विकासन्युज

सेयर बजारमा दोहोरो अंकको सुधार, नेपाल रिको सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन कारोबार भएको सेयर बजारमा सुधार देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५१ प्रतिशतले बढेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१४ वटा स्क्रीप्सको कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ६७२ रुपैयाँ छ । संस्थापक र साधारण सेयर गरी कम्पनीको आइतबार मात्रै ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी, माथिल्लो मैलुन खोला जलविद्युत, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, दिब्याश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् । बजारमा होटल्स र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् ।

जनकपुरधाममा बैंकविरुद्ध उद्योगी व्यापारीको विरोध प्रदर्शन

काठमाडौं । उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेका छन् । आईतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो । बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो । बैंकहरुको चर्को ब्याजदरविरुद्धआफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुले बताए । धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरुसंग आग्रह गरे । उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाए । उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचिमा नराख्न माग गरे । व्यापारीहरुले आफूहरुको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताए ।

बैंकिङ बागडोर सम्हाल्नेलाई टार्गेट बनाउँदै ह्याकर, गभर्नर र सीईओ बनेर पैसा असुल्दै

काठमाडौं । विभिन्न समयमा नेपाली बैंकिङ प्रणालीलाई ह्याक गर्ने प्रयास ह्याकरहरूबाट हुन्छ । अघिल्लो वर्षको साउनमा मात्रै नेपालका १५ वटा वाणिज्य बैंकलाई पूरै प्रणाली ह्याक गर्ने धम्कीपूर्ण सन्देश आएपछि बैंकिङ प्रणाली नै तरंगित बन्यो । त्यतिबेला ह्याकरले बैंकिङ प्रणाली ह्याक गरी २४ घण्टाभित्र पैसा चोर्ने धम्की दिएको थियो । त्यो धम्किपछि नेपाली बैंकिङ क्षेत्र त्रासमा मात्रै रहेन सुरक्षाका लागि विभिन्न आईटी विज्ञहरूको सहयोग लिएर सिस्टम मजबुद बनाउनतर्फ लागे । अहिले पुनः ह्याकरको निसानामा प्रवेश बैंकिङ क्षेत्र सम्हाल्नेहरू परेका छन् । नेपाली बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै ह्याकरको टार्गेटमा परेका छन् । गभर्नरको तस्बिर प्रयोग गरेर फेक ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिबाट आर्थिक सहयोग माग्ने विषय अहिले बाहिरिएको छ । गभर्नर अधिकारीको नाममा ह्वाट्सएप अकाउन्ट बनाएर ह्याकरले विभिन्न व्यक्तिलाई पैसा सहयोग मागेको देखिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी विभिन्न व्यक्तिसँग संवाद गरेर पैसा माग गरेको विषय जानकारीमा आएको जनाएको हो । त्यसबाट सजग बन्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । ‘गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकाले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा छ । गभर्नर अधिकारीमात्रै होइन अहिले विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको नाममा पनि यस्तै फेक अकाउन्ट बनाएर पैसा सहयोग माग्ने गरेको विषय सामाजिक सञ्जालमा सर्वत्र चर्चामा छ । यसले बैंकिङ क्षेत्रको नेतृत्व गरिरहेकाहरू ह्याकरको निसानामा परेको बुझ्न सकिन्छ । ग्लोबल आइएमई बैंकका पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीको नामबाट पनि विभिन्न बैंकरलाई एउटा इमेल गएको बुझिएको छ । कुवँरका अनुसार उनको नामबाट विभिन्न बैंकका सीईओ तथा बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूलाई एउटा इमेल गएको छ । ‘उनको नामबाट विभिन्न बैंकमा कार्यरत कर्मचारीलाई पठाएको इमेलमा भनिएको छ, कृपया, तपाईंसँग म केही काम गर्न चाहन्छु, त्यसका लागि तपाईंको ह्वाट्सएप नम्बर दिएर सहयोग गर्नुहोला, त्यसैमा कुरा गरौंला ।’ बैंकर कुवँरले यो विषय सामाजिक सञ्जालमा पनि राखेका छन् । उनले यस्तो सन्देशबाट सजग र सतर्क रहन पनि आग्रह गरेका छन् । ‘मेरो नामबाट धेरै साथीहरूलाई इमेल गएको रहेको रहेछ, ग्लोबल आइएमई बैंकका कर्मचारी साथीहरूबाट यस्तो यमेल आएको जानकारी पाएपछि सामाजिक सञ्जालमा राखेको हुँ, मैले उहाँहरूको आईटीमा पनि सजग बन्नका लागि भनिसकेको छु, यो फिसिङ इमेल रहेछ,’ उनले विकासन्युजसँग भने । उनले सामाजिक सञ्जालमा राखेको स्टाटसमा प्रतिक्रिया जनाउँदै पूर्वबैंकर तथा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले पनि आफ्नो नामबाट पनि यस्तै सन्देश धेरै साथीहरूलाई पठाइएको जानकारी दिएका छन् । यस्तै, अन्य धेरै बैंकरले पनि आफ्नो नाम र तस्बिरतको प्रयोग गरेर विभिन्न व्यक्तिसँग असुल गरिरहेको सूचना आएको बताएका छन् । यस विषयमा राष्ट्र बैंकले पनि सजग रहन सीईओहरूलाई जानकारी गराइसकेको छ । मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले पनि आफ्नो नामबाट विभिन्न व्यक्ति तथा समूहले पैसा माग्ने गरेको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जालम ह्वाट्सएपमा मेरो फोटो प्रोफाइल बनाई विभिन्न व्यक्ति तथा समूहले बैंक खाता उपलब्ध गराई पैसा माग गरिएको जानकारी प्राप्त हुन आएको छ, त्यसैले फेक नम्मर ९८०३६६६००१४ मार्फत् यस्तो आपराधिक गतिविधि भैरहेकोले सम्बन्धित सबैलाई सचेत रहन अनुरोध गर्दछु, साथै उक्त खातालाई रिपोर्ट गरिदिनुहुन समेत अनुरोध गर्दछु ।’ नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीप्रसाद पोखरेलले यस विषयमा राष्ट्र बैंकले नेपाल प्रहरीको साइबर ब्यूरोमा पनि उजुरी गरिसकेको बताएका छन् । ‘अहिले विभिन्न व्यक्तिको नामबाट आर्थिक सहयोग माग्ने कुरा आइरहेको छ, गभर्नरज्यूको नामबाट पनि विभिन्न व्यक्तिसँग कुरा भएको जानकारी आएपछि हामीले साइबर ब्यूरोमा उजुरी दिएका छौं,’ उनले विकासन्युजसँग भने । यस्तै, साइबर ब्यूरोले पनि पछिल्लो समय विभिन्न व्यक्तिहरूको नाममा फेक आइडी बनाएर पैसा असुल्ने गिरोह सक्रिय भएकोले सबैलाई सजग रहन आग्रह गरेको छ ।

न्यायाधीशपत्नीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी हुन् । उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

नारायणगढ-मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो । जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो । गत साल कडा चट्टान फोर्न नसकिएपछि विस्फोट गर्न काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिक ज्याक हेम्मर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएकाले काम गर्न असहज भएको थियो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको र बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा विसं २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको थियो । रासस

सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिको सञ्चालकमा ५ जनालाई निर्वाचित गरेको हो । कम्पनीको अध्यक्षमा मोहनदाश मानन्धर निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धर, प्रकृति श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा राजु शाक्य नियुक्त भएका छन् । सञ्चालक प्रकृति श्रेष्ठ उर्जा डेभलपर्सको प्रतिनिधी हुन् ।

‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डलीले सम्मान गर्ने

काठमाडौं । देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डली मिडियाले सम्मान गर्ने भएको छ । खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक संजालमार्फत प्रचारप्रसार गर्दै आएका क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो । अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा ‘क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए । ‘समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्दैछौं,’ सीईओ कार्कीले भने, ‘होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न हामीले पहिलो पटक सम्मान गर्न लागेका हौं । यो प्लेटफर्मले स्मार्टफोन र स्मार्ट दिमाग भएकाहरुलाई थप सशक्त बनाउने अपेक्षा गरेका छौं ।’ समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फूड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट शोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो/भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन् । प्रतिस्पर्धीहरुलाई कान्तिपुर पब्लिकेसन्स् लिमिटेडका सीईओ महेश स्वा“र, होटल याक एण्ड यतिका महाप्रबन्धक मोनिका शेइब्लाउर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापा र ब्लगर मानसी अग्रवालको निर्णयका आधारमा पुरस्कृत गरिने छ । अपट्रेन्डीले यो अभियान कान्तिपुर पब्लिकेसन्स् लिमिडेट, नेपाल पर्यटन बोर्ड, पेन्टहाउस रुफटप बार एण्ड लाउन्ज, हार्ड रक क्याफेस“गको साझेदारीमा आयोजना गर्न लागेको बताएको छ ।

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । सभाले ७३:१०० को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिको निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।