विकासन्युज

बचतकर्ताको रकम हिनामिना गर्ने इमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ बुझाइएको अधिकारीले बताए । उक्त सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठजनालाई प्रतिवादी बनाइएको छ ।

२०८१ सालका लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ । विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ । विसं २०७९ देखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । विगतका दुई वर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो । जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ तर स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेको छैन । कारबाही गर्ने निर्देशिका नबनेकाले विगत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको उनले स्वीकारे । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । विसं २०७९ देखि नै भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् । यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ । जसअनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ । अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ । निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ । समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरिएको हो । सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ। विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ । रासस

२६ क्यासिनोले बुझाए ७४ करोड राजस्व, नवीकरणबिनै सञ्चालनमा छन् यी तीन

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा सञ्चालनमा रहेका क्यासिनोहरूले रोयल्टी, नवीकरण र जरिवाना शुल्कबापत ७४ करोड राजस्व बुझाएका छन् । पर्यटन विभागका अनुसार सञ्चालनमा रहेका २६ वटा क्यासिनोहरूले बिहीबारसम्म ७४ करोड ५८ लाख ७५ हजार रुपैयाँ राजस्व बुझाएका हुन् । क्यासिनोहरूले रोयल्टी र थप शुल्कबापत ५७ करोड ६५ लाख र नवीकरण शुल्कबापत १६ करोड ९ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ । तर, बक्यौता विवादका कारण ८ वटा क्यासिनो लामो समयदेखि नवीकरण बिना सञ्चालन भइरहेका छन् भने ४ वटा क्यासिनो पूर्णरूपमा बन्द अवस्थामा रहेका छन् । सेन्ट्रल, रत्न र भेन्युले गरेनन् नवीकरण चालु आर्थिक वर्षमा सञ्चालनमा रहँदै आएका तीन क्यासिनोले पुस मसान्तभित्र नवीकरण गरेका छैनन् । पर्यटन विभागका अनुसार सेन्ट्रल मिडिया ग्रुप, रत्न सर्भिसेस प्रालि र भेन्यु रिक्रियसनले पुस मसान्तभित्र पूर्ण नवीकरण नगरेका हुन् । सेन्ट्रल मिडिया ग्रुपको अघिल्लो आर्थिक वर्षको रोयल्टी ७ करोड ८० लाख बाँकी रहेको र चालु आर्थिक वर्षको पुस मसान्तसम्म नवीकरण सहित ८ करोड ८६ लाख बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यस्तै, रत्न सर्भिसेस प्रालिले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बुझाउनुपर्ने ६९ लाख बुझाउनुपर्ने र नवीकरणसहित २ करोड ९ लाख थप बुझाउनुपर्ने बुझाएको छैन । तर, जरिवानासहित सो क्यासिनोले आफ्नो नवीकरण आगामी असार मसान्तसम्म पनि गर्नसक्ने कानूनी व्यवस्था छ । भेन्यु रिक्रियसनले पनि चालु आवको पुस मसान्तभित्र बुझाउनुपर्ने ९० लाख रोयल्टी र ५० लाख नवीकरण शुल्क नबुझाएको विभागले जनाएको छ । तर, सो क्यासिनोले पुस मसान्तसम्म रोयल्टी नबुझाउँदा बुझाउनुपर्ने फाइन भने बुझाइसकेको छ । ४ वटा क्यासिनो बन्द, केही नवीकरण नगरी सञ्चालनमा पर्यटन विभागका अनुसार हाल नेपालमा ३० वटा दर्ता भएका क्यासिनोमध्ये २६ वटा क्यासिनोहरु सञ्चालनमा रहेका छन् । जसमध्ये होटल याक एन्ड यति, र्याडिसन, सांग्रिला र टाइगर वान क्यासिनो बन्द अवस्थामा रहेका छन् । बन्द रहेका र्याडिसन र याक एन्ड यतिका क्यासिनोको मुद्दा अदालतमा विचाराधिन अवस्थामा नै रहेको छ । त्यस्तै, रक इन्टरनेशनल र ह्याप्पी आवरले सञ्चालन गर्दै आएका विभिन्न आठ वटा मिनी क्यासिनोहरू ०७१ देखि नवीकरण नभइ सञ्चालन हुँदै आएका छन् । रक इन्टरनेशल र ह्याप्पी आवरका क्यासिनोहरुले वार्षिक रुपमा बुझाउनुपर्ने रोयल्टी ०७८ देखि यताको बुझाउने गरेको विभागका अधिकारीले बताए । उनका अनुसार अदालतले टुंगो लगाएपछि मात्रै उनीहरुको नवीकरणको प्रकृया अगाडि बढ्छ । ०७१ साल बैशाख ५ गते पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बक्यौता विवादका कारण रक इन्टरनेशनल र ह्याप्पी आवरको क्यासिनो खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयकाविरुद्ध अदालतमा गएका उनीहरुको मुद्दाको अहिलेसम्म किनारा लाग्न सकेको छैन । बक्यौता विवादको विषयमा अदालतले टुंगो नलगाउने बेलामासम्म विभागले ती क्यासिनोको नवीकरण तथा अन्य कानुनी कारबाहीको विषय अगाडि बढाउन नसक्ने विभागका अधिकृतले बताए ।

थुनुवालाई भगाएर आफू पनि भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं । लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ । उनले नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए । उनले उनलाई आवश्यक कारबाहीको लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहीता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताए । तत्कालीन समयमा एक करोडबाट शुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पनि उनले जानकारी दिए ।

नयाँ बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७.५७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६०७.५७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

सरकारी अनुदानको मल बाटोबाटै गायब हुँदा…

बाँके । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गरेको थियो । उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो । रासस

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

काठमाडाैं । खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा माेबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवास‍म्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ । सबै नेपालीका लागि वित्तीय समावेशीकरणकाे उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिनुभएकाेमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेकाे छ । निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबारद्वारा लाखाैँ प्रयाेगकर्ताहरूको जनजिवन सहज बनाईरहेकाे छ भने एक लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भइरहेका छन् । आफ्नाे स्थापनाकाे छाेटाे अबधीमा नै‍ खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ता, एक लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० बढी बैंक तथा वित्तीय संस्था र १५ सय सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ । खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO २७००१:२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि काराेबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ । खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वालेट मात्र नभई ‘योङ एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ । यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्राे’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ । यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्,  ‘सुरुवाती चरणदेखि नै खल्ती सम्पूर्ण नेपालीलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ । आजको दिन सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौं । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नब‍भई लगानी तथा आफ्नाे वित्तिु‍य व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।’ साताैँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघसम्म पहिलाे बैंक लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई ७७ काे क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पाेईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् । ‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारकाे चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् । भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भाेटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनाेभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डकाे लाभ उठाउन सक्नेछन् । साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ ।