
काठमाडौं । ११४औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभरि मनाइन्छ । सोही अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
यसवर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय संकल्प साथ नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।
यस दिवसको अवसरमा महिला अधिकारका लागि स्थापित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, राजनीतिक दल, महिला समूहलगायतले संगठित रूपमा विभिन्न खालका सचेतनामूलक एवम् सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।
महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्राष्ट्रिय महिला दिवसको हो । हरेक वर्ष यही उद्देश्यसहित यो दिवस मनाइन्छ ।
महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द गर्ने दिनको रूपमा मार्च ८ लाई लिने गरिएको छ ।
विश्वमा महिलाका लागि अनन्त सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सबलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो । पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाखभन्दा बढी महिला तथा पुरुषले र्याली गरेका थिए ।