२०८१ सालमा कुन-कुन दिन बन्द हुन्छन् बैंक ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैकले वि.सं. २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको उक्त सूचीअनुसार २०८१ सालमा वैशाखदेखि चैतसम्ममा शनिबारबाहेक ४६ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् । जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछन् । दशैंमा घटस्थापनासहित ६ दिन र तिहारमा ५ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । कूल बिदा हुनेमध्ये २३ दिन भने बैंकहरुले नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नेछन् । साथै, वर्षभरिको प्रत्येक शुक्रबार आधा दिन र प्रत्येक शनिबार पूर्ण बिदा हुने छ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि दिउँसो साढे एक बजेसम्म बैंकिङ्ग कार्यालय खुला हुने छन् भने कारोबार भने साढे १२ बजेसम्म मात्रै हुने छ । त्यस्तै, बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसमम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा बैंकिङ कारोबार भने बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने छ । १६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने राष्ट्र बैंकले जानकारी गराएको छ । कुन कुन दिन हुन्छ बिदा ? [pdf id=467140]
१५ वर्ष विदेशमा पसिना बगाएका किसान भन्छन् : कृषिबाट विदेशमाभन्दा राम्रो कमाई
गलेश्वर । वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको तीन रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गरे । अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । गत वर्ष तरकारी बेचेर चार लाख रुपैयाँ आम्दानी भएको पुनले बताउँदै यस वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेको जानकारी दिए । बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र पाँच वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेको छ । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर तरकारी खेतीमा लागेको भन्दै हरिलालले अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको बताए । पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मङ्गला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेको अवस्थामा म्याग्दीका केही जाँगरिला युवायुवतीले आफ्नै माटोमा मनग्गे आम्दानी गर्न सफल भएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । उनका अनुसार पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गर्नुभएका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन विदेश जानुपरेको छैन । युट्युब हेरेर तरकारी खेतीको सुरुआत गरेको बताउने सिउथानीले तरकारी बिक्री गरेर वार्षिक तीन लाख रुपैयाँको हाराहारीमा कमाइ हुने गरेको बताए । ‘पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयो । काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन’, उनले भने । सिउथानीले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताए । ‘थोरै जग्गामा पनि मौसमी तथा बेमौसमी तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न सकिँदोरहेछ भन्ने कुरा थाहा पाएपछि व्यवसायिक खेती सुरु गरेको थिएँ’, उनले भने, ‘सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि हिम्मत हारिन । विदेशमा कमाउन नसकेको मान्छेले माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि म काममा निरन्तर लागिरहेँ ।’ अहिले सिउथानीको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै फलेका छन् । खेतबारीमा फलेका तरकारीसँगै सिउथानीको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ । यस वर्ष जिल्लाबाट २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको थियो । उक्त क्षेत्रफलमा तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो ५५ रुपैयाँका दरले बिक्री गर्दा पनि कृषकले १९ करोड ८० लाख आम्दानी गरेका उनले जानकारी दिए । यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौं, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख बास्तोलाले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको भन्दै यस वर्ष सबैभन्दा बढी बेनी–३ भकिम्लीबाट निकासी भएको जानकारी दिए । जिल्लाको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ । कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताउनुभयो । केन्द्रका अनुसार आव २०७८/०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा १३ करोड जिल्लामा भित्रिएको थियो भने गत आवमा करिब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा १९ करोड बढी आम्दानी भएको थियो । यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । रासस
डीडीसीमै थन्कियो सवा १ अर्बको पाउडर दुध र मख्खन
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किएका कारण किसानलाई रकम भुक्तानीमा पनि समस्या देखिएको छ। डीडीसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत १ लाख ४० हजार लिटर दुध खरिद गर्दै आए पनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिँदा समस्या देखिएको बताए । ‘हामीले मासिक ४२ लाख लिटर दुध किसानमार्फत खरिद गर्छौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,’ उनले भने । दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आएको उनको भनाइ छ । डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा गरेको छ । डीडीसीमा हाल सवा १ अर्ब रुपैयाँ बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा ९ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ । संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् । डीडीसीले हाल गुणस्तरका आधारमा चार प्रतिशत फ्याट र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ रुपैयाँमा खरिद गर्ने गरेको छ । संस्थानले खरिद गरेको दुध न्यूनतम प्रतिलिटर ८४ देखि १२४ रुपैयाँसम्म बिक्री गर्दै आएको छ । डीडीसीले दही प्रतिलिटर १५० रुपैयाँ तथा घिउ वितरकलाई प्रतिकिलो १ हजार ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । रासस
