विकासन्युज

कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट हुने भएकाे छ । बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

सार्वजनिक बिदाका कारण चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

चीन । चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ । जसमा ५० भन्दा माथिको तथ्याङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको तथ्याङ्कले सङ्कुचनलाई जनाउँछ । एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०-१७ चलेको ‘स्प्रिङ फेस्टिभल’को लामो बिदाले गिरावट ल्याएको बताए । उनका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ । ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप-सूचकाङ्क ५०.४ पुगेको थियो । यसैबीच, उत्पादनका लागि उप-सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ । यसले कम सक्रिय उत्पादनलाई सङ्केत गर्दछ । नयाँ मागको उप-सूचकाङ्क अघिल्लो महिनाको समान ४९ कायम भएको छ । यसले अघिल्लो महिनाको तुलनामा फेब्रुअरीमा उत्पादन बजारमा माग घटेको सङ्केत गरेको छ । उत्पादन कम्पनीलगातार बजार विस्तारको सन्दर्भमा भने आशावादी रहेको उत्पादन र व्यापार पूर्वानुमानको लागि उप-सूचकाङ्क ५४.२ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढी हो । चीनको गैर–विनिर्माण क्षेत्रको पीएमआई फेब्रुअरीमा ५१.४ मा आएको छ, जुन जनवरीमा ५०.७ थियो । रासस

ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, वेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत्, उत्पादन, प्रसारण र वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ । स्वीज राजदूत डानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोस, एसियाली विकास बैंक (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरु सम्मिलित टोलीले बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन भ्रमण गरेको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलितपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको हो । ऊक्त सबस्टेसनको अनुगमन भ्रमणमा पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धीहरुको प्रशंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिबद्धता जनाएको थियो । नेपालमा जलविद्युत उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बंगलादेशसँगको विद्युत्का विषयमा जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५/६ वर्षमा १२/१३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताए । ‘विद्युत उत्पादन बढाउन र प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि आगामी आगामी ५/६ वर्षमा विद्युत् उत्पादनतर्फ ६ अर्ब डलर, प्रसारणतर्फ ५ अर्ब र वितरणतर्फ २ अर्ब डलरभन्दा बढी चाहिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘देशभित्र विद्युत्का् खपत बढाउने हाम्रो प्राथमिकता हो, यहाँ खपत गरी बढी भएको विद्युत् मात्र छिमेकी देशहरुलाई बिक्री गर्ने हो, यसका लागि पूर्वाधार संरचना विस्तारका लागि ठूलो लगानी आवश्यक छ, लगानी बढाउन विकास साझेदाहरुलाई आग्रह गर्दछु ।’ विश्व बैकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले बैंको नेतृत्वमा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताए । उनले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनु पर्नेमा जोड दिए । एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षबाट साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । टोलीले सबस्टेसनको नियन्त्रण कक्षलगायतको अवलोकन भ्रमण गरी विद्युत प्रसारण र वितरणको अवस्थाका बारेमा जानकारी लिएको थियो । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन र तीन वटा सबस्टेसनहरुको निर्माण गरिएको हो । कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब २ हजार मेगावाट विद्युत् भार बोक्न सक्ने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न गरिंदैछ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ ।

प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र साविक प्रभु लाइफ इन्स्योरेन्सको सीईओको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफमा सीईओका रुपमा कार्य गर्दै गर्दा साविकको महालक्ष्मी लाईफसँग मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

बालेनप्रति सांसद सिंह आक्रोसित, भन्छन् : तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् । उनले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताए । करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने जानकारी दिए । ‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, कहिले कवाडीहरुलाई हटाउने । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौं होइन । यो काठमाडौं संघीय राजधानी हो । यहाँ एउटा गरिव पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ’, उनले भने । उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।

सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ । बैंकका अनुसार ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित छ : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ । सिबिफिनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ । ‘धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्’, परिसंघले विज्ञप्तिमार्फत भनेको छ, ‘समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौँ ।’ बैंक तथा वित्तीय संस्थाका गतिविधि नियामक नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानीमा रहने हुँदा बैंकभित्र कुनै पनि बदमासी भए तत्काल राष्ट्र बैंकले कारबाही गर्ने गरेको सिबिफिनको दाबी छ । ‘कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानूनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ’, उसले विज्ञप्तिमा भनेको छ, ‘व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।’ बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र खराब कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु न्यायसङ्गत नहुने सिबिफिनको तर्क छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र नभई बिनाधितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा समेत असर पर्ने उसले जनाएको छ । रासस  

एनसेल र ईएण्ड इन्टरनेसनलबीच नलेज सेयररिङका लागि रणनीतिक समझदारी

काठमाडौं । एनसेलले ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ । यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन् । ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एउटा अंग हो । समझदारी पत्रअनुसार, दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङ लगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरण लगायतका क्षेत्रमा सहकार्य गर्नेछन् । यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुनेछ । यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी कदम चालेको जनाएको छ । ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो । सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीमित अवसर प्रदान गर्नुका साथै सशक्त बनाउने मा विश्वस्त छौ ।’ ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणको लाभ दिलाउने नयाँ अध्याय भएको बताए । एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्य सम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवा लगायत अन्य क्षेत्रमा सहकार्य गर्नेछन् । एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्नेछ । यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्नेछन् । ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको ईएन्ड ग्रुपको एउटा अंग हो । जसले विश्वबजारका आधुनिक, विश्वस्तरीय डिजिटल टेलिकम कम्पनीहरूको सञ्जाल बृहत् बनाउन मद्दत गर्छ । विश्वका १६ वटा देशमा रहेर यसले कनेक्टिभिटी सोलुसन्स, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ । यसले अग्रणी डिजिटल क्षमता विकास तथा निर्माण गर्दै एक्विजिसन र रणनीतिक साझेदारी मार्फत मध्यपूर्व, अफ्रिका, एसिया र पूर्वी युरोपका विभिन्न मुलुकमा सेवाविस्तार गरेको छ ।