विकासन्युज

२२.८५ प्रतिशतसम्म घट्यो बैंकहरूको आधारदर, कर्जाको ब्याज पनि घट्दै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको आधारदर औसत २.२१ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तमा बैंकहरूको औसत आधारदर ९.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा गत वर्षको तुलनामा बैंकहरूको आधादर औसत  ११.८६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औसत आधारदर १०.७३ प्रतिशत बिन्दु थियो । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो । जसआधारमा गत वर्षको तुलनामा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत ११.८६ प्रतिशत घटेको देखिन्छ । दोस्रो त्रैमासमा सबैभन्दा धेरै घटाउने र कम आधारदर भएको बैंक स्ट्यान्डर्ड चार्टड देखिएको छ । चालु आवको पुसमा यस बैंकको आधारदर घटेर २.२१ प्रतिशत बिन्दु घटेर ७.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतमा बैंकको आधारदर २२.८५ प्रतिशत घटेको हो । यस्तै, प्रभु बैंकको १७.६५ प्रतिशत घटेर ९.४२ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १४.५५ प्रतिशत घटेर ८.६९ प्रतिशत बिन्दु, सानिमा बैंकको १४.४५ प्रतिशत घटेर ९.२९ प्रतिशत, माछापुच्छ्रे बैंकको १४.१३ प्रतिशत घटेर ९.७८ प्रतिशत बिन्दु र सिटिजन्स बैंकको १३.८७ प्रतिशत घटेर ९.८१ प्रतिशत बिन्दुमा आधार दर झारेका हुन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ११.१९ प्रतिशत घटेर ८.२५ प्रतिशत बिन्दु, नेपाल बैंकको १३.६३ प्रतिशत घटेर ८.५५ प्रतिशत बिन्दु, नबिल बैंकको १०.१९ प्रतिशत घटेर ९.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६९ प्रतिशत घटेर ९.४१ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ८.६२ प्रतिशत घटेर ९.५३ प्रतिशत बिन्दुमा आधारदर झरेको छ । ग्लोबल आइएमई बैंकको ११.११ प्रतिशत घटेर ९.६ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकको १०.१३ प्रतिशत घटेर ९.६६ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको १२.१५ प्रतिशत घटेर ९.६८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ११.२१ प्रतिशत घटेर ९.९२ प्रतिशत बिन्दु, एनएमबि बैंकको ६.८३ प्रतिशत घटेर ९.९५ प्रतिशत बिन्दु र लक्ष्मी सनराइज बैंकको १२.१२ प्रतिशत घटेर ९.९९ प्रतिशत बिन्दुमा आधारदर झरेको छ । समीक्षा अवधिमा हिमालयन बैंक, प्राइम बैंक र कुमारी बैंकको आधारदर दोहोरो अंकमा छ । सबैभन्दा धेरै आधारदर भएको बैंकका रुपमा हिमालय बैंक देखिन्छ । हिमालयन बैंकको आधारदर २.४८ प्रतिशत घटेर १०.५९ प्रतिशत बिन्दुमा छ । यस्तै, प्राइम बैंकको ८.४६ प्रतिशत घटेर १०.३८ प्रतिशत बिन्दु र कुमारी बैंकको १२.३६ प्रतिशत घटेर १०.२९ प्रतिशत बिन्दु छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाले कर्जाको ब्याजदर पनि कम हुन्छ ।

प्रभु महालक्ष्मीको निमित्त सीईओमा सन्तोष प्रसाई, माघ १६ गतेदेखि लागू हुने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सीईओ रमेश कुमार भट्टराई स्वीकृत बिदामा बस्ने भएकाले सञ्चालक समितिले निमित्त सीईओमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ भट्टराई माघ १६ गतेदेखि माघ २९ गतेसम्म स्वीकृत बिदामा बस्दै छन् । यससँगै प्रसाईले माघ १६ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । साथै, कम्पनीका अनुसार सीईओ भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् ।

दमका रोगीलाई जाडोमा किन गाह्रो हुन्छ ?

काठमाडौं । जाडोयाम लाग्ने बित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारीरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाइ छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन । ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम विष्ट भन्छन् । डा. विष्टका अनुसार सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैनन् । बालबालिकाहरुमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन । ‘सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’ स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालिन रुपमा फुल्ने कारणले दम हुने भन्दै डा. विस्ट भन्छन् । २ वर्ष लगातार ३ महिनासम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भए दम हुन सक्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने, धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना अत्याधिक हुन्छ । बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्ने डा. विस्टको सल्लाह छ । बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धीत हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरु आइरहने, चिलाईरहने, दागहरु आउने, केही कुराहरुको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने वित्तिकै सिओपिडीको जाँच गर्नुपर्छ ।’ उनले भने । वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ । पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन । अत्याधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ । मुटुको कारण हुन सक्छ दम त्यस्तै पल्मोलोजिस्ट डा. विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ । वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी ९पल्मोनरी फङ्सन टेस्ट० गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ ।’ डा. विस्ट भन्छन् । दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ दमको रोगीहरुलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ । जथाभावी अक्सिजन नलगाउँ प्रायः दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन नहुने डा। विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नु पर्छ । ‘हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ ।’ त्यस्तै उनले मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनु पर्ने बताए । कहिले काँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ । नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरु उपलब्ध छन् । ‘भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई पनि हामीले उपचार गरी बचाएका छौं । भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ ।’ डा. विष्ट भन्छन् । त्यसो त, नेपाल मेडिकल कलेजमा दमको विरामीहरुको लागि हप्ताको चार वटा ओपिडी हुन्छ । सिओपिडी हो हैन पत्ता लगाउन स्पाइरोमेट्री उपलब्ध छ । त्यसबाट फोक्सोको अवस्था कस्तो छ पत्ता लगाउन सकिन्छ । इमरजेन्सीमै कार्वनडाइअक्साइड बढी भएर आएका बिरामीहरुलाई वाईप्याक दिएर उपचार थाली उनीहरुलाई भेन्टिलेटर सम्म पुग्नबाट रोक्ने गरिन्छ ।

भृकुटीमण्डपमा सुरु भयो ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनी, बीउ बिजनदेखि कृषि यन्त्रसम्म पाइने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ सुरु भएको छ । समग्र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उक्त प्रदर्शनी माघ ११ गतेदेखि सुरु भएको हो । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.लीद्वारा संयुक्त रूपमा आयोजित यो प्रदर्शनीमा विभिन्न कम्पनीका कृषिसम्बन्धी प्रडक्टहरू रहेका छन् । आयोजक टिमका अनुसार माघ १४ गतेसम्म सञ्चालन हुने  प्रदर्शनीमा सयभन्दा बढी स्टलहरू रहेका छन् । छैठौं नेपाल एग्रीटेक प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले गरेका छन् । उद्घाटनका क्रममा मन्त्री भुसालले कृषि क्षेत्रको विकास आधुनिकीकरण र यान्त्रीकरण बिना सम्भव नरहेको बताए । ‘छैठौं नेपाल एग्रीटेकले कृषक र कृषि उत्पादनमा मद्दत पुर्याउने अपेक्षा छ, नेपालमा कृषि उत्पादन भइरहेता पनि यसलाई आधुनिकीकरण गर्न सकिएको छैन, अब यसतर्फ पनि सोच्नु पर्छ,’ उनले भने । यस अन्तर्राष्ट्रिय प्रदर्शनीले कृषकहरूका समस्याहरूलाई समाधान गर्ने साथै कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा परामर्श लिन सकिने पनि बताइएको छ । आयोजक टिमले प्रदर्शनी अवधि भर निःशुल्क प्रवेश गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने विश्वास लिएको छ । मुक्तिनाथ कृषि कम्पनीले सो अवसर पारेर आफ्नो नयाँ उत्पादन ‘जैविक मल तथा उत्सर्जक’ सार्वजनिक गरेको छ ।

एनआईसी एशिया लघुवित्तद्धारा २७ शाखाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो । उक्त कार्यक्रममा बोल्दै संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरुले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे । माघ ११ गते बिहीबार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनित जंग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उप प्रदेश प्रमुख तथा सर्पोट अफिसर लगायत २७ शाखाका शाखा प्रबन्धकहरुकोे उपस्थिती रहेको थियो । उक्त कार्यक्रम ल्यान्डमार्क होटेल पोखरा मा बिहीबार सम्पन्न गरिएको थियो ।

बचतकर्ताको रकम हिनामिना गर्ने इमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ बुझाइएको अधिकारीले बताए । उक्त सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठजनालाई प्रतिवादी बनाइएको छ ।

२०८१ सालका लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ । विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ । विसं २०७९ देखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । विगतका दुई वर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो । जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ तर स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेको छैन । कारबाही गर्ने निर्देशिका नबनेकाले विगत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको उनले स्वीकारे । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । विसं २०७९ देखि नै भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् । यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ । जसअनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ । अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ । निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ । समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरिएको हो । सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ। विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ । रासस

२६ क्यासिनोले बुझाए ७४ करोड राजस्व, नवीकरणबिनै सञ्चालनमा छन् यी तीन

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा सञ्चालनमा रहेका क्यासिनोहरूले रोयल्टी, नवीकरण र जरिवाना शुल्कबापत ७४ करोड राजस्व बुझाएका छन् । पर्यटन विभागका अनुसार सञ्चालनमा रहेका २६ वटा क्यासिनोहरूले बिहीबारसम्म ७४ करोड ५८ लाख ७५ हजार रुपैयाँ राजस्व बुझाएका हुन् । क्यासिनोहरूले रोयल्टी र थप शुल्कबापत ५७ करोड ६५ लाख र नवीकरण शुल्कबापत १६ करोड ९ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ । तर, बक्यौता विवादका कारण ८ वटा क्यासिनो लामो समयदेखि नवीकरण बिना सञ्चालन भइरहेका छन् भने ४ वटा क्यासिनो पूर्णरूपमा बन्द अवस्थामा रहेका छन् । सेन्ट्रल, रत्न र भेन्युले गरेनन् नवीकरण चालु आर्थिक वर्षमा सञ्चालनमा रहँदै आएका तीन क्यासिनोले पुस मसान्तभित्र नवीकरण गरेका छैनन् । पर्यटन विभागका अनुसार सेन्ट्रल मिडिया ग्रुप, रत्न सर्भिसेस प्रालि र भेन्यु रिक्रियसनले पुस मसान्तभित्र पूर्ण नवीकरण नगरेका हुन् । सेन्ट्रल मिडिया ग्रुपको अघिल्लो आर्थिक वर्षको रोयल्टी ७ करोड ८० लाख बाँकी रहेको र चालु आर्थिक वर्षको पुस मसान्तसम्म नवीकरण सहित ८ करोड ८६ लाख बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यस्तै, रत्न सर्भिसेस प्रालिले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बुझाउनुपर्ने ६९ लाख बुझाउनुपर्ने र नवीकरणसहित २ करोड ९ लाख थप बुझाउनुपर्ने बुझाएको छैन । तर, जरिवानासहित सो क्यासिनोले आफ्नो नवीकरण आगामी असार मसान्तसम्म पनि गर्नसक्ने कानूनी व्यवस्था छ । भेन्यु रिक्रियसनले पनि चालु आवको पुस मसान्तभित्र बुझाउनुपर्ने ९० लाख रोयल्टी र ५० लाख नवीकरण शुल्क नबुझाएको विभागले जनाएको छ । तर, सो क्यासिनोले पुस मसान्तसम्म रोयल्टी नबुझाउँदा बुझाउनुपर्ने फाइन भने बुझाइसकेको छ । ४ वटा क्यासिनो बन्द, केही नवीकरण नगरी सञ्चालनमा पर्यटन विभागका अनुसार हाल नेपालमा ३० वटा दर्ता भएका क्यासिनोमध्ये २६ वटा क्यासिनोहरु सञ्चालनमा रहेका छन् । जसमध्ये होटल याक एन्ड यति, र्याडिसन, सांग्रिला र टाइगर वान क्यासिनो बन्द अवस्थामा रहेका छन् । बन्द रहेका र्याडिसन र याक एन्ड यतिका क्यासिनोको मुद्दा अदालतमा विचाराधिन अवस्थामा नै रहेको छ । त्यस्तै, रक इन्टरनेशनल र ह्याप्पी आवरले सञ्चालन गर्दै आएका विभिन्न आठ वटा मिनी क्यासिनोहरू ०७१ देखि नवीकरण नभइ सञ्चालन हुँदै आएका छन् । रक इन्टरनेशल र ह्याप्पी आवरका क्यासिनोहरुले वार्षिक रुपमा बुझाउनुपर्ने रोयल्टी ०७८ देखि यताको बुझाउने गरेको विभागका अधिकारीले बताए । उनका अनुसार अदालतले टुंगो लगाएपछि मात्रै उनीहरुको नवीकरणको प्रकृया अगाडि बढ्छ । ०७१ साल बैशाख ५ गते पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बक्यौता विवादका कारण रक इन्टरनेशनल र ह्याप्पी आवरको क्यासिनो खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयकाविरुद्ध अदालतमा गएका उनीहरुको मुद्दाको अहिलेसम्म किनारा लाग्न सकेको छैन । बक्यौता विवादको विषयमा अदालतले टुंगो नलगाउने बेलामासम्म विभागले ती क्यासिनोको नवीकरण तथा अन्य कानुनी कारबाहीको विषय अगाडि बढाउन नसक्ने विभागका अधिकृतले बताए ।