काठमाडौं महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ । ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ । अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको कामपाको भनाइ छ । कामपाले गत मङ्सिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो । अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेको बताइएको छ । औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ । रासस
नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु हुने अवस्थामा थियो, सरकारले गर्दा ठप्प भयो : सांसद अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेका कारण सो सुरुङ मार्गको निर्माण कार्य ठप्प हुने गएको बताएका हुन् । उपसभापति अर्यालले सरकारले सो सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिब डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे । उनले भने, ‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङ मार्गको काम अहिले सरकारकै कारण ठप्प छ । स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आईलागेको छ ।’ उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी सो सुरुङमार्गको निर्माण कार्य सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए । सरकारले सो सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो । तर स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाई थियो ।
सरकारलाई सभामुखको रुलिङः सांसदका प्रश्नको जवाफ फागुन २१ गतेको बैठकमा दिनू
काठमाडौं । सभामुखको देवराज घिमिरेले संसद बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरुको जवाफ आगामी फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए । त्यस्तै मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषय लगायतमा प्रतिपक्ष दलहरुले पटक पटक सरकारलाई प्रश्न सोधेपनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए । लगत्तै सभामुख घिमिरेले आफूले यस अघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको बताए । उनले सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयहरुको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरे । उनले भने– ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयका सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भइ जवाफ दिन स्पष्ट निर्देशन दिइसकिएको व्यहोरा म जानकारी गराउँदछु । म यसलाई फेरि भन्दछु, माननीय सदस्यहरुले उठाउनुभएको विषयको सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकेको व्यहोरा जानकारी गराउँछु । माननीय सदस्यहरुले आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ, आज र यसअघि उठेका विषयहरुमा सभाको मिति २०८० साल फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु ।’ सभामुखको रुलिङसँगै प्रतिनिधि सभाको बैठक सहज रुपमा सुचारु भएको छ ।
पौने १ अर्बको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दुईटै कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । कम्पनीले नेपाल पुनर्बीमाको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ भने सीआईटीको प्रतिकित्ता ७८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीले पुनर्बीमाको ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँ र सीआईटीको १८ करोड ६४ लाख ४८ हजार ८६० रुपैयाँ गरी कूल ७६ करोड ७० लाख १३ हजार ७४० रुपैयाँ उठाउने छ । कम्पनीको उक्त सेयरमा इच्छुक लगानीकर्ताहरूले आज फागुन १८ गतेदेखि फागुन २२ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिँदा पुनर्बीमाको सम्पूर्ण कित्ता र सीआईटीको न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीलाई विविधिकरण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर बिक्री गरेर उठेको रकम अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको कम्पनीको भनाइ छ । नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ । कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो ।
महाशिवरात्रिमा बन्दीपुर केबलकार एण्ड टुरिजमले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्दै
काठमाडौं । महाशिवरात्रिको अवसरमा बन्दीपुर केबलकार एण्ड टुरिजमले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्ने भएको छ । फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केबलकार एण्ड टुरिजमले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ । उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रित समेत गरेको छ । यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ । कम्पनीले जारी पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख बराबरको १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता सेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने सेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ बिक्री गर्ने कम्पनीका सचिवले बताउनुभयो साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उनले बताए । सो परियोजनाको निर्माण कार्य ९० ५ सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए ।