाँसम्म कमाई गर्छन् । उनी भन्छन्, ‘सबैभन्दा राम्रो कमाई आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ । तर कहिलेकाहीँ भाउ पाउँदैन ।’ यो टोलमा नौ घरपरिवार छन् । सबै घरपरिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । एक याममा मात्रै तरकारी खेती गर्ने गरिएको छ । तर पनि आम्दानी राम्रो छ । अर्का किसान बालकुमारी खत्री भन्छिन्, ‘वर्षायाममा मात्रै खेती गर्ने गर्छौँ । हिउँदयाममा तुसारो जम्छ, तरकारी उत्पादन गर्न सकिँदैन । हिउँदमा पनि उत्पादन गर्न सक्ने भए वर्षमा रु १० लाखसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो ।’ यहाँ फागुन चैतबाट तरकारी खेती सुरु हुन्छ भने कात्तिकसम्म बिक्री वितरण गर्ने गरिन्छ । अर्का किसान यामबहादुर ओली भन्छन्, ‘फागुनमा आलु लगाउँछौँ, असार साउनमा निकालेर बेच्न सुरु गर्छौँ, काउली बन्दा भने त्यसको बेर्ना तयार गरेर वैशाखबाट लगाउन सुरु गर्छौँ, अनि असारमा बेच्ने गर्छौँ । भाउ पायो भने त मनग्य आम्दानी हुन्छ ।’ तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको सो टोलका किसान स्थानीय पालिकाबाट सहयोग नपाएको गुनासो गर्छन् । आफूहरूलाई अनुदानमा मल र बीउ उपलब्ध गराउनुपर्ने र विभिन्न सरकारी कार्यक्रम लागू गर्न माग गर्छन् । किसान हीरादेवी केसी यहाँ पालिका तथा संघीय सरकारबाट कुनै पनि कार्यक्रममा नआएको बताउँछिन् । ‘यहाँ यति धेरै उत्पादन हुन्छ, हामीलाई समस्या भनेको सडकको छ, गाउँको माथिसम्म कच्ची सडक त आएको छ, तर सधैँ चल्दैन । हामीले आलुको बीउ महँगोमा किन्नुपर्छ, मल पनि हामी पाउँदैनौँ ।’ उनका अनुसार यो टोलमा एकजना किसानले ५० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । अर्का किसान कृष्णबहादुर खत्रीले उत्पादन तरकारी बोकेर लैजान समस्या रहेको जनाउँदै बस्तीसम्मै बाटो निर्माण गरिदिन माग गरेका छन् । गुराँस–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले बाटो नपुगेका बस्तीमा बाटो र भएका बाटो विस्तारका लागि पहल गर्ने बताएका छन् । प्रदेश सरकारले भने किसानको सहजताका लागि विगतको भन्दा फरक तरिकाले कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उत्पादन क्षेत्रलाई नै समेट्नेगरी योजना निर्माण गरिएको जानकारी दिए । ‘कुन ठाउँमा के उत्पादन हुन्छ, त्यही क्षेत्रलाई लक्ष्य गरी कार्यक्रम बनाइरहेका छौँ,’ उनले भने, ‘जस्तै झ्याजेटोल आलुका लागि उपयुक्त छ भने आलु पकेट क्षेत्र बनाएर किसानलाई प्रोत्साहित हुने कार्यक्रम हामीले बनाउने गरेका छौँ । आगामी वर्षको कार्यक्रममा त्यस क्षेत्रका किसानको आवश्यकतानुसार कार्यक्रम बनाउँछौँ ।’ रासस
झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन
झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए । ‘झापा इनर्जीको यो परीक्षण उत्पादन हो’ उनले भने, ‘केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।’ उक्त विद्युत् उत्पादन सबस्टेशनमा जोडिँदा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईलगायतको उपस्थिति थियो । झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी १५ दिनसम्म परियोजनाबाट विद्युत् उत्पादन गरेर प्राधिकरणको सबस्टेशनमा जोडिरहने जानकारी दिए । परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युत्को कुनै शुल्क प्राधिकरणले तिर्नुपर्दैन । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा रु ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ । परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ । सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ । रासस
आधा दर्जन बैंकको साढे ३३ करोडको सेयर बेच्दै प्रुडेन्सियल र गणेश प्रोपर्टिज
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टले आधा दर्जन बढी कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेका छन् । यी दुवै कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल १८ लाख २३ हजार ४६० कित्ता अर्थात् ३३ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्राइम बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्राइम बैंकको ४९ हजार ७१७ कित्ता, कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८ कित्ता, प्रभु बैंकको ६८ हजार ७२९ कित्ता, प्रभु बैंकको ११० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता, आइसिएफसि फाइनान्सको ९२ हजार ६१६ कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखेको हो । प्राइम बैंकको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ, कुमारी बैंकको १ सय रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२० रुपैयाँ, आइसिएफसि फाइनान्सको १७५ रुपैयाँ र नेपाल लाइफको ३२५ रुपैयाँ तोकिएको छ । यस्तै, गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले आइसिएफसि फाइनान्सको १ लाख ६१२ कित्ता र हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखेको हो । आइसिएफसि फाइनान्सको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १७५ रुपैयाँ र हिमालयन लाइफको २ सय रुपैयाँ तोकेको छ । आज पुस ११ गतेदेखि पुस १९ गतेसम्म लिलाम बिक्रीमा राखिएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
प्रतिकित्ता ११० रुपैयाँमा प्राइम बैंकको सेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको ४९ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार आज पुस ११ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।