विकासन्युज

सचिवहरूले मन्त्रीलाई ब्रिफिङ नगर्दा पुनर्बीमाको पुँजी वृद्धिमा खटपट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धिको निर्णय गरे पनि त्यसको कार्यान्वयनको प्रक्रियामा पनि असमझदारी उत्पन्न भएको छ । प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनी (रिइन्स्योरेन्स)हरूलाई २० अर्ब पुँजी पुर्याउन निर्देशन दिए पनि त्यसको प्रक्रियामा भने अर्थमन्त्री र प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबीच असमझदारी सिर्जना भएको हो । प्राधिकरणले माघ १७ गते पुँजी वृद्धिका लागि १५ दिनभित्र योजना पेस गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । प्राधिकरणले दिएको समय गत फागनु ४ गते सकिए पनि कम्पनीहरूले योजना पेस गरेनन् । तर, समय सकिएको केही दिनपछि मात्रै हिमालयन पुनर्बीमा कम्पनीले योजना पेस गरेको थियो । नेपाल पुनर्बीमा कम्पनीले थप १५ दिनको समयमा मागेको छ । निजी क्षेत्रको कम्पनीले योजना पेस गर्दा सरकारी स्वामित्वको नेपाल पुनर्बीमाले किन थप समय माग गरेको होला भन्ने विषयमा चासोका साथ हेरिएको छ । यसरी भयो पुँजी वृद्धिको निर्णय पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गर्ने प्राधिकरणको निर्णयप्रति अर्थमन्त्री डा. प्रकाश शरण महत भने असन्तुष्ट छन् । पुँजी वृद्धिको विषयमा आफूलाई एक बचन पनि नसोधेको भन्दै अर्थमन्त्री डा. महत रूष्ट बनेको स्रोतको भनाइ छ । अध्यक्ष सिलवालले भने अर्थमन्त्रालयका दुइटै सचिवलाई ब्रिफिङ गरेको बताइएको छ । ‘नेपाल पुनर्बीमाको सञ्चालक समितिको फूल बोर्ड बोलाएर जानकारी गराएकै हो, मन्त्रालयका दुइटै सचिवसँग बसेर जानकारी दिएकै हो । तर, मन्त्रालयमा आएर मलाई किन नसोधेको भनेर गुनासो गर्नु भएको हो,’ प्राधिकरण स्रोतले भन्यो । उसो त प्राधिकरणको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव भुपाल बराल सदस्य छन् । तर, उनी पुँजी वृद्धिको निर्णय गर्ने बैठकमा उपस्थित भएनन् । बराल सचिव बन्ने लाइनमा छन् । पुँजी वृद्धिको विषय विवादित बन्न सक्ने पूर्वानुमान गर्दै उनी प्राधिकरणको सञ्चालक समिति बैठकमा सहभागी हुन छाडेको स्रोतको भनाइ छ । ‘प्राधिकरणको बोर्ड बैठकमा बराल आउन छोड्नु भएको छ, उहाँ निरन्तर ४/५ वटा बैठकमा उपस्थित हुनु भएको छैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘उहाँ सचिव बन्ने लाइनमा हुनुहुन्छ, विवादमा परिन्छ कि भन्ने हिसाबले बैठकमै आउनु भएको छैन ।’ पुँजी वृद्धिको योजना प्राधिकरणले फिर्ता लिने अवस्था नरहेको प्राधिकरण स्रोतको दाबी छ । पुँजी वृद्धि प्रक्रिया अर्थमन्त्रीले नरोकेर दुःखेसो मात्रै पोखेको बुझाइ प्राधिकरणको छ । प्राधिकरणका अध्यक्ष सिलवालले सचिवहरूसँग छलफल गरेपनि सचिवहरूले अर्थमन्त्रीलाई ब्रिफिङ नगराएको बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी अर्यालले पनि ब्रिफिङ नगरेको बताइएको छ । त्यसकारण पनि अर्थमन्त्री महत रुष्ट बनेका हुन् । पुँजी वृद्धिको विषयमा मन्त्रालयका दुईटै सचिवसँग छलफल गरेपछि प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक राजु रमण पौडेल अर्थमन्त्रीलाई भेट्न कार्यकक्षमा गएका थिए । तर, अर्थमन्त्रीलाई नभेटेपछि उनीहरू मन्त्रालयबाट फर्किए । सचिवहरूलाई ब्रिफिङ गरिसकेका सिलवालले लगत्तै कम्पनीहरूलाई पुँजी वृद्धिका लागि निर्देशन दिए । सञ्चार माध्यममा पुँजी वृद्धिको योजना माग गरेको समाचार देखेपछि अर्थमन्त्री महत सिलवासँगै रुष्ट बनेका हुन् । तर, पुँजी वृद्धि गर्न नहुने भन्ने आशय भने उनको छैन । प्राधिकरण स्रोतका अनुसार हिमालयन पुनर्बीमाले प्रक्रिया अघि बढाएपछि नेपाल पुनर्बीमालाई स्वतः दबाब परेको छ । साथै, नेपाल पुनर्बीमाको पुँजी वृद्धिका लागि सरकारले एक रुपैयाँ थप्नु नपर्ने प्राधिकरण स्रोतको दाबी छ । नेपाल पुनर्बीमाले एफपीओ निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउन सक्ने विकल्पमा पनि तयारी भइरहेको बुझिएको छ ।

मापदण्डअनुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था बन्द

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो । मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन् । वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम अनुगमन सुरु गरिएको थियो । अनुगमन तथा निरीक्षण टोलीले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर रहेका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेको थियो । मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षणबिना नै ‘मेडिकल रिपोर्ट’ तयार गरी कामदारलाई दिने गरेको अनुगमनका क्रममा पाइएको छ । यी संस्थाहरुमा कर्मचारी र उपकरण पर्याप्त नभएको र परीक्षण नै नगरी प्रतिवेदन दिने गरेको पाइएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्यमा समस्या भएर फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने गरिएको हो । मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाका लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ । मन्त्रालयमा सूचीकृत संस्थामा समस्या देखिएपछि गन्तव्य मुलुकले आफ्नै मुलुकको मापदण्डानुसार स्वास्थ्य संस्था छनोट गर्न थालेका छन् । यसमध्ये मलेसियाले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा संस्था छनोट गरेको छ । साउदी अबरले १९ वटा संस्था तोकेको छ । कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ । भने इजरायलले चार र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ । रासस

गल्फ लुब्रिकेन्ट्सद्वारा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम चितवनमा सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडका चितवनको लागि आधिकारीक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनक रुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए । आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बाग्मती प्रदेश प्रमुख एवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्री रहेका थिए भने नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्र सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले भने, ‘यो भेटघाट कार्यक्रम हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको छ र यो हामी देशभरी संचालन गर्दै आएका छौ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंग प्रत्यक्ष भेटघाट गरी उहाहरुको सल्लाह र सुझाब लिई, त्येही अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु हो ।’ कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा , चितवन अटो मोबाईल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले,चितवन अटो मोबाईल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतका बक्ताहरुले आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रममा लुब्रिकेन्ट्स बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरुलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।  

सुनकोशी-मरिण डाईभर्सनलाई बजेट नछुट्याए सरकारविरुद्ध कडा कदम चाल्ने सांसदको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी-मरिण डाईभर्सन आयोजनाका लागि बजेट विनियोजन नभए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । सांसद श्रेष्ठले एमाले नेतृत्वको सरकारको पालामा सञ्चालनमा आएका ती आयोजनाका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेटको व्यवस्था नगरे मधेस प्रदेशलाई प्रतिनिधित्व गर्ने सांसदहरु सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकमा रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी वीरगंज कृषि औजार कारखाना, चिनी उद्योग कारखाना, जनकपुर चुरोट कारखानाका लागि पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद श्रेष्ठले चुरे संरक्षण हेल्चक्रयाँइ नगर्न पनि सरकारलाई सचेत गराए । उनले भने, ‘म सरकारलाई के आग्रह गर्दछु भने आगामी बजेटमा सुनकोशी कमला डाईभर्सनलाई रकम विनियोजना गरियोस् । हामी तपाईका सम्पूर्ण सांसदहरुले हस्ताक्षर गरेर हामी बुझाउँदैछौं । यदि दिँदैन भने यसमा हामी तपाई वासीहरुले कडा प्रतिवाद गर्ने कुरा म जानकारी गराउन चाहन्छु । हामीले तपाईका उद्योगधन्दाहरु संचालन नगरेको हुनाले आज युवाहरु इतिहासमै सबैभन्दा बढी विदेश जाने तथ्यांकले देखाइराखेको छ । यसलाई रोक्नका लागि सरकारले उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्यो । जुन मधेश प्रदेशमा रहेका कृषि औजार कारखाना, त्यस्तै चिनी उद्योग कारखाना, जनकपुरमा रहेको चुरोट कारखाना उद्योग आउँदो वर्षमा सञ्चालन हुनुपर्छ भनेर पनि म जोडदार माग गर्दछु ।’ सांसद सरकारले सरकारले एमाले नेतृत्वको सरकारले सञ्चालनमा ल्याएका आयोजनाहरुको बजेट कटौती गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

जनशक्ति बढ्दा स्वास्थ्यकर्मीको विदेश पलायन बढेको हो : उपकुलपति बस्नेत

काठमाडौं ।  विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । चिकित्सा शिक्षाको अभाव पूरा गर्ने उद्देश्यले २०५९ सालमा बनेको अवधारणाका आधारमा ल्याइएको अध्यादेशबाट २०६० चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) न्याम्सको स्थापना भएको थियो । २०६३ सालमा न्याम्सको अलग्गै ऐन बनेपछि यसको सञ्चालन हुँदै आएको छ । त्यो हिसाबले स्थापना र सञ्चालनमा आएको २० पूरा भएको छ । यस बीचमा सरकारी चिकित्सकलाई तालिम प्रदान गर्ने र दुर्गम क्षेत्रका सरकारी स्वास्थ्य संस्थासम्म पुगेर विशेषज्ञ सेवा उपलब्ध गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रस्तुत छ, वीर अस्पतालका पूर्वनिर्देशक एवं राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भूपेन्द्र बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंशः तपाईले न्याम्सको नेतृत्व लिएपछि यसको गतिविधिलाई कसरी हेर्नु भएको छ ? जतिबेला न्याम्स सुरु भयो त्यस समयमा म वीर अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत थिएँ । त्यो समय नेपालले चिकित्सा शिक्षाले यति फड्को मारिसकेको अवस्था थिएन । यी २० वर्षमा हामीले धेरै काम गर्न सफल भएका छौँ । त्यस समयमा नेपालमा स्नातकोत्तर गर्ने खास गरी ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी (एमबीबीएस)पछि डक्टर अफ मेडिसिनरमास्टर अफ सर्जरी (एमडीएमएस) गर्ने अवसर नेपालमा एकदमै कम थियो । त्यसमा पनि स्वास्थ्य मन्त्रालयसँग धेरै कम एमडीएमएस गरेका चिकित्सक थिए । यतिसम्म कि जिल्ला अस्पताल त के अञ्चल अस्पतालमै पनि चिकित्सक पुग्न सकेको थिएन । अञ्चल अस्पतालमा चिकित्सक पुगे पनि सबै प्रकारका विशेषज्ञको अभाव थियो । त्यो सबै अवस्थालाई मध्यनजर गर्दै देशभित्र सरकारले आफैँ एमडी पढाउने, तालिम दिने र नेपाल सरकारका सबै अस्पतालमा चिकित्सक उपलब्ध गराउनुपर्छ भन्ने अवधारणामा उक्त समयको स्वास्थ्य मन्त्रालयको नेतृत्वले न्याम्सको गठन गरेको हो । यो गठन यसरी आयो कि सरकारी चिकित्सकलाई मात्र पढ्न दिइन्थ्यो, त्यसपछि बाँकी रहेको मात्र खुल्ला प्रतिस्पर्धालाई दिइन्थ्यो । पछिल्लो समयमा चिकित्सा शिक्षा आयोग आइसकेपछि त्यो परिदृश्य केही परिवर्तन भएको हो । त्यसबीच एमडीएमएस गरेका यति धेरै चिकित्सकहरु उत्पादन भए कि आज नेपाल सरकारका अधिकतम् अस्पताल एवं स्वास्थ्य संस्थाको नेतृत्व एवं विशेषज्ञ सेवा उनीहरुबाटै भएको छ । यो न्याम्सको लागि सुखद् पक्ष हो ।  चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादनमा न्याम्सको भूमिकालाई कसरी हेर्नु भएको छ ?  आजसम्मको स्थिति हेर्ने हो भने न्याम्सले नेपालमा एमडीएमएस सबैभन्दा धेरै उत्पादन गरेको छ । झण्डै १५ सय एमडीएमस चिकित्सक उत्पादन भइसकेका छन् भने विभिन्न विधाका चिकित्सक, नर्सिङ र पारामेडिक्स गरी झण्डै तीन हजार जनशक्ति उत्पादन गरिसकेको छ । यही जनशक्तिका कारण धेरै सरकारी र निजी स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज भएको छ । यसको स्थापना गर्दा नै स्वास्थ्य उपचार सेवा, अध्यापन र अनुसन्धान गर्ने रहेको थियो ।  न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयप्रति तपाईको बुझाई के हो ? अहिले छुट्याउने र जोडने कुराहरु आइरहेको छ । म भन्छु, छुट्याउन हुँदैन । न्याम्सको योगदान महत्वपूर्ण छ । सबै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने, तालिम दिने राम्रो काम भएको छ । यदि आफ्नो अस्पताल नै नहुने हो भने त तालिमको नै वैधानिकता हुँदैन, मान्यता हुँदैन नि । स्वास्थ्य प्रतिष्ठानलाई पढाउनको लागि आफ्नै एउटा अस्पताल चाहिन्छ । न्याम्सले वीर अस्पतालबाहेक पनि थुप्रै ठाउँमा पढाई र तालिमको कार्यक्रम गर्छ । जस्तैः बालबालिकाको लागि कान्ति बाल अस्पताल, आँखाको लागि नेपाल आँखा अस्पताल, तिलगङ्गा, विराटनगर, भैरहवालगायत, प्रसुतिका लागि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र अन्य अस्पतालको वीर अस्पतालमा गरेको छ । अहिलेको चिकित्सा शिक्षा ऐनकै कुरा गर्ने हो भने नर्सिङ पढाउनका लागि एक सय शैय्यासम्मको अस्पताल चाहिन्छ । एमबिबिएस कार्यक्रमका लागि तीन सय शैय्या न्यूनतम् रुपमा सञ्चालनमा हुनुपर्छ । त्यसैले एमडीएमएस गर्न पर्यो भने पक्कै पनि आफ्नै एउटा अस्पताल चाहिन्छ । त्यो आफनो अस्पताल भनेको ऐनले निर्दिष्ट गरेको न्याम्सको वीर अस्पताल हो । आफनो एउटा अस्पताल भएपछि अन्य कार्यक्रम जहाँ पनि चलाउन पाइन्छ । त्यसैले ऐन आउँदै खेरी वीर अस्पताल, न्याम्सको आङ्गिक अस्पताल भएर आएको हो । यदि न्याम्सको आफ्नै अस्पताल भएन भने कार्यक्रमहरु चलाउन पाइँदैन, यहाँबाट हुने अध्ययनको यसको वैधता र मान्यतामा प्रश्न उठ्छ । यसको अर्का पाटो, वीर अस्पताल सरकारको केन्द्रीय अस्पताल पनि हो । नेपाल सरकारका चिकित्सक जो स्वास्थ्य सेवामा हुनुहुन्छ उहाँहरु जिल्ला, अञ्चल, क्षेत्रीय अस्पताल हुँदै यो अस्पतालसम्म आउने बाटो पनि त खुल्ला हुनुपर्छ नि । त्यसैले अहिले पनि त्यो छ । केही कर्मचारी न्याम्सको हुनुहुन्छ, तर धेरै जना स्वास्थ्य सेवाबाट विभिन्न ठाउँबाट सरुवा भएर यहाँ आउनुहुन्छ । यो आउनै नपाउने गरी बन्द गर्ने किसिमले गर्नु हुँदैन ।  न्याम्सको आफनै छुट्टै अस्पताल निर्माणको कुरा चाहिँ के भैरहेको छ ? हो, त्यसकै लागि भक्तपुरको दुवाकोटमा अहिले जग्गा प्राप्ति भएको छ । त्यहाँ केन्द्रीय अस्पताल बनाएर सर्यो भने, न्याम्सको आंगिक अस्पताल बन्यो भने वीर अस्पताल तालिम साइट मात्र पनि हुन सक्छ । तर आजकै दिनमा न्याम्सबाट वीर अस्पताल छुट्याउँदा डिग्रीकै मान्यता र वैधानिकतामा प्रभाव पर्छ, विद्यार्थीको भविष्यमा समेत असर पर्ने सक्छ । ऐनले यही कुरा नै भनेको छ । दुवाकोटमा अस्पताल बनाउने हाम्रो पहिलो प्राथमिकतामा छ । यो ठूलो योजना भएका कारण सरकारले तत्काल काम सुरु गर्न नसक्ने हो कि भनेर हामीले त्यसलाई तीन चरणमा बाँडेका छौँ । त्यहाँ १५ सयको शैय्या बनाउने योजना छ, हामीलाई एकैदिनमा १५ सय शैय्या चाहिदैन । प्रथम चरणमा पाँच सय शैय्या, दोस्रोमा पाँच सय र तेस्रोमा पाँच सय गरी जम्मा १५ सय शैय्या बनाउने सोचेका छौँ । पहिलो चरणको पाँच सय शैय्याको मेडिकल कलेज तत्काल बनाउन भनेर यो वर्षको बजेटमा राख्नुपर्छ भनेका छौँ । अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले समेत चिकित्सा शिक्षा र स्वास्थ्यबारे निरन्तर चासो व्यक्त गर्नुभएको छ । मन्त्रालयको भिजनअनुसार एक शय शैय्यासम्म नर्सिङ र प्यारामेडिक्स पढाउने, तीन सय शैय्यामाथि एमबिबिएस पढाउने कुरालाई न्याम्सले ग्रहण गरिसकेका छौँ । आगामी शैक्षिक सत्रमा, ठीक एक वर्षपछि न्याम्सले पनि  एमबिबिएस कार्यक्रम सुरु गर्छौं । त्यसका लागि आउने आर्थिक वर्षदेखि दुवाकोटमा भवन निर्माणको लागि काम गरिरहेका छौँ । एमबिबिएससँगै त्यहाँ हाम्रो क्षमताअनुसार अन्य शैक्षिक कार्यक्रम विस्तार गर्दै जाने हो । यसबाट कम खर्चमा नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार सेवा दुवै प्राप्त गर्न सक्छन् । जुन स्वास्थ्यकर्मीले आजको नवीन प्रविधि पढेको हुन्छ, उसले राम्रो सेवा दिन सक्छ । त्यो पढ्ने कुरा हाम्रो जस्तो शैक्षिक संस्थामा हुन्छ । त्यसैले सबै सरकारी अस्पताल शैक्षिक संस्थाको रुपमा विकास हुनुपर्छ, सबैले दिनहुँ पढ्न र बिरामीको गुणस्तरीय उपचार होस्, हाम्रो उद्देश्य नै त्यही हो । अहिले देशभित्रै नर्सिङ अध्ययन गर्न नपाएर नेपाली विद्यार्थीहरु भारतलगायत अन्य मुलुकमा जानुपर्ने बाध्यता कसरी भयो ? चिकित्सा शिक्षा ऐनमा देखिएको समस्या हो वा अन्य कुनै कारण पनि हुन सक्छ ? अहिले नर्सिङ अध्ययनका लागि समस्या देखिएको छ । ऐनगत समस्या भएका कारण नै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोग, मन्त्रालय र सरकार नै लागिपरेको छ । न्याम्समा पिसिएल नर्सिङ पढाइ हुन्थ्यो आजको दिनमा बन्द भयो । हामीसँग नर्सिङ कलेज छ, शिक्षक छन् र एक हजार शैय्याको अस्पताल छ । हामी धेरै नर्सिङ पढाउन सक्छाैँ, यस्ता कार्यक्रम हाम्रो बन्द भयो, ऐनका कारण । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको पनि बन्द भयो । सबै स्वास्थ्य प्रतिष्ठानले पढाउन पाउँछन्, न्याम्सले मात्र आज पढाउन पाउने हो भने हामी पाँच सय जना पिसिएल नर्स उत्पादन गर्न सक्छाैँ । पाँच ठाउँमा हामीले नर्सिङ पढाउन सक्छौँ । कान्ति, प्रसुति, सिभिल, भरतपुर र वीर अस्पतालबाट दुई सय ५०  पिसिएल नर्स वार्षिक उत्पादन गर्न सक्छौँ । ऐनलाई संशोधन गर्ने बितिकै नेपाल सरकारका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट नर्सिङ जनशक्ति उत्पादन गर्न सकिन्छ । आधारभूत स्वास्थ्य उपचारको प्रत्याभूति संविधानले नै गरेको छ  तर नागरिकहरु सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भैनैरहेका छन, किन होला ? अहिलेको संविधानले स्वास्थ्यको जिम्मेवारी तीन तहको सरकारमा बाँडेको छ । यी सरकारहरुबीच तालमेल नमिलको जस्तो लाग्छ । थुप्रै अधिकार स्थानीय तहलाई गएको छ । तर अधिकारसँगै अरु कुरा भएका छन त ? अर्कातर्फ केन्द्रिकृत मानसिकतामा काम गर्दै आएकाले सङ्घीयताअनुसार काम गर्न नसक्दा पनि धेरै जटिलता देखिएको हुन सक्छ । कार्यान्वयनलाई निर्खार्दै जाने हो । कोही चिकित्सक दुर्गममा गएन भन्नुहुन्छ । चिकित्सक एउटा व्यक्ति हो, उसँग ज्ञान हुन्छ । त्यो ज्ञानको प्रयोग गर्न उनलाई साधन, सहयोगी सेवा र समूहको आवश्यकता पर्छ । दुर्गमकै उदाहारण दिंदा पनि, त्यहाँ चिकित्सक मात्र पुगेर हुँदैन । त्यहाँ पूर्वाधार, उपकरण र पूर्ण समूह अनिर्वाय हुनुपर्छ । स्वास्थ्य जनशक्ति विदेसिने क्रम बढ्दो छ । यसलाई अवसरको खोजीमा जाने बढे भन्ने कि स्वास्थ्यकर्मी टिकाउने वातावरण नबनेको हो भन्ने ?  हो, चिकित्सकहरुको विदेश पलायन बढ्दो छ । तर हाम्रो उत्पादन पनि बढिरहेको छ । हिजो उत्पादन कम थियो विदेश पलायन पनि कम थियो । आज उत्पादन बढी छ, विदेसिने पनि बढी छन् । यद्यपि हामीले केही ‘क्रिम’ जनशक्तिलाई रोकेर राख्ने वातावरण आवश्यक छ । वीर अस्पतालमा अझै पनि सहज र समयमै उपचार सेवा पाउन नसकिरहेको बिरामीहरुको गुनासो छ । सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास खस्केको हो ? वीर अस्पताल गतिशील छ । सेवाग्राहीको विश्वास बढेको छ, सेवा विस्तार भएको छ र स्वयं अस्पतालको आम्दानी बढेको छ । म २०७३ सालदेखि २०७५ सालसम्म निर्देशकको जिम्मेवारीमा रहेँ । त्यसबेला चिसोयाममा सातदेखि आठ सय बिरामी हुन्थ्यो । अहिले चिसोयाममा मात्र पनि २२ सय बिरामीको सङ्ख्या छ । त्यस समयमा गर्मीमा १६ सय बिरामी हुने गर्दथ्यो, अबको गर्मीयाममा चार हजारसम्म पुग्ने देखिन्छ । यी सङ्ख्याका सेवाग्राही विश्वास भएरै वीर अस्पताल आएका हुन् । एक दिनमा हामीले ४० वटा शल्यक्रिया गरेका छौँ । हाम्रो क्षमता एक सय वटासम्म शल्यक्रियाको छ । नर्सलगायत जनशक्ति जस्ता केही समस्याका कारण अप्ठ्यारो छ । हाम्रो क्षमताअनुसार सेवा दिन छोडेका छैनौँ । वीर अस्पतालबारे नकरात्मक कुरा फैलाएर बिरामी निजी अस्पतालमा लग्ने केही समूहको खेती पनि छ । यस्ता समूहलाई कारबाही पनि गरेका छौँ । तर अधिकांश कर्मचारीले राम्रो काम गर्नुभएको छ । दुई/चार वटा कर्मचारीका कारण सम्पूर्णको बारे गलत प्रचार गर्नु हुँदैन । अहिलेको स्वास्थ्य मन्त्रीले शैय्या बढाउनुभयो । भिआइपीको चाप बढेको छ । धेरै सुधार भएको छ, सेवा खस्केको छैन । केही समय अघिमात्र अक्सिजन र खाना रोकियो भन्नेबारे गलत सूचना प्रवाह भयो । हामीले एक दिन पनि यी कुरा रोकेका थिएनौँ । बजेट विनियोजन हुँदा त्यो शिर्षकमा पैसा आएन । रोकियो भन्ने कुरा ५० औँ मिडियाले मिडियाबाजी गरे । हामीले विज्ञप्ति निकाल्यौँ तर कसैले समाचार लेखेनन् । यो कुरा प्रमाणसहित ल्याए म पद छोडन तयार छु । राम्रो काम गर्दा पनि विरोध धेरै भयो । अधिकांशले नकारात्मक कुरा लेख्नुहुन्छ । धेरै नकारात्मक मानसिकता भयो । अस्पतालबाट  प्रवाह हुने सेवा सुधारका लागि विगतमा र अहिले भएका प्रयासहरु के पर्याप्त छन त ?  हाम्रो क्षमताअनुसार गरिरहेका छाैँ । सुधारका लागि तयार छौँ । सुझाव दिनु हुने सबैका लागि वेबसाइटमा स्क्यान गरेर पनि सन्देश छोड्न सक्नुहुन्छ । हामी धेरै सकारात्मक सुझावको प्रतिक्षामा छाैँ । सरकारी अस्पतालसँग सबै कुरा छ । जग्गा छ, भवन निर्माण भैसकेको छ, चिकित्सक छन्, बिरामीहरु सेवा लिन आउँछन् । त्यहाँ शैक्षिक प्रणाली छिराउन मात्र बाँकी हो । यहाँ बिरामीलाई लाइन बस्नुपर्ने समस्या छ, यो हाम्रो बाध्यता हो । क्षमता अभिवृद्धिमा प्रयत्नशील छौँ । रासस

बिक्री नभएपछि गोदाममै थन्कियो ७५ करोडको दूध र घ्यू, पीडामा किसान र उद्योगी

चितवन । भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए । उनका अनुसार ७५ करोड रुपैयाँभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०/५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिए । ‘उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ । तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ’, प्रबन्धक दुर्गा पराजुलीले भने, ‘घ्यू कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ । विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनुपरेका छ ।’ उद्योग बन्द भएपनि झण्डै १६ लाख रुपैयाँको बिजुली र १० लाख रुपैयाँ हाराहारीको डिजेल खर्च हुने गरेको उनले जानकारी दिए । योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख रुपैयाँ हाराहारीको भुस प्रयोग हुने गरेको उनको भनाइ छ । प्रशोधन गरिएको घ्यू सात सय रुपैयाँ हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ । ठाउँ अनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन् । यस हिसाबले पनि ४० करोड रुपैयाँभन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताए । उनका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ । ‘एक बोरामा २५ किलो हुन्छ । दूध प्रतिकिलो बजारमा सात सय रुपैयाँ हाराहारीमा बिक्री हुने गरेको छ । खुद्रा बिक्री हुँदा दररेट संस्थाले केही बढी तय गर्ने गरेका छन् । यसरी हेर्दा ३५ करोड रुपैयाँभन्दा बढीको पाउडर दूध भण्डारणमा छ’, उद्योगका प्रबन्धक पराजुलीले भने । उनका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उनले बताए । वि.सं. २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ रुपैयाँ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । ३१ वटा डेरी उद्योग, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ । प्रशोधन समेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् । रासस

जनउत्थान सामुदायिक लघुवित्तले पनि लाभांश नदिने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बैठकले २०८० असारसम्मको वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित विभिन्न वित्तीय विवरण पारित गरेको छ । सञ्चालकहरुले पारित गरेको उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारण सभामा लगिने संस्थाले जानकारी गराएको छ ।

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा भएको सम्झौता कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा बैंकका खातावाल ग्राहकहरुलाई हस्पिटलको ओपिडी सेवाका विभिन्न जाँचहरु, अन्तरङ्ग शैय्या शुल्क, रेडियोलोजी अन्तर्गतका अल्ट्रासाउण्ड, सिटीस्क्यान, म्यामोग्राफी लगायतका समपूर्ण जाँच तथा परिक्षणहरु, प्रयोगशालाका विभिन्न परिक्षणहरु, सबै किसिमका शल्यक्रिया, इण्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच, इसिजी, एको, इएमजी, पिएफटी, फार्मेसी सेवा, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको निजि क्षेत्रको अग्रणी र प्रतिष्ठित स्वास्थ्य उपचार सेवा प्रदायक ॐ हस्पिटलमासँग सेवा व्यवसाय बिस्तार सम्झौता र बैंकका ग्राहकहरु तथा कर्मचारी र परिवारजनले उपचारमा सहुलियत पाउनु सकारात्मक भएको बताए । त्यसैगरी ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले तीन दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार सम्म र पेन मेडिसिन र कस्मेटोलोजीलगायत ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सहितको चिकित्सा सेवा उपलब्ध गराउँदै आइरहेको जिकिर गर्दै कृषि विकास बैंकसँग सेवाकालागि सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको बताए । २०२४ माघ ७ गते स्थापना भई २०४१ साल देखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कृषि विकास बैंकको हाल देशका ७ वटै प्रदेशका सबै ७७ वटै जिल्लामा २८३ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न जिल्लामा एक्सटेन्सन काउन्टरहरु र एटिएम मेसिनहरुबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । समयसँगै बढदो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै बैंकले आफ्नो मुल व्यवसाय कर्जा प्रवाह र जमानतसहित अन्य सेवाहरुलाई पनि डिजिटलीकरण गर्दै लगेको छ । स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिओएस, क्युआर भुक्तानी, डेविट कार्ड, क्रेडिटकार्ड, एलसी, फरेक्स, अनलाइन एकाउण्ट, रेमिट, स्विफ्ट लगायत आफ्ना सबै सेवालाई डिजिटाइज गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । काठमाडौं रामशाहपथ स्थित कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय भएको सम्झौता समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।